जमुना रोका
भत्किएको बाटो मैले बनाउनलाई नै हो,
मक्किएको माटो मैले सजाउनलाई नै हो।
आऊ हामी सँगै मिलेर बनाऊँ र सजाऊँ,
सजाउने, बनाउने आफैँ रमाउनलाई नै हो।
कहिलेकाहीँ आँखाबाट अलि बेसी आँसु झर्छ,
झरेको त्यही आँसुमा नि जलेको यही मुटु पर्छ।
साथमै हुन्छ रात अनि रातमै हुन्छ बेसी घात,
घातैघातको चुलेसीले त्यही मुटु नि रेटी मर्छ।
यो झरीमा तिमीसँगै हुन पाए जाती हुन्थ्यो,
आँसुले मुख सँगसँगै धुन पाए जाती हुन्थ्यो।
हाँस्दासँगै हाँस्ने मन छ रुँदासँगै रुने मन,
आँसु अनि हाँसोसँगै छुन पाए जाती हुन्थ्यो।
जव फर्किएर पश्चिम हेर्छु हिमाल रिसाउँछ,
जाऊँ कि भनी यो मन फेर्छु काली सुसाउँछ।
मुटुभरि मेची बग्छ मनभरि महाकाली,
आँगनीको मायाले नि खाली अल्झाउँछ।
मनपरेको मान्छे यतै देख्न पाए हुन्थ्यो,
हत्केलामा उसकै नाम लेख्न पाए हुन्थ्यो।
मन दिन्छु, तन दिन्छु सारा कुरा दिन्छु भन्थ्यो,
केके दिन्थ्यो एकै पटक भेट्न पाए हुन्थ्यो।
न त कुनै ऐना बन्यो मेरो मनमा तिम्लाई हेर्ने,
न त कुनै कलम बन्यो तिम्रो मन्मा मलाई कोर्ने।
सोच्थें आँसु झरे भने पुछिएलान् तिम्रै हातले,
पाए हुन्थ्यो कुनै यन्त्र अब आफ्नै मन फेर्ने।
कहिलेकाहीँ एकान्त अति प्रिय लाग्छ,
कहिलेकाहीँ वियोगान्त झनै प्रिय लाग्छ।
एकान्तमा मिलन थ्यो वियोगान्तमा विछोड,
मिलन अनि बिछोडको वसन्त अति प्रिय लाग्छ।
बाटो बिराएर दूर कतै गएँ भने
जाँदाजादै अदृश्य वायु भएँ भने।
नखोज्नु पदचाप नपछयाउनु छाया,
त्यो छायासँगै उल्टै यतै कतै रहें भने।
तिमी टाढा भएदेखि मनैभित्र हुरी चल्यो,
हुरीबीच हेर फेरि किन उल्टै छुरी चल्यो।
आकाश रोयो, धर्ती रोयो, रोए जुन तारा,
जीवन ढल्यो, मनै जल्यो हाँसे सारा पनि।
मुटु पट्किएर एक्कासि मर्छु कि जस्तो हुन्छ,
आँसुकै भेलमा एक्कासि पर्छु कि जस्तो हुन्छ।
खस्छ रहर डुब्छ प्रहर बन्छ आँसुकै नहर पनि,
लामो श्वास एकैपटक फेर्छु कि जस्तो हुन्छ।
अबेर हुनसक्छ पाखापखेरा चहारेर झर्दा म,
पर्खी बस्नु बिसौनीमा तिम्रो मन बारेर झर्दा म।
थकित बटुवासरी सम्झनामा निदाएँ भने म कतै
संसार जित्नेछु मनको वरपिपल सारेर झर्दा म।
प्रकाशित: ३२ श्रावण २०७६ ०२:२५ शनिबार