अन्य

बाबुको बिँडो थाम्दै

ज्याेती गुरूङ
पानी रंगबाट बनाइएका चित्रमार्फत् प्राकृतिक सौन्दर्य र जीवनशैली उतार्दै छिन् पोखरेली कलाकार ज्योति गुरुङ। उनी कलालाई मेडिटेसनकै रूप मान्छिन्।  ‘पानी रंगको पाठशाला’ मानिने पोखरामा केही कलाकार पानी रंगमै चुर्लुम्म डुबेका छन्। त्यही लहरमा आउँछिन् ज्योति गुरुङ। उनी विशेषतः प्राकृतिक सौन्दर्य झल्कने ल्याण्डस्केप बनाउँछिन्। त्यसबाहेक जीवनशैलीलाई क्यानभासमा उतार्छिन्।

संसारमा आमाको मायाभन्दा ठूलो कुरा केही छैन। उनका कतिपय चित्र हेर्दा त्यस्तै बुझिन्छ। चित्र बनाउँदा आत्मसन्तुष्टि मिल्छ उनलाई। ‘मलाई त चित्रकला मेडिटेसनकै रूप जस्तो लाग्छ’, भन्छिन्, ‘मनमा आनन्द मिल्छ।’   

किन ल्यान्डस्केपमै जोड दिएको ? ‘नेपाललाई चिनाउने हाम्रा हिमाल, पहाड, र खोलानाला नै त हुन् त्यसैले।’ उनका पिता बुद्धि गुरुङ नेपालका स्थापित कलाकार हुन्। उनले विद्यालय र घरमै कला सिक्ने अवसर पाइन्। कलामै दत्तचित्त भएर लागेको भने बल्ल १२ वर्ष भयो।

उनको कलामा पिताको प्रभाव छ। उनकै शैली पछ्याएकी छिन् उनले। ‘बाबाको शैली अरूको भन्दा पृथक् छ’, उनले प्रस्टयाइन्, ‘त्यही शैलीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अझै उचाइमा पु¥याउन चाहन्छु।’

उनको पहिलो प्राथमिकतामा पानी रंग पर्दछ, त्यसपछि मात्र एक्रेलिक रंग आउँछ। उनकी बहिनी हेमकान्ती पनि कलाकार हुन्। परिवारमा कलापूर्ण वातावरण छ।  
स्नातक तहसम्म अध्ययन गरेकी ज्योतिको दिनचर्या चित्र बनाउँदैमा बित्छ। रानीपौवा पोखराकी बासिन्दा ज्योतिले विभिन्न पुरस्कार जितेकी छिन्। विभिन्न कला कार्यशाला र प्रदर्शनीमा भाग लिएकी छिन्।

इन्टरनेशनल वाटर कलर सोसाइटीले गत वर्ष युक्रेनमा आयोजना गरेको प्रदर्शनीमा उनको चित्र पनि छनोटमा परेको थियो। यसपालि त झन् उनी बुल्गेरिया, बोलिभिया र पोल्याण्डमा हुने प्रदर्शनीका लागि समेत छानिएकी छिन्। त्यसले उनमा हौसला बढाएको छ। 

उनी महिला कलाकार समूह पोखरा शाखाकी अध्यक्ष हुन्। त्यसबाहेक सिर्जनशील कलाकार समूह, पोखरा वाटर कलर सोसाइटी, क्षेत्रलाल कायस्थ प्रतिष्ठान लगायत कला सम्बद्ध संस्थामा संलग्न छिन्। जीवनभर कलाकर्ममा लाग्ने उनको अठोट छ। आगामी दुई वर्षभित्र काठमाडौं र पोखरामा एकल कला प्रदर्शनी गर्ने उनको तयारी छ। उनलाई धेरै धेरै शुभकामना !

प्रकाशित: २५ जेष्ठ २०७६ ०४:४७ शनिबार

प्राकृतिक_सौन्दर्य जीवनशैली कलाकार