अन्य

सरल तर गहन निबन्ध

सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य लेखक भीष्म उप्रेती पनि कविता र गद्य लेखनमा बितेका दशकमा दह्रो उपस्थिति जनाइरहेका छन्। कविका रूपमा उनका कवितासंग्रह प्रकाशित छन् मात्र भनेर पुग्दैन, विश्व बजारमा विभिन्न भाषामा प्रकाशित छन् भन्नै पर्ने थोरै नेपाली कविमध्ये एक हुन्। उनका कविता फुटकर एवं पुस्तकाकारमा अंग्रेजी, हिन्दी, तमिल, जापानी, कोरियाली, सर्वियाली स्लोभानियाली, सिंहली तथा संस्कृत भाषामा अनुवाद भएका छन्।

त्यसैगरी नियात्रा र निबन्ध उनको पकड भएका विधा हुन्। केही ललित निबन्ध र केही नियात्राका पुस्तक पाठकलाई पस्किसकेका उनले हालै ‘तपाईंको पहाड कहाँ हो ?’ कृति पाठकसमक्ष ल्याएका छन्।

भीष्मका निबन्ध पढ्दा एउटा कविले लेखेको निबन्ध हो भनेर पाठकहरूले मजाले ठम्याउन सक्छन्। उनका निबन्ध कठोर होइन, कोमल हुन्छन्, क्लिष्ट होइन, सरल हुन्छन्। यसले पठनीय र मानिसको हृदयमा स्पर्श गर्ने अवसर दिन्छ। उनका निबन्ध पढ्दाको मिठास र सुललीतताले एक प्रकारको झङ्कार दिन्छ।

निबन्धको विषयमा स्वयं भीष्मको आत्मस्वीकारोक्ति यस्तो छ, ‘निबन्ध टेबुल गफ होस् वा आफैंसँगको मनोवाद वा बौद्धिक तर्कना वा अरू नै केही अभिव्यक्तिको सर्वाधिक प्रभावकारी माध्यम हो। खासगरी आत्मपरक निबन्धमा त आफ्ना विचारलाई कलात्मकताको आवरण लगाएर जति र जता उडाउन पनि सकिने तथ्य नेपाली साहित्यका सर्वाेत्कृष्ट निबन्धकार लक्ष्मीप्रसाद देवकोटाबाट सिकेपछि मलाई निबन्ध लेखन प्रिय विधा लाग्यो।’

भिष्म उप्रेतीका निबन्ध कठोर होइन, कोमल हुन्छन्, क्लिष्ट होइन, सरल हुन्छन्, जसले मानिसको हृदयमा स्पर्श गर्ने अवसर दिन्छन्।

प्रस्तुत पुस्तकका निबन्ध दुई प्रकारका छन्–आत्मपरक र व्यक्तिपरक। आत्मपरकतामा आत्मिक उडानको प्रसस्त ठाउँ रहन्छ भने व्यक्तिपरकतामा जीवनका विविध पाटाहरू। तथापि व्यक्तिपरकतामा पनि आत्मपरकताको घुलन पाइन्छ भीष्मका निबन्धमा र यसले झन् रोचकता प्रदान गर्छ र पठनीयतामा वृिद्ध गर्छ।

यस संग्रहमा संकलित १७ निबन्धहरूमध्ये ६ निबन्ध व्यक्ति केन्द्रित छन् भने ११ निबन्ध ललित निबन्ध रहेका छन्। यी ११ ललित निबन्धमा पनि एक रात घोरेपानीमा बसेर, बूढो राजा, जीर्ण दरबार र नयाँ सपना जस्ता निबन्ध भने नियात्राका नजिक छन्। 

त्यसैगरी व्यक्ति केन्द्रित निबन्धहरूमा मोहन कोइराला अर्थात् फर्सीको जरामा मोहन कोइराला, आफसँगै भइदिएहुन्थ्योमा डा. तारानाथ शर्मा, मञ्जुल दाइमा मञ्जुल, शशी भण्डारी : केही इम्प्रेसनहरूमा शशी भण्डारी, रुद्र सरमा रुद्र खरेल तथा सम्झनामा भूषण दाइमा कवि कृष्ण भूषण वललाई केन्द्रमा राखेर निबन्ध लेखेका छन्। यी व्यक्ति केन्द्रित निबन्धहरू दिवंगतका लागि श्रद्धा सुमन हो भने जीवितका लागि कृतज्ञता ज्ञापन। उनीहरूसँगका संगतका अनुभव र अनुभूति एवं छाप, उनीहरूका गुण अवगुणका साहित्यिक मिमांसा पाइन्छन्।

मोहन कोइराला अर्थात् फर्सीको जरामा भीष्म लेख्छन्, ‘मैले मोहन दाइको ‘नीलो मह’ पढें। यस पुस्तकभित्रको झिनो कथानक र दह्रो काव्यात्मक अनुभूति आफूलाई मन परेको कुरा उहाँलाई सुनाउँदा उहाँ कति धेरै खुसी हुनुभएको थियो। उहाँका ‘सूर्यदान’ र ‘लेक’ भित्र प्रवेश गर्ने आँट अझै पनि मभित्र भएन। तर, अन्य ‘ऋतु निमन्त्रण’, ‘सारंगी बोकेको समुद्र’ तथा ‘मोहन कोइरालाका कविता’ भित्रका कवितामा भने प्रवेश गर्दै गएँ। यति थोरै शब्दमा भीष्मले कोइरालाको काव्यिक छाप र प्रभावलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

त्यस्तै ‘आफूसँगै भइदिए हुन्थ्यो’मा तारानाथ शर्मालाई यस्तो शब्दचित्र बनाउन पुग्छन्, ‘तारानाथ दाइमा संवेदनशीलता धेरै छ, उहाँका रचनाहरूबाटै यो कुरा थाहा हुन्छ। उहाँसँगको अन्तरंग कुराकानी र संगतपछि त यो कुरा झनै बलियोसँग थाहा हुने रहेछ। ज्यादै संवेदनशील मान्छे धेरै भावुक हुनु स्वाभाविकै हो। त्यस्तो भावुक मान्छेले अरूलाई विश्वास गरिहाल्ने गर्छन्। यही स्वभावले तारानाथ दाइलाई समेत पटकपटक धोखा दिएको मैले अनुभव गरें उहाँसँगको उठबसपछि। आफैंले विश्वास गरेकाहरूबाट अनपेक्षित रूपले पाएको चोटले रन्थनिएपछि कहिलेकाहीँ विस्फोट भइदिनुहुँदोरहेछ उहाँ। त्यस विस्फोटले पुनःउहाँलाई नै हानी गर्दाेरहेछ।

उप्रेतीको छवि शालीन कविको छ। शालीन अभिव्यक्तिको छ। शालीन प्रस्तुतिको छ। त्यति हुँदाहुँदै पनि विसंगतिपूर्ण स्थितिलाई उनी आफ्ना निबन्धमा शालीनतापूर्वक उठाउँछन् र आफ्नो सोचलाई स्पष्टसँग अभिव्यक्त गर्छन्।

सानो र सहज एवम् सरल विषयलाई पनि निबन्धको रूप र स्वरुप दिनसक्ने खुवी भिष्मकोे विशेषता हो। ‘मौनताको भाषा’मा उनी लेख्छन्, ‘कसैलाई लाग्दो हो जनता बोल्दैनन्। त्यसैले ती मूक छन्। यहीँनेर बुझ्नुपर्ने कुरा के छ भने ‘लाग्नु’ जति सबै ‘हुनु’ होइन। त्यसो हुनाले त्यही नै सत्य पनि होइन। सोच्छु– सबै कुराको सीमा भएजस्तै मौनताको पनि सीमा हुन्छ। त्यो भत्कियो भने के हुन्छ ? हो, साँच्चै त्यो भत्क्यो भने के हुन्छ ? प्रश्न सरल किन्तु गहिरो छ।

पुस्तकको शीर्षक निबन्ध ‘तपाईंको पहाड कहाँ हो ?’ले आफ्नो थातथलोको विषयमा गहिरो संवेदनशील सन्दर्भ उठाएको छ। मान्छेहरू जन्मे–हुर्केको ठाउँ, कर्मशील भएको ठाउँ सबै–सबै  परिवर्तन गर्दै जान्छ। तर, मूलथलोसँगको उसको आत्मियताको जरोले भने उसलाई सदा संवेदनशील बनाइदिन्छ। भीष्मको ठहर छ– म काठमाडौं बसूँ वा युरोप, अमेरिका पुगुँ, मसँगै मेरो पहाडको अंश पनि जाने रहेछ। मसँगै सुत्ने रहेछ यो, मसँगै उठ्ने रहेछ, मसँगै हाँस्ने–रुने पनि रहेछ पहाड। मैले नाभी गाडिएको ठाउँको अर्थ भेटेको छु, केही ढिलो गरी भए पनि त्यसको अर्थ बुझेको छु।’

गद्य लेखनको निरन्तरताको यो ताजा कडी ‘तपाईंको पहाड कहाँ हो ?’ ले भीष्मको गद्य सिर्जनाको निष्ठाको दसी प्रस्तुत गरेको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०४:१९ शनिबार

गद्य_लेखक कवि नेपाली_साहित्य