अन्य

२५ उज्यालो वर्ष

आँखा बन्द गर्दा संसार मरेजस्तो लाग्छ।
आँखा खोल्दा संसार फेरि जन्म्यो जस्तो लाग्छ।।
‘बेल जार’ नामक उपन्यासमा स्याल्भिया प्लाथले उल्लेख गरेजस्तै गुमेको ज्योति फर्कदा कस्तो अनुभूति हुन्छ भन्ने कुरा मकवानपुरका १३ वर्षीय रोशन थिंगलाई हेरे पुग्छ। तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतको टिमले सफल शल्यक्रिया गरेपछि जुलाई पहिलो साता आँखामा रोशनी फर्कदा मकवानपुरका १३ वर्षीय  थिंगले देखाएको हाउभाउले सामाजिक सञ्जालमा धेरैको मन छोयो।

उनी प्लाथका उपन्यासका पात्र त हैनन्। तर, आँखाको ज्योति फर्केसँगै उनको लागि संसार फेरि बिउँतिएको छ।    
प्रतिष्ठानले आफ्नो उज्यालो २५ वर्षमा लाखौं रोशनहरूको संसारमा उज्यालो ल्याइदिएको छ। सन् १९९४ मा स्थापना भएको अस्पतालले यस अवधिमा ६० लाखभन्दा बढी बिरामीको आँखा उपचार गरेको छ। जसमा अस्पतालमा केन्द्रित भएर ३४ लाख ९० हजार र समुदायमा गएर २५ लाखभन्दा बढी छन्। अस्पतालले १५ लाखभन्दा बढीलाई निःशुल्क सेवा दिएको छ।

आँखा उपचारमा निकै नाम कमाएको प्रतिष्ठानले ले यस अवधिमा ४ लाखभन्दा बढीको सफल अप्रेसनसमेत गरेको छ, जसमध्ये झन्डै दुई लाखलाई निःशुल्क सेवा दिएको छ। प्रतिष्ठानमा आँखाको नानी, आँखाको पर्दा, जलबिन्दु, युभिआइटिस, आँखाको नसा, आँखाको प्लास्टिक सर्जरी बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर लगायतको उपचार हुने गरेको छ।

प्रतिष्ठानले उपचार गर्ने मात्र होइन, दक्ष जनशक्ति समेत तयार गर्ने गरेको छ। आँखा सेवाका लागि चाहिने नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेटरिस्ट, नेत्र सहायक, आँखा स्वास्थ्य कार्यकर्तालगायत फेलासिपको माध्यमबाट उत्पादन गरिरहेको छ।
त्यसैगरी हिमाल र पाहाडका दुर्गम जिल्लामा सेवा प्रदान गर्न प्रतिष्ठानले १७ सामुदायिक आँखा केन्द्र र हेटौडा सामुदायिक अस्पतालमार्फत्सेवा दिइरहेको छ। त्यस्तै, क्षेत्रीय स्तरमा विराटनगरमा रहेको राममला गोल्छा आँखा अस्पताल, जनकपुरमा रहेको जानकी आँखा अस्पताल र धनगढीमा रहेको गेटा आँखा अस्पतालमार्फत् ९ जिल्लामा आँखा स्वास्थ्य सेवामा साझेदारी कार्यक्रम संचालन गरेको छ।

आँखाका नानी
आँखाको क्षेत्रमा अस्पतालले पु¥याएको योगदानसँगै यसलाई उज्यालो बाटामो लैजाने मूल व्यक्तिको रूपमा परिचित छन्, डा. सन्दुक रुइत। आँखाको क्षेत्रमा उनी नानी जत्तिकै सबैको लागि प्यारो छन्। उनलाई कतिपयले त ‘आँखाका भगवान्’ समेत मान्छन्। सन २००६ रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भएका उनलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान समेत गरेको छ। सस्तो मूल्यमा मोतीबिन्दुको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका उनी स्वदेश तथा विदेशका विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन्।
डा. रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतले देशका कुनाकाप्चामा पुगेर सर्वसाधारणलाई आँखा देखाउने काम गरेका छन्। हिमालका शेर्पा हुन् वा तराईका मण्डल सबैको लागि उनी आँखामा नबिझाउने बनेका छन्। हँसिलो मुहार लिएर उपचारमा खटिने उनी आफ्ना बिरामीको अनुहार झनै उज्यालो बनाउने कार्यमा दत्तचित्त भएर लागेका छन्।

उनी आबद्ध प्रतिष्ठानले नेपालमा मात्र नभएर विदेशमा समेत यस्तो शिविर सञ्चालन गर्दै आइरहेको छ। घाना, म्यानमार, इन्डानेसिया, उत्तर कोरिया, कम्बोडिया जस्ता देशमा छोटो समयमा सानो टोली गएर त्यहाँको डाक्टरसँग मिलेर सेवा दिँदै आइरहेको उनले बताए। ‘डब्लुएचओको मान्यताअगावै हामीले गर्नु पर्ने काम गर्दे आएका छौं,’ उनले भने, ‘यो मान्यताले हामीलाई थप जिम्मेवार बनाएको छ।’ आँखाको क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै सबैको सहयोग पाएमा अझै राम्रो गर्ने विश्वास उनले व्यक्त गरे।

विश्व स्वास्थ्य संगठनको मान्यता
प्रतिष्ठानले स्वदेश तथा विदेशमा गरेका कार्यको अन्तर्राष्ट्रिय मूल्याङ्कन हुन थालेको छ। त्यसैको  पछिल्लो उदाहरण हो– सोमबार राजधानीमा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रूपमा मान्यता पाउनु।

२५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रममा विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पु-याएको बताए।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए। हालसम्म ६० लाख आँखा बिरामीको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको उनले जनाए।

प्रकाशित: ११ श्रावण २०७६ ०५:१२ शनिबार

उज्यालो तिलगंगा आँखा_अस्पताल