अन्य

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

जनकपुरधाम– धनुषास्थित सबैला नगरपालिका–१ निवासी शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकीकुमारी यादवको सोमबार साँझ रहस्यमय मृत्यु भयो। मृतकका बाबु र स्थानीयले शवलाई अबेर राति बस्तीदेखि करिब दुई किलोमिटर टाढा लगेर जलाउँदै थिए। चितामा आगो लगाउने बित्तिकै प्रहरी पुगेपछि मृतकका आफन्त र मलामी भागाभाग भए।

इलाका प्रहरी कार्यालय सबैलाका निमित्त इन्चार्ज सई वीरेन्द्रकुमार यादवका अनुसार तथ्य ढाकछोप गर्न रातिको समयमा हतारमा शव जलाउन खोजेपछि रहस्य बाहिर आएको हो। पिंकीले गर्दनमा पासो लगाएर आत्महत्या गरेको परिवारजनले जिकिर गरे पनि प्रहरीलाई खबर गर्नुको साटो घटना लुकाउन खोजिएकोले अर्को रहस्य हुन सक्ने शंका उत्पन्न भएको प्रहरीको भनाइ छ। ‘कुनै कारण छोरीले आत्महत्या गरेपछि यथास्थितिमा प्रहरीलाई जानकारी गराउनुपर्ने हो’, सई यादवले नागरिकसँग भने, ‘घटनालाई लुकाउन खोजिएपछि छिमेकबाटै पाएको सुराकका आधारमा पछ्याउँदा मलामी भागेका हुन्। उनीहरू भागेपछि घटना थप रहस्यमय हुन पुगेको हो।’

स्थानीय एक युवाले बालिकाको हत्या गरी आफ्नै परिवारले कानुनको आँखा छल्न अबेर राति शवको अन्त्येष्टि गर्न खोजेको खबर प्रहरीमा गरेका थिए। प्रहरीले आधाभन्दा बढी भाग जलिसकेको शवलाई नजिकैको खोलाबाट पानी छ्यापेर नियन्त्रणमा लिएर राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पु¥यायो। घटनाबारे बुझ्न मृतकका बाबु शत्रुधन यादव, स्थानीय हीरालाल राउत गडेरी, बद्री यादव र मृतककी आमासमेत दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१४ वर्षीया स्कूले उमेरकी बालिकाले आत्महत्या गर्नुपर्ने कारण र प्रहरीको आँखा छल्न परिवारका सदस्यले हतारमा शव जलाउन खोज्नुको रहस्य पत्ता लगाएर दोषीलाई कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए।

प्रकाशित: २५ असार २०७६ ०६:५७ बुधबार

प्रहरी शव_नियन्त्रण