अन्य

सिँगारीले माया गरी !

‘भोलि शनिबार हामी खसीबाख्रा चराउन जाने है।’ विक्रम र मालतीले शुक्रबार विद्यालयबाट फर्किँदा नै सल्लाह गरेका थिए।

केटाकेटीले बाख्रा चराएपछि घरको ठूलो मान्छेले खेतबारीको काम गर्न पाउने हुनुभयो। उनीहरूलाई बुबाआमाले राम्ररी सम्झाएर बाख्रा गोठालो पठाउनुभयो।

‘अर्काको बालीमा पस्न नदिनु, जङ्गलभित्र जान पनि नदिनु नि, जङ्गलमा स्याल हुन्छन्। स्यालले खसीबाख्रा मारेर खाला, चनाखो हुनुपर्छ। खेलेर नबस्नु।’ धेरै कुरा सिकाएर बाख्रा गोठालो पठाउनुभएको थियो।

भर्खरै जन्मिएका सिँगारी र सेती बाख्राका पाठालाई भने घरमै राखेर उनीहरूले खसीबाख्रा खेदेर चरनमा पु-याए। खसीबाख्रा रमाउँदै चर्न थालेपछि विक्रम र मालती अरू केटाकेटीहरूसँगै चोर–सिपाही र टोपी लुकाइ खेल्न थाले। उनीहरू गोठालो लागेर जान रमाउनुको कारण नै खेल्न पाइन्छ भनेर हो। खेल्न थालेपछि खसीबाख्रा कता पुगेका छन् भन्ने पनि थाहा पाएका थिएनन्।

चरनमा एकै ठाउँमा जम्मा भएका सबैका खसीबाख्रा चर्दैचर्दै जङ्गलभित्र पसे। गोठालो गएका केटाकेटीहरू खेल्नमै मस्त थिए। त्यो जङ्गलमा स्यालको वासस्थान थियो। रातिराति गाउँमा पसेर कुखुरा चोर्ने स्याल दिउँसो भने जङ्गलभित्रै लुकेर बस्थे। मौका पर्दा जङ्गलमा आफ्नो वासस्थान नजिक आइपुगेका  खसीबाख्रालाई एक्लै पारेर समाउन दाउ हेरिरहेका हुन्थे। आफ्नै सुरमा चर्दै गएकी सेती बाख्रीले ढुकेर बसेको चतुरे स्यालको नजिकै पुगेको थाहा पाइनँ। मौका हेरेर बसेको चतुरेले झम्टिएर गर्धनमा समाइहाल्यो। त्यसपछि उसलाई मद्दत दिन अर्को स्याल पनि दुलोबाट निस्किएर आइपुग्यो।

सेतीले ‘म्याँम्याँ’ गरेर कराएको सुनेर अरू सबै खसीबाख्रा हर्किएर जङ्गलदेखि बाहिर निस्किए। सेतीलाई भने स्यालले गाँजिसकेका थिए। स्यालले घोक्रो फोरेर एकैछिनमा सेतीको प्राण लिइसकेका थिए।

एकैचोटि सबैका खसीबाख्रा तर्सिएर उफ्रिदै जङ्गलदेखि बाहिर निस्किएको देखेर गोठाला गएका केटाकेटीको सातो उड्यो। उनीहरूको खेलको मज्जा एकैछिनमा हरायो। खसीबाख्रा भने जङ्गलतिरै हेरेर खतराको सङ्केत गर्दै ‘थ्वाँतथ्वाँत र थुँतथुँत’ गरिरहेका थिए।

त्यतिबेला पो उनीहरूको होस खुल्यो र झल्याँस्स भए। कतै स्यालले कुनै खसीबाख्रालाई समातेको कारणले त सबै खसीबाख्रा यसरी तर्सिएका होइनन् !

सबैले आआफ्ना खसीबाख्रा गने। सबैका खसीबाख्रा गणनामा पुगे तर विक्रमको सेतीबाख्रो त्यहाँ थिएन। पक्कै पनि स्यालले समातेको हुनुपर्छ, कतै छुटाउन पो सकिन्छ कि ! उनीहरू सेतीलाई खोज्न जङ्गलभित्र दौडिए। उनीहरूलाई डर पनि लागिरहेको थियो र सेतीलाई नखोजी पनि भएको थिएन।

‘आइज सेती ला, सेती ला’ विक्रम र मालतीले ठूलो स्वरले कराएर बोलाउँदै जङ्गलमा खोज्दै जाँदा झाडीभित्रबाट दुइटा स्याल दौडिएको देखे। स्याल दौडिएको ठाउँमा पुगेर हेर्दा त सेतीलाई स्यालले आधाजसो खाइसकेका पो रहेछन् !

सेतीको त्यो अवस्था देखेर विक्रम रुन थाल्यो। सेती र सिँगारीका साना पाठापाठी थिए। आँगनमा उफ्रीउफ्री खेलेर कति रमाइलो गर्थे। ती साना दूधे पाठाका आमामध्येकी सेतीलाई स्यालले मारेर खाइदिएका थिए। अब घरमा गएर के भन्ने होला ? बुबाआमाले के भन्नुहोला ? उहाँहरूले त खसीबाख्रालाई जङ्गलभित्र जान नदिनु नै भन्नुभएको थियो। खेल्नका सुरमा हामीले बेवास्ता ग-यौँ। स्यालले खाएर बाँकी रहेकी सेतीलाई के गर्ने अब ? ठूलो आपत् आइलाग्यो उनीहरूलाई।

सेतीलाई घिसार्दै जङगलबाट बाहिर निकाले। विक्रम डाको छोडेर रोइरहेको थियो। अरू केटाकेटीको पनि सातो उडेको थियो। अब के गर्ने भन्ने नै उनीहरूको मस्तिष्कमा आइरहेको थिएन। लामो छलफलपछि मालती र मनिष विक्रमको घर गएर खबर दिने भए। उनीहरू दौडी पनि हाले।

विक्रमको घर पुगेर डराईडराई सेती बाख्रीलाई स्यालले मारेको खबर सुनाए। ‘लौ हेर ! खेल्नका सुरमा खसीबाख्रालाई जङ्गलभित्र छोडेछन् अनि स्यालले मा-यो। त्यति भाँती सम्झाएर पठाएको पनि केही काम लागेन। अब यो सानी पाठी पनि मर्ने भई। यो दूधे पाठीलाई के खुवाएर हुर्काउनु ?’ बुबाआमाले धेरै चिन्ता गर्नुभयो।

जे नहुनु भैसकेको थियो। स्यालले मारेको बाख्रीको मासु कसैले खाने कुरा पनि थिएन। उहाँहरूले अरू सबै खसीबाख्रा गनेर ल्याउनु, स्यालले मारेकी सेतीलाई उतै छोडिदिनु भनेर मालती र मनिषलाई अह्राएर पठाउनु भयो।

ठूलो नोक्सान भैसकेको थियो, केटाकेटीको भर परेर खसीबाख्रा पठाएकोमा आफूहरूले नै गल्ती गरेको भन्ने पनि उहाँहरूलाई लागिरहेको थियो। विक्रमलाई गाली गरेर सेती फर्किने होइन। तर ठूलो समस्या भनेको त उसको पाठीको थियो।

विक्रम खसीबाख्रा लिएर रुँदैरुदैँ घर आयो। राम्रोसँग गोठालोको काम नगरेको भनेर गाली मात्रै नभएर पिटाइ नै खाइएला भन्ने उसलाई डर थियो। तर बाबाले उल्टै सम्झाउनु पो भयो, ‘जे हुनु भैगो, अब तँ रोएर सेती बाँच्ने होइन। जङ्गलमा नछोड्नु है भनेकै थियौँ। वास्ता गरेनौँ र मौका पर्खेर बसेका स्यालले झ्याप पारे। आइन्दा यस्तो हेलचेक्याइँ नगर्नु है।’

ठूलो समस्या भनेको सेतीको पाठीको थियो। भर्खरै जन्मिएकी पाठीलाई विनामाउ कसरी हुर्काउने भन्ने सबैलाई चिन्ता भयो।

यति ठूलो समस्याको समाधान सिँगारीले छिनभरमै गरिदिई। अघिपछि आफ्नो पाठाबाहेक अरू कुनै पाठापाठीलाई आफ्नो फाँचोमा ढिम्किन नदिने सिँगारीले आफ्नो पाठासँगै सेतीको पाठीलाई पनि दूध चुस्न दिई। सेतीको पाठीलाई सिँगारीले दूध चुसाएर हुर्काइदिने भएपछि सबै जना खुसी हुनुभयो।

सिँगारीलाई घरैमा राखेर राम्रो घाँस–खोले खुवाएर दुवै पाठापाठी हुर्काइयो। सिँगारीको सबैभन्दा बढी स्याहार गर्नेमा विक्रम थियो।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:१० शनिबार

कथा