अन्य

हङकङभित्रको कथा

पूर्वी एसियाको व्यापारिक केन्द्र हङकङ अहिले उथलपुथलले भरिएको छ। चिनियाँ सरकारले एक राष्ट्र दुई व्यवस्थाअन्तर्गत शासन गरिरहेको हङकङ द्वीप केन्द्रीय सरकारको सपुर्दगी सम्बन्धी कानुनको विरोधमा छ। सन् १९९७ मा बेलायती सरकारबाट आफूमा हस्तान्तरण गरेको हङकङको कथा कम रोचक छैन। यही कथालाई नेपाली मूलका हङकङवासी लेखक क्रान्ति सुब्बाले आफ्नो पुस्तक ‘हङकङभित्र’मा भनेका छन्। करिब एक शताब्दी बेलायती उपनिवेशअन्तर्गत रहेको हङकङमा अहिले बेलायती सेनामा कार्यरत गोर्खा परिवारले बसोबास गर्न पाउने भएपछि नेपाली पनि उलेख्य संख्यामा हङकङवासी बनेका छन्। करिब ८० लाख जनसंख्या भएको हङकङ कानुन पालना, व्यापार, वाणिज्य, सुशासन र समृद्धिका लागि विश्व प्रसिद्ध शहर हो। यही शहरको कथा सुब्बाले निजात्मक अनुभव, यात्रा विवरण र चिन्तनमार्फत व्यक्त गरेका छन्।

समुद्रबीचको द्वीपको नाम हङकङ रहनुमा डुङे जीवन जिउनेहरूकोे जीवनसँग जोडिएको छ। लेखकका अनुसार हङकङ शब्दको उत्पत्ति यस प्रदेशमा कुनै बेला प्रचुर उत्पादन हुने धुपसँग सम्बन्धित छ। ‘हङ’को अर्थ सुगन्धित र ‘कङ’को अर्थ बन्दरगाह हो।  यही सुनौले बन्दरगाह द्वीपमा प्राचीनकालमा तीन हजारको बसोबास थियो। अहिले हङकङमा नेपाली मूलका मानिसको मात्र ५० हजार संख्यामा छ। यो शहर नेपाली मात्रको होइन, सम्पूर्ण एसिया र विश्वका लागि आकर्षणको केन्द्र हो। यसर्थ, यसलाई कस्मोपोलिटन अर्थात् वैश्विक शहरभन्दा फरक पर्दैन। यही शहरमा बसोबास गर्दै आएका सुब्बाको जीवनकथासँगै हङकङको कथा आउँछ।

‘हङ’को अर्थ सुगन्धित र ‘कङ’को अर्थ बन्दरगाह हो।

१९औं शताब्दीको अफिम युद्धमा पराजित भएपछि बेलायत सरकारलाई सय वर्ष भाडामा दिन बाध्य तत्कालीन चीन सरकारले हङकङ सन् १९९७ मा मात्र फिर्ता पाउँछ। त्यसपश्चात् चीनको सम्प्रभुताअन्तर्गतको  व्यापारिक शहरले अझै केही दशकसम्म बेलायतकालीन उपनिवेशका राजनीतिक र सामाजिक अधिकार उपभोग गर्न पाउँछ। त्यसपछि पुनः कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको चीन सरकारको अधिनस्थ हुनेछ। यसर्थ, यस पुँजीवादी आधुनिक टापुको बारेमा हङकङका बेलायती उपनिवेशका अन्तिम गभर्नर क्रिस स्याटनले चिन्ता व्यक्त गर्दै पनि आएका छन्।

पुस्तकमा लेखकले हङकङका धेरै महŒवपूर्ण ठाउँको विवरण दिएका छन्। इतिहास केलाएका छन् र लेख्ने क्रममा उनी डार्विन, नित्से, डेकार्ट र दीपक चोपडाका दर्शनमाथि घोत्लनछन्। विचारविमर्श गर्दछन्। मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका उनले प्राग ऐतिहासिककालदेखि वर्तमानकालसम्मको मानव जातिको उत्पत्ति र विकासका चरणहरूको चर्चा गर्दछन्। उनको रुचि स्नायु विज्ञानमा रहेकाले मस्तिष्कको विविध पक्षहरूको चर्चा गर्दछन्। पुस्तक विविध विषयले भरिएको छ। निजात्मक शैलीमा लेखिएकाले पाठकलाई आनन्द आउँछ। चीनका शासकहरूको विभिन्न कालखण्डका घटनाक्रमको इतिहास पनि दिएका छन् । हङकङसँगको इतिहास र राजनीतिक खेलको चर्चा गर्दै उनी हङकङ कसरी नेपालीका लागि आकर्षक थलो हो भनेर भन्छन्। हुन त हङकङमाथि धेरै अन्तर्राष्ट्रिय प्रकाशन छन्। यसको महत्वका विषयमा विशेष गरेर आर्थिक रूपलाई लिएर दिनहुँ जस्तो समाचार र टिप्पणी प्रकाशन हुन्छन्। तर सुब्बाले नेपाली भाषामा ३२९ पेजको पुस्तक लेखेर पाठकहरूलाई हङकङभित्रको कथा भनेका छन्। रविना राईले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ।

प्रकाशित: ४ आश्विन २०७६ ०१:१८ शनिबार

हङकङ कथा