‘हजुरआमाको कथा’ पुस्तक एक दस्तावेज हो, ८०/९० वर्षअघिको नेपालको। अमृता लम्सालले केही हजुरआमाहरुसँग कुराकानी गरेर तयार पारेको यस पुस्तकका कथाले त्यो बेलाको सामाजिक, सांस्कृतिक, आर्थिक जीवनबारे धेरै भन्छ। यहाँ समेटिएका हजुरआमामध्ये अधिकांश बालविवाहको सिकार भएका छन्। यिनीहरूको कथा पढ्दा मेरी ८२ वर्षीय आमाको याद आयो, जसको १० वर्षको उमेरमा विवाह भएको थियो। विवाहपछि भारतको लखिमपुर (उत्तर प्रदेश) बाट काठमाडौं आएकी मेरी आमाले हामीलाई सुनाउनुहुन्छ, ‘रातिराति उठेर ढिँकी कुट्नुपथ्र्यो, मीठो खानेकुरा खान तिहार कुर्नुपथ्र्र्यो। कसैले २५ पैसा दिए लुकेर पेडा किनेर र शौचालयमा गएर खान्थेँ।’
हामी कहिले हाँस्छौँ, कहिले उहाँको कुरा सुनेर आँखामा आँसु भर्छौं। लम्सालको ‘हजुरआमाको कथा’ पढ्दा त्यस्तै भयो।
अहिले ‘नेसनल जिओग्राफी’को सन् १९५० को फोटो हेर्दा मलाई लाग्छ, ‘अहो नेपालमा यस्तो थियो !’ अमृताले पुस्तकमा शब्दचित्रले त्यो बेलाको नेपाली समाज चित्रण गरेकी छिन्। नेपालको सन्दर्भमा प्रायः पुरुषको आँखाले इतिहास, समाज हेरिँदै आइएको छ, ‘हजुरआमाको कथा’मा भने महिलाका आँखाबाट तत्कालीन समाज नियालिएको छ।
यस पुस्तकमा समेटिएका हजुरआमाका वास्तविक कथाले एउटा युग बोलेको छ। यो पढेपछि यस्तो लाग्छ, हाम्रा हजुरआमाहरुले कति दुःख भोगेछन्, त्यस्तो दुःखका बीच पनि उनीहरूलाई जीवन भोग्ने जिजीविषा पनि रहेछ।
केही यस्ता कथा छन्, जसमा हजुरआमालाई ‘डिप्रेसन’ भएर मर्न मन लागेको रहेछ। नानी छोरी श्रेष्ठले एकपटक मर्न खोजेकी रहिछन्। यसले संकेत गर्छ, कति महिलाले गाउँघरमा आत्महत्या गरे होलान्, आफ्नो भाव प्रकट गर्न नपाएर।
आन्विका र अमृताका दुई किताब यसपालिको तिहारमा दाइले बहिनीलाई, दिदीले भाइलाई, छोराले आमालाई, बाजेबज्यैले नातिनातिनीलाई दिने राम्रो उपहार हो।
पुस्तकमा कतिपय हजुरआमाले आफू गर्भवती र सुत्केरी हुँदा खेपेको पीडा र कतिले छोरा नहुँदा अपमानित हुनुपरेको व्यथा सुनाएका छन्। यस्ता प्रसंग पढ्दै गर्दा मलाई सुदूर गाउँका ती महिलाको याद आयो, जो अहिले पनि छोरा पाउने आशामा १२–१३ सन्तान जन्माउँछन्। केही वर्षअघि सुदूरपश्चिममा एक महिलाले मलाई सुनाएकी थिइन्, ‘कठै, तिम्रा दुई छोरी मात्र रहेछन्। तिमीलाई कसले पिण्ड दिन्छ ? तिम्रो सम्पत्ति कसले खाने होला।’ सायद यस्ता कुरा परिवर्तन हुन गाह्रो छ।
सुदूर पश्चिम, कर्णालीका महिलासँग कुराकानी गरियो भने अहिले पनि ३०/३५ वर्षका महिलाको पीडा आजको ५० वर्षअघिको जतिकै छ। श्रीमान्को मृत्युपछि छोरा नभएका कारण एकल महिलालाई सम्पत्ति नदिएको कथा पढ्दा मन दुख्छ, नेपालमा अहिले पनि त्यस्तै छ।
आफैँ पनि बालविवाहको सिकार बनेकी लेखिका अमृताले आफूले बुहारी भएपछि सहेको अपमान, दुःख र जागिर खान खोज्दा घरबाट गरिएको व्यवहारबारे ठाउँठाउँमा भनेकी थिइन्। यो किताब पढ्दा लाग्छ, अमृताले हजुरआमासँग कुरा गर्दा कतिपय ठाउँमा सायद आफैँलाई पाइन् क्यारे, त्यो बेलाको बुहार्तनका बारेमा राम्ररी चित्र कोर्न उनी सफल भएकी छिन्।
यो पुस्तक पढिसकेपछि मलाई लाग्यो, कर्णालीका ८० वर्षमाथिका हजुरआमा÷दलित हजुरआमाको कथा कस्तो आउँदो हो ? काठमाडौंमा रहेका हजुरबाको कथा कस्तो आउँथ्यो होला ? कर्णालीका दलित हजुरबाको कथा कस्तो हुन्थ्यो होला ? अपमान, दुःख, पीडा सहेको कथा आउँथ्यो कि, ‘पिण्ड’ दिने र वंश चलाउने अधिकार भएकाले भिन्दै कथा आउने थियो ? वा, पुरुष भएकै कारण ‘कमाइ’ गर्नुपर्ने विवशताको कथा आउने थियो !
आफ्नो मालिक (लोग्ने) बितेपछि बिस्तारै आफूलाई बिर्संदै गएकी चोककुमारी पोखरेलले आफ्नो नाम पनि बिर्सिएको कुरा पढ्दा मन दुख्छ। उनले छोरालाई मृतक पति सम्झेर बोलाउँछिन्।
सय वर्ष पुगिसकेकी जमुना गुरुङले भागवत पाठबाट दिनको सुरुवात गर्छिन्, (पृष्ठ ४३)। लाहुरे बाबु सन्न्यासी भएर चण्डी र देवी भागवत पढेपछि उनले पनि सिकेकी रहिछन्। यसले त्यो बेलामै गुरुङले भागवत पढ्नुले समाजमा परिवर्तन हुन थालेको केही झलक दिन्छ।
नानीछोरी श्रेष्ठका बूढो ससुराले थर फेरेको प्रसंग छ, (पृष्ठ १०५)। नानी छोरीका बूढो ससुरा नारायणप्रसाद भट्टले एक नेवार महिलालाई विवाह गरेछन्। रणमुक्तेश्वर महादेवको मन्दिरमा पूजा गर्ने भट्टले नेवार केटी विवाह गर्दा पक्कै पनि खैलाबैला मच्चियो होला। वंश थाम्न भने नारायण भट्टले बाहुनी पनि विवाह गरेछन्। तर, आफूले मन पराएर ल्याएकी जेठी श्रीमतीलाई भान्छा काढेपछि अर्थात् भान्छामा पस्न नदिएपछि नारायणले आफ्नो थर नै फेरेर श्रेष्ठ भएछन्। नारायणकी नेवार श्रीमतीबाट जन्मिएका छोरा कि बुहारी हुन्, नानीछोरी। केटाले थर फेरेको गज्जबको कथा सायद बिरलै सुन्न पाइन्छ।
भाषा साहित्यमा दख्खल भएर धेरै किताब लेखेकी नारायणदेवी श्रेष्ठको नेपाली साहित्यमा चर्चा, परिचर्चा नहुनुको कारण उनी महिला भएर हो कि भनेर अमृता लेख्छिन्। छोरा नपाएर अपहेलित भएकी नारायणदेवीको जीवनी पढ्दा ‘अहो, त्यो नेपाल’ भन्ने लाग्छ। हुन त अहिले पो के परिवर्तन भएको छ र ? अझै पनि छोरी जन्माउँदा हेपिने महिला मैले धेरै देखेकी छु।
रत्ना राई, भगवती उप्रेती आदिको जीवनी पढ्दा भने आनन्द आउँछ, उनीहरूको कर्मठ जीवन देखेर। उनीहरुको जीवनी पढेपछि नयाँ पुस्ताले विचार गर्नैपर्छ– हामीले पाएको मौका हजुरआमाले पाएको भए ? वा, हामी किन मौका पाएर पनि जीवन खेर पालिरहेछौँ ?
आन्विका गिरीको पुस्तक ‘आमाले भन्नुहुन्छ’ पुस्तकको पाण्डुलिपि पढेपछि मैले भनेकी थिएँ, ‘यो किताब हरेक स्कुलको पुस्तकालयमा हुनुपर्छ।’ धेरै सरल भाषामा लेखिएको यो पुस्तकले नेपालमा बिस्तारै भइरहेको परिवर्तनको केही चित्र देखाएको छ। एउटा निम्न मध्यम वर्गीय परिवारमा लोग्ने मानिसले विचार र काम गरे कसरी लैंगिक विभेद कम गर्न सकिन्छ, सानैदेखि कसरी छोराछोरीलाई लैंगिक समानता सिकाउन सकिन्छ भन्ने यसमा उल्लेख छ। यो किताब ७ देखि १० कक्षा सम्मका सबै विद्यार्थीले पढ्नुपर्छ। यसका कथालाई स्कुलमा चर्चा परिचर्चा गर्नुपर्छ। यसमा दाजुभाइले घरको काम गर्नुपर्छ भन्नेदेखि महिनावारीको कथा–व्यथासम्म छन्।
आन्विकाले बालबालिकाका लागि यो किताब लेखिन्, म त के भन्छु भने यो त अभिभावकका लागि पनि हो। यो किताब पढ्ने सबैले सोच्न विवश हुन्छन्– हाम्रो परिवार कस्तो छ त ?
आन्विका र अमृताका दुई किताब यसपालिको तिहारमा दाइले बहिनीलाई, दिदीले भाइलाई, छोराले आमालाई, बाजेबज्यैले नातिनातिनीलाई दिने राम्रो उपहार हुनेछ। पढ्न नजान्ने हजुरआमा र हजुरबालाई नातिनातिनाले पढेर सुनाए भने राम्रो हुने थियो।
आन्विकाले बालबालिकाका लागि लेख्ने काम गरेर ठूलो योगदान त दिएकी छिन्, साथै भूतप्रेत, परी, राक्षसका कथा मात्र नभनेर सामाजिक समस्यालाई पनि उठान गरेकी छिन्, किताबका मुख्य पृष्ठमा आमाले साइकल चलाएको दृश्य हेरेर दंग परिन्छ।
प्रकाशित: २ कार्तिक २०७६ ०३:२८ शनिबार