अन्य

लेखगाउँ कलिङ

दिन ढल्किँदै जाँदा अर्गेलीको बोक्रा छोडाउन व्यस्त थिए गाउँले। औलतिर हप्हपाउँदो गर्मीले सताइरहेका बेला लेखगाउँमा ज्याकेट लगाउनु प¥यो। बस्ती पुग्नु अघि गोदालाबोजोला ताल छेउमा सुस्तायौँ एकछिन। पर्यटन प्रवद्र्धन गर्न गाउँलेले खनेको पोखरी। निकै आकर्षक छ।    डाँडाहरूले घेरिएको बस्ती। काठ र जस्ताले बनाइएका घर। परम्परागत खेती प्रणाली। पहाडमा टाढाटाढा हुन्छन् घर। लेखगाउँमा पनि पातलै छन् घर। तर यहाँको बाक्लो वन क्षेत्र, खोल्सी र पोखरीहरूले घुमिरहूँझैं लाग्छ। 

घनश्याम घिमिरेको मोटरबाइकमा बसेर म त्यहाँ पुगेको। बाटो कच्ची भए पनि स्थानीय तन्नेरीहरू बाइक कुदाउन सिपालु छन्। सडककै छेउमा ताल देखेपछि फोटो खिच्ने रहर जाग्यो। हामी बस्ताबस्तै कुहिरो उडेर आयो। निष्ठुरी कुहिरोले ताललाई ढपक्कै ढाक्यो। केहीबेरमा फेरि हावाले कुहिरोलाई धपायो। पोखरीमा हावाको झोक्काको तरङ्ग फैलिरह्यो। यसरी कुहिरोसँग दिनभर लुकामारी चलिरह्यो।

हिमाली सौन्दर्य, रंगीन ताल, मिठो संस्कृति र आत्मीय व्यवहार लेखगाउँका विशेषता।  

तालमै हाम्रो स्वागत गर्न आइपुगे गाउँका अगुवा सञ्जय राई। हामी वस्तीतर्फ लाग्यौं। गाउँलेहरू कोही आलु गोड्न, कोही घाँस काट्न, कोही लोक्ताको बोक्रा छोडाउन व्यस्त थिए। लोक्ताबाट नेपाली कागज बनाइन्छ।

आलु र अचारसहितको खाजाले स्वागत गरे गाउँलेले। गाँउलेहरू राँके–भेडेटार सडक कालो पत्रे हुने खबरले खुसी देखिन्थे। सडक राम्रो भएपछि गर्मी छल्ने पर्यटक गाउँसम्म आइपुग्ने उनीहरूको आशा छ।

राँके–भेडटार सडक खण्ड अन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्छ लेखगाउँ। मिक्लाजुङ पहाडको काखमा थुपुक्क बसेको गाउँ। यहाँको भौगोलिक बनावट, खानपान र संस्कृति लोभलाग्दो छ। मिक्लाजुङ हिलस्टेशन हो जहाँ किरातीको भीड लाग्छ। जैविक विविधताको भण्डार मानिन्छ मिक्लाजुङ (२,४०७ मिटर) बाट सुर्योदयको अनुपम दृष्य हेर्न मिल्छ। डाँडामा उहिल्यै महागुरु फाल्गुनन्दले तपस्या गरेका थिए।

लेखगाउँमा होमस्टे विकास गर्न सकिन्छ। यहाँबाट मिक्लाजुङ चढ्न सहज हुन्छ। मौसम खुलेका बेला पोखरीमा हिमालको छाया देखिन्छ। लेखगाउँ चिटिक्क छ। गाउँलेले पेल्टीक सेटबाट बिजुली बालेका छन्। गाउँमा इन्टरनेट सुविधा छ।

पहाडी वस्तीमाथि होचाहोचा डाँडा, बीचमा घुम्रिएको सडक, आसपासमा चिटिक्क घर। मनै लोभ्याउँछ लेखगाउँले। गाउँमा राई जातिको बाहुल्य छ। सात वटा टोलमा फैलिएको लेखगाउँमा सामूहिक भावना छ। लोकसंस्कृति,  कुम्भकर्ण तथा मकालु हिमालका साथै गुदालाबोजोला र छत्रेबोजाला ताल यहाँका विशेषता।

लेखगाउँमा बेलासी फल पाइन्छ। वरपर जंगल भएकाले चरा पर्यटनका लागि पनि उपयुक्त छ। कन्याटार, कम्पूmटार जस्ता सुन्दर ठाउँले लेखगाउँ घेरिएको छ। ससाना डाँडा, गुम्बा, मन्दिर र ठूलो खेल मैदान थप आकर्षण हुन्। सूर्योदय कला केन्द्रका युवा साँझपख लोकसंस्कृति सिक्दै छन्। उनीहरू पाहुनालाई आफ्नो कला देखाउँछन्।   

परम्परागत शैलीमा काठ तथा माटोबाट बनाइएका घर। यहाँका बिब्ल्याटेँ, सुर्केगाउँ, गैरीगाउँ, खोलाखर्क, होमेगाउँ, शान्ति टोल तथा भाङ्टारले आफ्नै विशेषता बोकेका छन्। सबै टोलमा एक सय १६ घर धुरी छन्। कोदो, मकै, अलैंची यहाँको प्रमुख बाली। पशुपालन पनि गरिन्छ। गाउँमै डेरी भएकाले दूध किनबेच गर्न सजिलो छ।  

मेची राजमार्गको राँके हुँदै लेखगाउँ पुग्न सकिन्छ। धरानबाट भेडेटार, बुधबारे हुँदै पनि सडक जोडिएको छ। त्यस्तै मोरङको लेटाङवाट पनि सडक जोडिएको छ। लेखगाउँलाई हनिमुन सेन्टरका रूपमा विकास गर्न सकिन्छ। पदयात्रा गर्न चाहनेलाई लेखगाउँ आराम गर्ने ठाउँ बन्न सक्छ। राँके, पञ्चमी, दशमी, रवि, चिसापानी पञ्चमी, कन्याटार, लेखगाउँ, कम्फूटार, वुधवारे, मुडेवास, सन्तुटार, राजारानी, डाँडागाउँ, भेडेटार राम्रो पदमार्ग बन्न सक्छ।

शीतल हावा पानी भएको लेखगाउँलाई ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। त्यसका लागि होमस्टे लगायतका आधारभूत पूर्वाधार विकासमा गाउँपालिका र स्थानीय जुट्नु पर्छ।

प्रकाशित: ३२ श्रावण २०७६ ०३:०७ शनिबार

लेखगाउँ_कलिङ परम्परा गन्तव्य