अन्य

बोल ! बोलबम

साउन शिवजीको प्रिय महिना हो। हुन त भगवान्को आराधना गर्न सबै महिना, सबै बार र सबै समय उत्तिकै उपयुक्त हुन्छन्। तथापि साउनमा गरिने आराधनाले शिवजी छिट्टै खुसी हुने मान्यता छ।

नेपाल भगवान् भोलेनाथको प्रिय भूमि। हिमालयकी पुत्री पार्वतीसँग  विवाह गरेका शिवजीलाई हिमालय नै प्यारो लागेर यतै निवास गर्न थालेका हुन्। यसकारण पनि हिमालको देश नेपालभूमि शिवजीको प्रिय क्षेत्र हो। त्यसमध्ये पनि पशुपति क्षेत्र, हलेसी क्षेत्र, पिण्डेश्वर क्षेत्र शिवको निवास क्षेत्र भएकाले आराधनाका लागि उत्तम क्षेत्र मानिन्छन्।

पूर्वको धरानमा रहेको पिण्डेश्वर बाबाधाम शिव आराधनाका लागि प्रसिद्ध क्षेत्र हो। यसको महत्व स्कन्धपुराण र रुद्राक्षरण्य महात्म्यमा वर्णित छ।

परापूर्वकालमा त्रिपुरासुर भनिने राक्षसले देवता, मनुष्य र ऋषिगणलाई दुःख दिएपश्चात् शिवजीले देवताहरूको आग्रहलाई आत्मसात् गर्दै उसको वध गर्नुभयो। दस हजार वर्षसम्म चलेको त्यो युद्धमा भगवान् रुद्रावतार शिवले त्रिपुरासुरको वधपश्चात् शीतशैल भनिने विजयपुर क्षेत्रमा आएर विश्राम गर्नुभयो। प्राणकर्ता शिवजीको सबैले स्तुति  गान गाए र कृतज्ञता ज्ञापन गरे। भोलेनाथ कसैको सानो प्रार्थनामा पनि खुसी हुने भएकाले उहा“ अति प्रसन्न हुनुभयो र श्रद्रावतार शिवजीका आ“खाबाट हर्षका दुई थोपा आँसु खसे। रुद्रको अश्रुबाट यही क्षेत्रमा रुद्राक्षको उत्पत्ति भयो।

संसारमा सबैभन्दा पहिले यही रुद्राक्षको उत्पति भएको र यो क्षेत्रमा रुद्राक्षको अरण्य (जंगल) भएका कारण यो क्षेत्रलाई रुद्राक्षरण्य भनियो त्यसैले पनि यो क्षेत्र देवता, मानव ऋषिमुनि  सबैका लागि पवित्र पुण्यभूमि बन्यो।

देवता र दानव सधैँका वैरी। वैर अन्त्य गर्ने उद्देश्यले समुन्द्र मन्थनपश्चात रत्न, हात्ती, घोडा, लक्ष्मी, हलाहल विष उत्पन्न भए। हलाहल विष भगवान् शिवजीले पान गर्नुभयो। तत्पश्चात् अमृत लिएर धन्वन्तरि प्रकट भए। देवता र दानवमा अमृत खोसाखोस भयो। पछि अमृत बा“डफा“ड गर्ने सल्लाह भयो। खानका लागि अमृत छानियो। माथिको तर र पिंधमा रहेको छोक्रालाई सबै देवता मिलेर शिवजी स्थापना गर्न पवित्र भूमि खोजी गरे। रुद्राक्षको जंगल सबैभन्दा पवित्र र शिवजीको प्रिय क्षेत्र पनि मानेर तिनले हालको धरान विजयपुर क्षेत्रमा पर्ने रुद्राक्षरण्यको केन्द्र भागमा अमृतको तर र छोक्राको पिण्ड आकारमा शिवजीको स्थापना गरे। जसलाई पिण्डेश्वर नामाकरण गरयो। यो पिण्डेश्वर मन्दिर नै शिव आराधनाको केन्द्र बनिरहेको छ।

विजयपुरडाँडाको पिण्डेश्वर क्षेत्रमा संसारमा सबैभन्दा पहिले  रुद्राक्ष उत्पत्ति भएको थियो। यस क्षेत्रलाई रुद्राक्षरण्य भनिन्छ। त्यसैले पनि यो क्षेत्र देवता, मानव ऋषिमुनि सबैका लागि पवित्र मानिन्छ।

तत्पश्चात् समुद्र मन्थनबाट धुलोमैलो भएका देवताहरूले सप्तकोसीमा स्नान गरे र पिण्डेश्वरमा सप्तकोसीको जल अर्पण गरेर शिवजीको आराधना गरे, जुन परम्परा कायमै छ। यसलाई अचेल बोलबम मेलाका नाममा सञ्चालन गरिन्छ। देवताका पालादेखि चलिआएको परम्परा हाल साउने सोमबार मनाउने गरिन्छ।

यहाँबाट २० किलोमिटर पश्चिममा रहेको प्राचीन हरिद्वार चतराधाममा अवस्थित सप्तकोसी नदीको जल लिएर गेरुवस्त्रधारी भक्तजनहरू पिण्डेश्वरमा अर्पण गर्छन्। प्रत्येक वर्ष यसरी गेरुवस्त्र धारी भक्तको संख्या थामिनसक्न हुन्छ। साउनका सोमबार लाखौं श्रद्धालुहरू आइतबार सा“झदेखि नै लामबद्ध हुन्छन्। उनीहरू भगवान्को सबैभन्दा सादा नाम बोलबम उच्चारण गर्दै जल अर्पण गर्छन्। सप्तकोसीको जलसँगै बेलपाती, दुध, धतुरोको फूल र रुद्राक्षको माला पनि पिण्डेश्वरमा अर्पण गरिन्छ। रुद्राक्षको माला प्रसादका रूपमा घर लिएर जानुपर्छ। पिण्डेश्वरमा अर्पण र स्पर्श गरेको रुद्राक्ष अत्यन्त प्रभावकारी र जीवित हुने विश्वास गरिन्छ।

पिण्डेश्वर मन्दिर परिसरमा गणेश पार्वती अष्टभूजा देवीका  मन्दिर पनि छन्। परिसरमा सरस्वती सरोवर छ। पहाडको टुप्पामा पोखरी र नजिकै इनार हुनुले यो क्षेत्रलाई प्राकृतिक हिसाबले पनि महत्वपूर्ण बनाएको छ। मन्दिरको प्रवेशद्वार नजिकै भिमसेन थापा र जंगबहादुर राणाले चढाएका पुराना ठूला घण्टी पनि छन्। यहा“ नजिक एक किमिको दूरीमा दन्तकाली मन्दिर र बुढासुब्बा मन्दिर भएकाले बोलबम यात्रीले दर्शन गर्न छुटाउनु हुँदैन।

प्रकाशित: १८ श्रावण २०७६ ०४:११ शनिबार

बोलबम शिवजी