अन्य

पशुहाट व्यवस्थित नहुँदा समस्या

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको रवि बजारको हटियामा बिक्रीका लागि ल्याइएको खसी–बोका । तस्बिरः गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर– जिल्लाको दक्षिणी क्षेत्रका ग्रामीण बजारमा रहेका हटियामा व्यवस्थित पशुहाट नहुँदा किसान तथा व्यापारीले सास्तीका साथ किनबेच गर्नुपरेको छ।

स्थानीय सरकारले बिक्री गरेबापत कर असुली गरे पनि व्यवस्थित बिक्री केन्द्र बनाउनेतर्फ ध्यान दिएको छैन। हटियामा ल्याएर पशु बेच्ने लामो परम्परा भए पनि दिन प्रतिदिन संकट परिरहेको छ। व्यापारीले खुला चउर, डाँडा, सडक तथा भीरपाखामा राखेर बेच्नुपर्दा थप संकट पैदा हुने देखिएको छ।

साप्ताहिक तथा मासिक रूपमा पशु हाट लाग्ने गरेको छ। बर्खा र गर्मीको समयमा खुला ठाउँमा बिक्री वितरणका लागि समस्या हुने गरेको किसान तथा व्यापारी बताउँछन्। पशुहाटको परम्परा घट्दै गहिरहेको छ। बाँकी रहेका केही पशुहाटहरू पनि व्यवस्थित हुन सकेको देखिँदैन। विभिन्न बजारमा खुला आकाशमुनि ठूलो संख्यामा कारोबार गर्नुपर्ने बाध्यता रहेको पाइन्छ।

दक्षिणी रवि बजारमा खसी बिक्री गर्न आएका मिक्लाजुङका मनकुमार राईले पानी झरीमा बिक्री वितरण गर्न समस्या भएको गुनासो गरे। ‘पशु चौपाया बिक्रीका लागि उभिने ठाउँ छैन। यहाँ अहिले हामीले अर्काको घडेरीमा बेचिराखेका छौं। कर प्रतिगोटा ५० रूपैयाँ उठाइरहेका छन्। पानी पर्यो, गर्मी भयो भने ओतिने ठाउँसमेत छैन। जनतालाई कर मात्र उठाउने हो कि किनबेच गर्न आउनेलाई घामपानीबाट बँच्ने ठाउँ त हुन पर्यो नि?’, उनले भने, ‘धेरै ठूलो कारोबार हुन्छ यहाँ। बिकेन भने पनि कर तिर्नुपर्ने अवस्था छ। कर असुले अनुसार व्यवस्थित किनबेच हुने ठाउँ बनाउन कसैले पहल गरेका छैनन्।’

जिल्लाको कुम्मायक गाउँपालिकाको यासोक, तुम्बेवाको आइतबारे, मिक्लाजुङको सप्तमी, फाल्गुनन्द गाउँपालिकाको फाक्तेपा, मिक्लाजुङकै रविलगायका स्थलामा पशुहाट लाग्दै आएका छन्। यी पुराना बजार हुन्। ग्रामीण क्षेत्रका साप्ताहिक तथा पाक्षिक हटियामा सञ्चालन हुने पशुहाटबाट स्थानीय सरकारले कर लिए पनि व्यवस्थित नबनाएको गुनासो छ। यहाँका आसपासका गाउँ र छिमेकी इलामबाट पनि खसी, बोका, कुखुरा, सुगुर, गाई, गोरु, भैंसी, राँगा, कुखुरा, परेवासहितका पशुचौपाया बिक्रीका लागि ल्याइन्छ । यहाँ टाढा–टाढाबाट व्यापारीहरू किन्न आउँछन्। दमकलगायतका तराईका जिल्लाबाट समेत पशु चौपाया किन्न आउने गरेका पाइन्छ। घरमा पाल्न, मासुका लागि यहाँ पशुचौपाया किन्न आउने परम्परा छ।

स्थानीय तह बनेपछि व्यवस्थित हुने आशा गरेका किसान तथा व्यापारीहरू कर मात्र उठाउने गरेको गुनासो पोख्छन्। यस क्षेत्रका बासिन्दा पशुपालन र कृषिकर्ममा सक्रिय छन्। पशुपालनलाई अनुदानलगायतका नवीनतम कार्यक्रमसमेत नल्याउने तथा पशुहाटसमेत व्यवस्थित नगरेको भन्दै किसान गुनासो पोख्छन्।

हटियामा छानेर पशु, चौपाया किन्न पाउने भएकाले सजिलो हुने गरेको क्रेताहरू बताउँछन्। यहाँका हटियामा ठूलो संख्यामा बिक्रीका लागि पशुचौपाया ल्याइएको हुन्छ। यहाँका बजारमा एकैदिन लाखौंको कारोबार हुने गर्छ तर आवश्यक जग्गा पहिचान गरी व्यवस्थित बजार सञ्चालनका लागि पहल हुन सकेको देखिँदैन। ‘तपार्इंहरूले देखिहाल्नु भयो नि, यहाँ झ्यार पानी पर्यो भने यति धेरै खसी कहाँ लैजानु? आउने बित्तिकै कर तिर्छौं। कम्तीमा ओताउने ठाउँ बनाइदिए पनि हुने थियो’, रविमा भेटिएका किसान जगत खड्काले भने, ‘दुःख गरेर गाउँबाट बिक्री गर्न ल्याउँछौं। पुशपालनको समस्या कति धेरै छ। राज्यले किसानको समस्या बुझ्न सक्दैन।’

स्थानीय सरकारले हरेक हटिया लाग्ने दिन २५ देखि २ सय रूपैयाँसम्म कर असुल गर्दै आएको छ। कर अनिवार्य भए पनि खुला आकाशमा घामपानी र धूलो सहेर बस्नुपर्ने बाध्यता छ। यस्ता, हटियाका समस्या समाधानका लागि ठोस पहल भएको देखिँदैन। पशुपालनका लागि अनुदान, सहयोग, सीप प्रविधिको अभाव खेपिरहेका किसानहरूले बिक्रीमा पनि समस्या भोगेको बताउँछन्। पशुहाट थप्दै लैजानुपर्ने सवाल उठिरहँदा भएकाहरूमा पनि समस्या हुने गरेको छ। युवापुस्ताको पशुपालनमा कम रुचि छ। आकर्षक गर्नका लागि स्थानीय सरकारले काम नगरेको गुनासो एकातिर छ भने अर्कोतर्फ व्यस्थित हटिया सञ्चालन नभएको गुनासो छ। जिल्लाका विभिन्न ठाउँमा रहेका साना ठूला पशुहटिया बन्द भइसकेका छन्।

विगतमा धेरै ठाउँमा पशुहाट सञ्चालन भएको देखिन्छ तर अचेल केही ठाउँमा रहेका पशुहाट व्यवस्थित नहुँदा समस्या परेको छ।

प्रकाशित: १४ असार २०७६ ०७:०८ शनिबार

पशुहाट हटिया