अन्य

मनमनमा भानुभक्त

संस्कृतमा लेखिएको वाल्मिकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्त आचार्यले जनजनलाई सजिलो बनाइदिए। संस्कृत भाषाको आधिपत्य भएको समयमा उनले नेपाली भाषाका पक्षमा आन्दोलनको शंखनाद् गरिदिए। तिनताका घरघरमा रामायण वाचन गरिन्थ्यो। झुपडीदेखि महलसम्म रामायण पढिन्थ्यो। जहाँ–जहाँ नेपालीभाषी पुगेका थिए त्यहाँ–त्यहाँ रामायण श्लोक हालेर गाइन्थ्यो। 

यसरी आदिकवि भानुभक्तले आधुनिक नेपाली साहित्यको जग बसाले। नेपाली जातिलाई भाषिक एकताको सूत्रमा बाँध्ने कविका रूपमा उनलाई लिइन्छ। बाइसे÷चौबीसे राज्यमा छरिएको नेपाललाई जसरी बडामहाराज पृथ्वीनारायण शाहले चार वर्ण छत्तिस जातको एउटा सुन्दर फूलबारीका रूपमा एकीकरण गरे। त्यसैगरी भानुभक्तले भाषिक, साहित्यिक र सांस्कृतिक रूपमा नेपालीलाई एकताबद्ध बनाउने कामको श्रीगणेश गरे।

तिनै राष्ट्रिय विभूतिका विषयमा विसं २०५६ सालमा चलचित्र ‘आदिकवि भानुभक्त’ निर्माण गरिएको थियो। भानु जन्मस्थल विकास समिति, तनहुँले निर्माण गरेको चलचित्रका निर्देशक वरिष्ठ कलाकर्मी यादव खरेल हुन्। चलचित्रको पटकथा पनि उनैले लेखेका। आदिकविको जन्मथलो तनहुँ, चितवनको त्रिवेणी र काठमाडौंमा छायांकन गरिएको चलचित्र २ घन्टा ५२ मिनेट अवधिको छ। यसमा आदिकविका जीवनका प्रमुख घटनालाई कथानक रूपमा पस्किएको छ। 

भानुभक्त जातीय कवि मात्र नभएर चेतनाको संवाहक भएकाले भानु जन्मस्थल विकास समितिको नेतृत्वमा चलचित्र निर्माण गरिएको खरेल सुनाउँछन्। ‘सुरुमा वृत्तचित्र बनाउने योजना थियो’, उनी सम्झन्छन्, ‘पछि चलचित्र नै बनायौं।’

वरिष्ठ निर्देशक यादव खरेलले वि.सं. २०५६ सालमा निर्देशन गरेको चलचित्र ‘आदिकवि भानुभक्त’लाई सर्वसाधारणमाझ सजिलै पु-याउन युट्युबमा राख्नु पर्ने देखिन्छ। त्यसो हुन सके नयाँ पुस्ताले इतिहास बुझ्न पाउनेछ। 

भानुभक्तका सृजनाहरू पछ्याउँदै तदनुरूप कथानक निर्माण गर्नु चानचुने काम थिएन। आचार्यलाई केन्द्रमा राखेर त्यतिबेलाको भाषिक, सांस्कृतिक र सामाजिक वस्तुस्थित चलचित्रमा समेट्नु निकै संघर्षपूर्ण काम थियो। त्यो चुनौती पार गर्न सफल भए उनी। 

काठमाडौं र काठमाडौं बाहिरका हलमा चलचित्र प्रदर्शन गरियो। इतिहास र साहित्यमा रुचि राख्ने धेरैले तारिफ गरे। विशेषतः विद्यार्थीहरूले मन पराए। इतिहासको एउटा कालखण्डलाई चलचित्रका माध्यमबाट सुरक्षित राख्ने प्रयास आफैंमा प्रशंसायोग्य कदम थियो।

चलचित्र सजिलै बनेको थिएन। अध्ययन/अनुसन्धानपछि छायांकन, सम्पादन हुँदै करिब तीन वर्षको मेहेनतपछि बनेको थियो। खरेलसहित धेरै दिग्गजले यसमा योगदान गरेका थिए। कमल दिक्षितको संयोजकत्वमा आदिकवि भानुभक्त चलचित्र निर्माण समिति बनाइएको थियो। त्यस्तै, अन्वेषण समितिमा कमल दिक्षित, डा. बासुदेव त्रिपाठी, डा. व्रतराज आचार्य, रामचन्द्र शर्मा पौडेल र यादव खरेल संलग्न थिए।

तथ्य लिएर यथार्थ चित्रण गर्न निकै मिहिनेत गर्नु प-यो उनीहरूले। भानुको जन्मथलो चुँदीमा उनकै घरको पुरानो जग खोजेर नयाँ घर बनाइयो। त्यहाँ महिनौं बसेर अध्ययन, छायांकन लगायतका काम गरे उनीहरूले।

नेपालमा मात्र होइन, दार्जिलिङ, सिक्किम र बर्मामा समेत छायांकन गर्ने उनीहरूको योजना थियो। उहिले–उहिले दार्जिलिङका चिया बगानमा मजदुरले काममा प्रवेश गर्ने बेला टाउकामा भानुभक्तीय रामायण राखेर कसम खुवाउने चलन थियो। त्यस्तै बर्मामा पनि नेपाली भाषीका धेरै कथा–व्यथा थिए। त्यहाँ पनि भानुभक्त लोकप्रिय छन्।

चलचित्र बनाउने बेला न दार्जिलिङबाट यथोचित सहयोग मिल्यो न बर्माबाट। पनौतीका स्रष्टा सूर्य लाकोजूले प्रकाशन गरेको ‘अक्षरमार्ग’को यादव खरेल विशेष अंकमा दुवसु क्षेत्रीले बर्माको सन्दर्भ लेखेका छन्। आदिकवि भानुभक्त फिल्म बनाउने क्रममा अध्ययनका लागि खरेल बर्मा पुगेका थिए। क्षेत्री त्यतिबेला बर्मास्थित नेपाली दूतावासमा काम गर्थे। तर, त्यहाँको सरकारले छायांकन अनुमति नदिएकाले चलचित्रमा बर्मालाई समेट्ने रहर पनि अपूरै रह्यो।  

खरेलले लेखेको ‘आदिकवि भानुभक्त’ नामक पटकथा पुस्तक प्रकाशित छ। नाटकीय शैलीमा लेखिएको पुस्तकमा दृश्य सुहाउँदा तस्बिरको प्रयोग गरिएको छ। खरेल सहितका कलाकर्मी पैसाका लागि भन्दा पनि सेवा भावनाले चलचित्र निर्माणमा जुटेका थिए।  

पटकथा लेखन तथा निर्देशन निःशुल्क गरेका थिए उनले। कतिपय कलाकारले थोरै खर्चमा काम गरिदिए। राष्ट्रका लागि भनेर मितव्ययी ढंगले, सेवा भावनाले काम गरेको सम्झिन्छन् उनी। ‘पैसा नै लिने हो भने निर्देशन गरेकै १० लाख रूपैयाँ लिन्थें होला,’ इतिहास खोजबिन गरी एउटा राम्रो बायोपिक बनेकामा उनी सन्तुष्ट छन्, ‘हामी कलाकर्मी र प्राविधिक सबैले यसमा योगदान गरेका थियौं।’

‘आदिकवि भानुभक्त’ नै नेपाली भाषामा बनेको पहिलो ‘बायोपिक’ बन्न पुग्यो। त्यसयता थोरै मात्र बायोपिक बनाइएको छ। सबै पैसा कमाउने धुनमा हुन्छन्, बायोपिक बनाएर खासै कमाई हुँदैन। त्यसैले हाम्रा निर्माताको प्राथमिकतामा बायोपिक परेको देखिँदैन। 

‘आदिकवि भानुभक्त’ इतिहासको दस्तावेज हो। पैसा आर्जन गर्ने हिसाबले बनाइएको थिएन त्यो। यसले इतिहास रच्यो। भानुको साहित्यिक इतिहास लिपिबद्ध गर्ने प्रयासमा सफलता मिल्यो। मान्छेको बुझाई आ–आफ्नै हुन्छ। त्यतिबेला केहीले भारतीय कर्मसियल चलचित्रसँग ‘आदिकवि भानुभक्त’को तुलना गरिदिए।

चलचित्र बनेर प्रदर्शन भएपश्चात निर्देशकको जिम्मेवारी पूरा भयो। अब त्यो सम्पत्ति भानु जन्मस्थल विकास समितिको भयो। समितिको नेतृत्वमा नयाँ नेतृत्व आयो। तर, उनीहरूले फिल्मको राम्रो संरक्षण गर्न सकेनन्। त्यस्तो अवस्थामा निर्देशक खरेलको मन रुनु स्वाभाविक थियो, रोयो। 

चलचित्रका गीत टिभीलाई दिने, स्कुलस्कुलमा देखाउने दायित्व त्यही समितिको थियो। ‘फिल्मलाई भिडियोमा कन्भर्ट गरौंभन्दा समितिले सुनेन,’ खरेल सुनाउँछन्, ‘त्यसैले भानुभक्त थुनामा परेको अनुभूति गरे मैले।’ लगत्तै उनले एक दैनिकमा ‘भानुभक्त थुनामा’ शीर्षक लेख लेखे।

समितिले अचेल फिल्मको सिडी बेच्छ। त्यो पनि सबैतिर पाइँदैन। सिडीको युग समाप्त भइसकेको वर्तमान अवस्थामा उसले अब हाइडेफिनेसनमा जानु पर्छ। ‘पैसा कमाउने उद्देश्यले आदिकवि चलचित्र बनाइएको थिएन,’ निर्देशक खरेल सुझाउँछन्, ‘बढीभन्दा बढी मान्छेबीच यसलाई पु-याउन ध्यान दिनु पर्छ।’

डिजिटल युगमा यस फिल्मलाई युट्युबमा राख्न सके नयाँ पुस्ताले हाम्रो इतिहास सजिलै बुझ्न पाउँथ्यो। 

अन्त्यमा, एउटा सुखद खबर–संसारका राम्रा–राम्रा सेलोलाइड फिल्महरूको अकाईभिङ गर्दै आएको लसएन्जलसको विश्वविद्यालय ‘युसिएलए’ले आदिकवि भानुभक्तलाई पनि अर्काइभ गर्ने प्रक्रिया सुरु गरिसकेको छ। उसले नेपालका दुइटा चलचित्र छानेको छ। त्यसमा निर्देशक खरेलकै अर्को चलचित्र ‘प्रेमपिण्ड’ पनि परिसकेको छ।

खरेलका अनुसार उसले प्रेमपिण्ड अर्काइभिङ गरिसक्यो भने आदिकवि भानुभक्त त्यसको प्रक्रियामा छ। यसरी एउटा फिल्म अर्काइभिङ गर्दा दुई करोड रूपैयाँ खर्च हुन्छ। सयौं वर्षसम्म अब हाम्रा आदिकवि भानुभक्त र प्रेमपिण्ड सुरक्षित रहने छन्। 

नेपाल र नेपालीपन प्रतिनिधित्व गर्ने चलचित्रको छनोटमा यी दुई चलचित्र परेका हुन्। ‘आदिकवि भानुभक्त’को कपिराइट त्यस विश्वविद्यालयले पाएको छैन। त्यो अधिकार निर्देशक खरेल र भानु जन्मस्थल विकास समितिमा रहनेछ। ‘उनीहरूले अध्ययन र अध्यापनका लागि मात्र त्यसको प्रयोग गर्न पाउँछन्,’ खरेलले प्रष्ट्याए।

वर्षका एक–दुई दिन सम्झना गरेर मात्र आदिकविको सम्मान हुँदैन। त्यसका लागि उनका विचार र काम अनुसरण गर्नु पर्छ। राज्यले भानु जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नु पर्छ। यसको नेतृत्व गण्डकी प्रदेश सरकारले गर्नु पर्छ।    
दुःखको कुरा आदिकवि चलचित्र बनाउने बेला निर्माण गरिएको भानुभक्तको घर आगो लागेर ध्वस्त भइसकेको छ। यस्तो देख्दा खरेलको मन दुखेको छ। स्रष्टा रामकाजी कोनेको समूहले फेरि त्यो घर पुनर्निर्माण अभियान थाल्दैछ। यसबाट उनी आशावादी बनेका छन्।

चलचित्र बनाउनुअघि पनि उनी भानु जन्मस्थल चुँदीरम्घा पुगेका थिए। चलचित्र बनाउने बेला त धेरै समय त्यतै बिताए। ‘अब कोनेहरूको होस्टेमा हैंसे गर्न फेरि त्यहाँ जानेछु,’ भानुले हामी नेपालीलाई लगाएको गुन तिर्न बुढ्यौलीमा पनि जोसिएकै छन् चलचित्र निर्देशक खरेल।

प्रकाशित: २८ असार २०७६ ०२:५४ शनिबार

वाल्मिकि रामायण नेपाली_भाषामा भानुभक्त_आचार्य