अन्य

बद्लिँदो मिडिया ल्यान्डस्केप

भेषराज बडालको पेशा हकर, अर्थात् पत्रपत्रिका बेच्ने मानिस हो । एकाबिहानै काठमाडौँ नयाँ सडकबाट पत्रपत्रिका, म्यागेजिनको पोका साइकलको क्यारियरमा राखेर सहरभर पत्रिका बेच्दै हिँड्ने काममा उनी सिपालु मानिन्छन् ।

काभ्रेबाट काठमाडौँ झरेर दुई दशकदेखि यो पेशामा लागेका उनले हकरकै मुख्य परिचय र कमाइले सन्तानलाई उच्च शिक्षा दिलाए, घरपरिवार चलाए । बिहानैदेखि मध्याह्नसम्मको हकरको उनको परिचय साठीको दशकपछि सडक कपडा व्यापारीको बन्यो ।

बिहान दैनिक पत्रपत्रिका र अपराह्न सन्ध्याकालीन पत्रपत्रिका बेच्ने उनी सन्ध्याकालीनहरूको बिक्री ओरालो लागेपछि फूटपाथमा कपडामा बेच्न थालेको बताउँछन् । हिउँद, वर्षा, जाडो, गर्मी अनि राजधानीका सबै खाले आक्रोश र उल्लासहरूका साक्षी बनेका बडाल अहिले हकरबाट हात झिक्ने मुड्मा छन् । किन त ? सन्तानले कमाउन थालेपछि ? पुगिसरी हुन थालेपछि ? निश्चय नै पारिवारिक बन्दोबस्ती र परिवारजनको आग्रहले उनलाई दिनरात घोटिन दिइराखेको छैन ।

४५ वर्षीय बडाल भने पारिवारिक आग्रहभन्दा पनि पत्रपत्रिका प्रतिको घट्दो नागरिक आकर्षणलाई प्रमुख कारण मान्दछन् बर्हिगमनको । भेषराजको कथन छ, ‘हिजोआज मानिस पत्रपत्रिका पढ्न चाहदैनन्, रुचि नै छैन ।’

पछिल्लो तीन वर्षयता पत्रपत्रिकाको बिक्री दिनदिनै घट्दो क्रममा रहेको उनी बताउँछन् । उनको दिएको विवरणले चल्तीमा रहेका नेपालका राष्ट्रिय अखबारहरूको बिक्री समग्रमा पोहोरको तुलनामा यसपालि आधा भएको छ । समग्रमा सबै पत्रिकाको बिक्री घटेका छन् उनको अनुभवमा । तीमध्ये कुनैको निकै धेरै घटेको छ, कुनैको सामान्य मात्र घटेको छ, कुनै स्थिर छन्  भने कुनै पोहोरको दाँजोमा उकालो पनि लागेका  छन् । कुरो भेषराजको मात्र होइन । नयाँ सडक पत्रपत्रिका बिक्रीका हिसाबले राजधानीमा उनीजस्ता धेरैको कथा हो यो ।

सबैजसो पत्रिकाका डिलर त्यहीँ छन् । बडाल जस्ता साइकलमा कराइकराई पत्रिका बेच्नेहरू नयाँ सडक क्षेत्रमा दुई वर्ष अघिसम्म १ सय ५० जति थिए, पोहोर एक सयको हाराहारीमा थिए भने आजकल ५० जति बचेका छन् । बडालको यो कथनले बेच्नेहरूसँगै पढ्नेहरू स्वाट्ट घटेका छन् । त्यसो त पत्रिकाको राजधानी नयाँ सडकका ठूला विक्रेता आजकल विगत सम्झिएर दिन काटिरहेका भेटिन्छन् । पत्रपत्रिकाका पहाड बेच्नेहरूसँग अहिले थुम्काथुम्कीमा खुम्चिएको अनुभव छ ।

बडालका कथनले नेपालमा पत्रिका बिक्रीसँगै पाठकहरू घटेको यथार्थ स्पष्टिन्छ । के साँच्चिकै पाठक घटेका हुन् त ? यकिन  भन्न सकिन्न । सम्भवतः पाठकको रुचि बद्लिएको हो कि ! समाचार, विचार पढ्ने, सुन्ने माध्यम बद्लिएको हो कि ! हाते फोनबाटै सबैखाले समाचार, विचार, हेर्न, पढ्न, सुन्न तथा सेयर गर्नसमेत मिल्ने भएपछि किनेर पत्रिका पढ्ने घट्ने नै भए । तर, त्यो मात्र कारण नहुन पनि सक्छ ।

५० को दशकदेखि पत्रकारिता पेशा अपनाएको यो पंक्तिकारको आत्मविश्लेषणमा प्रविधिको प्रयोगकै कारण पत्रिकाको पाठक घटेका होइनन् । एउटा माध्यम परिवर्तन भैरहेको अवस्था हो । पत्रिकाका पानाहरूको विकल्प स्क्रिन भैरहेको अवस्था हो । तर, अर्को पाटो पनि छ ।  स्तरीय र पाठकका रुचि समेटिएका समाचार र विचारबाट नेपालको पत्रकारिता अगाडि बढिरहेको को छ त ? प्रश्न अनुत्तरित छ । तीन दशकअघि ‘भन्नुभयो’ समाचारहरुको बाहुल्य हुन्थ्यो, अहिले पनि त्यस्तै समाचारले छापा भरिएका हुन्छन् ।

कुनै व्यक्तिलाई अर्ब खाएको आरोप सहितको हेडलाइनको समाचारमा आरोपित व्यक्तिको भनाइ पनि हुँदैन र तथ्यहरूले पुष्टि पनि गरेको भेटिँदैन । आफ्नो मूल धर्मबाट धर्मराएपछि विश्वासको संकट गहिरिँदै जान्छ । व्यक्तिलाई देवत्वकरण गर्ने र दानवीकरण गर्ने दुवैखाले अभ्यास पत्रकारिताको पहिचान बनिरहेको छ  । छापा, अनलाइन दुवै खाले मिडियामा यस्तो अभ्यास देखिन्छ ।

तीन दशकअघि नेपालको साक्षरतादर ४० प्रतिशतको हाराहारीमा थियो, अहिले साक्षरता ८० प्रतिशत नजिक छ । प्रविधि, विकास र नेपालीको बाह्य दुनियासँगको आवतजावतले नेपालीलाई निकै टाठोबाठो बनाएको छ, चेतनास्तर ह्वात्त बढेको छ । तर, त्यही दाँजोमा पत्रिपत्रिकाका सामग्री स्तरीय हुन सकेका छन् त ? लामो समय यो पेशामा आबद्ध जिम्मेवारहरूले आत्मसात गर्ने बेला हो अहिले । पत्रिका पढ्ने चलन हामीकहाँ मात्र होइन, हाम्रोमा भन्दा धेरै गुणा खस्किएको छ– युरोप, अमेरिकामा ।

भारत पनि त्यही प्रवृत्तिबाट गुज्रिरहेको छ । तर, युरोप अमेरिकामा प्रकाशन माध्यम परिवर्तन भए पनि प्रकाशन सामग्रीमा स्तरोन्नति भएका छन् । खोज, अनुसन्धानमूलक समाचार, विचार आकार लिएको देखिन्छ र प्रकाशन गृहहरूले समाचारमा प्रशस्त लगानी बढाएको देखिन्छ । हामीकहाँ भने जसोतसो जागिर दिइरहेका प्रकाशन गृहहरूले समाचार र विचारमा लगानीको आवश्यकता आत्मसात गरिरहेका छैनन् । केही अपवादबाहेक प्रकाशनका माध्यम परिवर्तन भए पनि समाचार, विचारको स्तर उकालो लागेको अनुभव हुँदैन । व्यावसायिक पत्रकारिताको विकास हुन नसकिरहेको अवस्थाको परिणाम हो यो ।

त्यसैले हुनसक्छ पछिल्ल्लो समय पत्रकारितामा नयाँ पुस्ताको आकर्षण छैन । पुराना पत्रकारहरू विभिन्न अनलाइनहरूमा विभाजित मात्र छैनन्, ठूलो संख्यामा पलायनसमेत भएका छन्  । नेपालको पत्रकारिता सधैँजसो राजनीतिक आरोह अवरोहबाट प्रभावित भैरहेको  देखिन्छ । मुलुकको राजनीति सात सालदेखिका फरक–फरक अभ्यासका बीच सङ्लिन नसकेकाले हुनसक्छ, यो पेशा पनि राम्रोसँग अगाडि बढ्न पाएन ।

नेपालमा पत्रपत्रिका प्रकाशन, प्रसारणको लामो इतिहास छैन । एक सय वर्ष अघिदेखि गोरखापत्र आफ्नो विरासत धान्दै आएको छ । रेडियो नेपाल सात सालदेखि बज्दै छ । नेपाल टेलिभिजन ४० को दशकदेखि दर्शकमाझ छ । सरकारी लगानीमा स्थापना भएका यी मिडिया अहिलेसम्म आफ्नो धर्म अर्थात् सरकारको रक्षाकवच बन्ने, सरकारी सूचना प्रवाह गर्ने संयन्त्रको रुपमा संचालित छन् ।

करिब सात दशकको नेपालको राजनीतिक सामाजिक परिवेशनमा आम जनताले सत्यतथ्य सूचना प्राप्त गर्न पाउने अघिकार कतिपय अवस्थामा संविधान, कानुनमा व्यवस्था गरियो । प्रेस स्वतन्त्रताका पक्ष बलिया बने । कतिपय अवस्थामा संविधान, कानुनले नै जनताका सुसूचित हुन पाउने अधिकारमा बन्देज वा नियन्त्रणको नीति लिएको पाइन्छ । सात सालपछिका करिब सात दशकको आधा समय नेपालको पत्रकारिता नियन्त्रित, निर्देशित अवस्थाबाट गुज्रियो ।

२०४६ सालको परिवर्तनपछि उत्साहका साथ निजी क्षेत्र यो पेशामा आएको भए पनि माओवादी सशस्त्र द्वन्द्व लगायतका जातीय, क्षेत्रीय राजनीतिक अड्चन चुनौती बनेर सामुन्ने आए । तर, राजनीतिका पेचिला पक्षभन्दा पत्रकारहरू आफैँ  एनजिओ, आइएनजिओको प्रवक्ता बन्ने,  अधिकारकर्मीहरूको अभियन्ता बन्ने र उनीहरूबाट पोषित हुने प्रवृत्तिको  विकास पनि यसै समय भयो । पत्रकारिता पेशालाई हतियार बनाएर कमाई गर्नेहरू  पचासको दशकदेखि नै मौलाए । हतियार बन्ने रोग अहिलेको प्रमुख चुनौती हो पत्रकारिताको ।

अनलाइनको बाढी
पछिल्ल्लो एक दशकदेखि पत्रिका र विभिन्न खाले म्यागेजिनको प्रकाशनसँगै डिजिटल पत्रकारिताले आकार लिइरहेको अवस्था छ । हाते स्मार्ट फोनबाटै संसार चाहर्न सकिने सञ्चार प्रविधिमा नेपालीको पहुँच, जनसंख्याको आधा हिस्सा युवा रहेको र युवाहरू पत्रपत्रिका प्रतिको रुचिमा कमी  तथा  नेपालको ५० लाख बढी जनसंख्या मुलुकबाहिर विभिन्न देशमा रहेको अवस्थाले डिजिटल मिडियाको सम्भावना देखिन्छ ।

सम्भावना देखेर हुनसक्छ, ठूला मिडिया हाउस आफैँले एक दशक अघिदेखि नै विकल्पको रुपमा अनलाइन संस्करण पेश गर्र्दै आएका छन् भने राजनीतिक, समाज, अर्थ व्यवस्था लगायतका सामग्रीसहित दैनिक पत्रिकाकै शैलीका सामग्री पस्कने गरी दिनदिनै जसो अनलाइन खुल्ने क्रममा छन्, अनलाइनहरूको बाढी नै देखिन्छ आजकल । सरकारी आँकडाअनुसार १ हजार १ सय बढी अनलाइन दर्ता भएका छन्, जसमध्ये मुलुकभर करिब एक हजारको हाराहारी कुनै न कुनै रुपमा सञ्चालनमा छन् । बजारमा राम्रो उपस्थिति जनाएका अनलाइनको संख्या भने केन्द्रीय तहमा करिब एक दर्जन मात्र  देखिन्छ र उल्लेखनीय उपस्थिति जनाउने अनलाइनहरू तीन दर्जन जति छन् । पछिल्लो समय प्रदेश र स्थानीय तहमा विशेष अनलाइनको प्रचलन देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा गर्जिने गर्छन्, मिसन पत्रकारिताले दिक्क लगाएको कुरा गर्छन् । निश्चय नै ओली यस अर्थमा गलत छैनन् । तर के सुनिदै छ भने अहिले ओलीकै विश्वास पात्रहरू अनलाइन प्रकाशनको अभ्यासमा जुटेका छन् । विश्वास पात्रहरूले आफ्ना नेताहरूको भजन गाउने हो, आफ्नो जति सबै राम्रो, विरोधी सबै गलत भनेर देखाउने हो । ओली यस मामलामा सायद पछि परेकाले हुनसक्छ उनी मिसन पत्रिकारिताको विरोध गर्दे आफ्नै मिसनको जोरजाममा जुट्नु परेको हो ।

आफ्नो बखानको प्रयोजनको निम्ति अनलाइन खोल्ने र चलाउने प्रवृत्ति विकसित भएको छ, पछिल्लो समय ।  नेपालको राजनीतिक, सामाजिक, आर्थिक क्षेत्र, प्रहरी प्रशासनमा बलियो उपस्थिति राख्नेहरू आफ्नै मिडिया चाहन्छन्, प्रचार संयन्त्र चाहन्छन्, विरोधीको तेजोबध गने हतियार चाहन्छन् र आफ्नो व्यक्तित्व, कीर्तित्वको बखान गर्न चाहन्छन् । उनीहरू सहजै खोल्न सकिने  मिडिया अनलाइनमा लगानी गरिरहेका छन् । र, हतियार बनेको छ– पत्रकारिता पेशाकर्मी जो लगानीकर्ताको योजनाअनुसार चल्न बाध्य हुन्छ । पार्टीका नेता र गुटहरूको लगानीमा खुलेका अनलाइनहरूमा पेशागत मर्यादाको कुरै भएन ।

हतियार बनिसकेपछि हतियार जसले चलाउँछ, त्यसैअनुसार चल्नुपर्ने हुन्छ । त्यही नियति भोग्दै छ अहिले समग्र पत्रकारिता । समाजमा स्थापित हुने क्रममा रहेका कतिपय अनलाइनहरूमा समेत कसको कुन उद्देश्यको लगानी  कति छ ? उत्तर पाइँदैन । पार्टी वा नेता विशेषको लगानीमा खुलेका अनलाइन भन्दा खतरनाक हुन्छन्, पर्दा पछाडिको लगानीबाट खुलेका अनलाइन ।

अनलाइन मिडियामा कसको लगानी  ? आम पाठकको चासो नहुन सक्छ तर स्वतन्त्र मिडियाको विकासमा यस्ता खाले लगानी प्रत्युपादक बन्न जानेछन् । समग्र पत्रकारिताका निम्ति चुनौती बनिरहेको छ गोप्य लगानी । व्यापारीसँगको साझेदारीमा खुलेका र आइएनजिओको भरणपोषणमा चलेका अनलाइनहरूले अनलाइन संचालन त गर्नसक्छन् । केही पत्रकारलाई जागिर पनि दिन सक्छन् । तर, पत्रकारिताको विकासमा भने उनीहरूको योगदान के कस्तो र कति हुने हो ? समयले मूल्याङ्कन गर्दै जानेछ ।  

प्रकाशित: ३० भाद्र २०७६ ०६:०६ सोमबार

बद्लिँदो मिडिया नागरिक परिवार