‘यस सुन्दर संसारमा मानिस सधैँ बाँच्न चाहन्छ। जीवन कर्मको निम्ति हो, प्रेमको निम्ति हो र आखिर जीवनकै निम्ति हो। जीवनबाहिर हामी केही पनि सोच्न सक्तैनौँ। जीवनलाई जसले दियो, उसलाई मात्र लिने अधिकार छ। सृष्टिको अशेष वरदान दिन सक्तैनौँ भने मानिसबाट हामी त्यो हेर्न पनि सक्तैनौँ,’ राष्ट्रकवि माधव घिमिरेले ‘राजेश्वरी’ खण्डकाव्यको भूमिकामा यस प्रकारको मानवतावादी महान् सन्देश दिएका छन्।
घिमिरे (जन्म वि.सं. १९७६ असोज) को जीवनयात्रा २०७६ असोज ७ गतेदेखि एक सय एक वर्षमा प्रवेश गर्दै छ। यस यात्राका क्रममा उनका बहुआयमिक व्यक्तित्व देखापरेका छन्। उनले कविता, खण्डकाव्य, गीत, गीतिनाटक, निबन्ध, बालसाहित्य, कथा, भूमिका आदि बहुविधामा योगदान पु-याएका छन्। उनका कविता लेखनसम्बन्धी मान्यतालाई पढ्दा थोरैमा धेरै समेटिने र परिष्कृत परिमार्जित रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने दृष्टि पाइन्छ।
‘नेपाली कविता भाग ४’ मा सङ्कलित घिमिरेको सर्वाधिक चर्चित एवम् उत्कृष्ट फुटकर कविता ‘काली गण्डकी’मा यस्तो मान्यता रहेको छ:
‘मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ।
‘यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।।’
कविता लेखनका सन्दर्भमा घिमिरेको यस्तो मान्यता पाइन्छ, ‘सामान्यतया एक कविता लेख्न म तीन दिन लगाउँछु, पहिलो दिन बतास बन्छु, दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु।’
राष्ट्रकवि घिमिरेका खण्डकाव्यहरूको गहन अध्ययन विश्लेषण गरेर नेपाली साहित्यका विविध विधामा कलम चलाएका डा. विष्णुकुमार खत्रीले माधव घिमिरेको ‘खण्डकाव्यकारिता विश्लेषण र मूल्याङ्कन’ नामक कृति नेपाली समालोचनाका फाँटमा ल्याएका छन्। घिमिरेका कृतिमा यसभन्दा अगाडि पनि धेरै समीक्षक, अन्वेषकले अध्ययन, अनुसन्धान र विश्लेषण गरेको पाइन्छ, तर उनका समग्र खण्डकाव्यमा केन्द्रित रहेर यस प्रकारको अध्ययन भने भएको देखिँदैन।
खत्रीको प्रस्तुत ग्रन्थ जम्माजम्मी चार सय ६३ पृष्ठमा संरचित छ। यहाँ माधव घिमिरेका नौवटा खण्डकाव्य ‘पापिनी आमा’, ‘नयाँ नेपाल’, ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘धर्तीमाता’, ‘इन्द्रकुमारी’, ‘गौँथली र ‘गजधम्मे’, ‘बोराको परदा’को विश्लेषण र मूल्याङ्कन गरिएको छ। खण्डकाव्यहरूको विश्लेषण र मूल्याङ्कन गर्नुपूर्व घिमिरेको जीवनी र खण्डकाव्य कृतित्वको अन्तर्सम्बन्धलाई प्रस्तुत गरी निष्कर्ष दिइएको छ। त्यसपछि खण्डकाव्यहरूको सर्वेक्षण र वर्गीकरण गरिएको पाइन्छ। ‘पापिनी आमा’, ‘राजेश्वरी’, ‘बोराको परदा’, ‘गौंथली र गजधम्मे’जस्ता खण्डकाव्यलाई पुष्ट आख्यानात्मक खण्डकाव्यका कित्तामा राखी विश्लेषण गरिएको छ।
त्यस्तै, ‘नयाँ नेपाल’, ‘गौरी’, ‘राष्ट्रनिर्माता’, ‘धर्तीमाता’, ‘इन्द्रकुमारी’जस्ता खण्डकाव्यलाई अपुष्ट आख्यानात्मक खण्डकाव्यका कित्तामा राखेर विश्लेषण गरेको पाइन्छ। यसपछि घिमिरेको खण्डकाव्य यात्रा, प्रवृत्ति र उनका खण्डकाव्यको स्तरनिर्धारणसम्बन्धी अनुसन्धान प्रस्तुत गरिएको छ। अन्त्यमा नेपाली खण्डकाव्य परम्परामा माधव घिमिरेको योगदान एवम् स्थान निर्धारणसहित निष्कर्ष प्रस्तुत गर्दै ग्रन्थ समाप्त भएको छ।
डा. खत्रीले मूलतः पूर्वीय काव्यशास्त्रको मर्मलाई आत्मसात गरेर परिष्कारवादी–स्वच्छन्दतावादी काव्यकलाको बेजोड संयोजनपूर्वक कलात्मक एवम् गुणस्तरीय खण्डकाव्यका सर्जकका रूपमा घिमिरको स्थान निर्धारण गरेको पाइन्छ। घिमिरेका खण्डकाव्य कृतिको अध्ययनका दृष्टिले हेर्दा प्रस्तुत ग्रन्थ सङ्ग्रहणीय, पठनीय र मननीय छ।
प्रकाशित: ९ कार्तिक २०७६ ०५:३८ शनिबार