अन्य

दाङको कोशेली ‘बधिया भाले’

जिल्लामा पाइने बधिया भाले।

दाङमा भित्रने आन्तरिक पर्यटक होऊन् या वाह्य, तिनलाई नयाँ नयाँ कुरा पस्कन पाउँदा दङेलीहरु मख्ख पर्छन्। पछिल्लो समय पाहुनाहरुका लागि यहाँको ‘त्रिशूल’ मन जित्ने अस्त्र बन्दै आएको छ। घोराही धारापानीमा रहेको त्रिशूल यतिबेला विश्वकै अग्लो त्रिशूलका रुपमा ख्याति बटुल्न थालेको छ। र, यसको दर्शन गर्नेहरुको घुइँचो पनि बढिरहेको छ।

थपिँदै गएको चिनारीका अस्त्र मात्रै हैन, दाङले एउटा परिकारमा पनि आफ्नो छुट्टै पहिचान बनाएको छ। यसर्थ दाङ भित्रने अधिकांश पाहुनाहरुको प्रश्न हुन्छ, ‘बधिया भाले पाउँछ ?’ यति मात्रै हैन, दाङको कोशेलीका रुपमा बधिया भाले मगाउनेहरु पनि अत्यधिक छन्। ‘साथीभाइ आफन्तीहरुले दाङको कोशेलीका रुपमा बधिया भाले पठाइदेऊ भनेर भन्नु हुन्छ,’ घोराही १५ का व्यवसायी पुकार रावत भन्छन्, ‘धेरै पटक बधिया भाले पठाइदिएको छु, अन्य जिल्लाका नागरिकहरुका लागि बधिया भालेको स्वाद धेरै प्रिय लाग्ने गरेको छ।’

अहिले दाङको बधिया भाले विशिष्ट व्यक्तिहरुलाई कोशेली दिने चलनसमेत बढ्दै गएको छ। विभिन्न कार्यक्रमका लागि आउने राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरुलाई समेत उपहार स्वरुप बधिया भाले दिने क्रम बढेको छ।

पक्कै पनि बधिया भालेको स्वाद दाङको अर्को छुट्टै चिनारी हो। लोकल भालेको अण्डकोष निकालेर बधिया भाले बनाइन्छ। लोकल भाले बास्न थालेपछि उसको अप्रेसन गरेर अण्डकोष निकाल्ने गरिएको यसका व्यावसायिक पालनमा लागेकाहरु बताउँछन्।

अहिले जिल्लामा पाइने बधिया भालेको माग बाह्य जिल्लामा समेत निकै बढ्दै गएको छ। यसको व्यावसायिक पालकहरु भन्छन्, ‘बधिया भाले पाहुनाहरुका लागि सबैभन्दा बढी चिज बन्दै आएको यहाँका स्थानीयहरुले खासै मतलब गर्नु हुन्न।’

घोराही उपमहानगरपालिका वडा नम्बर १३ का हर्कबहादुर चौधरी विगत ६ वर्षदेखि बधिया भालेको व्यावसायिक पालनमा आबद्ध छन्। जिल्लाको प्रमुख चिनारीमध्येकै बधिया भालेको व्यावसायिक पालन भने जिल्लामा त्यति धेरै छैन। उनी भन्छन्, ‘मेरोमा आउने ग्राहकहरुलाई पु¥याउन नसकेको खण्डमा अन्त्यबाट ल्याउन सक्ने अवस्थै छैन।’

यो व्यवसाय सुरु गर्नुअघि उनी बुटवलमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए। त्यतिबेला एक जनाले आग्रह गर्दै भने, ‘बधिया भालेको मासु चखाऊ न।’

हर्क अल्लमल्लझैँ भए। बधिया भालेका बारेमा केही थाहै नपाएका उनले प्रतिप्रश्न गरे, ‘के हो बधिया भाले भनेको ?’

दाङको चिनारीकै रुपमा बधिया भाले रहेको भन्ने थाहा पाएपछि उनी बधिया भालेको व्यावसायिक पालन सुरु गर्ने योजनामा पुगे। अनि बुटवलको काम छोडेर दाङ फर्किए। भनेको सुनेका मात्रै थिए उनले — देखेका थिएनन्। उनका एकजना साथीले बधिया बनाउने विधिका बारेमा जानेका रहेछन्। उनै साथीमार्फत् भाले बधिया बनाउने विधिका बारेमा सिके।

‘लोकल कुखुराको भालेलाई अप्रेसन गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्दोरहेछ,’ हर्कले भने, ‘यो सीप सिकेपछि मैले आफँै यो विधिको सुरुवात गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ।’

सुरुमा उनले १ सय लोकलभालेलाई बधिया बनाउन खोज्दै थिए। तर अप्रेसनको तालमेल मिलेन। ‘तीस वटा भाले भरे,’ उनले भने, ‘सुरु सुरुमा अप्रेसन गर्दा मेल नखाएपछि कुखुरा मर्छन्, पहिला–पहिला निकै अप्ठेरो पनि भयो।’

बिस्तारै अप्रेसनमा हात बस्दै जान थाल्यो। अहिले उनी बधिया भालेको व्यावसायिक पालनमा अभ्यस्त कृषक बनेका छन्। बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको छ। ‘बधिया बनाएपछि भाले पोथीसँगको सहबासका लागि अक्षम बन्छ,’ हर्क भन्छन्, ‘यसर्थ त्यो भालेमा मासुको मात्रा खँदिलो हुँदै जान्छ।’ लोकल कुखुरामा जस्तो मासुमा रेसा भेटिन्न। मासुको बढोत्तरी निकै हुने गरेको उनले बताए। यसैगरी यो भाले मोटो हुने भएकाले मासुमा बोसोको मात्रा पनि बढी हुने गरेको उनले बताए। लोकल कुखुराभन्दा मासुको स्वाद बेग्लै हुने र खँदिलो मासु हुने भएकाले यसको मूल्य पनि लोकलभन्दा बढी हुन्छ । एक वर्षसम्म पालिएको कुखुरा जिउँदो तीन हजारका दरमा बिक्री हुने गरेको पालक कृषकहरु बताउँछन्। हर्कका अनुसार बधिया भाले झण्डै वर्ष दिनमा खान लायकको हुन्छ। ‘हामीहरुले बधिया भाले किलोका दरले बिक्री गर्दैनौँ,’ उनले भने, ‘जिउँदो कुखुरा प्रतिगोटा तीन हजारका दरले बिक्री गर्ने गरेका छौँ।’

लोकल भाले बास्ने अवधि भनेको बच्चादेखिको पाँच महिनाको अवधि हो। पाँच महिनाको अवधि (बास्न थालेपछिको समय)मा उसको अण्डकोष निकालेर बधिया बनाइन्छ। बधिया बनाएको पाँच÷छ महिनापछि मात्रै बधिया मासु खान लायकको हुने हर्क बताउँछन्। ‘बधिया भाले वर्ष दिनमा तयार हुन्छ, लोकलबाट बधिया बनाएको ६ महिनासम्म पालेपछि मात्रै यसको मासु खँदिलो बन्छ,’ उनले भने, ‘यसको पालनमा समय अवधि भने लोकलको तुलनामा बढी लाग्ने गर्छ।’ एक वर्षसम्म पालिरहनुपर्ने झन्झट हुने भएकाले पनि यसको व्यावसायिक पालनमा धेरैले चासो नदिएको हुन सक्ने उनले बताए।

त्यसैले पनि मागअनुसार पर्याप्त नपाइने उनी बताउँछन्। वर्ष दिनसम्म पालिने बधिया भालेको तौल दुई देखि तीन किलोसम्म हुन्छ। बाह्य आगन्तुकहरुका लागि खपत हुने जिल्लाको यो भाले दाङ बाहिरै बढी बिक्री हुने गरेको छ। काठमाडौं, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेतबाट बधिया भालेको माग बढी आउने गरेको र ती स्थानमा बढी खपत हुने गरेको हर्क सुनाउँछन्।

‘दाङका लोकल मान्छेहरुले यसको चासो त्यति देखाएको पाईँदैन,’ उनले भने, ‘काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेतमा यसको माग बढी छ, मैले ती स्थानहरुमा पठाइरहेको छु।’

बधिया भालेको बजार दशैंदेखि माघ महिनासम्मको अवधिमा अत्यधिक हुने गरेको छ। दशैँमा साल्ट ट्रेडिङले समेत बधिया भाले खरिद गर्ने गरेको उनले सुनाए। हर्कले यस वर्षको दसैंदेखि माघ महिनासम्मको अवधिलाई लक्षित गर्दै एक हजार बधिया भाले तयार पार्ने योजना बुनेका छन्। ‘पोहोर सात सयको हाराहारीमा बिक्री गरेको हुँ, तर माग अधिक थियो,’ उनले भने ‘यसपटक भने १ हजार भाले तयार पार्ने योजनामा छु।’ बधिया भाले तयार पार्नका लागि लोकल भाले खोज्नका लागि उनी गाउँ–गाउँमा पुग्ने गरेका छन्। उनले थपे, ‘लोकल भाले खोजेर ल्याउनलाई समस्या छ, जिल्लाका हरेक क्षेत्रमा पुगेर भाले खरिद गर्ने गरेको छु।’

जिल्ला तथा जिल्ला बाहिरका होटेलहरुले समेत यसको नियमित उपलब्धताका लागि हर्कसँग अनुरोध गरिरहेका छन्। तर हर्कले होटेलहरुमा नियमित रुपमा बधिया भाले उपलब्ध गराउन नसकिने बताउँछन्। ‘नियमित रुपमा होटेलहरुमा पु-याउन त सकिन्न, किनकि त्यति धेरै कुखुरा बधिया बनाएर राख्न सकिन्न, अनि अर्को कुरा यो बधिया भालेको बिक्रीका लागि समयाअवधि लामो हुने भएकाले पनि सम्भव हुन्न,’ उनले भने, ‘जिल्ला तथा जिल्ला बाहिरका होटेलहरुले पनि धेरै पटक अनुरोध गरिसक्नु भएको छ, तर मैले सक्दैन भनिदिएको छु।’

जिल्लाको ‘अनुपम उपहार’ सरह मानिँदै आएको बधिया भालेको चर्चा लामो समय अघिदेखि चलेको पाइन्छ। जिल्लाका नागरिकहरुले घरमै बधिया भाले बनाउने क्रमसँगै यसको महत्त्व र चर्चा बढ्दै गएको पाइन्छ। मूलतः देउखुरी क्षेत्रका थारू समुदायले लोकल भालेलाई बधिया बनाएर घरमै खाने गर्दथे। अहिले पनि घरमा बधिया बनाएर आफैँले खाने क्रम जिल्लामा अधिकै छ। तर यसको व्यावसायिक पालन भने विस्तार भैसकेको छैन। ‘घरमै पालिएका लोकल कुखुरालाई बधिया बनाएर भरमै खानेहरु त जिल्लामा थुप्रै हुनुहुन्छ,’ हर्क भन्छन्, ‘तर यसको व्यावसायिक पालनकोे विस्तार भने हुन सकेको छैन।’ हर्कसँगै देउखुरीको सतबरियाका अर्का एक किसानले यसको व्यावसायिक पालनको सुरुवात गरेका छन्। यी दुई बाहेक अन्यत्र व्यावसायिक पालन सुरुवात हुन सकेको छैन।

प्रकाशित: १२ असार २०७६ ११:१७ बिहीबार

बधिया_भाले पर्यटन दाङ नागरिक परिवार