अन्य

‘पहिलो दिन बारिनँ’

निर्मला शर्मा

एसएलसीको परीक्षा सकिएको दुई–तीन दिन भएको थियो, घरमै थिएँ, त्यहीबेला पहिलोपटक महिनावारी भएकी हुँ। महिनावारी भए पनि पहिलो दिन घरमा कसैलाई भनिनँ। सुनाउन अप्ठेरो लाग्यो। भोलिपल्ट नबोली घरमै टोलाएर बसेकी थिएँ। आमाले सोध्नुभयो, ‘पन्छिइस् कि क्या हो ?’ त्यतिबेला हाम्रो गाउँघरतिर महिनावारी हुनुलाई ‘पन्छनु वा पर सर्नु’ भनिन्थ्यो।

आमाको प्रश्नमा म नबोली बसेँ, डरले। मेरो मौनतालाई बुझेर आमाले भन्नुभयो, ‘भाइ र बुवालाई देख्न हुँदैन, बारीको रूखमुनि गएर बस्। घामलाई पनि हेर्नु हुँदैन, नहेरेस्।’

महिनावारी हुँदा घरमा आमाले बार्नुहुन्थ्यो, त्यही देखेर बार्नुपर्छ भन्ने थाहा थियो। मलाई भने बार्नुमा विश्वास थिएन र पहिलो दिन भनिनँ ।

आमालाई थाहा भएपछि मलाई छिमेकीको घरमा राखियो। अँध्यारो कोठामा १७ दिन हो कि १९ दिन  (अहिले अलि बिर्सें) जति बिताएँ। कुनै पुरुष र घाम नहेर्नु भनिएको थियो, तर म अरुको आँखा छलेर बाहिर निस्कन्थेँ। घाम हेर्थें, गाउँका केटाहरुलाई पनि हेर्थें। बुवा र भाइ भने म बसेको घरतिर आउनु हुँदैनथ्यो। त्यसैले उहाँहरुलाई त्यो अवधिमा देख्न पाइनँ। घर आएपछि बुवासँग बोल्न र नजिक पर्न पनि डर लाग्यो अलि दिन ।

त्यतिबेला खाना धेरैजसो घरबाट पठाइदिनुहुन्थ्यो, कहिलेकाहीँ म बसेको घरका सदस्यले दिएको खान्थेँ। महिनावारी भएको पहिलो दिनदेखि गन्दा पर्ने हरेक बिजोरी दिनमा नुहाउनुपथ्र्यो। त्यही अनुसार कोही नउठ्दै राति नै उठेर धारामा जान्थेँ। लगाएको लुगा धुने र सुतेको ठाउँ पोत्ने भने हरेक दिन गर्नुपथ्र्यो।

पूर्वमिस नेपाल सुगारिका केसीले आफ्नो जन्मसँग जोडिएको नमीठो अनुभव सुनाएकी थिइन्। डाक्टरले उनकी आमालाई लक्ष्मीपूजाको दिन अपरेसन गर्ने डेट दिएको रहेछ। भाइटीका थुनिन्छ भनेर दुई दिन पछाडि सारेर अपरेसन गरिएछ। उनले आफू जन्मन पनि दुई पछाडि सारिएको घटना सुनाउँदा मेरो मन चसक्क भएको थियो।

छिमेकी आमा, कहिले उहाँका छोरीहरु, कहिले बहिनीहरु मलाई रातमा साथ दिन आउँथे। त्यतिबेला महिनावारी हुँदा एक खालको अपराध नै गरे जस्तो लागेको थियो, जेलमा जस्तै बस्नुपर्ने भएकाले। त्यसरी सबै कुराबाट थुनिएर बस्नुपर्दा मन आत्तिन्थ्यो। कहिले घर जान पाउने होला, फुक्का भएर हिँड्न पाउने होला जस्तो लाग्थ्यो।
त्यतिबेलादेखि नै मलाई महिनावारी बार्नु बेठीक हो भन्ने लागेको थियो। तर समाज र घर–परिवारको दबाबका कारण बारेँ, विद्रोह गर्न सकिनँ।

मैले जे भोगेँ, त्यो मेरा दुई छोरीहरुले अहिले भोग्नुपरेको छैन। अहिले मैले पनि बार्दिनँ। मैले पत्रकारितामार्फत यस विषयमा २५ वर्ष अघिदेखि लेख्दै र बोल्दै आएकी छु। पहिला छापामा धेरै लेखेँ, पछि रेडियोमार्फत बोलेँ, कार्यक्रम बनाएँ। यिनै विषयलाई निरन्तर उठाउनुपर्छ भनेर आफू सञ्चारिका समूहमा अध्यक्ष भएका बेला अनलाइन न्युज पोर्टल (महिला खबर) सुरु गरेँ। अहिले विगत पाँच वर्षदेखि टेलिभिजन कार्यक्रम ‘समकोण’ चलाउँदै आएकी छु। समकोणमार्फत ५० भन्दा बढी जिल्लामा पुगेर महिलाका समस्यामा केन्द्रित भएर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेकी छु। महिनावारी र सुत्केरी हुँदा महिलालाई गरिने छुवाछुत विभेद र हिंसा हो भनेर बुझाउने प्रयास गरेकी छु। २३३ शृंखला टेलिभिजनमा प्रसारण भइसकेका छन्।

एक शृंखलामा पूर्वमिस नेपाल सुगारिका केसीले आफ्नो जन्मसँग जोडिएको नमीठो अनुभव सुनाइन्। डाक्टरले उनकी आमालाई लक्ष्मीपूजाको दिन अपरेसन गर्ने डेट दिएको रहेछ। भाइटीका थुनिन्छ भनेर दुई दिन पछाडि सारेर अपरेसन गरिएछ। उनले आफू जन्मन पनि दुई दिन पछाडि सारिएको घटना सुनाउँदा मेरो मन चसक्क भएको थियो।

यस्ता अन्धविश्वास हटाउने विषयमा मिडियामा मात्र होइन, अरु बेला पनि साथीभाइ र छरछिमेकसँग छलफल गरिरहेकी छु।

महिनावारी बार्नु र छाउपडी प्रथामा केही फरक छैन, उस्तैउस्तै हो। सुदूर–पश्चिमका केही जिल्लाका गाउँका घर साना हुने हुँदा महिनावारी भएकी छोरीचेली घर छेउको गोठमा बस्ने चलन छ। जसलाई छाउगोठ भनिन्छ। बाजुरा, अछाम, बझाङ, बतैडी लगायत देशका करिब ६५ भन्दा बढी जिल्लामा पुगेर मैले महिलाहरुसँग कुराकानी गरेकी छु। उनीहरुले महिनावारी बार्ने प्रथा देख्दा छाउप्रथा र महिनावारी बार्नुमा खासै अन्तर लागेन, केही घटी–बढीको कुरा मात्र हो।

महिनावारी वा सुत्केरी हुँदा कुनै पनि शुभकार्यमा सहभागी हुन हुन्छ, पाप लाग्दैन। यो नियम मान्छेले, समाजले बनाएको हो। सरसफाइ राम्रोसँग गर्नुपर्छ, तर बार्नुपर्दैन। हामीकहाँ अहिले पनि बच्चा जन्मिदा ११ दिनसम्म सुतक बार्ने चलन छ। त्यति बेला दसैँको टीका पनि लगाइँदैन। त्यस्तै अरु सांस्कृतिक पर्वमा पनि महिनावारी वा सुत्केरी हुनुलाई अशुभ मानिन्छ, त्यस्ती महिलालाई अलच्छिनी भन्ने चलन छ, जुन एकदमै गलत हो। यसले महिलालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ। कुनै पनि शुभकार्य होस् या मृत्यु कार्य, महिलाले महिनावारी भइएला कि भनेर सोच्नुपर्ने ? कतिपय महिलाले महिनावारीलाई रोक्ने औषधि खाने गरेको देखेकी छु। महिलाले कतिसम्म हिंसा सहेर बसेका होला ! तर यसविरुद्ध बोल्ने आँट पढे–लेखेकाहरुले पनि गर्न सकिरहेका छैनन्।

पहिलो सन्तान
मेरो विवाह १६ वर्षको कलिलो उमेरमा भएको हो। योजना बनाएर बच्चा जन्माउनुपर्छ भन्ने थाहा नहुँदै दुई छोरी भइहाले।

पहिलोपटक गर्भवती हुँदा म काठमाडौंमा पढ्दै थिएँ। अलि सानै उमेर भएकाले होला, खाना नरुचेपछि, बान्ता आउन थालेपछि मात्रै गर्भवती भएको थाहा पाएकी थिएँ।

सानोमा गर्भवती महिलाहरुलाई देख्दा बच्चा कसरी पाउने होला भन्ने सोचेर डर लाग्थ्यो। सबैले सुत्केरी हुन गाह्रो हुन्छ भनेको सुनेकी थिएँ, त्यसैले गर्भवती अवधिभर सुत्ने बेला सधैँ बच्चा जन्माउने बारेमा सोचिरहन्थे, कसरी जन्माउने होला भन्ने डर लागिरहन्थ्यो।

छोरा जन्मन्छ कि छोरी भन्ने चिन्ता पनि हुन्थ्यो। घर–परिवार र समाजका सबैले छोरै हुनुपर्छ भन्थे, त्यही भएर छोरै पाउनुपर्छ भन्ने लाग्थ्यो। अहिले अध्ययन र बुझाइले गर्दा छोराछोरीबीचको भिन्नता केही छैन भन्ने राम्ररी बुझेकी छु, त्यसो नगर्न पैरवी पनि गरिरहेकी छु।

पहिलो सन्तान जन्माउनुअघि मैले अरु कसैले सन्तान जन्माएको प्रत्यक्ष देखेकी थिइनँ, आफूलाई सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएपछि भने अरुलाई व्यथा लागेको देखेँ, निकै डर लाग्यो।

सुत्केरी हुनु तीन महिना अघिदेखि पेटमा बच्चा चलेर सुत्नै पाउँदिनँथेँ। कोल्टे परेर मात्र सुत्नुपथ्र्यो। कहिले यताउता कोल्टे फेरेर सुत्न पाउँछु भनेर मन आत्तिएको थियो।

जेठी छोरीलाई जन्म दिँदा त्यति गाह्रो भएन। रातिदेखि अलिअलि पेट दुखेको थियो। बिहान ५ बजेतिर पाटन अस्पताल गइयो, एम्बुलेन्समा। त्यही बिहान ९ः३० बजे सामान्य रुपमा छोरीलाई जन्म दिएँ। अरुको हेरी त्यति लामो व्यथा लागेको होइन मलाई।

त्यतिबेला मेरी बहिनी हामीसँगै बसेकी थिई, गर्भवती र सुत्केरी अवस्थामा मलाई उसैले हेरचाह गरी। सुत्केरीका बेला कहिलेकाहीँ मन लागेका बेला मेरा श्रीमान्ले खाना बनाउनुहुन्थ्यो। उहाँले छोरीलाई तेल लगाइदिने पनि गर्नुहुन्थ्यो, सधैँ होइन, आफूलाई मन लागेका बेला।

छोरी जन्मेपछि सुरुमा मेरो घर–परिवारले त्यति राम्रो मानेन। बच्चा पाउने म, तर छोरा चाहिने घर–परिवार र समाजलाई ! छोरा कि छोरी के जन्मियो भन्ने पनि ढिलो गरी खबर गरियो।  किनभने, छोरी जन्मिएकाले त्यति महत्व दिइएन। दोस्रोपटक पनि छोरी जन्मिएपछि त्यस्तै गरियो। अस्पताल लगेको धेरै समयसम्म खबर नआउँदा छोरी नै जन्मिइछ भनेर लख काटेछन्, परिवारका अन्य सदस्यले।

यो त आफ्नो अनुभव भयो, जतिबेला मैले यो विभेद हो भनेर बुझेकै रहेनछु। जब पत्रकारितामार्फत मैले महिलाका विषयमा रिपोर्टिङ गर्न थालेँ, अनि थाहा पाएँ, महिलाले बच्चा पनि आफ्नो इच्छामा जन्माउन नसक्ने रहेछन्। अझ विवाह गरिसकेपछि बच्चा जन्माउनैपर्छ भन्ने समाज वा परिवारको सोच हुन्छ, त्यसमाथि छोरा नै जन्माउनुपर्ने। महिलाले यस्ता मनोवैज्ञानिक दबाब त कति झेल्नुपर्छ कति।

सुत्केरी हुँदा ज्यानलाई नै खतरा हुने भए पनि उसले बच्चा पाउनैपर्छ। बच्चा जन्माउनका लागि सबैको स्वास्थ्य अनुकूल नहुन सक्छ। तर बच्चा जन्माउन सक्दिनँ भन्ने वातावरण छैन महिलालाई।

गाउँगाउँमा धेरै महिलाले अहिले पनि सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपरेको छ। सुलभ स्वास्थ्योपचार भने राज्यको प्राथमिकतामा छैन। संविधानले महिलालाई प्रजनन अधिकार दिएको छ, तर कार्यान्वयनमा आएको छैन। कानुन बनिसक्यो, व्यवहारमा महिलाले भोग्ने समस्या ज्युँका त्युँ छन्।
(कुराकानीमा आधारित)

प्रकाशित: २ कार्तिक २०७६ ०३:१० शनिबार

महिनावारी सन्तान