अन्य

नियात्रा लेख्ने कसरी ?

कालिकोट सीमाको दैलेखमा अवस्थित महाबु लेक। तस्बिर : अमृत भादगाउँले/नागरिक।

लेखक जब कुनै ठाउँमा जान्छ, त्यहाँ मानिसको दुःख देखेर भावुक हुन्छ, कुनै दृश्य देखेर चकित हुन्छ। तीमध्ये कति दृश्यले शिक्षा दिन्छन्। यस्ता घटना तथा अनुभूतिले पहिला लेखकलाई र पछि पाठकलाई आनन्दित बनाउँछन्। कुनै रचना जबरजस्ती लेखेको छ भने पाठकले पनि पूर्ण आनन्द पाउँदैनन्। लेखकले यसमा सोच्नुपर्छ।

नियात्रा लेखनका सम्बन्धमा पहिलो काम यात्रा गर्नु हो। त्यसपछि यात्रामा भेटिएका र देखिएका मानिसका संवेदना, प्रकृतिको जादूगरी एवं अवस्थितिलाई मसिनोसँग केलाउनुपर्छ। कुनै घटनासँग जम्काभेट हुँदा त्यसले एक खालको प्रतिक्रिया जन्माउँछ। त्यो खुसीको पनि हुन सक्छ, दुःखको पनि। त्यसलाई जस्तो छ, त्यस्तै समातेर लेखनमा उतार्न सक्दा प्रभावकारी हुन्छ। नियात्राले पाठकलाई त्यहाँको भूगोल, इतिहास, वातावरण, जनजीवन, सामाजिक अवस्था, मानिसबीचको अन्तरसम्बन्ध, बोलीचाली, संस्कृतिका बारेमा मीठो जानकारी देओस्। पढेपछि पाठकले त्यो ठाउँ यस्तो रहेछ भनेर कल्पना गर्न सकुन्। अर्को महŒवपूर्ण पक्ष, टेक्स्ट हो। आफूले देखेका कुरालाई रोचक र जीवन्त वर्णन गर्दै जाने कला हुनुप-यो।

प्रभावकारी नियात्रा लेख्ने हो भने आत्मपरक शैलीमा लेख्नुपर्छ। भूतकालमा लेख्नु उत्तम। कहिलेकाहीँ सार्वभौम सत्यका बारेमा लेख्दा बीचबीचमा वर्तमान कालमा पनि लेख्नुपर्ने हुन्छ, जस्तै : ‘म त्यहाँ गएँ, त्यहाँका मानिसहरू आफ्ना चाडवाड अनौठो तरिकाले मनाउँदा रहेछन्, मैले पनि उनीहरूसँगै मनाएँ, रमाइलो भयो।’ भनेर वर्तमान र भूतकाल एकै पटक पनि लेख्न सकिन्छ। तर, हाम्रा अधिकांश नियात्रा लेखकले काललाई ख्याल गरेको पाइँदैन। यात्रा एउटा गतिशीलता हो। नियात्रा लेखनमा पनि गतिको निरन्तरता हुनुपर्छ। यात्रा साहित्यमा पाठक पनि लेखकसँगै यात्रा गर्दै संवेदना अनुभूत गरिरहेको हुन्छ। त्यो अनुभूतिसँगै पाठक आनन्दित, आक्रोसित, दुःखी आदि भइरहेको हुन्छ। लेखकले कालमा गडबडी ग-यो भने पाठकलाई खल्लो महसुस भई ऊ संवेदनाको उडानबाट हठात् तल खस्छ।

मैले मानसरोवरको यात्रापछि लेखेको ‘नीलो पानी र निला भावनाहरू’ कितावमा धेरै ‘इमोसन्स’ मिसाएँ। त्यसबेला म पच्चीस वर्षको थिएँ। त्यो उमेर भावना र अनुभूति एकदमै धेरै हुने बेला हो। धेरैले मेरो त्यही शैली मन पराए। पछि गएर मलाई के महुसस भयो भने त्यति धेरै इमोसन्स् पनि उचित हैन कि ?

नियात्राकारले ख्याल गर्नुपर्ने अर्को पक्ष हो, सूचना व्यवस्थापन। यात्राबाट प्राप्त सबै सूचना लेख्न सम्भव र उचित पनि हुँदैन। लेखकमा कुन सूचना कम र कुन सूचना बढी महत्वपूर्ण हो, छान्न सक्ने क्षमता हुनुपर्छ। कुनै पनि प्रसंग र अनुभूति पटकपटक दोहोरिनु हुँदैन। यात्रामा एकै किसिमका अनुभूति पटक–पटक हुनसक्छ। तर, तिनलाई प्रसंग मिलाएर सन्दर्भ नदोहोरिने गरी लेख्नुपर्छ।

नियात्रा पढ्दा पाठकको मानसमा चित्रहरू आउनुपर्छ। लेखन स्पष्टता हुनुपर्छ। लेखक कल्पनाशीलसमेत हुनुपर्छ। कल्पनाशीलताको नाममा धेरै फुलबुट्टा भरेर अर्कै लोकको सिर्जना गर्न धेरै ‘फ्लावरी’ शब्द प्रयोग गर्नु हुँदैन। आख्यानमा त्यसो गर्न मिल्छ। नियात्रा लेखनलाई यथार्थपरक बनाउनैपर्छ। कुनै बेला चिनियाँ हुएन साङ यस क्षेत्रको भ्रमणमा आएर यात्रा विवरण लेखेका थिए, जसले त्यो बेलाको इतिहासका धेरै पक्ष उजागर गर्छ। जापानका कावागुचीले लेखेको यात्रा वर्णले यहाँको तत्कालीन ऐतिहासिक, सामाजिक, सांस्कृतिक विषयमा धेरै जानकारी दिन्छ। यात्रा लेखन पूर्णरूपमा इतिहास होइन। तर, यसलाई ‘रेफरेन्स’का रूपमा लिन सकिन्छ।

यथार्थपरक बनाउने नाममा सिर्जनशीलतालाई मर्न दिनु हुँदैन। हामी सबै एक ठाउँमा उभिएर कुनै चिज हे-यौं भने करीब–करीब एउटै देख्छौं। तर, भिन्नभिन्न उचाइ वा कोणबाट हे-यौं भने त्यही चिज फरक–फरक किसिमले देख्छौं। लेखन पनि यस्तै हो। यात्रा लेखनमा सिर्जनशीलता महत्वपूर्ण हुन्छ। किनभने यात्राका देखिएका अनेक दृश्य र घटनाले क्रिया–प्रतिक्रिया जन्माउँछन्, संवाद हुन्छन्। मानिससँगको सम्बन्धका पाटा हुन्छन्। यी छरिएका घटना, सन्दर्भ र संवादलाई कति लेख्ने ? यिनलाई आपसमा कसरी जोडेर राख्ने ? यहींनेर सिर्जनशीलता उपयोग गर्नुपर्छ।

कुनै सन्दर्भमा आपूmले पहिले कतै देखेका वा भोगेका घटना, जसले केही भन्छन् भने तिनलाई पनि ल्याएर जोड्न सकिन्छ। त्यसैले नियात्रा लेखन आख्यानजस्तो गैरआख्यान हो। आख्यानमा जसरी घटनाक्रमको आपसी सम्बन्ध हुन्छ, नियात्रा लेखनमा पनि त्यस्तै हुन्छ।

नियात्रा छोटो यात्राका आकारमा स–साना पनि हुन सक्छन् अथवा लामो नियात्राको एउटै पुस्तक पनि हुन सक्छ। मेरो अनुभवमाचाहिँ एउटै यात्राको लामो नियात्रा प्रभावकारिताका दृष्टिले बलियो हुन्छ। यस्तो नियात्रामा बीचबीचमा फ्ल्यास ब्याकका घटनाका कथा अंश पनि राख्न सकिन्छ। यात्राको प्रारम्भदेखि अन्त्य नहुन्जेलसम्म आख्यानझैँ एउटा बेग्लै ठूलो संसार निर्माण गर्न सकिन्छ। जसरी आख्यानमा विभिन्न पात्र हुन्छन्, लामो यात्रामा पनि धेरै पात्रसँग जम्काभेट हुँदै जान्छ। तीमध्ये कुनै न कुनै पात्र सुरुदेखि जोडिएर आएका हुन्छन्। एउटा पात्रको सन्दर्भ पछि अर्को ठाउँमा पनि आउने गर्छ र पात्रहरूको अन्तरसम्बन्धका रोचक पक्ष जोडिएर आएका हुन्छन्। यस्तो नियात्रा लेखनले पाठकमा रोचकता बढाउँछ।

नियात्राकारले यात्रा अवधिमा डायरी लेख्नैपर्छ। कुनै कुराले छोयो, नयाँ विषय वा दृश्य वा सम्वाद आयो भने टिपिहाल्नु पर्छ। किनकी, संवेदनाहरू सधैं रहँदैनन्, केहीबेरपछि हराउँछन्। ती पहाडमा भुइँकुहिरो उठेजस्तै हुन्। त्यसैले तात्तातै डायरीमा लेखिहाल्नुपर्छ। तत्काल लेख्न सकिएन भने दस–पन्ध्र मिनेटमा थकाई मार्दा टिपे पनि हुन्छ। त्यो पनि सकिएन भने साँझ बास बसेको बेला दिनभरका प्रसंग सम्झेर टिप्नुपर्छ।

हरेक मान्छेले कही न कहीँ यात्रा गरेको हुन्छ। उसले त्यसलाई लेख्दैन। एक त जाँगर हुँदैन, अर्को लेख्ने कला, रुचि र अभ्यास हुँदैन। यात्राको त्यो आवेग, दुःख र खुसी सबैले भोगेका हुन्छन्। अर्को कुनै यात्रीले त्यो यात्राका बारेमा बडो कलात्मक र संवदेनशील भएर लेख्यो भने पाठकले त्यसमा आफ्नै अनभुव महसुस गर्न सक्छन्। नियात्रा लेखनमा आफ्नै संवेदना पढेर पाठक हल्का हुन्छन्। हो, यस्तो हुनुपर्छ, नियात्रा लेखन। 

मैले मानसरोवर यात्रा गरेपछि लेखेको ‘नीलो पानी र निला भावनाहरू’ नियात्रा किताबमा धेरै संवेदनाहरू मिसाएँ। त्यसेला म पच्चीस वर्षको थिएँ। त्यो उमेर भावना र अनुभूति एकदमै धेरै हुने बेला हो। धेरैले मेरो त्यही शैली मन पराए। पछि गएर मलाई महुसस भयो कि त्यति धेरै इमोसन्स् पनि उचित हैन कि ? अनुभूति र आवेगलाई सन्तुलित रूपले लेख्नुपर्छ भन्ने सोच मभित्र बढेको छ। साथै, नियात्रामा धेरै लामो वाक्य पनि लेख्नु हुँदैन। छोटा वाक्य र छोटा परिच्छेदहरू प्रभावकारी हुन्छन्।

नियात्रा लेख्ने क्रममा कतिपय लेखकले बीचबीचमा पाठकहरूलाई सम्बोधन गरेको पनि भेटिन्छ। ‘पाठकहरू, म अहिले ४ हजार मिटर उचाइमा उभिएको छु’ जस्ता वाक्यले पाठकलाई सम्बोधन गरेको देखिन्छ। नियात्रामा पाठकलाई त्यसरी सम्बोधन गर्नु राम्रो होइन। पढ्दै जाँदा पाठकले लेखकलाई बिर्सेको हुन्छ र त्यो यात्री आफैँ भएको सम्झेर यात्रा गरिहेको हुन्छ। तर बीचमा ‘पाठकहरू’ शब्द पढ्नु पर्दा पाठक अचानक ब्यूँझन्छ र आफू त्यस यात्राको अभिन्न अंग होइन भन्ने बोध गर्छ। त्यसपछि लेखक र पाठक बीचमा दूरी बढ्न गई नियात्राको पूर्ण आनन्द पाठकले पाउँदैनन्। 

नियात्रा लेख्दा पहिलो वाक्य कसरी सुरु गर्ने ? र, अन्तिम वाक्य के लेख्ने ? अथवा पहिलो र अन्तिम अनुच्छेदमा के लेख्ने ? नियात्रा लेखनको सुरुवात रोचक वा आकर्षक वाक्यबाट वा रोचक प्रसंगबाट गर्नुपर्छ भन्ने गरिन्छ। यात्रा गर्ने क्रममा बीचमा कुनै रोचक घटना आयो भने त्यसलाई सुरुमै लेखेर अनि तेस्रो, चौथो अनुच्छेदमा मात्र ‘हामी बिहान यसरी यहाँबाट हिंडेका थियौं’ भनेर लेख्न सकिन्छ। कसरी सुरु गर्ने, कसरी आपूmले भन्नुपर्ने कुरा भन्ने र कसरी अन्त्य गर्ने भन्ने विशेष कला हो। उत्तरदायी लेखकले पाठकलाई चरम निराशामा लगेर छोडिदिने गर्दैन। कालो बादलमा चाँदीको घेरा पनि हुन्छ भनेभैmँ साहित्य पनि आशा जगाउने हुनुपर्छ। लेखनको प्रारम्भ र अन्त्य दुवै चुनौतीपूर्ण हुन्छ। यसका लागि समय र शिल्प चाहिन्छ।

कतिपय सन्दर्भमा लेखक जानेर वा असावधानीवश असम्मानजनक शब्द प्रयोग गर्न पुग्छ। खासगरी महिला र अन्य समुदायका बारेमा लेख्दा संवेदनशील हुनुपर्छ। लेखकले लैंगिक, जातीय र वर्गीय संवेदनशीलता ख्याल गर्नुपर्छ। लेखक जिम्मेवार र जवाफदेही पनि हुनुपर्छ।

यात्रा लेख्दा मिति चाहिन्छ। त्यसैगरी रोचक बनाउन सकेसम्म संवादहरू प्रयोग गर्नुपर्छ। यात्रामा स्थानीय मानिस, पसले, होटलका मानिस र बटुवा भेटिन्छन्। उनीहरूसँग कुराकानी हुन्छ। संस्कृति, शिक्षा, जीवनशैली, यातायात, खानपिन, राजनीतिका बारेमा सोध्दा उनीहरूले जसरी जवाफ दिन्छन्, उनीहरूको संवादलाई ठ्याक्कै राख्दा रोचक हुन्छ। दोहोरो संवादबाट त्यहाँको परिवेश खुल्छ। स्थानीय भाषिका र संस्कृति समेत झल्कन्छ। बिम्बहरूको प्रयोग गर्दा स्थानीय संस्कृतिबाट आएका चिज प्रयोग गरिनुपर्छ।

प्रकाशित: ७ भाद्र २०७६ ०९:१९ शनिबार

नियात्रा लेख्ने कसरी