अन्य

प्रेरणादायी हजुरबा

दीपक रोक्का

‘दामले जेठा अहिले बेला छँदै नसोचे बुढेसकालमा निकै दुःख पाउलास्। छोरा नभए वंश कसरी चल्छ ? अर्की बिहे गर। केटीको बन्दोबस्त हामी गरिदिन्छौँ।’

तत्कालीन गोली गाउँ पञ्चायतको ४ नम्बर वडाध्यक्ष मेरा मावली हजुरबा लालबहादुर बस्नेतले गाउँका ठूलाबडाबाट दिनहुँजसो यस्तै सुन्नुपथ्र्यो। गाउँलेहरूको भनाइमा मेरा हजुरबाले तेस्रो विवाहपछि पनि छोरो पाउन नसकेको व्यङ्ग्य–भाव निहित हुन्थ्यो। कतिले छोराबाट मात्र अंश र वंशको निरन्तरता हुने परम्परागत धारणा बलियो बनाउन उहाँलाई बिहेको दबाब दिन्थे भने कतिको ध्यान उहाँलाई कोही आफन्त चेली जिम्मा लगाएर सम्पत्ति खानेतिर केन्द्रित हुन्थ्यो। कोही–कोही हस्यौलीका रूपमा यस्ता कुरा गर्नेहरू हुन्थे।

एउटै सन्तान त्यही पनि छोरी हुर्काउँदै गरेका मेरा हजुरबालाई गाउँलेहरू भन्थे, ‘हैन जेठाबा, छोरी त बिहे गरेर अर्काको घरमा गइहाल्छन्। भोलि तपाईंको वंश रहँदैन। गाउँमा लालबहादुरका सन्तान भन्ने नै सकिन्छ।’

वि.सं. ०३५ को कुरा। छोरी राधा (मेरी आमा) आठ वर्षकी र हजुरबा ४० वर्षको हुनुहुन्थ्यो। एक दिन फेल्दारे गोठबाट घर मेस्की गाउँ आएको केहीबेरमै ‘मेरो त दाहिने खुट्टा निकै दुख्न थाल्यो,’ भन्नुभएछ। कम्मरमुनि खुट्टाको जोर्नी भाग दुखेर फœयाकफœयाक हुनुभएछ। हजुरआमाले आत्तिँदै गाउँले भेला पार्नुभयो। धामीझाँक्री सिमेभूमे लागेको भन्दै उपचारमा सक्रिय भए, तर रोगको आन्तरिक जरो भेउ पाउन सकेनन्। दुखाइ झन् चर्कियो। त्यो बेला हजुरबा वडाध्यक्ष हुनुहुन्थ्यो। गाउँलेहरू मिलेर शान्तभवन अस्पतालसम्म पु-याए। डाक्टरले नसा खुम्चिएको भने र औषधि दिए। करिब एक महिना काठमाडौं बसेर उपचार गराउँदा पनि खुट्टा बिसेक भएन, झन् सुक्दै गयो। त्यही बेलादेखि कठबाँसको लौरो उहाँको बाँकी जीवन–यात्राको साथी भयो। उहाँको देब्रे खुट्टा भने राम्ररी टेक्नुहुन्थ्यो। मेस्की आउनु हुँदा आधा सुकेको दाहिने खुट्टा कठबाँसको लौरोमा अड्याउँदै देब्रे खुट्टा टेकेर आँगनमा मुसुक्क मुस्काउँदै उभिनुभएका हजुरबाको चित्र मेरा आँखामा अझ पनि झलझली बसेको छ।

‘एउटा छोरो जसरी पनि चाहिन्छ,’ भन्नेहरूलाई हजुरबाको उत्तर हुन्थ्यो, ‘तिम्राचाहिँ छोरा भएर के भाको छ र ?’

मेरो मावली गाउँ र आफ्नो गाउँ एउटै हो, सोलुखुम्बको दुर्गम मेस्की। मेरा जिजुहजुरबाहरू रामेछाप कठजोरबाट त्यहाँ बसाइँ सर्नुभएको। हजुरबाका पितापुर्खा त त्यहीँ मेस्कीकै हुनुहुन्थ्यो।

म कुरा बुझ्ने हुँदासम्म उहाँ कर्मले पनि सबै गाउँलेका हजुबा हुनुहुन्थ्यो। गाउँलेका आस्था, भरोसा र सल्लाहकारका रूपमा हुनुहुन्थ्यो। मर्दापर्दा सहयोगी हात फैलाउने, बेहुला–बेहुली जुराइदिन लमी बन्ने, गाउँमा हुने झैझगडा, झमेला मिलाउन अग्रसर हुने उहाँका विशिष्ट गुण थिए। तथापि मान्छेहरूले पछिसम्म पनि उहाँलाई ‘छोरा’का लागि अर्को बिहे गर्ने सल्लाह दिन छाडेका थिएनन्।

घरमा आउने प्रायः गाउँले अर्को बिहे किन नगरेको ? बिहे गरिहाल्नुप-यो भनेर दबाब दिन्थे। कति त केटीसमेत मिलाइदिएर त्यही दिन घरमा भिœयाइदिउँला झैं गर्दै साथमै लिएर आइपुग्थे। तर हजुरबा मान्नुभएन। गाउँलेका कुराबाट प्रभावित भएर हजुरआमाले समेत हजुरबालाई अर्को बिहे गर्नु, छोरो पाउनु भनेर दबाब दिनुहुन्थ्यो। तर पनि हजुरबा टसमस हुनुभएन। उहाँले एक्ली छोरीलाई ‘छोरो भने पनि यही, छोरी भने पनि यही हो छोरा र छोरी बराबर हो,’ भन्ने मान्यता बनाउनुभएको थियो।

‘ए नाति, सबै जना बिहे गर भन्छन्। तेरी हजुरआमा पनि खाली अर्को बिहे गर मात्र भन्छे। तर यो बिहेको चक्करमा चाहिँ म पर्दिनँ अब। छोरीले तँलाई जन्माइहाली। तैं होस् मेरो छोरा भने पनि नाति भने पनि। मलाई तँमाथि पूरा भरोसा छ। तर तैंले बुढेसकालमा चाहिँ मलाई पाल्छस् नि हैन ?’

दीपक रोक्का

म अलि हुर्केपछि हजुरबा मसँग यस्तै कुरा गर्नुहुन्थ्यो। ‘तैंले खासै पाल्न पनि पर्दैन। मेरै सम्पत्ति बाँचुञ्जेल पुग्दो छ। बिरामी हुँदा भर–अभर यसो हेर्छस् कि भन्ने हो। त्यस्तै प-यो भने यी जग्गा बेचेर मेरो औषधि–पानी गर्छस् नि ?’ हजुरबा भन्नुहुन्थ्यो।

जवाफमा म भन्थें, ‘अब हजुरले छोरी र छोरीका छोराछोरी भनेर यत्रो दुःख गर्नुभएको छ। पढाइ दिनुभएको छ। त्यति जाबो म गरिहाल्छु नि। पढाइ सकेर जागिर खान्छु अनि सब ठीक भइहाल्छ।’

मेरा कुरा सुन्दा हजुरबा खुसी हुनुहुन्थ्यो। र, यसो अनुहारतिर हेरर हाँस्दै भन्नुहुन्थ्यो, ‘गर्छस् तैंले ? गर्लास् जस्तै छस्।’

म उहाँको छोरीको छोरो नाति भए पनि उहाँका लागि छोराकै रूपमा थिएँ। अरूका छोरीका छोरोले भँडार (कुलदेवता भएको ठाउँ)मा बस्न पाउँदैनथे। तर मलाई छुट थियो। म घरको छोरासरह जहाँ पनि जान सक्थें। छोरा र छोरीका मामलामा उदार विचार थियो, हजुरबाको। उहाँ मलाई देखाउँदै भन्नुहुन्थ्यो, ‘यो नै कुलको मूलधामी हो। यसैले मेरो शेषपछि कुलको सेवा गर्नेछ।’

उहाँको प्रष्ट भनाइ थियो, ‘छोरा नभए पनि कुलको आशीर्वादले छोरीका सन्तानले घर हराभरा भएको छ। कुलकै आशीर्वादले नातिनातिना जन्मेका हुन्। यिनीहरू भँडारको ओछ्यानमा बस्दा के हुन्छ ? झन् राम्रो हुन्छ।’

मेरो हजुरबाको वैवाहिक कहानी पनि रोचक छ। मेरी हजुरआमा उहाँकी तेस्री श्रीमती हुनुहुन्छ। पहिली श्रीमती बिहे गरेको नौ महिनामै रगतमासी परेर बित्नुभएछ। त्यसको एक वर्षपछि दोस्रो विवाह भएछ। तर तिनका पनि छोराछोरी भएनछन्। चार वर्षसम्म पनि छोराछोरी नभएपछि गाउँलेको टोकसो र दबाब सुरु भएछ। त्यही टोकसो र दबाबका बीचमा केटी माग्न रामेछापको प्रीतिगाउँ २० चोटिसम्म धाउनुभएछ। यसरी महिनामा दुईचोटिसम्म धाउन थालेपछि अन्ततः राजदल गणका तत्कालीन जागिरे डम्बरबहादुर कार्कीले मेरा हजुरबाको धन–सम्पत्ति र गाउँमा सम्मान देखेर सौतामाथि छोरी दिन राजी हुनुभएछ।

तेस्रो बिहे भएको डेढ वर्षपछि छोरी (मेरी आमा)को जन्म भएसँगै हजुरबाले सन्तान प्राप्तिको चाहनामा पूर्णविराम लागेको रहेछ। त्यसपछि उहाँका अरू सन्तान भएनन्। अनेक प्रयत्नपछि सन्तान जन्माउने सपना पूरा भएकाले त्यही छोरीको जीवन राम्रो बनाउन हजुरबाले आफूलाई समर्पित गर्नुभएछ।

‘एउटा छोरो जसरी भए पनि चाहिन्छ,’ भन्नेहरूलाई हजुरबाको उत्तर हुन्थ्यो, ‘तिम्रा चाहिँ छोरा भएर के भाको छ र ? तिमी आफैंले घाँस नकाटी भा’को छैन। नजोती भा’को छैन। आफू बाँचुञ्जेल आफ्नो दुःख आफैं गर्नुपर्छ। कसैले गर्दिने हैनन्।’

उहाँले बोल्ने गरेका यी शब्द अझै हजुरआमाले मलाई सुनाउनुहुन्छ। त्यस्तो सुन्दा मलाई गर्व लाग्छ उहाँको नाति (छोरा) हुँ भन्न पाउँदा। त्यति विकट गाउँ–ठाउँमा जन्मे–हुर्केर पनि उहाँको विचार आधुनिक थियो। आजको शिक्षित र चेतनशील समाजले उठाएको लैंगिक सम्मान र समानताको मुद्दा मेरा हजुरबाले त्यो समयमै उठाउनुभएको थियो। ‘छोरा र छोरी बराबरी’ भन्ने आदर्शलाई उहाँले व्यवहारमै लागू गर्नुभएको थियो।

उहाँको औपचारिक पढाइ थिएन। गोलीतिरबाट एकजना बस्नेत मास्टर आउँथे गाउँमा। तिनैसँग कखरा र ठूलो वर्णमाला सिक्नुभएको रहेछ। व्यावहारिक ज्ञानमा भने उहाँ अब्बल हुनुहुन्थ्यो। गाउँमा समस्या पर्दा समाधानका उपाय पहिल्याउन उहाँ अगुवा भएर नलागी हुन्नथ्यो।

उहाँको एउटा खुट्टाले भर पाउँदैनथ्यो। तथापि म सानो हुँदा मलाई पिठ्युँमा बोकेर भैंसी चराउन फेल्दारे पाखा जानुहुन्थ्यो। आठ–दसवटा भैंसी नियन्त्रणमा राखेर चराउनुहुन्थ्यो। मलाई पिठ्युँमा बोकेर हिँडेको देखेर बटुुवा भन्ने गर्थे, ‘ए जेठाबा, के यो छोरीको छोरोलाई पिठ्युँमा बोकेको ? भोलि ठूलो भएपछि यसले फर्केर हेर्दैन। कुटुम्बको छोरालाई जति चाटे पनि त्यतिकै हो। छोड्दिनुस् यसकै आमा–बाउसँग पठाइदिनुस् काठमाडौंतिर। मेरो बुबा नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो,। ललितपुर बस्नुहुन्थ्यो। आमा पनि महिना दुई महिनामा मलाई हजुरबा–हजुरआमाको जिम्मा लगाएर काठमाडौं गइरहनुहुन्थ्यो।

‘कुटुम्बको छोरालाई जति चाटे पनि त्यतिकै हो,’ बाल बेलामा मैले सुनेका यी शब्द  कानमा गुञ्जिरहेकै छन्। तर, हजुरबाको मप्रति अगाध विश्वास थियो। उहाँले कुनै दिन पनि मप्रति ‘यो कुटुम्बको छोरा हो’ भन्ने खालको व्यवहार गर्नुभएन। छोरीका छोराछोरी घरको सन्तानका रूपमा गणना नहुने र उनीहरूले पितृको नाममा गरिने तिथि–श्राद्ध गर्न नहुने सामाजिक मान्यता छ। तर हजुरबाले त्यस्तो कहिले सोच्नुभएन। छोरीको छोराले घरकै छोरासरह जे पनि गर्न मिल्छ भन्नुहुन्थ्यो।

फेल्दारे भीरमा गारो लगाएर पाखो सम्याउँदै बारीका गह्रा थप्थ्यौं हजुरबा र म। हजुरबा गारो लगाउनुहुन्थ्यो म पाखाबाट ढुुंगा बटुलेर ल्याउँथें। ‘यो बारी तँलाई नै काम लाग्छ, मसँगै लिएर जान्न, तँलाई नै हुन्छ,’ हजुरबा भन्नुहुन्थ्यो, ‘अब राम्ररी पढिस्, जागिर खाइस् भने यो बारी खन्न नपर्ला, केही भएन भने बारी धेरै भयो भने भोकले मरिन्न। भीरलाई सम्म बनाइदियो भने बाली नलाए पनि कागज फ्याक्ट्रीवालाले प्रयोग गर्छन्। एक गह्राको एक कोरी कागज दिन्छन्। त्यही बेचेर खान पुग्छ तिमीहरूलाई।’

समय बित्दै गयो। म गाउँको पढाइ सकेर सहरतिर लागें। सहरमा पनि पढाइ सकेर नेपाली सेनामा भर्ती भएँ। म जागिरे भएको खबर सुन्दा हजुरबा धेरै खुसी हुनुभएको थियो रे। त्यतिखेर मोबाइलको जमाना थिएन। मैले खुसी व्यक्त गर्न र हजुरबाको खुसी अनुभव गर्न पाइनँ। उहाँ गाउँलेहरूसँग सगौरव भन्नुहुन्थ्यो रे, ‘हेर मैले नातिलाई राम्रो पढाएर सेनामा भर्ती भयो। तिमीहरू पनि छोरी र छोरा भनेर भेदभाव नगर्नू, सन्तानलाई राम्रोसँग पढाउनू।’
त्यसपछि हजुरबाको दिनचर्या गाउँघरकै सेवामा बित्न थाल्यो। म पढाइ र जागिरका  सिलसिलमा काठमाडौंमै रहें। दसैं–तिहारमा भेट हुँदा ‘म सकुन्जेल गाउँघरमै काम गर्छु। तिमीहरू काठमाडौंमा राम्रो काम गर,’ भन्नुहुन्थ्यो।

समयै बित्दै जाँदा हजुरबालाई बिरामीले च्यापेछ र नातिले उपचार गराइदिन्छ भन्ने आशमा काठमाडौं आउनुभयो। तर त्यसको केही दिनमै उहाँ बित्नुभयो। भर्खर तालिम सकेर जागिर सुरु गरेको थिएँ, त्यसैले मैले उहाँको सपनाअनुसार केही गर्न सकिनँ। बोल्दा–बोल्दै, अस्पतालमा दुई दिन आइसियुमा राखेपश्चात् उहाँ सदाका लागि हामीलाई छोडेर २६ जेठ ०६६ मा जानुभयो।

सोलुखुम्बु, लिखुपिके गाउँपालिका–२ निवासी लालबहादुरको जीवन भोगाइलाई मनन गर्दा उहाँको सोच र कर्म उदाहरणीय छ। लैंगिक समानताका विषयमा हजुरबाले प्रस्तुत गर्नुभएको उदाहरण अनुकरणीय छ।

प्रकाशित: २१ भाद्र २०७६ ०१:५८ शनिबार

प्रेरणा हजुरबा