गोलबजार(सिरहा)– गोलबजार नगरपालिका–११ बलकावाकी पविता सदायलाई बुधबार सुत्केरी व्यथाले च्याप्यो। घरका मान्छेले हतारहतार एम्बुलेन्स बोलाए तर एम्बुलेन्स उनको घरभन्दा दुई किलोमिटर उत्तरपूर्वी किनारमै रोकियो। कारण थियो, मैनावती नदीमा आएको बाढी।
एम्बुलेन्स चालकले फोनमा आफू बाढीका कारण नदीवारि नै रोकिएको जानकारी गराएपछि सदाय परिवारको सकस बढ्यो। यसैबीच टेम्पो आइपुग्यो। पविताकी सासू र जेठानीले उनलाई टेम्पोमा राखेर मैनावती नदीको पश्चिमी किनारसम्म ल्याए। नदीमा बाढीको गति तीव्र भएकाले गाउँलेको सहारामा पवितालाई बोकेर जसोतसो एम्बुलेन्स रोकिएको पूर्वी किनारसम्म ल्याए। त्यसपछि एम्बुलेन्समा राखेर उनलाई गोलबजारस्थित भूमिजा अस्पतालसम्म पु¥याए। अस्पतालले उनको गर्भ जाँच गरेपछि प्रसूतिका लागि अझै तीन दिन पर्खिनुपर्ने जानकारी दियो। तीन दिनपछि पुनः अस्पताल फर्किनेगरी घर जाने कि तीन दिन अस्पतालमै बस्नेबारे उनी अलमलमा छिन्। अलमलिनुको कारण उही मैनावती नदीको बाढी।
मनसुनको सुरुआतसँगै मैनावती नदीमा आएको बाढीले दर्जनाैं गाउँसँग सहरको सम्पर्कविच्छेद भएको छ। तैरिन सक्नेहरू तैरिएर वारपार गरिरहेका छन्। तैरिन नसक्नेहरू नदीको वारिपारि रोकिएको स्थानीय भुलुरदेवी सदायले बताइन्। नदीमा पानीको सतह बढेर बाढी आउँदा शुक्रबार यस गाउँबाट गोलबजार पढ्न जाने विद्यार्थीहरू जान पाएनन्। पूर्व र पश्चिमबाट गन्तव्य हिँडेका यस भेगका बासिन्दा पनि मैनावतीबाटै फर्किन बाध्य भए।
यसरी तुहिँदै छ पुलको सपना
२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा बलकावा र यस भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्ग छेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने द्रूत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।
२०४६ सालताका बोलपत्र आह्वान नहुँदै सेलाएको योजना झन्डै तीन दशकपछि शिलान्यास हुँदा स्थानीयमा खुसीको सञ्चार हुनु स्वाभाविकै थियो। तर ठेकेदारले पुलको जगसमेत नउठाएर काम अलपत्र छाडिदिँदा गाउँले पुलको ‘कंकाल’मा खुसी बिसाउन बाध्य भए। एकैदिन शिलान्यास भएको गागनखोलाको पुल निर्माण कार्य सम्पन्न भएर राजमार्ग र गाउँबीच सहज आउजाउ सुरु भइसकेको छ। तर मैनावती पुलको जग नै पूरा हुन सकेको छैन।
२०६७ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको जिल्लाका सात पुलमध्ये अरू पुलको निर्माण लगभग सम्पन्न भइसक्यो। यो पुल भने ‘कंकाल’मा परिणत भएको हो। यहाँबाट चुनाव जितेका सांसददेखि मन्त्रीसम्मलाई समेत पुल निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाइदिन बलकावावासीले गुहारेका थिए। तर कसैले गम्भीरता नदेखाएको उनीहरूको साझा बुझाइ छ।
दोस्रो संविधानसभा निर्वाचनमा सो पुल रहेको क्षेत्रबाट तत्कालीन एकीकृत माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्दा बलकावावासीमा खुसीको सीमा नै रहेन। यहाँका जनतामा खुसीको कारण थियो, वर्षौंदेखि अल्झेको मैनावती नदीको पुल निर्माण सम्पन्न हुने सपना। दाहालले बलकावाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मैनावती नदीको पुल निर्माण छिट्टै सम्पन्न गराउन पहल गर्ने आश्वासन बाँडे। ‘उनले (दाहाल) मैनावती नदीको पुल निर्माण छिट्टै पूरा हुन्छ भन्दा हामी हौसिएका थियौं,’ स्थानीय जमिर खाँले भने, ‘यो क्षेत्रका बासिन्दाको मतले उनी चुनाव जितेर गए तर, पुलको अवस्था उस्तै छ।’ ‘पुलमाथिबाट नदी तर्ने सपना सजाएका कतिपय ज्येष्ठ नागरिकहरूले संसार छाडिसके,’ स्थानीय शुभनारायण सदाय उराउले भने, ‘बिहान–बेलुका पुल निर्माणस्थल पुगेर पुलमाथिबाट नदी तरेर मात्र मर्छु भन्नेहरूले संसार छाडिसके तर पुलको काम जगभन्दा माथि उठेन।’ उनले थपे, ‘हाम्रो सपना यो नदीमा पुल बनेको देख्नु हो।
पुल निर्माण सेलाउँदै जानुको कारण
२०७० माघ २४ गतेसम्म पुल निर्माण कार्य सक्नेगरी सडक डिभिजन नम्बर ५ लहानसँग चार करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रायमाझी नेपाल प्रगति जेभीले काम छाडेपछि राजमार्गको सहरसँग ग्रामीण पहुँचको योजना अलपत्र प-यो। पुलको पिलर (वेल) निर्माण कार्य पनि अधुरै छ। रकम निकासा पाउँदै गएपछि कामको गति सुस्त हुँदै गएको सडक कार्यालयले जनाएको छ। बिस्तारै ठेकेदार काम अलपत्र छाडेर सम्पर्कविहीन भएपछि पुल निर्माण अल्झेको कार्यालयको भनाइ छ। सडक कार्यालयका अनुसार उक्त पुल निर्माणका लागि विभिन्न समयमा ठेकेदारले एक करोड ४७ लाख रकम भुक्तानी पाइसकेका छन्। तर पुलको जग मानिने वेलको काम पूरा भएको छैन। वेलमा पानी जमेर पोखरी बनेको छ। त्यहाँ स्थानीयहरू लुगा धुन्छन्, नुहाउँछन्। सडक डिभिजन कार्यालय लहानका इन्जिनियर बेचनकुमार भण्डारीका अनुसार पुल निर्माणको कामको मूल्यांकन रेकर्ड ३२ प्रतिशत देखिन्छ। ‘पटकपटक थपिएको म्याद पनि उहिल्यै सिद्धिसक्यो,’ उनले भने, ‘सम्पन्न गर्ने नियतले ठेकेदारले काम गरे नौ महिनामै पुल निर्माण हुन्छ।’ अहिलेकै पारा हो भने ५० वर्षमा पनि यो पुल नबन्ने उनको भनाइ छ।
पीडा र सम्भावना
यस भेगका नेताले सडक कार्यालयलाई र कार्यालयले समयमै ठेकेदारलाई कडाइ गर्न नसक्दा पुल निर्माणको अवस्था बेहाल बनेको बलकावावासीको गुनासो छ। ‘ठेकेदारको मनपरीलाई समयमै सडक डिभिजन कार्यालयले नियन्त्रण गर्न सकेको भए आज यस्तो अवस्था आउने थिएन,’ बलकावाका शैलेन्द्रसिंह दनुवार भन्छन्, ‘ठेकेदार र सडकको लापरबाहीमा नेताले लगाम लगाउन नसक्दा हामी दुःख खेप्न बाध्य छौं।’
पुल निर्माणले बलकावासहित छिमेकका दर्जन गाउँ र राजमार्गबीच सेतुको काम गर्न सक्ने उनको बुझाइ छ। ‘पुरानो र ऐतिहासिक बजार भए पनि बलकावाको समृद्धिमा मैनावती पुल बाधक बनेको छ,’ उनले भने। यहाँको उत्पादन सहरसम्म पु-याउन मैनावती नदी तगारो रहेको उनले बताए। पुल निर्माण सम्पन्न भए यो बाटो जिल्लाकै सबैभन्दा चल्तीको ग्रामीण सडक बन्ने गोलबजार व्यापार संघका अध्यक्ष भरत अग्रवालले बताए। उनका अनुसार गोलबजारमा सय जना जति व्यापारी बलकावाका छन्। ‘पुल नहुँदा बर्खायाममा गोलबजारको व्यापार लगभग बन्द हुन्छ। बलकावाबाट दैनिक गोलबजार ओहोरदोहोर गर्ने व्यापारीहरू पुलका कारण व्यापार फैलाउन सकिरहेका छैनन्,’ अग्रवालले भने, ‘मैनावती नदीमा पुल भइदिए गोलबजार गुलजार बन्न बेर लाग्दैन।’ यहाँबाट बलकावा हुँदै भारतीय बजारको दूरी पनि छोटिने उनको भनाइ छ।
वर्षायाममा नदीमा बाढी आएर सवारी आउजाउ ठप्पै हुने उद्योग व्यापार संघ गोलबजारका प्रवक्तासमेत रहेका बलकावा निवासी सोयब अनवरले बताए। कोही बिरामी भए एम्बुलेन्स ल्याउनसमेत नसकिने अवस्था हुन्छ। ‘नूनदेखि सुनसम्म किन्न बलकावा आउनेहरू अब अन्यत्रै रोकिन्छन्,’ उनी भन्छन्, ‘नदीले पुरानो यो बजारको रौनक त खोस्यो नै, गोलबजारको व्यापारिक उन्नयनमा पनि रोक लगाएको छ।’ पुल बने अहिले पनि यहाँ समृद्धि र विकासका प्रचूर सम्भावना रहेको उनको भनाइ छ।
प्रकाशित: २६ असार २०७६ ०७:२४ बिहीबार