अन्य

मेरो फूलबारी

मधुसूदन लामिछाने
कक्षा –३, न्यु सिरस स्कुल, तारकेश्वर– ११, काठमाडौं।

मेरो घरमा धेरै गमलाहरू छन्। घरको छतमा गमलाहरू मिलाएर राखिएको छ। ती गमलाहरूमा धेरै फूलहरू छन्। केहीमा तरकारी रोपिएको छ। गमलाहरूले बनाएको फूलबारी मलाई राम्रो लाग्छ। गमलामा भएका फूलहरू फुल्दा झनै राम्रो हुन्छ। फरकफरक फूलहरू फरक समयमा फुल्छन्। यतिबेला सयपत्री फूल फुलेको छ। मखमली फूल फुलेको छ। मेरो फूलबारीमा तुलसीको बिरुवा पनि छ। पारिजातको सानो बोट छ। आँपको सानो बोट छ। स्याउको बेर्ना छ। त्यो स्याउ खाएर मिल्काएको दानाबाट उम्रेको हो।

गमलामा घ्यूकुमारी पनि छ। घ्यूकुमारीको नाम ‘एलोभेरा’ पनि हो। बाबाले कहिलेकहीँ घ्यूकुमारीको जुस बनाएर खानुहुन्छ। दिदीहरूले कपालमा लगाएर नुहाउँछन्। ममीले आगोले पोलेको बेला हातमा त्यसैको चोप लगाउनुहुन्छ। तुलसीको बोटको पूजा हुन्छ। हामी रुघाखोकी लाग्दा तुलसीको पात पकाएर पानी खान्छौँ।

फूलबारीमा दुबो पनि छ। दुबो पूजा गर्ने बेला चाहिन्छ। मेरी ममीले एउटा बोरामा जिम्बुको बिरुवा पनि सार्नुभएको छ। जिम्बु फुलेपछि त्यसलाई काटिन्छ। सुकाएर दालमा झानिन्छ।

धेरै घाम लाग्दा तिनीहरू ओइलाउँछन्। म ती सबै फूल र बिरुवाहरूलाई बेलाबेला पानी दिन्छु। फूलहरू फुल्दा धेरै पुतलीहरू आउँछन्। भमराहरू आउँछन्। मौरीहरू खेल्छन्। मौरीले यस्तै फूलहरूको रसबाट मह बनाउँछ रे।

मेरो फूलबारीमा चराहरू पनि आउँछन्। परेवा आउँछ। भँगेरा आउँछ। मैले सारौँ भन्ने चरा यहीँ फूलबारीमा देखेको हुँ। कागहरू पनि आउँछन्। हामी चराहरूलाई हरेक दिन खाने कुरा दिन्छौँ। भात खाने बेला पहिले कागलाई भात दिन्छौँ। त्यसपछि मात्र हामी खान्छौँ।

फूलबारीमा उम्रेका झार ममीले उखेलेर फाल्नुहुन्छ। म पनि ममीसँगै झार उखेल्छु। मलाई मेरो फूलबारीको धेरै माया लाग्छ।

प्रकाशित: २५ आश्विन २०७६ ०५:२९ शनिबार

फूलबारी