अन्य

डुङ्गाभरि देवता

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्। पहिलोपटक काठमाडौं आउँदा यहाँका मन्दिरहरू देखेर इशान परियार चकित परेका थिए। एसएलसी सकेपछि उनी कला गुरु बुद्धि गुरुङसँग ललितकला क्याम्पसमा भर्ना हुन काठमाडौं आए। प्यागोडा शैलीका कलात्मक मन्दिरमा टाँसिए उनका आँखा। मन पनि अडियो। गहिरो छाप बस्यो मस्तिष्कमा।

क्याम्पस पढ्दा उनीहरू बरोबर काठमाडौं, भक्तपुर र पाटनका मठमन्दिरमा पुगेर चित्र बनाउँथे। कहिले पानी रंगमा खेल्थे, कहिले एक्रेलिकमा त कहिले तैलचित्रमा। अध्ययन र कामको सिलसिलामा जताजता पुगे पनि मान्छेको मनमा विगतका सम्झना सल्बलाइरहन्छ। इशान पनि सम्झिरहन्थे पोखरा। सधैं सम्झनामा आइरहन्छ पोखरा। पढेर र परेर कुशल कलाकार बने उनी। क्यानभासमा राम्राराम्रा चित्र बनाउनु र ससाना विद्यार्थीलाई चित्रकलाको गोरेटोमा डो-याउनु उनको दिनचर्या। यिनै प्रतिभाशाली कलाकारको एकल प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, काठमाडौंमा चलिरहेको छ यतिबेला।

ग्यालरीका सबै चित्रमा डुङ्गा छन्। डुङ्गाभरि देवता। उनको मनमा बसेको पोखरा र काठमाडौंको प्रभावलाई फ्यूजन गरेका छन् उनले। डुङ्गामा बसेर मान्छे वारिबाट पारि तर्छ। सुरक्षाको प्रतीक डुङ्गा। जीवनको प्रतीक पनि हो। त्यसैले डुङ्गामा देवता राखेर मौलिक संस्कृति र सम्पदा संरक्षण गर्ने सन्देश दिएका छन् उनले। एउटा डुङ्गामा पुरुष बहाना खियाउँदै छन्। महिला बच्चा समातेर बसेकी छिन्। त्यसको छेवैमा देवताको मूर्ति छ। ‘यो मूर्ति अमेरिकामा लिलाममा राखिएको छ’, कलाकार इशान अथ्र्याउँछन्, ‘हाम्रा कतिपय मूर्ति समुन्द्रपारि पुगिसके। दुःख यसमै छ।’

अर्को एउटा चित्रमा रानीपोखरीको बालगोपाल मन्दिर, काष्ठमण्डप, बुङमति लगायत मन्दिर राखेका छन्। १२ वैशाखको भुइँचालोले क्षति पु¥याएका सम्पदा संरक्षणको सन्देश दिन्छ यसले।अर्को डुङ्गामा अवलोकितेश्वरको चित्र छ। सन् २०१६ मा नेपाल ललितकला प्रदर्शनीमा यसले समकालीन विधामा पहिलो पुरस्कार जितेको थियो। प्रदर्शनीमा सन् २०१६ देखि हालसम्म बनाइएका चित्र राखिएका छन्।

उनका डुङ्गा कुनैमा गरुड, कुनैमा गणेश, कुनैमा भैरव र कुनैमा बज्र छन्। कुनै पनि चीजलाई हेर्ने कलाकारका आँखा फरक हुन्छन्। उनले चित्रको पृष्ठभूमिमा तितेकरेला बनाएका छन्। जीवनको तितो सत्य झल्काउन करेलालाई बिम्ब बनाएका।  

प्रदर्शनीमा राखिएका २८ कला मध्य १९ वटा एक्रेलिक रंगबाट बनाइएका चित्र हुन् भने बाँकी ९ वटा पेन एण्ड इन्कबाट कोरिएका रेखा चित्र। निःशुल्क अवलोकन गर्न पाइने प्रदर्शनी असार २४ गतेसम्म चल्ने छ।कलामै स्नातकोत्तर गरेका इशान स्वयम्भूको द एक्सिलसियर विद्यालयका कला शिक्षक हुन्। उनी घरमै बसेर अर्डरका काम गर्छन्। यसबाटै गुजारा चल्छ। भविष्यमा डुङ्गा श्रृङखलामै काम गर्ने योजनामा छन्। भन्छन्, ‘अब त डुङ्गामै चित्र कुँद्ने विचार गर्दै छु।’

प्रकाशित: ३२ जेष्ठ २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App