अन्य

घरेलु हिंसा र बुद्धका उपदेशहरू

बसन्त महर्जन

अचेल हरेकजसो पत्रपत्रिकामा घरेलु हिंसासम्बन्धी समाचार वा लेख–रचना प्रकाशित भएको पाइन्छ। घरायसी मामिलामा हुने मानसिक, शारीरिक तथा भौतिक हिंसाका घटनालाई घरेलु हिंसा भनी परिभाषित गरिएको पाइन्छ। कुटपिट मात्रै नभएर बोलीवचनद्वारा हुने अभद्र व्यवहार पनि घरेलु हिंसा नै हो। आपसी सम्बन्धमा आउने खराबीबाट मात्र नभई पितृसत्तात्मक सोच, मूल्य–मान्यताका कारण हिंसा गर्ने व्यक्तिले हिंसा गरेको छु भनेर नबुझिकनै पनि घरेलु हिंसा हुने गर्छ।

घरेलु हिंसाका सम्बन्धमा गौतम बुद्धले यसको निराकरणका लागि कस्तो उपदेश दिएका छन् भन्ने सम्बन्धमा ठ्याक्कै जवाफ त पाइँदैन। तर, मैत्री, करुणा, मुदिता तथा उपेक्षा भावलाई विकास गर्न जोड दिने तथा पञ्चशील लगायतका सदाचारसम्बन्धी कुरालाई दैनिक जीवनमा उतार्नुलाई पनि साधनाको अंग मान्ने बुद्धबाट घरेलु हिंसासँग सम्बन्धित कुरामा पनि केही त अवश्य नै उपदेश दिएको होला भन्ने अनुमान गर्न सकिन्छ।

बौद्ध जगतमा ‘गृही विनय’ नामबाट चर्चित ‘सिगालोवाद–सूत्र’ यस सन्दर्भमा अघि सार्न सकिन्छ। त्रिपिटकअन्तर्गत सूत्रपिटकको ‘दीघनिकाय’ नामको ग्रन्थमा यो सूत्र संग्रहित छ। प्राचीन भारतको राजगृह नगर निवासी एक गृहपुत्र थिए, सिगाल। बाबुले उनलाई मरणशैयामा भनेका थिए, ६ दिशाको नमस्कार सधैं गर्नु। यही भएर उनी नित्यकर्ममा ६ दिशाको पनि नमस्कार गर्थे। एकाबिहानै राजगृहबाहिर गई गंगामा नुहाई पूर्व, दक्षिण, पश्चिम, उत्तर, अधो र उद्र्ध गरी ६ दिशामा जल अर्पण गरी नमस्कार गरेर बस्थे। यसरी नमस्कार गरिरहेका बेला त्यहाँ गौतमबुद्ध पुग्छन् र सोध्छन्। ६ दिशाको नमस्कार गर्ने विधि यो नभएको बुद्धले टिप्पणी गर्छन्। सही विधिको उपदेश होस् भनी याचना गर्दा सिगाललाई दिएको उक्त उपदेश वा शूत्रको नाम नै ‘सिगालोवाद’ रहन गयो।

बुद्धका अनुसार पूर्व दिशा भनेको आमाबाबु हुन्। किनभने उनीहरू छोराछोरीभन्दा अघिल्ला हुन्। आचार्य गुरु वर्गलाई श्रद्धापूर्वक दिइने दानप्रदान नै ‘दक्षिणा’ हुन् भने यसरी दक्षिणा दिन योग्य–वर्गका आचार्य गुरुहरूलाई दक्षिण दिशा समान मानिएको हो। यसरी नै पछि लाग्ने श्रीमती, पुत्र–पुत्री, नाति–नातिनालाई पश्चिम दिशा मानिएको छ। यो वर्ग आमाबाबु लगायतका पूर्वजहरूको अनुगामी हुन्छन्।

आपतविपत पर्दा सल्लाह तथा सहयोग गर्ने कल्याण मित्रहरू उत्तर दिशा हुन्। अधोदिशा भनेर घरका सेवकहरूलाई भनेका हुन् भने उद्र्ध दिशा भनेर धर्म–दर्शनको कुरा बुझाउने तथा सम्येक आजीविका गरी लोभलालचबाट मुक्त भई शुद्ध जीवन बिताइरहेका पूजनीय श्रमण–ब्राह्मण हुन्।

‘सिगालोवादसूत्र’ अनुसार सबैले आ–आफ्नो कर्तव्यप्रति सजग रहने हो भने घरेलु हिंसा त के, त्यसको वातावरण पनि सिर्जना हुँदैन।

यसअनुसार ६ दिशा भनेर केवल बाह्य दिशालाई बुझाउँदैन। ६ दिशा रूपी ६ वर्ग घर गृहस्थीका लागि हितकारी हुन्। यो वर्गसँग सु–सम्बन्ध राख्न सक्नु जीवनलाई राम्रो बनाउनु हो। यो ६ वर्गसँग कसरी सु–सम्बन्ध कायम गर्ने भन्ने बारेमा बुद्धले दिएका उपदेश मननयोग्य छन्।

आमाबाबुप्रति छोराछोरीको कर्तव्य
छोराछोरीले आमाबाबुप्रति पाँच प्रकारले अनुकम्पा राखी सेवा गर्नुपर्छ। आमाबाबुले जन्माएनन् मात्रै, गर्भमा हुँदादेखि लालनपालन गरेर हुर्काएको हुनाले जीवनभर उनीहरूप्रति कृतज्ञ हुनुपर्छ। यसअनुसार बूढाबूढी भइसकेका आमाबाबुलाई हेलाहेचो नगरी हर कुरा सुन्ने तथा आदरसत्कार गर्नुपर्छ। उमेरअनुसार उनीहरूको आवश्यकता पनि फेरिन्छ। यो कुरालाई ध्यानमा राखी नुहाउने, हिँडाउने, खाने–पिउने, औषधी, उपचार तथा धर्म श्रवण आदि हुन्छ। यो सबै कुराको बन्दोवस्त गर्नु छोराछोरीको पहिलो कर्तव्य हो। दोस्रो कर्तव्य हो– आमाबाबुले वहन गर्दै आएका राज्य वा सरकारी कामहरूको जिम्मेवारी हस्तान्तरण गरेर लिने। आमाबाबुले गर्दै आएका राम्रा कुरालाई निरन्तरता दिनुलाई कुल–वंश स्थिर गर्ने भनिन्छ र यो तेस्रो कर्तव्यअन्तर्गत पर्छ। यसअनुसार धनसम्पत्तिको सुरक्षा तथा थप आर्जन गर्नुका साथै धर्म–कर्म तथा शीलसदाचारमा अडिग रहनु हो। यसमा आमाबाबु वा पूर्वजले गरेका नराम्रा कामकुरालाई छाड्नु र धर्म–कर्ममा लाग्नु पनि पर्छ। चौथो कर्तव्य हो– आमाबाबुको अंश भाग लिन योग्य छोराछोरी हुनु। पाँचौं कर्तव्य हो– परलोक भएका आमाबाबुको गुणानुस्मरण गर्दै परलोकमा उनीहरूको हित शान्तिको कामना गर्दै धर्मकर्म गर्ने।

छोराछोरीप्रति आमाबाबुको कर्तव्य
छोराछोरीमा नराम्रो स्वभाव विकास हुनसक्छ, यसलाई रोक्ने काम आमाबाबुको हो। त्यसरी नै छोराछोरीलाई असल कामकुरामा लगाउने तथा राम्रो संस्कार दिने आमाबाबुको दोस्रो कर्तव्य हो। कूल परम्परामा चल्दै आएका शिल्पविद्याबाहेक अन्य थप विद्याको पनि बन्दोबस्त गरिदिनु तेस्रो कर्तव्य हो भने उमेर पुगेपछि यौवनावस्थामा उचित वर वा बधूसँग विवाह गरिदिनु चौथो कर्तव्य हो। यसरी नै छोराछोरीलाई चाहिने समयमा चाहिने मात्राको खर्च–बर्च जुटाइदिनु आमाबाबुको पाँचौं कर्तव्य हो।

आचार्यप्रति कर्तव्य
आचार्य गुरुप्रतिको भावनामा पनि संस्कार निहित हुन्छ। यसअनुसार आचार्य गुरुप्रति आदर–गौरव राख्ने, सेवा गर्ने, विद्या तथा उपदेश ग्रहण गर्ने तथा अन्य कामकुरा फत्ते गर्नु शिष्यको कर्तव्य हो।

शिष्यप्रति आचार्यको कर्तव्य
शिष्यप्रति आचार्य गुरुको पनि निर्दिष्ट कर्तव्य हुन्छन्। सिकाउने तथा सरल तरिकाले बुझाउने अविद्याका कारण हुने भयलाई हटाउने कर्तव्य यसअन्तर्गत पर्छन्।

श्रीमतीप्रति श्रीमानको कर्तव्य
सबै श्रीमानले श्रीमतीप्रति सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जुन शब्दको प्रयोगले श्रीमतीले आत्मगौरव अनुभव गर्न पाउँछन्, त्यही शब्द प्रयोग गर्नुपर्छ। श्रीमतीलाई हेय वा तुच्छ शब्द प्रयोग गरी सम्बोधन गर्नुहुँदैन। हेलाहेचो पनि गर्नु हुँदैन। आफ्नी श्रीमतीप्रति इमानदार हुने तथा दिनुपर्ने सम्पूर्ण अधिकार दिएर राख्नुपर्छ।

ऐश्वर्य भनेर यहाँ धनसम्पत्ति वा गरगरहनामात्रै बुझ्नु सीमित बुझाइ हो। तसर्थ, सम्पूर्ण अधिकारले पनि सुसज्जित पार्नुलाई ऐश्वर्य भनेर बुझ्नुपर्छ। तर, यसमा आफ्नो हैसियतभन्दा बाहिर जानु भने हुँदैन।

श्रीमानप्रति श्रीमतीको कर्तव्य
जसरी श्रीमतीप्रति श्रीमानको कर्तव्य हुन्छ, त्यसरी नै श्रीमानप्रति पनि श्रीमतीको कर्तव्य रहेको हुन्छ। श्रीमानप्रति गर्नु पर्ने काम कुरा गरी नाता–कुटुम्बको संग्रह गर्नुका साथै घरमा भएको धन–सम्पत्तिको रक्षक पनि हुनुपर्छ। यसरी नै श्रीमानप्रति इमान्दार हुने तथा कुशलतापूर्वक घरगृहणी चलाउने हुनुपर्छ।

मित्र–वर्गप्रति कर्तव्य
मित्र हुनुको अर्थ गफ गर्ने र समय कटाउन सहायक मात्रै होइन। आपत्विपद्मा वस्तु दिएर वा सघाएर सेवा गर्नुपर्छ। कडा वचन नबोल्ने, सुखशान्ति हुने अवस्था सिर्जना गर्ने, आफू समान व्यवहार गर्ने तथा झूठो नबोल्ने मित्रहरूको कर्तव्य हो।

सेवकप्रति मालिकको कर्तव्य
घरमा सेवा कामदार वर्गको पनि महत्वपूर्ण भूमिका हुन्छ। यसलाई ध्यानमा राखेर उनीहरूप्रति उचित व्यवहार गर्नुपर्छ। शारीरिक क्षमता हेरी काम लगाउनुपर्छ। नियमित तलबका अतिरिक्त समय–समयमा खानेकुरा तथा अन्य वस्तु पनि दिनु पर्छ। बिरामी परेका बेला उचित उपचार उपलब्ध गर्नुका साथै उपहारको भागीदार पनि बनाउनुपर्छ। यसरी नै समय–समयमा उनीहरूलाई फुर्सद पनि मिलाइदिनुपर्छ।

मालिकप्रति सेवकको कर्तव्य
सेवक बिहान मालिकभन्दा चाँडो उठ्ने तथा ढिलो सुत्ने बानी बसाल्नुपर्छ। यो सम्भव नभए यसको विकल्पमा अरु केही बन्दोवस्त गर्नुपर्छ। मालिकले दिएको कुरा मात्रै लिनुपर्छ, नदिएको कुरा लिँदा इमान्दारितामा खोट देखा पर्छ। निर्दिष्ट कर्तव्यलाई कुशलतापूर्वक सम्पादन गर्नु तथा मालिकको पीठ पछाडि कुरा गरेर निचो नदेखाउने हुनुपर्छ।

श्रमण–ब्राह्मणप्रति कर्तव्य
मैत्रीपूर्वक निमन्त्रणा गर्ने तथा सेवा गर्नु श्रमण–ब्राह्मणप्रतिको पहिलो कर्तव्य हो। मैत्रीयुक्त वचन मनमा मैत्री भाव जगाउने, उनीहरूका लागि सदैव हृदय खुला राख्नुपर्छ। समयअनुसार भोजन तथा जलपानको व्यवस्था गर्नु पनि श्रमण–ब्राह्मणप्रतिको कर्तव्य हो।

कूलपुत्र वा कूलपुत्रीप्रति श्रमण–ब्राह्मणको कर्तव्य
कूलपुत्र तथा कूलपुत्रीहरू अनेक समस्यामा अल्झेका हुन्छन् वा अविद्याको मारमा परेर अनर्थ कामकुरा गरिरहेका हुन्छन्। यस अवस्थामा हेरविचार गर्नु श्रमण–ब्राह्मणको कर्तव्य हो। पाप कर्मबाट रोकेर धर्ममार्गमा लगाउनु, पञ्चशील तथा अष्टशीलको पालनामा उत्प्रेरित गर्नु, सदैव हितसुख कामना गर्नुपर्छ।

घरेलु हिंसा हुनाका अनेक कारण हुनसक्छन् र ती निराकरण गर्नै नसकिने खालका हुँदैनन्। शील सदाचारले युक्त घरगृहस्थीमा घरेलु हिंसाको कल्पनासम्म पनि गर्न सकिन्न। अझ ‘सिगालोवादसूत्र’ अनुसार सबैले आ–आफ्नो कर्तव्यप्रति सजग भएर रहने हो भने घरेलु हिंसा त के, त्यसको वातावरण पनि सिर्जना हुँदैन। यही भएर बौद्ध समाजमा यो सूत्रको चर्चा हुने गरेको पाइन्छ। र, गौतम बुद्ध मन पर्छ वा उनका उपदेशहरूको पालना गर्छु भन्नेबाट घरेलु हिंसा भयो भने यो लज्जाको विषय हुन्छ।

प्रकाशित: ११ श्रावण २०७६ ०५:४९ शनिबार

घरेलु_हिंसा अभद्र_व्यवहार ‘गृही_विनय’