अन्य

रीति

भावना उपाध्याय

अँधेरी रातलाई देखी
ढल्किँदै गरेको दिनले सोध्छ–
किन हतोत्साहित भएकी यसरी ?
रातले मुस्कुराउँदै जवाफ दिन्छे–
सुस्तायो नि त त्यो घाम त्यसरी।

दिनले घमण्ड गरी भन्छ–
मलाई हेर मेरा साथ छन्
हजारौँ किरण,
गम्भीरताका साथ रातले भन्छे–
मेरो साथमा पनि छ त्यो
शीतल जूनको किरण।

दिन र रातको संवाद सुनी
लुकी बसेकी जूनले भनी–
यस्तै हो संसारको रीति
कहिले दिन, कहिले रात्रि
कहीँ घाम, कहीँ छाया
कहिले सँगै मनप्रीत
कहिले विछोडको गीत।

कुनै रंग सेतो, कुनै रातो
कहीँ उकाली, कतै ओराली
कहिले हर्ष, कहिले विस्मात
कुनै बेला हुन्छ मन भ्रान्ति
भने पलमै अघोर शान्ति।

कहीँ प्रचण्ड गर्मी
कतै मुटु कमाउने ठण्डी
कहीँ जन्म, कहीँ मरण
त्यहाँ कहालीलाग्दो डर
यहाँ कसैमाथि निकै भर।

यस्तै रहेछ यो संसारको रीत
कहिले सुख, कहिले दुःख
कहिले दिन, कहिले रात।

कहीँ प्रचण्ड उज्यालो
कहीँ विस्मातलाग्दो अँध्यारो
आज तिम्रो पालो
भोलि मेरो।

बुझ्छ जसले यो प्रकृतिको विधि
गर्दैन वेदना मनभरी
बग्छ पवनसरि ऊ निरन्तर
नबदली आफ्नो नीति
विलाप नगरी मिल्छ आफ्नो
अस्तित्वमा गई आएपछि, आफ्नो मिति।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:३२ शनिबार

कविता अँधेरी_रात