अन्य

'सरकारले कीट दिए निःशुल्क जाँच '

वडा नं १४ का अध्यक्ष केही समयअघि डेंगु नियन्त्रणका लागि फगिङ गर्दै। तस्बिरः नागरिक

धरान– धरानका सम्पूर्ण निजी मेडिकल तथा ल्याबहरूले ६ सय रुपैयाँमा टेष्ट कीटबाट डेंगु परीक्षण गर्दा मात्र ६ सय रुपैयाँ लिने निर्णय गरेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सरकारले उपलब्ध गराएको निःशुल्क कीट सकिएको मौकामा निजी ल्याब तथा क्लिनिकहरूले अत्यधिक महँगो शुल्क लिएर डेंगु परीक्षण गरिरहेका थिए। महँगोमा डेंगु परीक्षण गर्न सर्वसाधारण बाध्य भएको समाचार सञ्चार माध्यमबाट बाहिरिएपछि शनिबार धरान उपमहानगरपालिकामा भएको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा भएको बैठकले डेंगु ज्वरोका लागि जाँच गर्न प्रयोग हुने -यापिड डायग्नोष्टिक टेष्ट कीटबाट जाँच गर्दा शुल्क मात्र ६ सय तोक्ने निर्णय भएको छ। उक्त शुल्कमा एनएस वान, अइजिजी र आइजिएम परीक्षण हुनेछ।

यसअघि, यी तीन वटाको परीक्षण गर्दा निजी ल्याब तथा मेडिकलहरूले न्यूनतम १५ सय लिँदै आएका थिए। कार्यवाहक मेयर भण्डारीले बिपी प्रतिष्ठानमा कीट सकिएपछि निजी मेडिकलमा अत्यधिक महँगोमा जाँच गर्नुपरेको भन्ने जनगुनासो आएपछि सञ्चालकसँग छलफल गरेर शुल्क तोकिएको बताइन्।

‘हामीलाई त बिपी प्रतिष्ठान र विजयपुरमा मात्र डेंगु बिरामी छन् भन्ने लागेको थियो, तर बिपीमा कीट सकिएपछि निजी मेडिकलमा पनि धेरै पुगेका छन्, त्यहाँ टेष्ट व्यापक महँगो भो भनेर गुनासो आएपछि छलफलमा बोलायौं,’कार्यवाहक मेयर भण्डारीले भनिन्, ‘एउटा कीटको ५ सय पर्ने रहेछ। त्यसमा कानुनबमोजिम २० प्रतिशत थप गरेर मात्र ६ सय लिने निर्णय भएको छ।’

यस्तै, डेंगु नियन्त्रणका लागि उपमहानगरपालिकाको सम्पूर्ण कार्यक्रममा आवश्यकता अनुसार सम्पूर्ण स्वास्थ्यकर्मीहरूले आ–आफ्नोस्तरबाट सहयोग गर्ने पनि बैठकले निर्णय गरेको छ। यस्तै, निजी स्वास्थ्य सेवाहरूमा पनि निःशुल्क डेंगु जाँचको सेवा उपलब्ध गराउनको लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने पनि बैठकले निर्णय गरेको छ।

‘अब ६ सय रुपैयाँमा डेंगुको टेष्ट हुन्छ, हामीलाई नाफा नभएता पनि स्वास्थ्य संवेदनशीलता हेरेर सरकारको आग्रहलाई स्वीकार गरेका हौं,’ धरान इमेजिङ सेन्टरका प्रबन्धक दीपेन्द्र निरौलाले भने, ‘तर यो महामारी कहिलेसम्म हो ? सरकारले कहिले अन्त्य गर्ने हो ? कार्ययोजना र लक्ष्यसहित जानुपर्छ पनि भन्यौं।’ सरकारले आफूहरूलाई पनि कीट उपलब्ध गराएमा निःशुल्क डेंगु जाँच गर्न तयार भएको उनले बताए।

धरानमा गत वैशाख अन्तिम साता देखापरेको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन। डेंगुको महामारी भएपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ भने प्रदेश र स्थानीय सरकारले एक साताभित्र डेंगु नियन्त्रणमा ल्याउने लक्ष्यसहित असार पहिलो साता कार्ययोजना बनाएको थियो। सोहीबमोजिम डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिष्ट्रोय अभियान सुरु भएको थियो।

अभियान बीचैमा सेलायो। तर, डेंगु पछिल्लो समय झन् फैलँदै गएको छ। प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गर्दै डेंगुको उपचार निःशुल्क गराउने भने पनि बिपी प्रतिष्ठानमा डेंगु कीट सकिएर सर्वसाधारणहरू निजी स्वास्थ्य संस्थामा महँगोमा जाँच गराउन बाध्य छन्।

प्रकाशित: ५ श्रावण २०७६ ०६:३८ आइतबार

डेंगु_परीक्षण निजी_मेडिकल शुल्क