अन्य

जात्रैजात्रा

पर्यटकीय सहर पोखरालाई ‘पानी रंगको पाठशाला’ भनिन्छ। त्यसो त पोखरा पानी रंगका चित्रमा मात्र सिमित छैन, एक्रेलिक, तैल, चार्कोल लगायत धेरै किसिमका रंगबाट चित्र बनाउँछन् पोखरेली कलाकार। त्यस्तै एक कुशल कलाकार हुन्– ढाका भट्टराई। 

उनले ड्यामसाइटमा ‘हिमालयन आर्ट ग्यालरी’ खोलेका छन्। ग्यालरीका भित्ताभरि हिमाल, तालतलैया र जनजीवनका मात्र होइन, जात्राका चित्र पनि छन्। उनी एक्रेलिक रंगबाट चित्र बनाउँछन्। 

लेकसाइडमै जन्मे/हुर्केका भट्टराई ४७ वर्षका भए। उनी सानैदेखि पानी रंगले चित्र कोर्थे। उनका दाजू प्रेम भट्टराई पनि कलाकार हुन्। सानैमा उनको प्रभाव प¥यो। ‘दाजूका चित्र हेरेर प्रभावित हुन्थें’, उनी सुनाउँछन्, ‘तिनताका पोखरामा वाटर कलरका चित्रको डिमाण्ड ठूलो थियो। अचेल एक्रेलिक रंगका चित्रको माग बढी आउँछ।’

उनले २६ वर्ष अघि राष्ट्र बैंक चोकमा ‘साकुरा आर्ट ग्यालरी’ खोले। पछि सन् २००१ मा अमेरिकातिर लागे। त्यहाँ धेरै वर्ष मन अडिएन, सन् २००७ मा नेपाल फर्के। र, सन् २००८ देखि ग्यालरी खोलेर कलाकारितामा चुर्लुम्म छन्। अरुलाई पनि कलाकर्ममा प्रोत्साहित गर्दैछन्।

कलाकारिताले दालभात खुवाइरहेको छ। सबैभन्दा ठूलो कुरा, मनले रोजेको काम गर्न पाउँदा आत्मसंतुष्टि मिलेको छ। कर्मसियल कलाकारहरू जे बिक्छ त्यही बनाउँछन्। भट्टराई अलिक फरक काम पनि गर्दैछन्। उनी तिज, गाइजात्रा, भाइटीका, दशैं लगायतका चित्र पनि बनाउँदैछन्। कलामै बाँकी जिवन सर्मपण गर्ने उनको चाहना छ। उनलाई शुभकामना !  
सम्पर्क  : ९८४६२०२५४४

प्रकाशित: २ कार्तिक २०७६ ०१:५४ शनिबार

आर्ट_ग्यालरी