ज्योति श्रेष्ठ
फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्नु अहिले सरोकारवाला निकायको टाउको दुखाईको विषय भएको छ। तर, फोहोर चिन्न नसकेमा मात्र यो टाउको दुखाईको विषय बन्छ। नत्र यसैले आम्दानीको स्रोत पनि बनाइरहेको छ। उदाहरणको लागि बानेश्वरमा रहेको सिभिल अस्पताललाई हेर्न सकिन्छ। अस्पतालको प्रवेशद्वारबाटै सुन्दर र हरियाली बगैँचा देखिन्छ। अस्पताल परिसर उत्तिकै सफा र व्यवस्थित छ। अस्पतालभित्र छिर्नेबित्तिकै पहिलो नजर लस्करै राखिएका हरियो, निलो र कालो रंगका डस्टबिन जान्छन्।
हरियो रंगको डस्टबिनमा कागजजन्य पदार्थ मात्र, निलोमा प्लास्टिकजन्य मात्र र कालोमा कुहिने र नकुहिने फोहोर मात्र लेखिएका छन्। यी अक्षरसँग चिनजान नभएकाहरूका लागि कुन फोहोर कहाँ राख्ने भनेर चित्र टाँसिएका छन्। यसले फोहोर संकलन र व्यवस्थापनमा निकै सहज बनाउँछ।
अस्पतालजन्य फोहोरलाई व्यवस्थापन गर्नु जटिल र जोखिमपूर्ण विषय भइरहेको बेलामा सिभिल अस्पतालले भने फोहोरबाटै आम्दानी गरिरहेकोे छ। फोहोरलाई चिन्न सके यो जटिल नभई आम्दानीको स्रोत बन्ने अस्पतालकी वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट युनिटकी फोकल पर्सन माया अधिकारी बताउँछिन्। उनका अनुसार अस्पतालबाट निस्कने फोहोर निकै संवेदनशील हुन्छन्। यसलाई व्यवस्थापन गर्नु जोखिमपूर्ण ठानिन्छ। तर, फोहोरलाई छुट्टाछुट्टै भाडामा संकलन गरेर त्यसलाई उचित व्यवस्थापन गर्दा यसैबाट आम्दानी गर्न सकिन्छ। ‘अस्पतालबाट निस्कने सबै फोहोर जोखिमपूर्ण हुँदैनन्,’ उनले भनिन्, ‘अस्पतालजन्य फोहोरलाई जोखिमपूर्ण र जोखिमयुक्त गरी दुई भागमा विभाजन गरेका छौँ। यहाँबाट निस्कने फोहोरमा १५ प्रतिशत जोखिमपूर्ण र ८५ प्रतिशत जोखिमयुक्त रहेका छन्। यी दुवै फोहोरलाई निर्मुलीकरण गरेर मात्र बेच्ने गरेका छौँ।’
युनिटका अनुसार जोखिमयुक्त फोहोरअन्र्तगत पानीका बोतल, स्लाइन बोतल, कागज, प्लास्टिक, कार्टुनजस्ता वस्तुहरू पर्छन् भने स्लाइन पाइप, पिसाबका पाइप, सिरिन्ज, ड्रेन पाइप, भेन्टिलेटर पाइप, रगतका बोतल जोखिमपूर्ण फोहोरअन्र्तगत पर्छन्। जोखिमपूर्ण र जोखिमयुक्त फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरेको युनिटका फोकल पर्सन अधिकारीले बताइन्। ‘जोखिमपूर्ण फोहोरलाई दुई किसिमबाट व्यवस्थापन गर्दै आएका छौँ,’ उनले भनिन्,‘ जोखिमपूर्ण फोहोरमा संक्रमित हुने किटाणुहरू धेरै हुन्छन्। पहिला ती किटाणुहरूलाई निमुलीकरण गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीसँग अहिले माइक्रोवेभ वेस्ट ट्रिटमेन्ट प्लान्ट र अटो क्लिप गरी दुई वटा साधन रहेका छन्।’
अधिकारीका अनुसार अस्पतालभित्र बिरामीलाई उपचार गर्दा प्रयोग गरिएका जोखिमपूर्ण उपकरण अटोक्लिप गरिन्छ। उच्च तापक्रममा प्रयोग गरिएका सामग्री राखेर किटाणु नष्ट गरिन्छ, जस्तै ः हेपाटाइटिस, एचआइभी एड्सका बिरामीका लागि प्रयोग गरिएका सामग्रीहरु अटोक्लिप गर्दा किटाणु पूरै नष्ट हुन्छन्। यस्तो अटोक्लिपचाहिँ अस्पताल भित्रै सेट गरिन्छ।
दैनिक रूपमा अस्पतालबाट १ सय केजी फोहोर निस्किने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २०–४० केजी जोखिमपूर्ण र ४०–५० केजी जोखिमयुक्त फोहोर निस्किन्छ। अस्पतालजन्य केही फोहोर कवाडीले लैजाने त केही काठमाडौँ महानगरपालिकाले लाने गर्छ। जसबाट मासिक १८ देखि २२ हजारसम्म आम्दानी गरेको छ। फोहोरबाट भएको आम्दानी अस्पतालले आम्दानी स्रोतमा संकलित हुने युनिटका फोकल पर्सन अधिकारीले बताइन्। ‘फोहोरलाई व्यवस्थापन गर्नु भनेको सजिलो कार्य नभएको बताउँदै उनले भनिन्, ‘फोहोर छुट्याउनै सबैभन्दा गाह्रो काम हो। मानिसमा चेतनाको कमीले गर्दा पनि यो कार्यलाई जटिल बनाइरहेकोे छ। फोहोरलाई छुट्याएर राख्ने काम घरबाटै सुरु गर्दा हाम्रो दैनिकी पनि सहज हुनुको साथै आम्दानीको स्रोत पनि जुटाइरहेको छ।’
अस्पतालजन्य सबै फोहोर एकै ठाउँमा राख्ने अभ्यास अझै पनि जारी छ। त्यसकारण पनि फोहोरलाई उचित व्यवस्थापन गर्नु आफैमा चुनौती बनिरहेको छ। अस्पतालजन्य फोहोरलाई पुनप्र्रशोधन गर्न मिल्ने र नमिल्ने वस्तुहरूलाई छुटाएर मात्रै अटोक्लिपमार्फत् व्यवस्थापन गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख गरिएको छ। अटोक्लिपमार्फत् जोखिमपूर्ण फोहोरहरुलाई निर्मूलिकरण गर्ने अभ्यास अस्पतालहरुमा कमै मात्रामा देखिन्छ।
काठमाडौंका केही अस्पतालले अहिले पनि अस्पतालबाहिर फोहोर निकै उच्च तापक्रममा बाल्ने गरिरहेका छन्। यसरी खुला वातावरणमा फोहोर बाल्दा विषाक्त धुँवाले वरिपरिको वस्तीमा बस्ने मानिसहरूको स्वास्थ्यमा असर पारिरहेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यस्तो कार्य उचित छैन। अस्पतालले फोहोरको व्यवस्थापन उचित तरिकाले गरेन भने अस्पतालको नवीकरण नगर्ने नीति स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन मापदण्डमा छ। ६ वर्षभित्र त्यो मापदण्ड पूरा नगर्ने अस्पतालको सञ्चालन रोक्का पनि सरकारले गर्ने कानुनी प्रावधान छ।
प्रकाशित: ३२ श्रावण २०७६ ०२:१९ शनिबार