अन्य

पौडीमा रमिएका तीन पुस्ता

नेपाली खेलकुदको पौडीमा कार्की परिवार विशेष किसिमको नाता रहँदै आएको छ । करिब ३५ वर्ष अगाडिदेखिको पानीसँगको नाता कार्की परिवारमा अझैं पनि छ । हजुरबुवाले जोडेको पानीसँगको दौतरी नातीसम्मले गासिरहेकै छन् ।

त्यही पानीसँगको नाताबाट कार्की परिवारले आफूलाई नेपाली खेलक्षेत्रमा परिचित गराइराखेका छन् । अझैं भन्यौं, देशका कयौं सफलतामा आफूलाई त्यसको सारथी बनाए पनि । कहिले खेलाडी जीवनबाट त, कहिले एक कुशल प्रशिक्षकका रूपमा नेपाली पौडीलाई सफलता दिलाइराखेका छन् । त्यसैले त, नेपाली खेलकुदको पौडी इतिहासमा कार्की परिवारको विशेष योगदान रह्यो । नेपालका पूर्वराष्ट्रिय खेलाडी ईश्वर कार्कीबाट सुरु भएको त्यो यात्रा उनको नातीसम्म पनि चलिरहेको छ ।

ईश्वरबाट सुरु भएको पौडीसँगको नाता कार्की परिवारका ६ जना सदस्य राष्ट्रिय टोलीका सदस्य भइसके । सिन्धुपाल्चोकमा जन्मिएका ईश्वर कार्कीले लहलहैमा लामुसाँघुमा रहेको खोलाहरूमा खेल्ने सुरु गरेका थिए । पछि घरनजिक रहेको सुनकोशी नदीमा पौडी खेल्नु ईश्वरको गन्तव्य बन्यो । वि.सं. २०३८ सालमा त्यहीँबाट रहरै रहरमा सुरु भएको उनको करियर देशको झन्डा प्रतिद्वन्द्वी गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नसम्म पुग्यो ।

नेपाली पौडी टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा सन् १९८२ मा सहभागिता जनाउँदा ईश्वर त्यस टोलीका सदस्य थिए । पछि उनी पौडीबाट नेपाललाई पहिलो पदक दिलाउन पनि सफल भए । एक समयमा ईश्वरले पौडी एकछत्र राज गरे । उनले देशभित्र लगातार पदक जित्दा दक्षिण एसियाली खेलकुद सागबाट पनि नेपाललाई पदक दिलाए । नेपालबाट सुरु भएको दक्षिण एसियाली राष्ट्रका खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणमै ईश्वरले घरेलु भूमिमा पदक दिलाएका थिए ।

सन् १९८४ को सागमा नेपाली पौडी टोलीले मिड्ले रिलेमा कास्य पदक जितेका थिए । जुन नेपाली पौडीले देशलाई दिलाएको पहिलो पदक पनि हो । सक्रिय खेलजीवन टुङ्ग्याउनु अघि उनै ईश्वर विसं २०४४ सालमा राष्ट्रिय खेलकुद परिषद्मा करारमा प्रशिक्षकमा नियुत्ति भए । विसं २०५० सालमा स्थायी प्रशिक्षकमा नियुक्त भएका उनी आफूजस्तै खेलाडी उत्पादनमा सक्रिय रहे । त्यसबीच उनले कयौं ओलम्पियनलाई प्रशिक्षण गराउँदा कयौं ओलम्पियन पनि उत्पादन गरे ।

ओलम्पियनहरू रुना प्रधान, चित्रबहादुर गुरुङ, एलिस श्रेष्ठ, प्रसिद्धजंग शाह र श्रेया धिताल उनले प्रशिक्षणबाट नेपाली पौडीका स्टार बनेका थिए । बाहिर मात्र नभई उनले घर भित्रबाटै ओलम्पियन उत्पादन गर्दा आफ्नै छोरी करिस्मा कार्कीलाई पनि ओलम्पिक सम्मको यात्रा तय गराए । करिस्माले पनि एक समय नेपाली पौडीमा एकछत्र राज गरिन् । सन् २००० देखि २०११ सम्म करिस्माले राष्ट्रिय टोलीमा दबदबा बनाइरहिन् ।

सुरुमा भने ईश्वरको मार्गलाई उनका भतिज विष्णुले पछ्याएका थिए । ईश्वरको खेलप्रेरणाबाटै उनका भतिज विष्णु कार्कीले पनि पौडी खेल्न थाले । ईश्वरको सफलताले उनका भतिज विष्णुको खेलाडीको रूपमा उदय भएको थियो । विष्णुले पनि काकाकै लयलाई समात्न थाले । विष्णुले वि.सं २०४० सालदेखि २०५२ सालसम्म कयौं राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । यसबीचका विभिन्न राष्ट्रिय प्रतियोगितामा विष्णुले दबदबा बनाउँदै पदक जिते ।

तर, त्यसपछि भने विष्णुले पौडीलाई निरन्तरता दिन सकेनन् । उनी अध्ययनका लागि अमेरिका गएपछि उनले पौडीलाई छाड्न बाध्य भए । त्यसैबीचमा विष्णुका भाई शंकरले पनि उनलाई पछ्याइरहेका थिए । हाल नेपाली पौडीको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षकसमेत रहेका शंकरको पौडीको यात्रा पनि सुनकोशी नदीबाट भएको थियो ।

सानोमा सुनकोसी नदीमा ‘डाइभ’ हानेका शंकरले पनि काका र दाइकै सिको गरेर पौडी खेलाडी बने । वि.सं.२०४७ सालदेखि स्वदेशका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका शंकरले २०५५ सालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । तर, शंकरले भने खेलाडीका रूपमा सोचेजति सफलता पाउन सकेनन् । पौडी खेल्दाखेल्दै लाइफ गार्डको काम थालेका शंकरले सन् २००२ मा भारतको पटियालामा डिप्लोमा कोर्स पूरा गरे ।

त्यसपछि शंकर पनि काका ईश्वरजस्तै कयौं खेलाडी उत्पादन गर्ने यात्रामा होमिए । उनले वि.सं.२०६१ भदौदेखि राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका उनी अहिले पौडीका मुख्य प्रशिक्षक भइसकेका छन् । मुख्य प्रशिक्षक भएसँगै उनले पौडीको राष्ट्रिय टोलीलाई हेर्दै आएका छन् । काका ईश्वर र शंकर दुवै अहिले पनि प्रशिक्षणमार्पmत राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै नेपाली पौडीलाई योगदान पु¥याइरहेका छन् ।

नेपाली खेलकुदको दुरावस्था देखेर अहिले पनि धेरैले आफ्ना सन्तानलाई खेलकुदमा लाग्न निरुत्साहित गर्दै आएका छन् । तर, कार्की परिवारमा तीन पुस्तादेखि खेलकुद (पौडी) मा लाग्दै आएको छ । हजुरबुबाबाट सुरु भएको यो परम्परालाई नातीसम्मले लिगेसीकै रूपमा निरन्तरता दिँदै आएका छन् । शंकरका छोरा किरण पनि अहिले जुनियर स्तरबाट स्टार खेलाडी बन्ने क्रममा छन् ।

ईश्वर कार्की (पूर्वमुख्य प्रशिक्षक)
नेपाली पौडीको सफलताको उद्गमका महत्वपूर्ण सदस्यले नेपाली खेलकुदमा तीन दशकभन्दा बढी समयदेखि योगदान पु¥याउँदै आएका छन् । ईश्वर आफ्नो समयका चर्चित पौडीवाज थिए । नेपाली पौडीको सुरुआती विकासक्रमका साथै वामे सर्दा उनी त्यसका पर्यायवाची रहे ।

पहिलोपटक सन् १९८२ मा भारतको नयाँदिल्लीमा आयोजना भएको नवौं एसियाली खेलकुदमा सहभागिता जनाएका थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको प्रथम दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीको मिड्ले रिलेमा कास्य पदक जितेका थिए । लामो समयसम्म राष्ट्रिय टोलीबाट योगदान दिएपछि उनी पछि प्रशिक्षण पेशामा लागे ।

वि.सं २०४४ सालमा राष्ट्रिय खेलकुद परिषद्मा करारमा प्रशिक्षकमा नियुक्ति भएका उनी खेलाडी उत्पादन गर्नमा अग्रसर भए । वि.सं २०५० सालमा स्थायी प्रशिक्षकमा नियुक्त भएका उनी आफूजस्तै खेलाडी उत्पादनमा सक्रिय रहे । हालसम्म पनि उनले नेपालमा पौडीका प्रशिक्षकका रूपमा योगदान दिइरहेका छन् ।

विष्णु कार्की (पूर्वराष्ट्रिय खेलाडी)
विष्णु पनि एक समय नेपाली पौडीका राम्रा खेलाडी थिए । काका ईश्वरको सिको गर्दै उनले पनि पौडीमा एक दशकभन्दा बढी समयमा बिताए । काका ईश्वरले खेल्दै गर्दा उनका भतिजा विष्णु खेलाडीका रूपमा उदाएका थिए ।

विष्णुले पनि वि.सं २०४० सालदेखि ०५२ सालसम्म विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक विजेता विष्णु अध्ययनका लागि अमेरिका गएपछि उनले नेपाली पौडीको यात्रा टुङ्गाएका थिए ।
शंकर कार्की (राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक)

काका ईश्वर र दाइ विष्णुले पौडीमा तहल्का मच्चाइरहँदा शंकर कार्की सिन्धुपाल्चोकको गाउँमै थिए । वि.सं.२०४४ सालमा एसएलसी उत्तीर्ण भएपछि पहिलोपटक काठमाडौं छिरेका शंकर काका र दाइको खेल हेरेर लोभिए । उनलाई पौडी खेल्ने रहर जाग्यो । सानोमा सुनकोसी नदीमा ‘डाइभ’ हानेका उनी पनि काका र दाइकै संगतमा लागेर पौडी खेलाडी बने ।

०४७ सालदेखि स्वदेशका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका उनले २०५५ सालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । आफ्नो खेल करियरलाई टिकाइराख्न शंकरले पौडी खेल्दाखेल्दै लाइफ गार्डको पनि काम गरेका थिए । तर, उनको खेलाडी जीवन भने एक दशक नपुग्दै टुङ्गियो । उनले पनि आफूले पूरा गर्न नसकेको लक्ष्य खेलाडी उत्पादनपश्चात् सिद्ध गर्ने निधो गरे ।

त्यसैले उनले सन् २००२ मा भारतको पटियालामा डिप्लोमा कोर्स गरे । पछि वि.सं. २०६१ भदौदेखि राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका उनी अहिले पौडीका मुख्य प्रशिक्षक छन् । मुख्य प्रशिक्षक भएसँगै उनले पौडीको राष्ट्रिय टोलीलाई हेर्दै आएका छन् ।

करिस्मा कार्की (ओलम्पियन)
एक समयमा नेपाली पौडी एकपछि अर्को सफलता दिलाउँदा करिस्मा जलपरीको नामले परिचित भइन् । एक दशकभन्दा बढी समयमा नेपाली राष्ट्रिय टोलीमा बिताएकी करिस्मा पनि बुवा र दाइहरूको पाइला पछ्याउँदै पौडीमा होमिएकी थिइन् ।

बुवा ईश्वर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र परिषद्को प्रशिक्षक रहेकाले उनले आफ्ना छोराछोरीलाई पौडीमै लगाए । उनका अरु सन्तान पनि पौडीमै लागे पनि करिस्माले भने सानो उमेरमै तहल्का मच्चाइन् । कार्की परिवारमा खेलाडीका रूपमा सबैभन्दा सफल सदस्य हुन्, करिस्मा ।
पारिवारिक रगतमै पौडी भएकै कारण करिस्मा एक्कासि राइज भइन् र धेरै राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । पछि ती कीर्तिमानहरू तोडिए पनि । एक समय नेपाली पौडीमा दबदबा बनाएकी करिस्माले काठमाडौंमै सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा आफूले खेलेको १२ वटै प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । त्यससमयमा करिस्माले नेपाली पौडीमा एक छत्र राज गरिन् ।

सन् २००० देखि खेल करियर सुरु गरेकी करिस्माले सन् २०१० मा ढाकामा भएको ११ औं सागपछि टुङ्ग्याइन् । यसबीचले करिस्माले नवौं, दशौं र एघारौं सागमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यसअघि करिस्माले सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि नेपालको तर्पmबाट चुनौती प्रस्तुत गरिन् ।
करिस्माले पारिवारिक माहोलकै कारण चर्चित खेलाडी बन्न पुगिन् । सानै उमेरमा ठूलो सम्भावना देखाएकी करिस्मा विवाह गरेर अमेरिका गएपछि सक्रिय खेलजीवनलाई पनि टुङ्ग्याइन । एक समय नेपाली खेलकुदमा निकै सफल खेलाडी करिस्मा हाल आर्किटेक्ट इन्जिनियर पेशामा छिन् ।

किरण कार्की
बुवा ईश्वर र दिदी करिस्माको बिँडो सम्हाल्दै किरण कार्कीले पनि पानीसँगै साइनो गाँसे । उनले पनि विभिन्न प्रतियोगितामार्फत राष्ट्रिय कीर्तिमान बनाए ।
रुसको कजानमा भएको विश्व पौडी प्रतियोगितामा सहभागिता जनाइसकेका किरण अहिले पनि राष्ट्रिय टोलीमा रहेर प्रशिक्षण गरिरहेका छन् । ‘राम्रा’ खेलाडीमा गनिने किरण मिहिनेती र लगनशील रहेकै कारण उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आदर्श कार्की
ईश्वर, विष्णु, शंकर, करिस्मा, किरण हुँदै कार्की परिवारमा अर्का पौडीवाज उदाएका छन्– ती हुन् आदर्श कार्की । पौडी प्रशिक्षक शंकर कार्कीका छोरा आदर्श ११ वर्षको उमेरमै नेपालका चर्चित खेलाडीका रूपमा उदाइरहेका छन् । लिटिल एञ्जल्र्स पौडी प्रतियोगितामा कक्षा १ मा पढ्दापढ्दै पानीसँग खेलेका आदर्शले कान्छो खेलाडीको पहिचान बनाएका थिए ।

उमेरगत समूहको यु–८, यु–९ र यु–१० मा पदक जित्न सफल आदर्शले नौ वर्षको उमेरमै पहिलो किड्स ट्रायथोलनमा च्याम्पियन भए । आफ्ना बुवा र हजुरबुवा पौडीकै प्रशिक्षक भएकाले पनि आदर्शलाई अगाडि बढ्न सहयोग पु¥यायो । उनले सन् २०१६ मा इटालीको रोममा भएको मोडर्न प्यान्टाथोलनमा तेस्रो स्थान हासिल गरेका थिए ।

उक्त प्रतियोगितामा युरोपका १० राष्ट्रको सहभागिता रहेको थियो । सन् २०१६ मै भारतको गोवामा भएको वल्र्ड टुर लेजर रनमा आदर्शले स्वर्ण पदक जितेका थिए भने यही वर्ष सिंगापुरमा आयोजना भएको सिंगापुर टुरमा पनि रजत पदक जितेका थिए । सानै उमेरमा आठौं राष्ट्रिय खेलकुदमा पनि सहभागी उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
पौडीको नियमित प्रशिक्षण गर्दै आएका आदर्श प्यान्टाथोलनका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुँदै आएका छन् । तीन पुस्ता नै पौडीमा लागेकै कारण आदर्शले सानै उमेरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आदर्शका बुवा शंकर बताउँछन् । ‘सानै उमेरदेखि पानी छुन पायो । पानीसँगै रमाउने अवसर मिल्यो । त्यही कारण पनि हुनसक्छ आदर्शले लगातार सफलता हासिल गरिरहेको छ,’ शंकरले भने ।

शंकर भन्छन्, ‘मैले र काकाले गर्न नसकेका काम आफूभन्दा अघिल्लो पुस्ताले सानै उमेरमा गरेको देख्दा खुसी लागेको छ ।’ उनले तीन पुस्ता नै एउटै खेलमा लाग्दा सबैबीच सुमधुर सम्बन्ध स्थापित भएको बताए । ‘धेरैले कार्की परिवार पौडीका लागि जन्मिएको त होइन भन्ने प्रश्न पनि गर्छन् । सबै परिवार एउटै क्षेत्रमा लाग्दा सबैबीच सुमधुर सम्बन्ध स्थापित भएको छ,’ शंकरले भने ।

यता, ईश्वर कार्कीले पनि पौडीमा गरेको योगदानबाट नेपाली खेलकुदमा परिचित गराएको बताए । ‘मैले खेलेपछि हाम्रा परिवार सबैले त्यसलाई पछ्याए,’ ईश्वरले भने, ‘सम्झँदा खुसी लाग्छ । कमैले यस्तो खुसी र अवसर पाउँछन् ।’ ईश्वरले भनेझैं साच्चै नै कमैले त्यो अवसर पाउने पक्कै हो । आफ्ना सन्ततिले पेशालाई पछ्याउँदै सफलता दिलाउँदा सबैलाई पछि आफ्नो कामप्रति गर्विलो महसुस हुनेगर्छ ।

 

प्रकाशित: २५ भाद्र २०७६ ०५:२२ बुधबार

पौडी तीन पुस्ता नागरिक परिवार