अन्य

भ्रष्टाचार भएको छैनः समिति

वैजनाथपुर रंगशालामा निर्माणाधीन क्रिकेट पिच। तस्बिरः चुमन/नागरिक

मोरङ– विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिले मैदान निर्माणका क्रममा कुनै अनियमितता नभएको दाबी गर्दै सम्पूर्ण हिसाबकिताब पारदर्शी रहेको बताएको छ।

प्रदेशसभामा क्रिकेट खेल मैदान निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठेपछि मैदान निर्माण उपभोक्ता समितिले मंगलबार खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नभएको दाबी गरेको हो।

वैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थापन समितिका अध्यक्ष नवीन घिमिरेले पत्रकार सम्मेलनमा पिच र मैदान बनाउन कुनै किसिमको कमसल सामान प्रयोग नगरेको दाबी गरे। ‘जहाँसम्म भ्रष्टाचार गरेको र काम नै नभई विभिन्न शीर्षक बनाएर बिल भौचर पेस गरी रकम हिनामिना गरेको कुरा छ, यसमा हाम्रो टिम क्लियर छ,’ घिमिरेले भने, ‘जसले पनि काम र बिल हेर्दा हुन्छ, हामी कहीँ चुकेका छैनौं।’ जति काम भयो त्यसअनुरुपको बिल भौचर सरकारलाई पेस गरेका छौं। हामीले नाफा कमाउनेभन्दा पनि गुणस्तरलाई ध्यान दिँदै काम अघि बढाएको हौं, घिमिरेले भने।

‘यदि हामीले भ्रष्टाचार गर्ने नियत राखेको भए पिच र मैदानमा गुणस्तरीय सामान प्रयोग गर्दैनथ्यौं,’ घिमिरेले भने, ‘सरकारसँग सम्झौता जेठ तेस्रो सातामा भयो, काम तुरन्तै थाल्यौं।’ बर्खामा सम्झौता भयो र काम सुरु ग-यौं, भारतको मुम्बइका क्युरेटर सन्तोष सिंहलाई ल्याएर पिच र मैदानलाई कसरी अन्तर्राष्ट्रियस्तरको बनाउने भनेर छलफल गर्दै उसले भारतको विभिन्न ठाउँमा बनाइएका अन्तर्राष्ट्रिय मैदानको फर्मुला प्रयोग गरी काम गरेका छौं, घिमिरेले बताए।

खेल मैदानमा ५ वटा अन्तर्राष्ट्रिय पिच बन्ने छ। अन्तर्राष्ट्रियस्तरका अढाइ फिट गहिरो खाल्डो खनेर इँटा, फोड्वा गिट्टी, बालुवा प्रयोग गरिएको छ। अब यसपछि पहेंलो माटो, कालो माटो र रातो माटो प्रयोग हुन्छ भने त्यो पनि परीक्षण गरेर मात्र प्रयोगमा आउने छ।

मैदान व्यवस्थापन समिति र प्रदेश सरकारबीच ८५ लाख रुपैयाँमा मैदान तयार गर्ने सम्झौता भएको हो। ‘अहिलेसम्म २६ लाख ५७ हजार रुपैयाँ खर्च भएको र सरकारलाई त्यही खर्चअनुरुपको बिल भौचर पेस गरेका छौं,’ समितिका अध्यक्ष घिमिरेले भने, ‘८५ लाख रुपैयाँमा सम्झौता हामीले भ्रष्टाचार गर्ने भएको सबै रकम मैदानमै खर्च गर्ने थियौं होला।’ हामीले पिच र मैदान बनाउन करिब ४३ लाख मात्र लाग्ने भएपछि त्यसअनुसार काम गर्दै गयौं। ३६ लाख ५७ हजार खर्च भयो बाँकी पैसा सरकारले फिर्ता गरेका छौं। बर्खाको समयले गर्दा काम ढिला भयो, हामीले जुन गतिमा गर्न खोजेका थियौं, पानीले गर्न दिएन।

समितिले सरकारसँग समन्वय गरेर सम्झौताअनुसारको बजेटबाट मैदानमा चाहिने आधुनिक घाँस काट्ने मेसिन ठूलो र सानो गरी ३ वटा, पिचको घाँस काट्ने स्पेशल मेसिन १ वटा, पिच छाप्नका लागि जुट र प्लाष्टिकका कभर २–२ थान र पूरै मैदान ढाक्नका लागि कभर ३ थान खरिद भइसकेको छ।

पछिल्लो समय प्रदेशसभा र सडकमा चर्चामा रहेको मोरङको विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको निर्माणको काम रोकिएको छ। प्रदेश सरकारले यस वर्ष नयाँ बजेट विनियोजन नगरेपछि निर्माण कार्य ठप्प भएको हो। व्यवस्थापन समितिका अनुसार सामाजिक मन्त्रीले मैदानको कामका लागि चाँडै बजेट छुट्याएर काम अघि बढाउने आश्वासन दिएको बताएको छ।

प्रकाशित: २९ श्रावण २०७६ ०५:५९ बुधबार

वैजनाथपुर_मैदान भ्रष्टाचार