अन्य

एघारौं पटक फोक्सुण्डो

फोक्सुण्डो तालको महिमागान देश–विदेशमा भइरहेका बेला मैले त्यसलाई नजिकैबाट अवलोकन गर्ने अवसर पाएको थिइनँ। प्राकृतिक सौन्दर्य परख गर्न लाखौं खर्च गरेर पर्यटक फोक्सुण्डो पुगिरहेका थिए। म भने फोक्सुण्डो ताल छेउमै जोडिएको साविकको त्रिपुराकोट गाविसमा जन्मे/हुर्केको मान्छे त्यहाँ पुग्न नसेकामा थकथकी मानिरहेको थिएँ। वर्षौदेखिको फोक्सुण्डो चुम्ने रहर बल्ल ०५४ फागुन २० मा पूरा भयो।

त्यतिखेर म राष्ट्रिय समाचार समितिको डोल्पा समाचारदाताका रूपमा कार्यरत थिएँ।  पत्रकारितामा प्रवेश गरेको वर्ष दिन पुग्न थालेको थियो। फागुन महिना भएकाले खोलाकिनार र आसपासमा उम्रेका सल्ला, धुपी, पिपल लगायत रूखहरूले भरिएको घना जंगल छिचोलेर अघि बढ्यौं। माथि माथिका डाँडा भने उजाडै थिए। हरियाली कतै थिएन। फोक्सुण्डोसम्मको यात्रा संघर्षपूर्ण बन्यो। 

तालबाटै बगेको पानी र पुग्मो गाउँबाट आउने स–साना खोला मिलेर बनेको सुलिगाडको दुई किनारमा बनेको साँघुरो घोडेटो हुँदै दर्जनाैं काठेपुल तरेर कष्टपूर्ण यात्रा गर्नुपरेको थियो। त्रिपुराकोटबाट झण्डै तीन दिनको थकाइपूर्ण यात्रा पछि फोक्सुण्डो पुगेको थिएँ।

तालमा पुग्न बीच–बीचमा व्यवस्थित बासस्थान अभाव थियो। व्यवस्थित होटल नहुँदा खानपानमा समस्या थियो। समुद्र सतहदेखि ३ हजार ६ सय ३५ मिटर उचाइमा छ फोक्सुण्डो ताल। ताल आफैंमा विश्वकै वैभव हो। फोक्सुण्डोमा पुगेपछि तालको सुन्दरता र प्राकृतिक छटाले यात्राको कठिनाइ भुल्याइदियो। एकाएक आनन्दको संसारमा पु-याइदियो।

तिनताका फोक्सुण्डो किनारको रिग्म गाउँमा आज जस्तो होटल सुविधा थिएन। व्यवस्थित होटलको अभाव र भाषिक समस्याले समस्या झेल्नु प-यो हामीले।

एघारौं पटक फोक्सुण्डो तालमा पुग्दा पनि आँखाहरूले नीलमणि तलाउमा डुबुल्की मारिरहे। भर्खर आधा उमेर भयो, बाँचुञ्जेल कति पटक पुगिएला फोक्सुण्डोमा !
 

समाचार संकलनका लागि विभिन्न समयमा गरेर दस पटक फोक्सुण्डो पुग्ने अवसर सदुपयोग गरिसकेको थिएँ। ०७६ असारमा फेरि फोक्सुण्डो टेक्ने अवसर मिल्यो। प्रशस्तै पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेका फोक्सुण्डो काव्य यात्रामा मसहित १५ जना लेखकहरू असार १२ गते तालमा पुग्यौं।

यात्रामा साथीहरू अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, अमृत भादगाउँले र सेम्दुक लामा सहभागी थिए।

यात्राको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो। सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो ट्रेक एण्ड एक्सपिडिसन, डेस्टिनेसन डोल्पो ट्राभल एण्ड ट्रेकिङ कम्पनी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र थासुङ छोलिङ गुम्बा थिए।

हाम्रो काव्य यात्राले फेरि एकपटक राष्ट्रिय सञ्चार माध्यममा फोक्सुण्डोका चर्चा चुलिँदै गरेको छ। मलाई विश्वास छ– अब डोल्पामा आन्तरिक पर्यटक बढ्ने छन्। 

विगतमा फोक्सुण्डो पुग्न सदरमुकाम दुनैबाट झण्डै चार दिन लाग्थ्यो। त्यतिखेर गोरेटो  राम्रो थिएन, काठका फड्के र जोखिमपूर्ण घोडेटामा यात्रा गर्नु पथ्र्यो। आज गोरेटो सुधारिएको छ। बाटोमा खान र बस्न होटल छन्। रिग्म गाउँमा पनि राम्रा होटल खुलेका छन्, जहाँ मिठो खाना र न्यानो आत्मीयता पाइन्छ। पदमार्गमा अझै होटल थपिनु पर्छ।

डोल्पा दुर्गम भए पनि यहाँको जैविक विविधता, प्राकृतिक सुन्दरता र हिमाली तालतलैया पर्यटकका आकर्षण केन्द्र हुन्। भौगोलिक हिसाबले जतिसुकै विकट भए पनि प्राकृतिक सुन्दरताले पदयात्रामा रमाउने स्वदेशी तथा विदेशी पर्यटकका लागि नीलमणि जस्तै टल्कने फोक्सुण्डो तालले आकर्षित गरिहन्छ।

सफा, स्वच्छ, सुन्दर र निर्मल पानी। कान्जिरोवा हिमालको काखैमा अवस्थित प्रकृतिको अलौकिक उपहारका रूपमा रहेको ताल कहिले गाढा नीलो त कहिले फिक्का र कहिले हरियो देखिन्छ। छिनछिनमा आफ्नो रूप बदलिरहन्छ।

फोक्सुण्डोको यही विशेषता बोकेको पानीले त्यहाँ पुग्ने जो कोही पर्यटक सुन्दर प्रकृतिको उपहारप्रति मोहित भएर प्राकृतिक संग्रहालयमा तन र मनलाई हराउने गर्छन्। फोक्सुण्डोमा बर्सेनि २ हजार ५ सय हाराहारीमा विदेशी पर्यटक आउँछन्।

पर्यटकको आँखाको नानी बनेको छ डोल्पा। विगतको तुलनमा फोक्सुण्डो यात्रा सजिलो छ। पदमार्गका बीचबीचमा होटल र बासस्थानको सुविधा छ। डोल्पा सदरमुकाम दुनैदेखि फोक्सुण्डो तालसम्म पुग्न झोलुङ्गे पुल तथा काठेपुलका व्यवस्था छ। दुनै वा सुलिगाडबाट दुई दिन एक बिहानमा सजिलै फोक्सुण्डो पुग्न सकिन्छ।

विगतमा तालमा पुग्ने पर्यटक संचारको असुविधाले दुःख मनाउन गर्थे। अचेल नमस्ते मोबाइल सेवा संचालनमा भएकाले तालबाटै देश÷विदेशमा कुरा गर्न सकिन्छ। आफन्तलाई दैनिक अपडेट दिन सकिन्छ।

अर्को कुरा, अचेल गाउँबस्तीहरूमा घरवासको व्यवस्था छ। त्यहाँ गाउँलेले उत्पादन गरेका अर्गानिक खानाका रूपमा चिया, उवा, गहुँ, सातु, उसिनेको आलु र फापरको रोटी, चिनुको भात पाइन्छ। 

कागमारा र धौलागिरी हिमालको काखमा र पहाडै पहाडको खोचमा रहेको नीलमणि जस्तो नीर देखिने फोक्सुण्डोलाई नियाल्दा नयन खुसी हुन्छन्। त्यहाँ समय बितेको पत्तै हुँदैन। स्वर्गमा पुगेको भान हुन्छ। भगवान्को समीप पुगिन्छ। 

अलौकिक आध्यात्मिक भूमि मानिन्छ फोक्सुण्डो। ताल मात्र पानीको संग्रह नभई मोक्ष मार्ग देखाउने माध्यम पनि हो। त्यसैले फोक्सुण्डो पदयात्रा आध्यात्मिक पर्यटनको प्रांगण बन्न सक्छ। राष्ट्रिय गौरवको निशानी, विश्व रामसारमा सूचीकृत सम्पदा। यसको बयान जति लामो वाक्यमा गरे पनि वास्तविक बान्की शब्दमा आउँदैन।

फोक्सुण्डो तालको संरक्षण गरेर लाभ लिन यहाँ प्रकृति र विकासबीच सन्तुलन कायम राख्नु पर्छ। प्रकृतिलाई जोगाउनु पर्छ। फोक्सुण्डोको कुमारीत्व बचाई राख्न र पर्यटक आगमन बढाउन प्राकृतिक सम्पदामाथि मानवीय अतिक्रमण गरिनु हुन्न।

शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड हुँदै छेप्कासम्म मोटरबाटो निर्माण र छेप्काबाट तालसम्म व्यवस्थित घोडेटो निर्माण गरी पर्यटनको फूल फुलाउनु आवश्यक देखिन्छ।

प्राकृतिक रूपमा सुन्दर र पर्यटकका लागि आकर्षण केन्द्र बनेको तालको राज्यबाट प्रचारप्रसार, संरक्षण र विस्तृत अध्ययन गरिनु पर्छ। पछिल्लो समय प्रचारप्रसारको अभावमा ओझेल परेको फोक्सुण्डोका प्रचारमा कवि, लेखक, पत्रकार चित्रकारको जमघट गराएर कन्सेप्ट नेपालले सकारात्मक पहल गरेको छ। यसको सकारात्मक परिणाम आउने आशा गरेको छु।

एघारौं पटक फोक्सुण्डो पुगेर फर्कंदा पनि मनभरि पवित्र फोक्सुण्डोका सम्झना छन्। भर्खर आधा उमेर पार गरियो, नमरी बाँचे कालले साँचे फेरिफेरि पनि फोक्सुण्डो पुग्ने छु। हेर्दै जाऊ, जीवनमा कतिपटक फोक्सुण्डोमा पुगिन्छ !

प्रकाशित: २८ असार २०७६ ०४:४९ शनिबार

फोक्सुण्डो_ताल प्राकृतिक_सौन्दर्य कष्टपूर्ण_यात्रा