अन्य

मार्फासँग सुटुक्क पिरती

अर्पणा लामिछाने
झम्के साँझ प-यो बेनीबजार टेक्दा। वरिपरि धेरै अग्ला पहाड। बीचमा कालीगण्डकी देखिएको छ– नाम जस्तै काली। बजारमा घरहरू लहरै। बिहान ७ बजे हाराहारीमा काठमाडौँबाट गुडेको माइक्रो बस बेलुका ७ बजेकै आसपास पुगेको थियो बेनीमा।

रात पर्दै थियो, बास त खोज्नुप-यो। साथमा हामी चार दिदीबहिनी छौँ। ठूलो बाबाकी छोरी अभिज्ञा, फुपूकी छोरी कृति, दिदी अर्चना र म। साथमा बाबा हुनुहुन्छ। पर्यटकको भीड नलाग्ने समय भएकाले सजिलै भेटियो होटल।

जति रात प-यो कालीगण्डकीको गडगडाहट बढेको सुनिन्छ। होटल र कालीगण्डकीको बीचमा त्यही २० फिट जतिको सडक छ। राति माथितिर घनघोर पानी प-यो भने काली गण्डकी बढेर होटलसम्मै हामीलाई भेट्न आउला कि भन्ने डरले सताइरह्यो।

कहिले उज्यालो होला र मुस्ताङ जान पाइएला भन्ने लागिरहेको छ। बाबा भोलिका लागि जिप खोज्न जानुभएको छ। हामी चार दिदीबहिनी होटलका कोठामा छौँ। खाना खाएर सुत्न गयौँ। बाबाले ‘विहान पाँचै बजे जिप जान्छ। चाँडो सुत’ भन्नुभयो। चाँडो नगए विभिन्न पहरामा डोजरले बाटो बनाउँदै गर्दा लामो जाममा पर्ने डर रहेछ। त्यसैले त्यो बाटो खन्ने काम थाल्नुभन्दा पहिले नै त्यस्ता ठाउँहरू काटिसक्नु पर्ने रहेछ। 

असार १५ गते। हामी उठ्दा पनि कालीगण्डकी त्यसरी नै सुसाइरहेकी छ, जसरी हिजो सुत्दा कराइरहेकी थिई। क्या फूर्ति छ कालीगण्डकीसँग। हामी पनि त्यस्तै फुर्तिलो हुन पाए पो !

नित्यकर्म सकेर हामीले हतारहतार झोला कस्यौँ। तल झरेर झोला राख्यौँ जिपमा। हामी पाँच जना र अरू दुई जना रहेछन्। सबैको गन्तव्य एउटै। बेनीबजारबाट जिप रिजर्भ गरेर मुस्ताङ जान पाइने रहेछ।

दायाँबायाँ अग्लाअग्ला पहाड छन् डरै लाग्दा। कालीगण्डकी आएतिर हामी जाँदै छौँ। हामी माथिमाथि जाँदै छौँ। कालीगण्डकी तलतल आइरहेकी। बेनीबाट तीन किलोमिटर माथि गलेश्वर महादेव मन्दिरसम्म सडक कालोपत्रे रहेछ। अगाडि खाल्डाखुल्डी बाटो। त्यसमाथि सिमसिमे पानीले हिलो। हामी बेलाबेला हाँडीभित्र उफ्रेका मकैका फूलझैँ उफ्रिरह्यौँ।

बिहान साढे ६ बजेतिर तेतिङ पुग्यौँ। त्यहाँको सानो होटलमा हामी सबै जना झर्दा भरिभराउ भयो। चिया खायौं। एकछिनमा त्यहाँबाट अगाडि बढ्यौँ। बाटोमा भुरुङ तातोपानी भन्ने ठाउँमा पुगियो। ड्राइभरले तातोपानी कुण्ड हेर्न लगाए। सानासाना कुण्डमा च्वास्स पोल्ने पानी हुँदोरहेछ। एक–दुई मान्छे कुण्डमा डुबेर नुहाइरहेका थिए। यसरी नुहाउँदा छाला र नशासम्बन्धी रोगहरू निको हुन्छ भन्ने विश्वास रहेछ।

मुक्तिनाथतिर उक्लँदा बाटामा थुप्रै झरना देख्यौं। हरिया पहाडका टुप्पाबाट झरेका। कुनै युवतीको रेशमी चुल्ठोजस्तै सलक्क देखिने झरना। हेर्दाहेर्दै हामी एउटा ठूलो झरना भएको ठाउँमा पुग्यौँ। ड्राइभरले ‘रुप्से झरना’ भनेर चिनाए। माथितिरबाट झरिरहेको। झरनाको लम्बाइ हेर्दा गर्दन दुख्ने, कता हो कता माथि। हामीले फोटा खिच्यौँ। मनमनै सोधेँ– ‘रुप्से, मलाई पनि तिमी जस्तै स्वच्छ बन्न सिकाऊ न !’

रुप्से हेरेर नअघाउँदै जिपमा बस्ने इशारा आयो। बस्नै प¥यो। जिपले पुरानै गति लियो। आकाशमा बादल बाक्लै छ। पानी पिरपिराइरहेको छ। मनदेखि मुस्ताङ छुने तातो इच्छा छ। त्यसैले बाहिर बढिरहेको जाडोलाई भित्रभित्रै दबाएर हामी बसिरहेका छाैँ जिपमा।

घाँसा भन्ने ठाउँ आएपछि जिल्ला परिवर्तन हुँदोरहेछ। मुस्ताङको लेते भन्ने ठाउँबाट अगाडि बढेपछि हिमालपारि पुग्न सुरु हुने रहेछ। दायाँबायाँ धौलागिरि र अन्नपूर्ण हिमशृंखला रहेछन्। हातैले टिप्न मिल्ने गरी नजिएका हिमालहरू। बुरुक्क उफ्रेर समातुँझैं भयो।

अब त आइपुग्ला भन्यो, आइपुग्दैन। कति टाढा रहेछ मुस्ताङ ! जतिजति माथि गयो भूगोल फरकफरक बन्दै छ। हरियाली दृश्य नांगा डाँडामा परिणत हुँदै छन्। हरियाली अब कतैकतै भुल्काभुल्की देखिन थालेका छन्। बाटामैै देखियो एउटा बाक्लो वस्ती। नजिकै एउटा खोला रहेछ। ड्राइभरले चिनाए, ‘टुकुचे गाउँ हो।’ हामीले भूपी शेरचनको बारेमा पढेको गाउँ यही हो। सहीदहरूको सम्झना भन्ने कविता लेख्ने कवि। हे-यौँ प्रिय कविको गाउँ।

भूपीको गाउँलाई हात हल्लाएर हामी माथि गयौँ। मुस्ताङमा स्याउ फल्छ भनेको सुनेकै हो सानैदेखि। नभन्दै आइपुग्यो बगैँचा। ड्राइभरले जिप रोके। हामीलाई त्यही स्याउको बगैँचा भएतिर जान लगाए। हामी बगैँचा भएको गाउँमा पस्यौँ। मार्फा गाउँ रहेछ। लोभलाग्दो स्याउबारी। भर्खर फलेर बढ्दै गरेका दाना। भदौताका त सबै पाक्दा बोटले धानी नसक्नु हुन्छ रे। हामीले बगैँचामा गएर स्याउको बोटलाई अँगालो हाल्यौँ। फोटो खिच्यौँ। स्याउका दानालाई हातले सुम्सुम्यायौँ।

मार्फसँग आत्मीयता साट्नु साटियो। मार्फामा न धुलो छ न धुवाँ। काठमाडौँमा धुवाँ र धूलोले निसास्सिएका हामी मार्फामा निर्धक्क घुम्यौँ। मार्फाली हामीलाई मुस्कानले स्वागत गरिरहेका थिए। मार्फाले हाम्रो मनमा सुटुक्क पिरतीको सन्देश पठायो।

एकपछि अर्को ठाउँ छोड्दै हामी पुग्यौँ जोमसोम। जोमसोममै खाने भइयो खाना। नजिकै विमानस्थल। हामीले त्यही दृश्य देखिने एउटा होटलमा बसेर थकाली खाना खायौँ। खानाको स्वादमा जादू थियो। गासैपिच्छे जिब्रो पड्काउनु पर्ने। चिसो ठाउँमा भोकाएको बेला खाएको थकाली स्वाद। 

खाना आएर हामी जोमसोम नजिकैको ठिनी गाउँ जाने भयौँ। थकालीहरूको बसोबास रहेको ठिनीको बनोट अचम्मको छ। एउटा घरको छत अर्को घरको आँगन हुँदो रहेछ। घरका छतमा दाउराको चाङ। उजाड ठाउँमा पनि कति धेरै दाउराका चिर्पट। पाएजति जम्मा बनाएर राखिने रहेछ।

ठिनी घुम्दै गर्दा थाहा भयो मुस्ताङमा १२ बजे चल्ने हावाको दम। त्यसै लेखिएको रहेनछ, ‘१२ बजे हावा सरर’ भने जस्तो लाग्यो। ठिनी गाउँमै रहेछ मुस्ताङमै प्रसिद्ध ढुम्बा ताल।

मान्छे उडाउला जस्तो गरी चलेको हावामा आफूलाई नियन्त्रण गरी हामी ढुम्बातालतिर लम्कियौँ। तलतल जोमसोम बजारको खुलेको रूप देखिएको छ। हामी माथिमाथिबाट ढुम्बाताल गइरहेका छौँ। बाटामा जिस्केर हिँडिरहेका छौँ। केही बेरमा पुग्यौँ तालको छेउ। लुङ्दारहरू फर्फराइरहेका। हामी पुगेपछि जिप पनि आयो पछिपछि। हामीले त्यहाँ लाग्ने शुल्क तिरेर भित्र छि-यौँ।

ढुम्बाताल डाँडाको फेदमा रहेछ। प्रेमको प्रतीक पानपाते आकारमा अवस्थित ताल। हावाले कपाल फिँजाएर हिँड्नै दिएन। यताउता पारिदियो। ‘हामीलाई त बानी छ, तपाईँहरूलाई उडाउला है’, स्थानीयले हामीलाई सजग गराए। हावाले तालमा चलाएको पानीको लहरको सुन्दरता केसँग दाँज्नु खै !

ढुम्बाताल डाँडाको फेदमा रहेछ। प्रेमको प्रतीक पानपाते आकारमा अवस्थित ताल। हावाले कपाल फिँजाएर हिँड्नै दिएन। यताउता पारिदियो। ‘हामीलाई त बानी छ, तपाईँहरूलाई उडाउला है’, स्थानीयले हामीलाई सजग गराए। हावाले तालमा चलाएको पानीको लहरको सुन्दरता केसँग दाँज्नु खै !

नीलगिरि हिमालले काखमा च्यापेको छ ताललाई। सुन्दर ताल। प्रदूषणको कुनै छिटासम्मले असर गरेको छैन। ताल हेरेर मुक्तिनाथ जान हतारियौँ। जोमसोमबाट हाम्रो यात्रा कागबेनीतिर सुरु भयो। कालीगण्डकीको स्वच्छन्द रूप देखिएकै छ बायाँतिर। बगरको फराकिलो रूप अचम्मलाग्दो छ। जोमसोमबाट हिँडेको आधाघण्टा जतिमा पुगियो कागवेनी छेउ। कागबेनीमा मुक्तिनाथबाट आएको खोला र कालीगण्डकीको दोभान रहेछ। यही दोभानमा बाबुआमा नहुनेहरूले तीर्थश्राद्ध गर्दछन् रे ! ड्राइभरले त्यो कुरा सुनाउँदै हाम्रो जिप मुक्तिनाथतिर उकालो लगाए।
कागबेनीबाट उकालो लागेपछि कालीगण्डकीको तिरैतिर हुने यात्रा सकिँदो रहेछ। उकालो बाटो पूरै कालोपत्रे। कागबेनीबाट मुक्तिनाथ बसपार्कसम्मको दूरी जम्मा ११ किलोमिटर।

भूगोलको अद्वितीय स्वरूप खडा छ हाम्रो अगाडि। हामी आपूmसँग भएका साधन तेस्र्याउँदै फोटो खिच्न व्यस्त छौँ। बादलका नानाभाँती टुक्राहरूले आकाश सिँगारिएको छ।

‘लौ आइपुग्यो। अब झर्नोस्,’ जिपवाला कराए। केही हिँडेपछि रानीपौवामा रहेछन् बास बस्ने होटलहरू। दिउँसोको साढे २ बजे हामीले टेक्यौँ मुक्तिक्षेत्र। शरीरमा फूर्ति खासै छैन। टाउको दुख्न थाल्यो रनन्न। झोला बोकेर हामी बिस्तारैबिस्तारै हिँड्याैँ। चक्कर लाग्लाजस्तो भो। लसुन थियो साथमा। त्यसले केही कम गर्दोरहेछ।

होटल ड्राइभरले नै चिनेकोमा बसियो। सस्तैमा पाइयो होटल, एकछाक खाना र सुतेको पाँच सय रूपैयाँ। कोठाबाटै देखिँदैछन् हिमालहरू दक्षिणतिर।

एक घण्टा भइसक्ता पनि टाउको दुख्न कमी भएन। हामी बसेको ठाउँबाट मन्दिर जान हिँडेर २५ मिनेट रहेछ। भोलिपल्ट, बिहान चाँडै मुक्तिनाथ दर्शन गरी फर्कनु छ। हामीले होटेलमै नुहायौँ। माथि धारामा पानी चिसो हुने भएकाले नुहाउने आँट आएन। शिरमा जल सेचन गर्ने विचार आयो।

मन्दिर जाँदा विस्तारै गयौँ। दक्षिणतिरका हिमशिखर सूर्यका रश्मिले रक्तिम देखिएका। हामी विस्तारै जाँदै छौँ। बाटामा फाट्टफुट्ट रूपमा भारतीय पर्यटक भेटिएका छन् घोडा चढाएर यात्रुहरूलाई ‘सेवा व्यवसाय’ सञ्चालन गर्नेहरू भर्खर आफ्ना घोडा डोहो¥याएर आउँदै छन्।

कालाकाला ढुंगाहरू, हिउँले खाएर कालो भएका बुट्यानहरू। हेलिप्याडहरू रहेछन् तीनवटा। विस्तारैविस्तारै उकालो जाँदा हामी दोस्रो ढोकामा पुग्यौँ। दोस्रो ढोकाबाट भित्र गएपछि विल्कुलै बेग्लै अनुभव भयो। तलतिर उजाड देखिने भूगोलमा लहरेपिपल लगायतका अरू वनस्पति थिए। मानौँ तराईको घना जंगलमा छौँ हामी। चिसो हावा चलिरहेकै छ।

बिहान साढे ६ बजे मन्दिर पुग्यौँ। १०८ धाराबाट झरर पानी झरिरहेको छ। जल सेचन गरियो शिरमा। मन्दिरमा पूजाका लागि बस्नै प¥यो मान्छेको लहरमा। एक सय आठ धारामा नुहाएर काँप्दै पूजागर्न लहरवद्ध हुनेहरू पनि थिए। मन भित्रदेखि जन्मिएको आस्थाको अगाडि जाडाको के मतलव ! 

मन्दिरमा भगवान् विष्णुको रूप मानी हिन्दु पुरोहितले पूजा गर्ने चलन रहेछ। हामीले त्यो पूजा गरेको देख्यौँ। हिन्दु पुरोहितले पूजा गरेपछि बौद्ध धर्मको विधिले आनीले पूजागर्ने चलन अनौठो लाग्यो। धार्मिक सहिष्णुताको योभन्दा अनुपम उदाहरण के हुन सक्छ र ! आधा घण्टाको पूजाआजा र पछि प्रसाद ग्रहण गरी हामी बाहिर आयौँ। वरिपरि बुद्धका मूर्तिहरू बन्दै रहेछन्। केही माथि एउटा गुम्बा पनि छ। गुम्बा र मन्दिर सबैका साझा न हुन्। 

मुक्तिनाथ (३८०० मिटर)को दर्शन सकियो। उचाइमा आएकाले होला शारीरिक रूपमा केही गाह्रो भइरहेको थियो। मनमा भने हेरेर रमाऊँझैँ भइरहेको थियो। के गर्नु, फर्कनै पर्ने छ। त्यसैले मुक्तिक्षेत्रबाट झ¥यौँ तलतिर। वरिपरिका लुङ्दारहरूले फिरफिर गरेर हामीलाई हात हल्लाए। भारी मनले विदाइको हात हल्लाउँदै झर्नै प¥यो तलतिर !
(लामिछाने ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटार, काठमाडौंमा अध्ययनरत छिन्।)

प्रकाशित: १८ श्रावण २०७६ ०४:०० शनिबार

कालीगण्डकी मुस्ताङ