अन्य

ट्राउट भित्र्याउने डाक्टर

वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन। साँझ ६ बजेतिर मोबाइल फोनमा एउटा खुसीको खबर सुनिन्छ, ‘डाक्टरसाप आज हाम्रो फार्मको प्रांगणमा दर्जनौं गाडी र बाइक छन्। सयौं मान्छे छन्। उनीहरूलाई हामी ट्राउटका परिकार खुवाइरहेका छौं। भ्याईनभ्याई छ। यो खुसी हजुरसँग सेयर गरौं भनेर !’

यस्तो सुखद् खबर सुन्न पाउँदा डा. टेकबहादुर गुरुङका आँखा रसिला बन्छन्। अस्ति मात्र होइन, पोहोर पनि वैशाख १ गतेका दिन यसैगरी फोन गरेका थिए गण्डकी रेन्बो ट्राउट, पोखराका सञ्चालक लक्षिन गुरुङले। सार्दिखोलामा सञ्चालित उनको ट्राउट फार्म नेपालीमाझ लोकप्रिय छ। जहाँ आफैंले जालमा थापेको माछाका परिकार पाइन्छ।

आज शहरका मेनुमा ट्राउट अटाएको छ। त्यति मात्र होइन, जहाँजहाँ ट्राउट पालन छ त्यहाँत्यहाँ रेष्टुराँ खोलिएका छन्। तिखा काँडा नहुने, खान पनि स्वादिलो भएकाले ट्राउट लोकप्रिय बन्यो। प्रोटिन र ओमेगा थ्रि तत्त्व प्रचुर मात्रामा पाइन्छ ट्राउटमा। प्रोटिनले शरीरको वृद्धि गराउँछ भने ओमेगा थ्रिले रक्तसंचार र मस्तिष्क विकासमा मद्दत गर्छ।

डा. टेक बहादुर गुरुङले जापानबाट उपहार ल्याएको ट्राउट माछा ३० जिल्लामा फैलिसक्यो। यतिबेला उनी ‘ट्राउट टुरिजम’ विकास गर्न उद्यमीलाई हौस्याउँदैछन्।

नेपाली माझ लोकप्रिय बन्दै गएको यति मिठो ट्राउट माछा नेपालमा भित्र्याउने श्रेय डा. टेकबहादुर गुरुङलाई जान्छ। उनले जापानबाट उपहारमा ल्याएको ट्राउट माछा मुलुकभित्र ३० जिल्लामा फैलिसक्यो।

उनले सन् १९८८ मा जापानबाट ट्राउट ल्याएका। यसको रोचक कथा छ। उनी सन् १९८७ को अक्टुबरमा मत्स्यपालन तालिम लिन जापान जाने मौका पाए। तिनताका उनी मत्स्य अनुसन्धान केन्द्र पोखरामा काम गर्थे। उनले ९ महिनासम्म मियाजाकी प्रदेशको कोबायासी सहरमा तालिम लिए। तालिम सकिने बेला एउटा कार्यक्रममा त्यहाँका गर्भनर आएका थिए।

तालिमेहरूका तर्फबाट टेकबहादुरको प्रस्तुति सुनेर ती गर्भनर प्रभावित भएछन्, ‘मिस्टर टेकबहादुर तिमीलाई के उपहार दिउँ ?’
‘हामी नेपालीमा प्रोटिनको कमी छ। ट्राउट माछा लान पाए त्यसको पूर्ति हुन सक्थ्यो कि !’, गर्भनरले सोध्नेबित्तिकै हाम्रा टेकबहादुरले भनेछन्, ‘जापानको जस्तै हावापानी भएको नेपालमा ट्राउट फस्टाउन सक्छ।’

‘लौ त्यसो भए आवश्यक तयारी गनुसर््’, गर्भनरले सहमति जनाएछन्। नेपाल फर्केपछि हाम्रा डाक्टर सापले आवश्यक प्रक्रिया पूरा गरे। कृषि विभागबाट पत्र लेखाएर जापान पठाए। उताबाट ४ महिनापछि भाले लागेको ५० हजार अण्डा आयो। डाक्टर साप पोखराबाट तीन महिना काजमा गोदावरी आए। र, अण्डा कोरले। ९९ प्रतिशत भुरा जन्मे।

भुरा त जन्मे तर हुर्काउन दानाको समस्या भयो। फलस्वरूप केही माछा मात्र बाँचे। उनीहरू निरन्तर दाना उत्पादनमा लागे। पछि पोखराबाट डाक्टर साप्को सरुवा गोदावरीमा भएपछि सजिलो भयो। बाँचेका ट्राउट माछालाई जगाइयो। त्यतिबेला हुर्केका सय वटा माउ त्रिशुलीमा पठाइएको थियो। त्रिशुलीमा जापानी स्वयंसेवकले पनि निकै मेहेनत गरे।

आफैं दाना उत्पादन र हयाचरी निर्माणका काम पूरा गरेर मात्र निजी क्षेत्रलाई माछा पालन गर्न सन् १९९५ देखि दिइएको गुरुङ बताउँछन्। ट्राउट माछाको विकासमा सहकर्मीहरू साधुराम बस्नेत, पुरुषोत्तमलाल जोशी, भोला प्रधान र आशकुमार राईको योगदान अतुलनीय ठान्छन् उनी।

गुरुङले उपहारस्वरूप ल्याउनु धेरै वर्षअघि राजा महेन्द्रको इच्छामुताविक नेपालमा ट्राउट ल्याइएको थियो। तर, ज्ञान र प्रविधिको अभावमा ती माछा बाँचेनन्। अहिले जति बिस्तार भएको छ त्यो सबै गुरुङले उपहारमा ल्याएका माछाका पुस्ता हुन्। अचेल नेपालमा वार्षिक ५ सय टन ट्राउट उत्पादन हुन्छ। ट्राउट उत्पादन गर्ने अग्रणी जिल्लाको सूचीमा कास्की, रसुवा, नुवाकोट, पर्वत, सिन्धुपाल्चोक, ताप्लेजुङ लगायतको नाउँ आउँछ।

ट्राउट माछा धेरै कारोबार हुने क्षेत्र पासाङ ल्हामु राजमार्ग हो। काठमाडौंबाट बालाजु बाइसपासबाट अघि बढेपछि जितपुरफेदीदेखि नै राजमार्ग छेउछाउमा जापानी रेन्बो ट्राउट पाइन्छ भन्ने व्यानर झुण्डाएका रेष्टुराँ छन्। त्यसैले जनबोलीमा यसलाई ‘ट्राउट हाइवे’ भनिन्छ।

ट्राउट खासमा अमेरिकाको रैथाने माछा। नेपालमा जापानबाट ल्याइएकाले ‘जापानी रेन्बो ट्राउट’ भनिएको। झलक्क हेर्दा इन्द्रेनी रंगको देखिन्छ। तर सबैतिरका माछा इन्द्रेणी रंगका हुँदैनन्। हिमालको जराबाट बगेर आएको पानीमा हुर्किएका माछा मात्र इन्द्रेनी रंगका हुन्छन्। जस्तो कि मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका माछा इन्द्रेणी रंगका छन्। त्यहाँ हिमालबाट बगेको पानी आउँछ। अन्यत्र खोलाको पानीमा पालिएका माछा काला रंगका हुन्छन्।

स्वभाविक छ चिसो ठाउँको उत्पादन स्वादिलो हुन्छ। त्यसैले चिसो पानीमा हुर्कने ट्राउट पनि स्वादिलो हुने नै भयो। गुरुङका अनुसार निरन्तर बगिरहने ९ देखि १८ डिग्री सेन्टिग्रेडसम्मको पानीमा ट्राउट माछा राम्रो उत्पादन हुन्छ। तापक्रम २२ डिग्री पुगेपछि माछा बाँच्दैन। स्वादका हिसाबले दुई सय ग्रामका माछा बेस मानिन्छ। १४ महिनामा ट्राउट दुई सय ग्रामका हुन्छन्। लामो समय पालेमा ६ किलो सम्मका बन्छन्।
आफुले भित्र्याएको ट्राउट फैलँदै जाँदा गुरुङ गद्गद् छन्। अब ‘ट्राउट टुरिजम’ विकास गर्न उद्यमीले पहल गर्नु पर्नेमा उनको जोड छ।  

‘हिमताल वा हिमतालबाट बगेर आएको पानीमा ट्राउट पालन गर्नु पर्छ। त्यसो गर्न सके पर्यटकहरू फिसिङ र एंगलिङ गर्नकै लागि भनेर नेपाल आउन सक्छन्’, उनी सुझाउँछन्, ‘हिमाली सौन्दर्य अवलोकन गर्दै ट्राउट फार्ममा हप्तौं दिनसम्म बस्न सक्छन्।’ संसारमा शौखिन मत्यस्प्रेमिको संख्या बढ्दै छ।

ट्राउटलाई मत्स्य विनोदमा जोड्न सके नेपालले फाइदा लिन सक्छ। माछासँग खेल्दाखेल्दै समाउने र त्यत्तिकै छाडिदिने वा त्यसलाई पकाएर खाने गतिविधि सञ्चालन गर्न सकिन्छ। उनका अनुसार स्याउको सुकेको दाउरामा पोलेर बनाइएको माछाको परिकार मिठो हुन्छ।   
स्याङ्जाका गुरुङ ५९ वर्षका भए। हाल उनी कृषि अनुसन्धान परिषद् (नार्क)का कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। अबको ७ महिनापछि सेवा निवृत्त हुनेछन्।

त्यसपछि के गर्ने त ? भन्छन्, ‘सायद शिक्षक पो बन्छु कि !’ बाँकी जीवन आफ्नै ढंगले बिताउन स्वतन्त्र छन् उनी। उनले जीवनमा धेरै काम गरे। तर, ट्राउट माछाले बेग्लै सम्मान दिलायो।  हिजो तालिममा छँदा जापानका गर्भनरसँग उपहारमा कुनै टेपरिकर्डर वा घडी मागेका भए के हुन्थ्यो ? ती थोत्रा भएर मिल्किसक्थे ! ट्राउट मागेकाले त्यसको स्वाद हामी पनि चाख्दैछौं। र, लक्षिन गुरुङहरूले खुसी बाँड्न पाइरहेछन्। सत्कर्मका लागि धन्यवाद डाक्टरसाप् !

प्रकाशित: २८ भाद्र २०७६ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App