अन्य

गोसाइँकुण्डको थकथकी

टाढाको होस् या नजिकको, मानिसलाई केही न केही सिकाउँछ तर के कति सिक्ने त्यो पात्रतामा भर पर्छ । यात्रा मात्र यस्तो एउटा पाठशाला हो, जसले बिना कुनै ठूलो स्वर मानिसलाई पाठ पढाउँछ र जीवनभर छाप छाडेर जान्छ ।
यस पटक साउनमा जब मन मिल्ने साथीहरुसँग म गोसाइँकुण्ड पुगेँ– लाग्यो नगरिएको यात्रा गरिएछ, कहिल्यै नसिकिने पाठ सिकिएछ, कहिल्यै महसुस नगरिने थकथकी पनि बोकेर आइएछ !

गएको साउन अन्तिमतिर हाम्रो गन्तव्य रसुवाको सदरमुकाम धुञ्चे थियो । धुञ्चे पुग्नुअघि अग्ला पहाड, पहाडै छेकुँलाझैँ गर्ने भुइँकुहिरोको घुम्टो र आकर्षक झरनालाई पन्छाउँदै अबेर साँझ त्यहाँ पुगेका थियौँ ।
धुञ्चेमा पुगिसकेपछि भने साथीहरुको मुड परिवर्तन भयो । धुञ्चेबाट टोपी झर्ने उकालो चढ्नुपर्छ, त्यो हाम्रालागि अकल्पनीय थियो ।

कसैले सुझायो, ‘धुञ्चेको उकालो चढ्नुभन्दा स्याफ्रुबेसीबाट अलि सजिलो छ ।’
फेरि अर्कोले थप्यो, ‘झर्ने बेलामा यताबाट झरौँ, जाने बेलामा स्याफ्रुबाट जाऔँ । त्यसो भयो भने एक फन्को पनि मारिन्छ । आखिर हामी घुम्न त आएका हौँ !’
यो सुझाव जँच्यो । त्यसैले गाडी स्याफ्रुबेसीतर्फ सोझियो ।
यो यात्रामा ‘काँचुली’ उपन्यासका लेखक रोशन दाहाल, ‘ओशो’, ‘रविशंकर’ र ‘सद्गुरु’का जीवनीलेखक अनुपम पोखरेल, बैंकर जीवन खनाल, दुई उदाउँदा व्यवसायी रविन श्रेष्ठ र दिनेश क्षेत्री थिए । जीवन र दिनेशलाई मैले पहिलो पटक भेटेको थिएँ ।

काठमाडौँबाट जिप उत्तरतर्फ बतासिदा राति ८ बजे स्याफ्रुबेसीको एउटा होटलमा गाडी रोकियो । बस्ने पक्का भएपछि रविन जोशियो, ‘खाना चाहिँ म बनाउँछु ।’ कर्मचारी पनि मख्ख ! कस्ता ग्राहक फेला परेछन् भन्ने ठाने होला !
तीन वर्ष मेलम्ची रिभर साइड इन होटलको व्यवस्थापन गरिसकेको अनुभवी रविन पकाउने कलामा पनि माहिर रहेछ भन्ने खाना खाँदा थाहा भयो । भोक मीठो भएको हो कि रविनको पाककला, खुट्याउन गाह्रो भयो । भोलिका लागि हाम्रो लक्ष्य लौरीबिनाको डाँडो थियो । त्यहाँ जसरी पनि पुग्नुपर्ने थियो । यहाँ भने बेवाक् पार्टी चल्न थाल्यो । जीवनमा पहिलो पटक मैले गाँजा तान्ने अवसर पाएँ । बिहान सही समयमा उठिने हो हैन, कसैलाई त्यो बेला मतलब थिएन ।


०००
भोलिपल्ट बिहान ६ बजे मुस्किलले सबै जना उठिरहेका थिए । सबैका आँखा अनिदा नै थिए । चिया सिध्याउँदा करिब ७ बजिसकेको थियो । कोही रिसाइरहेका थिए, ढिला भएकामा । कोही आफ्नै तालमा मस्त थिए । यात्रा त हो, जतिबेला भए पनि पुगिहालिन्छ नि भन्ने सोच हावि थियो सायद ।

स्याफ्रुबेसीको मूल सडकबाट छड्किएर जब हामी पहाडको फेदीबाट यात्रा शुरु गर्‍यौँ, बाटो देखाउने कोही थिएन । कुनै बेला हामी अर्कै गोरेटो समात्थ्यौँ र फर्कनु पर्दाको सास्ती बेहोथ्र्यौं, कुनै बेला दोबाटोको दुविधालाई चिर्दै आफैँ बाटो पहिल्याउँथ्यौँ ।

दुई झमटका साना उकालो चढ्नेबित्तिकै गन्तव्य पुर्‍याउने बाटो त थाहा भयो तर हिजो रातिको अद्र्धनिद्रा र मदिराको कमाल देखियो । त्यसमाथि हामीले त पिउने पानी पनि बोकेनछौँ ! पानी अभावका कारण मेरो शरीर त बाउँडिन थालिहाल्यो !

तापनि म अघिअघि हिँडिरहेको थिएँ ताकि मेरो शारीरिक अवस्थाबारे साथीहरुलाई थाहा नहोस् ! तर मेरो चम्काई उति लामो टिकेन । मेरालागि अब हिँड्नु ठूलो सकस भइरहेको थियो ।
हिँडेको तीन घण्टा भइसकेको थियो । न कुनै बस्ती आउँछ न घरगोठ ! आफ्नो हालत भनूँ त, साथीहरुको मन खिस्रिक्क हुने हो कि ? नभनूँ त अब यहीँ ढलूँलाझैँ भइसक्यो ।

धन्न केहीबेर उक्लिएपछि पानीका स–साना मूल देखिए । केही त धमिलिएका थिए ।
जब मान्छेका लागि जीवनमरणको प्रश्न अघिल्तिर तेर्सिन्छ, उसले धमिलो–सफा, नैतिक–अनैतिक, सहज–कठिन सबै कुरा बिर्सिदोरहेछ । पानीले केहीबेर सञ्जीवनीको काम गर्‍यो । उकालो चढ्न भने अझै सकस नै भइरहेको थियो । काठमाडौँमा एक रत्ति हिँडिदैन, हिँड्ने आवश्यकता अहिलेसम्म परेको पनि थिएन । वर्षौंअघि हाइकिङ गरेको रमाइलोबाहेक घण्टौँ हिँडेको अनुभव थिएन ।

रविनले भन्यो, ‘सरलाई गाह्रो भएजस्तो छ, ब्याग मलाई दिनुस् ।’
मैले रविनतिर पीडायुक्त अनुहार लगाएर हेरेँ, उसकै झोला टम्म थियो । त्यहाँ के थिएनन् ! बीच बाटोमा खाने खाजा, चकलेटका पुरिया, बिस्कुटका प्याकेट, दालमोठ र भुजिया ! तैपनि ऊ मलाई अझै हलुङ्गो बनाउन खोजिरहेको थियो ।
त्यो बेला थाहा भयो, यात्रामा हिँड्दा वजन भनेको के हो ! आधा केजीको सामान मात्र फ्याँक्न पाइयो भने पनि कति हलुङ्गो हुन्थ्यो होला !

रविन अझै मलाई नै ताकिरहेको थियो, ब्याग कुन बेला हुर्‍याइदिउँला भनेर !
सबैभन्दा कम वजनको ब्याग मेरै थियो । मेरा दुई थान कपडाबाहेक अरु केही थिएन तर भुक्क उठेकाले ब्याग गह्रुँगो नै होला भन्ने भान पारिरहेको थियो । मुस्किलले तीन किलोको ब्याग भिर्न पनि मलाई सास्ती परिरहेको थियो । श्वास फुलिहरहेको थियो । मुटुको धडकन तेज थियो र गोडा बेलाबेलामा बाउँडिएर थचक्कै पार्लाझैँ भइरहेको थियो ।
मैले रविनलाई भनेँ, ‘यत्ति पनि बोकिनँ भने त म गोसाइँकुण्ड पुग्नै सक्तिनँ ।’

गोसाइँकुण्ड त के, म अब केही घण्टा हिँडे भने यहाँबाट कि मलाई तल भीरमा हुर्‍याइदिनुपर्छ कि झ्यानाकुल्टुङ पार्दै लैजानु पर्छ । न त हुर्‍याउने कसैलाई मन थियो न त झ्यानाकुल्टुङ पार्दै लैजाने हिम्मत !
मेरो हालत सायद अनुहारले बयान गरिरहेको थियो । त्यसैले साथीहरुले गुन्गुनाएको सुनेँ । मलाई लाग्यो, ‘मेरो अवस्थाबाट साथीहरु दिक्दार मानिसके । उनीहरु कतै मेरो व्यवस्थापन यतै गर्ने सोचमा त छैनन् !’

रविन, जीवन र दिनेश जङ्गलको झाडीले छेलिन थाले । म बीचमा भएँ, मसँग रोशन दाहाल गफिन थाल्नुभयो । यसरी हिँडिरहेका बेला कसरी श्वासप्रश्वास चलाउने सिकाउन थाल्नुभयो । र, यसपछि उहाँले अनेकन् कथाहरु सुनाइरहनु भयो ।

आफूलाई गाह्रो भइरहेका बेला संसारभरिको ज्ञान भए पनि मानिसलाई नचाहिँदो रहेछ ! तिनै कुरा अन्य बेला भइदिएको भए म पनि उहाँसँगै मच्चिएर कति गफिँदो हुँला !

रोशनजीले सुझाएको श्वासप्रश्वासको कुरा पनि छिर्ने थिएन होला । उहाँले प्रयोग गरेर देखाएपछि जसै मैले पछ्याएँ, मलाई केही हलुङ्गो भयो । अब श्वास फेर्न सजिलो र हिँड्न सहज हुन थाल्यो । यसपछि बल्ल मैले पछाडि फर्केर हेरेँ, अनुपम र सन्तोष पन्तको अवस्था पनि मेरैजस्तो भएछ भन्ने ठानेँ, उनीहरुको सुस्तता हेर्दा ।

मलाई पहिलो पटक बोध भयो, जीवनमा आफूभन्दा अघि हिँड्ने र आफूपछि हिँडिरहेका मानिसहरुको कति धेरै महत्व छ ! खासगरी ज्यादै अप्ठेरो समयमा र थाकेर चूर भएको बेलामा, आफूपछिका मानिसहरुलाई हेर्दा कति आनन्द आउँदोरहेछ ! शायद हाम्रा पुर्खाहरुले पनि यात्राका क्रममा आफू थाकेका बेला आफूभन्दा पछाडिका देखेर कति आनन्द माने होलान् । आफूभन्दा अघि पुगेका मानिसहरु देखेर कति ईष्र्या गरे होलान् ! त्यही कुरा हजारौँ वर्षपछि हामीमा एउटा भाव बनेर बस्यो होला !

ठीक यतिबेला मलाई आफूभन्दा धेरै अगाडि पुगिसकेका रविनको समूहलाई देख्दा ईष्र्या लागिरहेको थियो र आफूभन्दा थोरै मात्र पछाडि रहेको अनुपमको समूहलाई देख्दा सन्तोष लागेको थियो ।
मेरो गतिमा रोशनजी ताल मिलाउन सकिरहनु भएको थिएन । उहाँ छिट्टै अघि बढिहाल्नु भयो । अब म एक्लै परेँ तर पछाडिकाले मलाई उछिन्न सकेका थिएनन् भनेर सन्तोष मान्ने ठाउँ थियो । तर त्यो मेरो सोच मात्र थियो । मेरो हिम्मत जारी राख्न जानाजान उनीहरु बिस्तारै आउँदै थिए ।

ठूलो स्याफ्रु आउनुअघि बाटोमा एउटा सानो फाँट देखियो । त्यहाँ पुग्नेबित्तिकै ढलुँढलुँ लाग्यो । त्यहाँ हामी केहीबेर सुस्तायौँ । मलाई बल्ल महसुस भयो, स्याफ्रु फेदीबाट नै एउटा कुकुर हामीलाई पछ्याउँदै आइरहेको छ ।
मैले भनेँ, ‘यो त यहाँसम्म पो आइपुगेछ !’
सन्तोषले भन्यो, ‘आइपुगेछ होइन, आइपुगी छ । मैले त यसको नाम पनि राख्न भ्याइसकेँ । लुसी !’
त्यसपछि उसले लुसीलाई बिस्कुट खुवाउन थाल्यो । पेशाले विज्ञानको शिक्षक सन्तोषको कमलो हृदय लुसीलाई गरिरहेको सेवाबाट म प्रभावित भएँ ।

यहाँ जीवनको भार केही कम भयो । उसले बोकेका खान्कीमध्ये आधा जति बुत्यायौँ । करिब एक घण्टे सुस्ताईपछि हामी अर्को चरणको उकालोका लागि तयार भयौँ ।
यहीँनेर एउटा परिवार आइपुग्यो । सुदूरपश्चिमको टोली रहेछ । दुई छोरा–बुहारी, एक आफन्त र आमालाई गोसाइँकुण्ड घुमाउन आइपुगेका रहेछन् । हामी बीच बाटोमै निष्फिक्री खाएको देखेपछि रमाइलो लागेछ । केहीबेर सोधपुछ गरे । रोशनजी उनीहरुसँग कुराकानीमा लाग्नुभयो । उनीहरु किन बेफ्वाँकले गफ गरिरहेका होलान् भनेको त टोलीकी सबैभन्दा वृद्धा आमालाई कुर्नु रहेछ । आमा बिस्तारै आइरहेको देखेपछि उनीहरु बाटो लाग्यो ।

त्यहीँ हाम्रो टोली र उनीहरुको टोली एक हिसाबले छिमेकीजस्ता भयौँ । जेठा छोरा अलि गफाडी रहेछन् ! भने, ‘म सेनाको जासुस ब्युरोमा काम गर्छु !’
नाम सोधुँ लाग्यो तर सोधिनँ । सोधेको भए भन्थे कि ! ‘बोन्ड, जेम्स बोन्ड ! नाम त सुन्नु भएकै होला !’
उनका भाइ पनि सेना नै रहेछन् । अलि तल, करिब आधा घण्टाको बाटोमा सेनाको एउटा सानो टुकडीको बास थियो । उनीहरु त्यहीँ सुस्ताएपछि खाना खाएर आएका रहेछन् !

यसपछिको अर्को एक घण्टामा एउटा चिया पसल आइपुग्यो । त्यहाँ त थकाई मार्ने बहाना मात्र चाहियो । हामी पसलभित्र छिरिहाल्यौँ । हामी कति ढिला थियौँ भने तल चौरमा फेला परेका नेपाली जेम्स बोन्डको परिवार चिया खाइसकेर निस्कने तयारीमा रहेछ ।

हामीलाई देखेपछि केहीबेर अडिए र गफिन थाले, गफाडी जो थिए !
मैले उनकी आमातर्फ हेरेर सोधेँ, ‘हिँड्न कत्तिको गाह्रो रहेछ त आमा ?’
‘अलिअलि गाह्रै रहेछ,’ आमैको जवाफ थियो, ‘पहिले यस्तो उकालीओराली धेरै गरियो । अहिले त ज्यानले गाह्रो मानिरहेको छ ।’

‘तपाईंका छोराहरुले सुख दिएका रा’न्,’ मैले बूढीआमालाई भनेँ, ‘यत्रो गोसाइँकुण्डसम्म ल्याए !’
बूढीआमाले यो सुन्नेबित्तिकै उहाँका आँखा रसाएर आए । हो, सुख दिएका छन् भन्न पनि बक् फुटेन । एकाएक गम्भीर अवस्था आएपछि सबै केहीबेर चूप रहे ।
धन्न चिया आयो र अझ गम्भीर र बोझिल अवस्था हुनबाट रोकियो ।
हामी चियामा व्यस्त हुन थालेपछि उनीहरु बाटो लागे ।
०००
‘अबको बाटो साह्रै गाह्रो छ नि भाइ,’ पसल्नी दिदीले जवाफमा भनिन् । अब लौरीबिनाको फाँट पुग्ने उकाली आउँदै थियो । हेर्दा पल्लो डाँडोजस्तो देखिन्थ्यो तर पसल्नी दिदीले पाँच घण्टामा पुग्नु होला कि भन्दा सातै जालाजस्तो भएर आयो ।

अब हिँड्नुको कुनै विकल्प थिएन । गोडा दुख्न थालेको थियो । पैतालामा फोका उठ्न थालेकाले होला, हिँड्न अप्ठेरो भइरहेको थियो । तर जुत्ता फुकालेर हेर्ने आँट थिएन ।
मज्जैले पानी पर्न थालेपछि फसाद त झन् थपियो ! दुई बजेपछि सधैँ पानी पर्ने रहेछ यहाँ । यो नियमितता बुझेकाहरुले सबै व्यवस्था गरेका थिए तर मैले न छाता बोकेको थिएँ, न त रेनकोट !
हल्का पानी छेक्ने पातलो ज्याकेट पहिलेदेखि नै लगाइरहेको थिएँ तर त्यो ज्याकेटलाई छिचोलेर पानीले जिउका सबै आयतन नाप्न थालिहाल्यो ।

एक त थाकेर चुर, गोडा घस्रिमात्र रहेका थिए । यसरी घस्रने हो भने त हामी राति अबेर मात्र लौरीबिना पुग्ने थियौँ । हामी त के भनुँ र ? म चाहिँ राति अबेर पुग्ने थिएँ । धन्न, त्यहाँ पुग्ने बाटो एउटै मात्र थियो । नत्र त जङ्गलको बाटोमा छरिएका गोरेटा हुन्थे भने म त हराउँथे नै होला !

हिँडेर मान्छे अररिँदोरहेछ भन्ने पनि पहिलो पटक यहीँ थाहा पाएँ । जसै म लौरीबिनाको फाँटमा पुग्दा सुस्ताउन खोज्दा पूरै जिउ अररिएकाले बस्नसमेत सकिनँ । साथीहरु चाँडै आइपुगेकाले सुत्ने होटलको जोहो गरिसकेका थिए । भोक नहुँदो हो भने खानै नखाई सुतिन्थ्यो होला । भोकका बेला जस्तो भोजन पनि रुच्छ भन्ने भनाइ मलाई पूरै असत्य लाग्यो यतिबेला ।
०००
मान्छे गल्यो भने भुसुक्क निदाउँछ । साह्रै गल्यो भने कोल्टे मात्र फेरिरहन्छ । यस्तै भयो मलाई । शायद अग्लाई पनि बढी नै नापेकाले हुनसक्छ, श्वास फेर्न गाह्रो हुन थाल्यो । गुम्म परेको कोठामा हामी सबै कोच्चिएर सुतेका थियौँ । कोच्याइले निद्रा नपरेको हुनसक्छ भन्ने लाग्यो । त्यसमाथि केही साथीको घुराईको सङ्गीत बेग्लै !

अलि ढिला नै उठेँ म । अरु त कल्याङमल्याङ गर्न थालिसकेका थिए । ६ बजे होटल चेकआउट गर्दा मनोरम वातावरण थियो । हिजोको पानीले छ्याङ्ग उज्यालो बनाएको थियो । जिउ हिँड्न मानिरहेको थिएन तर घिसार्नुको कुनै विकल्प थिएन ।

अबको उकालो अर्को मापाको रहेछ ! खासगरी दुई ठाउँमा त तुरुक्कै रुवाउने ! जे होस्, पहाडसँग भिड्नु र चुनौती स्वीकार्नु भनेको पनि यहीबेला बुझेँ मैले । जब भिड्नुको विकल्प रहँदैन र भाग्नुको सुविधा हुँदैन मान्छेले गरिछाड्दोरहेछ ।

साथीहरु अगाडि परिहाले । पहिला तस्बिर खिच्न उति जाँगर नचलाउने साथीहरु अब त ज्यादै सुन्दरतम दृश्यहरु देखेर फुरुङ्ग हुँदै तस्बिर लिन थाले । र, यो क्रम गोसाइँकुण्ड नपुगुञ्जेल जारी रह्यो । यही बाटोमा देखेँ– मजस्तै हिँड्न नसकेर घिस्रिरहेका मानिसहरु । बिरामी भएर बोकिदै फर्केका रोगीहरु । कुण्ड पुगेर फर्केकाहरु पनि देखिन थाले । उनीहरुको अनुहार दीप्त देखिन्थ्यो । घिस्रिरहेकालाई भन्थे, ‘अब आउनै लाग्यो, चिन्ता नलिनू ।’

त्यसो भनेको पनि तीन घण्टा पुगिसकेको थियो तर कुण्ड आउने छाँटकाँट थिएन । हिजो दुःखेको गोडामाथि अर्काे हिँडाइको दुःख थपिएको थियो । हिजोको जस्तो भावना अहिले आएको थिएन । अब चाहिँ जतिसुकै गाह्रो भए पनि पुगेर फर्कन्छु भन्ने भावले सरोबर पारेको थिएँ । त्यसका लागि लसुन र अदुवा टोकिरहेको थिएँ ।

जसोतसो गोसाइँकुण्डमा पुग्दा पानी वर्षिन थाल्यो । अँध्यारो कुहिरोले पूरै कुण्ड छोपियो । एकातिर थकान, अर्कोतिर पानीको प्रहार, कुण्डको वरिपरि घुम्ने योजना नै तुहाउनु पर्‍यो ।
जनै पूर्णिकाको दिन थियो । रोशनजीले आँट गरेर नुहाउनु भयो तर मैले आँट्न सकिनँ । पानी यति चिसो कि मुख धुँदा पनि अररिने !

साथीहरुले धुपबत्ती गरे । आमाले बत्ती बाल्नु भनेर दिनुभएको थियो । मैले पनि कुण्डको एउटा किनारमा बत्ती बालिदिएँ । साथीहरुले डोरो बाँधे, मैले तस्बिर खिचिदिएँ । त्यहाँ पुगेपछि त के गर्नु र के नगर्नुको अवस्था भयो । ज्वरोले जिउ रन्किरहेको थियो । मलाई लाग्यो, हिजोको जङ्गलको बाटोमा जसरी पानीले भिजायो, त्यसले ज्वरो फुटाएको हुनसक्छ । यस्तो बेलामा केही नखोजौँ, केही नबोलौँ, केही नगरौँको भाव पलाएर आयो ।
रविनले भन्यो, ‘कुण्ड त एक  फन्को लगाउनु पर्छ होला !’

मेरो अवस्था नाजुक भइरहेको थियो । केहीबेर कुण्ड वरिपरि बस्नु पनि स्वास्थ्यका लागि हानिकारक होला भन्ने लाग्यो । मैले मेरो अवस्था बताएपछि खाना खाएर तल झर्ने कुरालाई प्राथमिकता दिइयो ।
तल लौरीबिना ओर्लने बाटोमा चिया पिउन बसेको मान्छे, उठ्नै सकिएन । ज्वरो पनि रन्किन थाल्यो । आखिर भोलि धुञ्चे पुगिहालिन्छ भन्ने लागेपछि यहीँ बसौँ भन्ने सल्लाह हुन थाल्यो ।

लुगलुग काम्न थालेपछि साथीहरुले ओढ्ने ओढाइदिए । एक्कैचोटि रातिको खानाका लागि बोलाउँदा पो मज्जैले निदाइएछ भन्ने लाग्यो । खानापछि सुत्ने तर्खर हुँदै गर्दा जीवनले भन्यो, ‘सरको गोडा कत्तिको दुखिरहेको छ ?’
दुखाइको कुनै सीमा थिएन । उसले प्रस्ताव राख्यो, ‘गोडा मालिस गरिदिऊँ ?’

यो अनपेक्षित थियो । बढी नै कर गरेपछि मैले गोडा ऊतिर सारिदिएँ । उसको मालिसमा चमत्कार थियो । यति आनन्द आयो कि, सारा पीडा बिर्सिइयो । गोडा मालिस गर्दैगर्दा जीवनले भन्यो, ‘बच्चा बेलामा आमाले बुबाको गोडामा यसरी नै लगाइदिनु हुन्थ्यो । मैले हेर्दाहेर्दै सिकेँ ।’
अचानक जीवनप्रति आत्मियता जागेर आयो । मालिस जरुरी थियो तर उसले गरिदिनु जरुरी थिएन । थप्यो, ‘हिजै मालिस गरिदिऊँ जस्तो लागेको थियो तर जिउ उठाउनै सकिनँ ।’

उसले पनि त मैले जत्ति नै यात्रा गरेको थियो ! उसको जिउ पनि त अररिएको थियो ! तैपनि यस्तो पुण्यको कुरा हिजै सोचेको रहेछ ! ज्वरो केही कम होलाजस्तो भयो तर पनि उसलाई मैले भन्न सकिनँ, ‘भाइ, तिम्रो गोडा म मालिस गरिदिन्छु ।’
०००
भोलिपल्ट बिहान पाँच बजे उठ्दा जिउ चङ्गा भएको थियो । ज्वरो हराइसकेको थियो । हिँड्न भने गोडा असजिलो नै थियो । तापनि ओरालो भएकाले मलाई हिजोको जस्तो असहज अलि भएन ।
अब हामीले धुञ्चे पुग्ने ओरालो हिँड्नु थियो । यो ओरालो निकै मापाको रहेछ ! धुञ्चेबाट उकालो चढेको भए त मलाई झनै गाह्रो हुने रहेछ भन्ने लाग्यो । आरालो भने केही सहज नै थियो ।

धुञ्चे पुग्दा साथीहरु सबै एक चरण पेय पिइरहेका थिए । म त्यहाँ पुग्नु उनीहरुका लागि उत्सवजस्तो अवस्था बन्यो । ठूलै होहल्ला भयो । मैले यो यात्रा पूरा गरेकोमा बधाई दिए भाइसाथीहरुले । मैले शुरुमा रविनको माथा चुम्बन गरेँ र भनेँ, ‘तिमीले मलाई यहाँ ल्याउने जफ्ती नगरेको भए एउटा अद्भूत अनुभूतिबाट वञ्चित हुने रहेछु ।’
अनुपम, रोशन, जीवन, दिनेश र रविन सबैको अनुहार दीप्त देखिन्थ्यो । मैले क्रमैसँग यात्रा सफल पारिदिएकोमा सबैको निधारमा चुम्बन गरेँ । यसपछि फेसबुकमा मैले लेखेँ, ‘एउटा गतिलो यात्राले जति सिकाउँछ त्यति त हजारौँ किताबले पनि सिकाउँदैन होला !’
यो यात्राले सिकाएन मात्र, एउटा प्यारो भाइ जीवनलाई पनि उपहारमा पाएँ !
अँ साँची, नेपाली जेम्स बोन्डको परिवार कुण्ड पुग्यो त ? तपाईंले सोध्नु होला । आमाबाहेक सबै कुण्ड पुगे । आमालाई तलै छाडेर उनीहरु जानु पर्‍यो !
कतिपय यात्रा यस्ता अधुरा हुन पुग्छन्, तिनले जीवनभर थक्कथक्क बनाउँछन् ।

प्रकाशित: ७ कार्तिक २०७६ ०५:४६ बिहीबार

गोसाइँकुण्ड थकथकी यात्रा नागरिक परिवार