अन्य

हराए बुट्टेदार झ्यालढोका

सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित सिमलचौरमा भूकम्पबाट बँचेका पुराना घर। तस्बिरः अनिल भण्डारी/नागरिक

सिन्धुली– सुनकोसी गाउँपालिकास्थित झागाझोली रातमाटाकी मैयादेवी थापाको करिब चार वर्षअगाडि तीन तले घर थियो। माटो ढुंगाकै भए पनि उनको भुँइतलासहित तीन तलाको घर थियो।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर माटोमै बिलायो। उनलाई अहिले ठूला झ्यालअगाडि रेलिङ भएको त्यही घरको याद आउँछ। ‘झ्यालमा नरिवलको बुट्टा थियो, घर ठूलो थियो’, उनले भनिन्, ‘सायदै पुरानो मोडलका घरहरू अब मेरो मात्र होइन कसैको पनि बँचेका छैनन्।

भूकम्पपछिको पुनर्निर्माणसँगै पुराना घरहरू हराएका छन्। ग्रामीण क्षेत्रमा माटो ढुंगा जडित घर अग्ला र सुन्दर थिए। सानो परिवार मात्रै नभएर ठूलो परिवारकै जीवन सहज बिताउन सकिने घरहरू भूकम्पअगाडि थिए। तर विनाशकारी भूकम्पले ग्रामीण क्षेत्रका घरहरू तहसनहस पारेपछि पुराना घरहरू हराएका छन्।

‘हालको घर भूकम्प प्रतिरोधी दरिलो भनिए पनि अहिलेको घरभन्दा पुरानो घर निकै आकर्षक देखिथ्यो’, थापाले भनिन्, ‘वरिपरि रेलिङ, ठूला झ्यालढोका भएको घर, सेतो र रातो माटोले पोतेपछि छुट्टै आनन्द आउने घर थियो।’ ठूला घर भत्किए पनि नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुँइतलासहित तीन तला बनाउन सिफारिस दिएन। भूकम्पको जोखिम हुने भन्दै माटोढुंगाबाट अग्लो घर बनाउन रोक लगाएपछि पुराना घर अब सम्झनामा मात्रै सीमित भएका छन्। हाल दुई कोठाको घरमा गुजारा चलाउनै समस्या पर्ने उनी बताउँछिन्। घरमा सबै जुटेको समयमा निकै समस्या हुन्छ, कता खाने कता बस्ने, समस्या हुन्छ, उनले भनिन्।

उसो त भूकम्पपछि बनेका घरबाट गुजारा चलाउन सबैलाई हम्मेहम्मे परेको छ। हालको घर पुराना गोठजस्ता बनेपछि स्थानीय भूकम्पपछिको पुनर्निर्माणबाट सन्तुष्टसमेत छैनन्। ‘दुई कोठे घरले गुजारा चलाउनै मुस्किल छ’, सुनकोसी गाउँपालिका–२ की चन्द्रमाया पुलामीले भनिन्, ‘पहिलाको जस्तो घर देख्नै मुस्किल छ।’ भूकम्पअगाडि धेरै ठूला घर थिए, अहिले सबै साना छन्, गाउँ नै एकाम्मे भएको छ, उनले नागरिकसँग भनिन्।

भूकम्पपछिको पुनर्निर्माणले पुराना घर त लोप भए नै, नयाँ बनेका घरमा समेत जीविका चलाउन मुस्किल पर्ने स्थानीयको भनाइ छ। भूकम्प गएको चार वर्षभन्दा बढी बितिसकेको छ, यसबीचमा सिन्धुलीमा पचास प्रतिशतभन्दा बढी घरहरू निर्माण सम्पन्न भइसकेका छन्। निर्माण सम्पन्न भएका धेरैजसो घर दुई कोठाका मात्रै छन्। जस्ताको छानोमा टिलिक्क टल्कने घरले जीविका धान्न भने हम्मेहम्मे पर्ने स्थानीय बताउँछन्।

पुराना घरलाई सम्झँदै सोही स्थानका दलबहादुर जर्गा हालको भन्दा पुराना घर निकै आकर्षक भएको बताउँछन्। ‘भूकम्पमा नपरेका केही घरहरू अझै बाँकी छन्, ती घर धेरै ठूला अनि आकर्षक छन्’, उनले भने, ‘झ्यालढोकामा काटिने बुट्टादेखि पुरानो दलान निकै आकर्षक हुन्छ।’ उनले गाउँभरि भूकम्पले क्षति गरेपछि सबैले पुराना संरचनालाई बिर्सिएर दुई कोठे घर बनाएको बताए। ‘हाम्रो गाउँमा धेरैको घर दुई कोठे मात्रै छ’, उनले भने, ‘इन्जिनियरले पनि तला थपेर ठूला बनाउन मिल्दैन भन्छन्, त्यसैले सबैले साना घर बनाएका हुन्।’ भूकम्पअगाडिको घर ठूला हुने र विभिन्न किसिमका बुट्टेदार घर हुने गरेको सम्झँदै उनले हाल सानो घर बनाउनुपर्ने भएकाले त्यस्तो बुट्टेदार अब सम्झनामा मात्रै रहने बताउँछन्।

आधा मात्रै पुनर्निर्माण
भूकम्प गएको चार वर्ष बित्दा पनि सिन्धुलीमा भने आधा पनि नयाँ घर बन्न सकेका छैनन्। वैशाख १२, २९ र त्यसपछिका निरन्तर आएका पराकम्पनबाट क्षतविक्षत भएका घरहरू अझै उठ्न सकेका छैनन्। झन्झटिलो प्रक्रिया र प्राविधिककै लापरबाहीले पुनर्निर्माणमा ढिलासुस्ती भएको पाइएको छ।

खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ। जिल्लाको मुख्यगरी हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा निजी आवास निर्माणको प्रगति अत्यन्त न्यून रहेको पाइएको छ। यहाँको दुधौली नगरपालिकाभित्र ५ हजार २ सय २ जना लाभग्राही भए पनि हालसम्म एक हजारले पनि तेस्रो किस्ता नबुझेको स्थानीय बताउँछन्।

यस्तै हरिहरपुरगढी गाउँपालिकामा करिब २० प्रतिशत मात्रै पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ। यस गाउँपालिकामा २ हजार ६ सय २५ जना भूकम्प लाभग्राही रहेकोमा  २ हजार २ सय ९९ जनाले सम्झौता गरी पहिलो किस्तावापतको रकम बुझेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजनाका अनुसार जिल्लाभर ३८ हजार ४२ वटा घर क्षतिग्रस्त भएको तथ्यांक छ। जसमध्ये ३४ हजार ९ सय १ जनाले सम्झौता गरी पहिलो किस्ता बुझेका छन्।

प्रकाशित: २० असार २०७६ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App