अन्य

डाक्टरको दसैं

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईं व्यस्त डाक्टरकै समूहमा पर्छिन्। उनलाई दसैं बढ्तै मन पर्छ। कारण– यो मौसममा देखिने खुलेको आकाश र हरियो धर्ती। उठ्नेबित्तिकै देखिने यी दृष्यले उनको मनमा छुट्टै रौनक उब्जिन्छ। उनलाई यो मौसमले भिन्नै ऊर्जा दिन्छ। डा.चापागाइँ भन्छिन्, ‘खुला आकाश देख्नासाथ दसंै आइसकेको लाग्ने क्या !’ उनले भनिन्।

काठमाडौंमा हुर्किएकी र यतै कर्मथलो बनाएकी डा.चापागाइँ अरु बेला दैनिक १४ घण्टाभन्दा बढी व्यस्त हुन्छिन् पेशागत र घरेलु कामले। त्यतिबेला उनलाई कामबाट फुर्सद निकालेर परिवारका सदस्यसँग बस्ने र रमाउने मेसो नै मिल्दैन।

दसैं आयो कि त उनी बाल्यकालका  दसैं सम्झिन पुग्छिन्।  दसैंको बेला किनेको लुगा र रातो टीकाले दिएको खुसी। अहिले परिवेश बदलिएको छ। मीठो खान र नयाँ लुगा लगाउन  दसैं कुर्नु पर्दैन। मन लागेको लुगा जुन बेला पनि किनिहाल्ने र लगाइदिने चलन छ। त्यही कारण उनले यो पालिको  दसैंमा पुरानै सारी लगाउने निधो गरेकी छन्। तर, छोरीको लागि भने नयाँ लुगा किनिसकेको उनले सुनाइन्।  दसैंको सप्तमीदेखि दुर्गाका मन्दिर दर्शन गर्न जाने गरेको उनी सुनाउँछिन्। उनको माइती सातदोबाटोमा घर कौशलटारमा र माामाघर बालाजुमा छ।

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

डा. सन्ध्या  दसैंमा बाहिर घुम्नभन्दा पनि आफन्तको घरमा पुगेर भेट गर्न आशीर्वाद लिने सोचमा छन्। ‘घरमा संयुक्त परिवार छ, सबै जम्मा भएर थरी–थरीको परिकार खानुको मज्जा भिन्नै,’ उनले भनिन्। तर,  दसैं मनाउँदा शरीरलाई असर गर्ने गरी खाना भने खानु नहुने उनी सुझाउँछिन्।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई पनि फुर्सदिलो हुन र  रमाउन दसैं नै कुर्नु पर्छ। अरु बेला उनी बिहानदेखि रातिको ९ बजेसम्म व्यस्त हुन्छन्। दसैंको बेला भने उनको परिवारमा घुम्न जाने योजना बनिहाल्छ।
खानपान, घुमघाम र भेटघाटले दसैंमा आफूलाई बढी आकर्षित गर्ने गरेको डा.सेन्चुरी बताउँछन्। ‘अरु समय खास फुर्सद हुँदैन, दसैंमै हुन्छ पारिवारिक भेटघाट र घुमघाम,’ उनले दसैंको रहस्य खुलाउँदै भने।

यस पालिको  दसैंमा डा.सेन्चुरीले स–परिवार पुख्र्यौली तथा ससुराली ठाउँ सुनसरी जाने योजना बुनेका छन्। उनी सुनसरीमा टीका र आशीर्वाद थापेपछि सोही मौका पारी चितवनको सौराहा वा लुम्बिनी पनि घुम्ने योजना बनाएका छन्। उनी यसअघिका दसैंमा चितवन, पोखरालगायत ठाउँ घुमिसकेका छन्।

यसपालि भने उनी छोरा र पत्नीसँगै घुम्न जाने योजनामा छन्। यात्राको लागि टिकट लिइसक्नुभयो ? जवाफमा सेन्चुरीले भने, ‘आफ्नै गाडी लिएर जान्छौं, छोरा र मैले पालैसित चलाउने योजना छ।’ जागिरको शिलशिलामै पूर्वी जिल्ला घुमेको भए पनि नेपालमा धेरै ठाउँ घुम्न बाँकी रहेको डा.सेन्चुरी सुनाउँछन्।  दसैंमा हुने भोजन र अनावश्यक परिकारदेखि भने उनी सचेत छन्। माछा, मासुलगायत सवै परिकार खाए पनि शरीरलाई चाहिनेजति मात्रै खाने निधो गरेको उनले सुनाए।

डाक्टरी पेशाले कमै फुर्सद पाउने चिकित्सकमै पर्छन्, मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला। दसैं उनको मन पर्ने पर्व हो। बुबा–आमा राजधानीमै भएकाले उनले  दसैंकै लागि उपत्यकाबाहिर जानु पर्दैन।

उनले  दसैंको बेला मुस्ताङ घुम्न जाने सोच बनाएका थिए। तर, केही दिनदेखि रुघाखोकी तथा ज्वरोले सताएपछि त्यो योजना रद्द भएको छ। चार वर्षअघि पाल्पा पुगेर मन्दिरमा सामूहिक  दसैं मनाएको स्मृति भने उनको मनमा ताजै छ।

यो पालिको  दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने उनको योजना छ। चार वर्षअघि डा.कोइरालालाई गृह जिल्ला पाल्पामा एउटै मन्दिरमा जम्मा भएर टीका लगाएको स्मरण भइरहन्छ।

नेपाल क्यान्सर अस्पतालका प्रबन्ध निर्देशक डा.सुदीप श्रेष्ठलाई  दसैं खुबै मन पर्छ। उनी  दसैंको मौसमले पनि मोहित हुने गरेको सुनाए। वर्षभरिको व्यस्त समयबाट फुर्सद निकालेर पारिवारिक भेटघाटमा हराउन उनलाई मन पर्छ। यो पालि अस्पतालका अन्य चिकित्सकले बिदा लिने पालो परेकाले अस्पताल र घर दुवै ठाउँमा समय दिने योजना बनाएका छन्। बिरामीलाई फोनमा दिएको समयसहित दैनिक १५ घण्टा उनी व्यस्त हुन्छन्।

शनिबार आधा दिन पनि सामाजिक काममै बित्ने गर्छ यही कारण डा.सुदीपको लागि पनि दसैं नै परिवार र आफन्तसित रमाउने पर्व हो।  दसैंको बेलाकै बिदा पारेर उनी बितेका वर्षमा भारत, मलेसिया, दुबई, थाइल्याण्ड जस्ता एसियाली मुलुकमा पारिवारिक भ्रमण निस्कन्थे। उनी भन्छन्, ‘यी ठाउँहरू कम समय र कम खर्चमा घुम्न सकिने एसियाकै सहर हुन्, सजिलो लाग्छ।’  दसैंको बेला पाक्ने सबै परिकार उनी खान्छन्। तर, मदिरा, रातो मासुको परिकार भने लिँदैनन् र सबै माछा र चिकेनको परिकारका साथै अन्य नेवारी परिकार मन पराउँछन्।

परोपकार प्रसुति गृहकी बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा प्राध्यापक डा.मीना झा तराईको संस्कृतिमा हुर्केकी हुन्। २६ वर्षे काठमाडौं बसाईसँगै उनको लागि छठको स्थान  दसैंले लिइसकेको छ। भर्खरै बनेको नयाँ घरमा यो वर्षको दसैं मनाउने उनको सुरसार छ। ‘भक्तपुरमा नयाँ घर बनाएका छौं, यसपालि नयाँ घरमै  दसैं मनाउने हो,’ उनले भनिन्। घटस्थापनामा जमरा राखेर विधिपूर्वक दसैं मनाउन सुरु भएको डा.झाले बताइन्। ‘जमरा राखिसकेको छु, दिनहुँ पूजापाठ पनि आफै गर्छु,’ उनले भनिन्।

केही दिनअघि न्युरोडमा पुगेर दसैंको किनमेल पनि गरिसकेको उनले बताइन्। उनी यो वर्ष कान्छी छोरी र पतिका साथ दसंै मनाउँदैछिन्। सप्तमीदेखि अष्टमीमा दैनिक व्रत बस्ने र साँझको बेला चोखो खिर खाने योजना रहेको डा.झाले बताइन्। दसंैको दिन भने माछा, मासु, दही चिउरा लगायत परिकार खाने योजना बनाएको उनले सुनाइन्। तराई संस्कृतिमा हुर्के पनि उनलाई  दसैं असाध्यै मनपर्छ। कारण हो– दसैंले बोेकेको फराकिलो दायरा। सबैले नयाँ लुगा लगाउनु, मीठो परिकार खानु र आफन्तसितको भेटघाट गर्नुले यो पर्वको फराकिलो दायरा बनाएको उनको भनाइ छ। ‘छठमा महिला मात्र व्रत बस्छन् र नयाँ तथा चोखो लुगा लगाउँछन्। तर, दसैं सबैले नयाँ लुगा लगाउने र मिठा परिकार खाने पर्व हो,’ उनले भनिन्।

तिलगंगा आँखा प्रतिष्ठानकी आँखारोग विशेषज्ञ डा. रवा थापा  दसैं आयो कि छुट्टै उमंगको अनुभव गर्छिन्। उनले केही दिनअघि नै दसैंको किनमेल गरिसकेको सुनाइन्। बितेका वर्षहरूमा उनी  दसैं मनाउन पुख्र्यौली घर प्युठान जाने गर्थिन्। यो वर्षको  दसैं भने उनले राजधानीमै मनाउने निधो गरेकी छन्। डा. थापा दसैं आयो कि त केटाकेटी जस्तै फुरुंग बन्छिन्। कारण– वर्षदिनको कार्यालयको कामको धपेडीबाट उन्मुक्ति। उनी दसैंलाई कामको धपेडी र बोझ हटाएर परिवारसित घुमघाम गर्ने मौकाका रूपमा लिन्छिन्। ‘दसैंको भेटघाटले छुटिसकेको आत्मीयता पनि बढ्छ, घुमघाम पनि,’ उनले भनिन्।

दसैंको भोज डा.थापालाई मन पर्छ। तर, पर्वको नाममा मासु मात्र धेरै खाने चलनमा भने कमी ल्याउनु पर्ने उनको सुझाव छ। उनलाई  दसैंमा बन्ने परिकारमध्ये मासु–चिउरा र काँक्राको अचार असाध्यै मन पर्छ। विशेष गरी उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहका बिरामीले  दसैंको बेलामा विशेष ख्याल गर्नु पर्ने उनको सुझाव छ। यस्ता बिरामीले सकेसम्म रातो मासु नखाने र खानै परेमा कम मात्रामा खाने, चिल्लो खानाको कम प्रयोग गर्नुपर्ने  उनले सुझाइन्। ‘धेरै जनामा दसंैको भोजकै कारण यी रोग बढेर बिरामी परेको देख्छु,’ उनले भनिन्।

प्रकाशित: १८ आश्विन २०७६ ०५:१८ शनिबार

दसैं डाक्टर मुटुरोग