अन्य

जापानको जेब्राक्रसमा

जापानको अत्यन्त व्यस्त सडकको जेब्राक्रसमा यसरी बाटो काट्दै गर्दा संसारभरि विश्व मजदुर दिवस मनाउँदै थिइयो। मे १ तारिख विश्व मजदुर दिवस। मन्जेन नाका चो को यो व्यस्त चोकमा म पनि बाटो काट्दै थिएँ। जापानका लागि नूनतम नव आगन्तुक थिएँ म। यद्यपि म श्रम र विश्वासको कोलाज पोत्ने मजदुर मात्र थिएँ। जापानका लागि हुलिया नखुलेको मान्छे म, खल्तीमा सगरमाथा र बुद्धको देशको पासपोर्ट थियो। ढुक्क थियो– मलाई यो चौबाटोमा कसैले चिन्दैनन्। श्रमको सम्मान गर्ने जापानबाट यो फोटो सञ्जालमा टाँसेपछि नेपालका खबरहरू हेरेँ। काठमाडौको ब्रेकिङ खबर पहिले फेसबुक र ट्वीटरमै आउँछन्। सडकको एकापट्टि हँसियाहथौडाको झण्डा अर्कोतिर चारतारे झण्डा। झण्डामुिन देखिएका गन्न सकिने मान्छेहरू। म भने त्यही दिन मान्छेले बनाएको देश र देशले पलपल कुदाएका मान्छेको भीडमा थिएँ। तर, त्यहाँ कुनै चोक र सडकमा झण्डा थिएनन्।

उनीहरू औधी हतारमा थिए। उनीहरूलाई मजदुर दिवस कहिले हो ? सायद थाहा थियो होला श्रमका पुजारीहरूलाई। त्यसो त जापानले पनि अहिले नेपाललाई वैदेशिक राजगारीका लागि ढोका खुल्ला गरेको छ। त्यसका बारेमा पनि कस्ता नेपाली जापान ओर्लने हुन् ? त्यहीँका नेपाली मित्रहरूसित जिज्ञासा राखेको थिएँ। सूर्योदय र साकुराको देश भनेर संसारभरि कहलिएको जापान। साकुरा अप्रिलको पहिलो हप्ता मात्र फुल्दो रहेछ। त्यसो त मार्चको अन्तिम साताबाट बाटोघाटो र पार्कहरू रंगीन देखिन थालिसकेका हुन्छन्। साकुरा फुल्ने सिजनलाई जापानीहरू निकै ठूलो चाडका रूपमा मनाउने गर्दछन्। साकुराको रुखमुनि बसेर खानपिन गर्ने, भेटघाट गर्ने र रमाइलो गर्न जान्छन्। साकुरा उत्सवलाई ‘हानामी’ पर्व भनिँदो रहेछ। हामी भने दोस्रो हप्ता जापान टेक्दा साकुराले ‘अप्रिल फूल’ मनाइसकेको थियो। फूलबिनाका साकुराका रुखमुनि सियाँल बसेर सुस्ताउनु मात्र भयो।

जापान पुग्नु– नयाँ साल सुरु हुनु एउटा अर्को संयोग। राजाको परिवर्तनसँगै नयाँ युगको सुरुवात भएको मानिँदो रहेछ जापानमा। ८५ वर्षीय राजा अकिहितोले उमेर र स्वास्थ्यका कारणले राजगद्दी त्याग्दै थिए। उनले ३१ वर्ष शासन गरे। जापानी राजसंस्थाको दुई सय वर्षको इतिहासमा उनी राजगद्दी त्याग्ने पहिलो राजा हुन्। अप्रिल ३० देखि ५९ वर्षीय राजकुमार नारुहितो राजगद्दीमा बसे। अकिहिताको ‘हेइसेइ’ युगको समाप्तिसँगै ‘रेइवा’ युग सुरु भएको छ। नारुहितो राजा रहुञ्जेल ‘रेइवा’ युग मान्ने छन् जापानीहरूले। आउँदा सालमा जापानमा ‘रेइवा’ को दोस्रो, तेस्रो सालको गन्ती हुँदै जानेछ।

श्रमलाई औधी सम्मान गर्ने देश जापानमा नेपाली पनि उस्तै मेहनती। अहिले जापानमा लगभग ९० हजार नेपालीको उपस्थिति छ। अहिले जापानमा लगभग चार हजार रेष्टुराँ नेपालीकै सञ्चालनमा छन्। नेपाली मौलिक खान र नान खान जापानीहरू पल्किसकेका रै’छन्।

जापान जाने कुरा त केही वर्षअगाडि नै भएको थियो कवि प्रकाश पौडेल ‘माइला’सँग। जापानमै बसेर हाइकु सिर्जना र अन्वेषणमा तल्लीन थिए– प्रकाश। जापानमा भएका सालाखाला नेपालीमा प्रकाश सफल व्यवसायीमा कहलिँदा रहेछन्। जापान जाने निम्तो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरको स्वर्ण श्रृङ्खलाका लागि प्रमुख अतिथिका रूपमा प्राप्त भएको थियो। नेपालीको भिसा लाग्न द¥है स्पोन्सर लेटर चाहिने रै’ छ। त्यो लेटरमा कवि दीप पाठकको हस्ताक्षर थियो। नेपालबाट जापान जानेमा उपन्यासकार मीनराज वसन्त पनि थिए। त्यसो त जापानमा मेरा पनि आफन्त थिए। भाइबैनी केदार र हिरालाई पनि यो पंक्तिकारलाई जापान टेकाउन पाए हुन्थ्यो भन्ने रहर थियो। तिनीहरूको पनि रहर त पूरा भयो, तर उनीहरू कार्यव्यस्तताले स्वर्ण श्रृङ्खलामा भने आउन भ्यानन्। कार्यस्थलमै फेसबुक लाइभ हेरेर चित्त बुझाए। अनेसास जापान च्याप्टरको स्वर्ण श्रृङ्खला स्मरणीय रह्यो। अनेसासको साहित्यिक मुखपत्र अन्तरदृष्टिको विमोचन भयो। त्यही समारोहमा मीनराजको उपन्यास ‘पिपिरी’को पनि जापान विमोचन गरियो।

जापान च्याप्टरले आयोजना गरेको कविता प्रतियोगिताका प्रतियोगी कविता लगायत २ दर्जनभन्दा बढी कविहरूले रचना सुनाए। प्रतियोगितामा उत्कृष्ट ३ जनालाई सिटी मनी एक्सप्रेस जापानले नगद पुरस्कार व्यवस्था गरेको थियो। प्रतियोगितामा शरद पोख्रेल, सविना रेग्मी र दीप मुस्कान उत्कृष्ठ ठहरिए। पुरस्कृत कविहरूले देशकै चिन्ता र चासो पोखेका थिए।

माटोमा पसिना बगाउँछु यहीँ सन्तुष्ट मानो बनोस्
सानो होस् तर आफ्नू होस् भनिरहेँ नेपाल छानो बनोस्
सोचेझैँ सहजै परिस्थिति न भो आफैँ परेँ ठेसमा
जाँदैनन् नि विदेशमा रहरले राम्रो हुँदा देशमा।।
– सविना रेग्मी

प्रतियोगी कविका अतिरिक्त अतिथिका कविताहरू पनि उस्तै श्रवणीय थिए। केही नेपालमै चिनिएका कवि थिए त कोही उतै आफ्नो पहिचान बनाएका भेट्टिए। जापान पुग्दा गोल्डन होलिडे सुरु भइसकेको थियो। सात दिनसम्म सरकारी विदामा जापानी नागरिक घुमघामै मस्त थिए। हामीलाई पनि त जापान घुम्नु थियो। सहित्यिक कार्यक्रमपछि जापानको व्यस्त समयलाई उभारेर अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ र जापान च्याप्टरका अध्यक्ष दीप पाठकले समय मिलाएका थिए। इतिहासमा पढेको हिरोसिमा र नागासाकी राजधानी टोकियोभन्दा धेरै पर। जानआउनै २ दिन लाग्ने, हाम्रो वर्षाअवधि छोटो भएपछि त्यता नगई टोकियो वरिपरि भ्याएसम्म घुमियो।

जापानको हाकुनेमा दिनहुँ ज्वालामुखी फुटिरहन्छ– सुनेका र पढेका कुरा ठाउँमै पुगेर हेर्नुको मजा यस्तै यात्रामा मिल्ने गर्छन्। हाकोने जापानको प्रसिद्ध पहाड जहाँ दिनहुँ ज्वालामुखी फुटिरहन्छ। त्यही ज्वालामुखी हेर्ने संसारका हजारौं पर्यटक पुग्छन्। सामुद्रिक तट हुँदै पहाडी बाटो उक्लेपछि वरिपरि हरियाली र बगैँचा। प्रकाश पछिल्लो मोडलको टोयोटा १२० किमीको गतिमा हाँक्दै थिए। गीत÷सङ्गीतका पारखी समेत प्रकाशले डिजिटल बटम थिचे – जापान टोकियो.... लोकगीत बजाए। पोखराका कवि ÷ मुक्तककार गोविन्द गिरीले पकेट वाइफाई दिँदै भनेका थिए– दाइ, तपाईको जापान यात्राभरि यो भरपर्दो साथी हुन्छ। गोविन्दले भनेजस्तै भयो– मोटरमा बजेको धुनलाई फेसबुक लाइभ भिडियोमा पहिलो पटक प्रत्यक्ष प्रसारण गर्नुको अनुभव पनि संगालियो। हाकोनेको ज्वालामुखीबाट उडेको धुँवाको मुस्लो संसारभरि फैलियो।

हाकोने हाइकिङका सहयात्रीहरू प्रकाश पौडेल ‘माइला’ दीप पाठक, मीनराज वसन्त र गिरिजा गैरेजीले त्यहाँ पुग्दाको अनुभूति लाइभ भिडियोमा सुनाए। हाकोनेको थुम्कोमा पुग्दा गर्मी थियो। १० मिनेटमै चिसो हावा चलेर पानी प¥यो, साथीहरू गाडीमा राखेको ज्याकेट लाउन दौडिए। हाकोनेको ज्वालामुखी लाभा कुण्डमा कुखुरीको अन्डा चोबेपछि केही क्षणमै उसिनिने रै’छ। बोक्रो भने पूरै कालो। त्यो अन्डा खाएपछि ५ वर्ष आयु बढ्छ  भन्ने जापानी जनविश्वास रहेछ।
हाकोनेबाट ओर्लदाँ जापानी भाषा÷साहित्यका विषयमा कुरा भयो। जापान बसेका अधिकांश नेपाली उतैको भाषामा मजाले सम्वाद गर्दा रहेछन्। कोही जापानी लिपिमा समेत दखल राख्दा रहेछन्। हाइकु सम्राट बासोको भूमिमा पुग्दा हाइकु अन्वेषक प्रकाशले हजार हाइकु लगायत अन्य कृति पनि निकाले। प्रकाशलाई सोधेँ– जापानमा लेखकको अवस्था कस्तो छ ? स्टेयरिङ घुमाउँदै बोल्दै गए – सारादा किनेन्बी  पुस्तककी लेखिका तावारा माची जापानको लोकप्रिय सेलिब्रेटी साहित्यकार हुन्।

म जापान आएदेखि नै उनलाई भेट्न मन गरेको थिएँ। उनको प्रवचन सुन्न पैसा तिरेर अनलाइनबाट सिट बुकिङ गर्नु पर्दथ्यो। बुकिङ खुला हुनेबित्तिकै सिट प्याक हुनु मेरो निम्ति सधैँ समस्याको विषय हुन्थ्यो। निकै लामो कोसिसपछि एक जना जापानी मित्रको सहयोगमा बुकिङ गर्न सफल भएँ। कुल ८० जनाको कोटामा म ७६ नम्बरमा परेको थिएँ। त्यो दिन टोकियो शिन्जुकुको व्यस्त शहरमा उनको ९० मिनेटको प्रवचन क्लास लिन मैले प्रवेश शुल्क ५,५०० रुपैयाँ तिरेर उनका कुरा सुने। सोही कार्यक्रममा उनको नयाँ किताबको विमोचन पनि थियो। १८०० येन मूल्यको उक्त किताब पनि १ घन्टा लाइन बसेर उनकै हस्ताक्षरसहित किने।

मचाहिँ नेपालको सहित्यिक माहोल, लेखकको अवस्था, पाठकीय संस्कार र संस्कृति आदिका बारेमा सोचिरहेँ।
टोकियो वरिपरि घुम्नलायक स्थानहरू प्रशस्त रहेछन्। हरेक पाइलामा पैसा तान्न सिपालु जापानमा यात्राका लागि एउटा स्मार्टकार्ड किनेपछि जमिनमुनिको रेल होस् वा माथिका सवारी साधनमा यात्रा गर्न सा¥है सहज। कवि दीप पाठक यात्रासँगै गरूँ भन्थे। तर, मैले भने समय मिलाउन सकिरहेको थिइनँ। ३३३ मिटर अग्लो टोकियो टावर चढ्दाको रोमाञ्चक अनुभूति धेरै छन्। टावर चढ्न लामै लाइन बस्नु पर्ने। एक जना टावर उक्लेको २९ सय रुपैयाँ, दैनिक हजारौंको संख्यामा चढ्छन्।

दीपले सोधे– दाइ, काठमाडौको धरहरा कहिले बन्छ ? मसित कुनै जवाफ थिएन।  त्यसो त टोकियो टावर पनि भुइँचालोले ढल्काएपछि टुप्पाबाट दायाँ–सन्तुलित फलामे तारको बलियो काम्रो बाँधिएको थियो। जापान क्षतविक्षत भएर बौरिएको देश। अहिले त्यहाँ  सिष्टमको सकस छैन। विकास र समृद्धि हेर्नु छ भने एक पटक जापान पुग्नु भन्ने आहानै छ। जापानले यति छिटो विकास कसरी ग¥यो मननीय कुरा मनमा खेलिरहे। समुद्रमुनि सुरुङ, सुरुङ टुङ्गिनासाथ मानव निर्मित टापु उमिहोतारू पुग्दा लाग्यो– मान्छेले गरे के हुँदैन ? कानागावा प्रिफेक्चरअन्तर्गत योकोसुकामा अवस्थित ‘मिकासा पार्क’ पनि उस्तै हेर्नलायक। सन् १९०५ को रसियासँगको युद्धमा क्षतिग्रस्त भएको मिकासा युद्धपोत विमान र पृष्ठभूमिमा सम्राट मेइजीको सालिकमुनि हामी पनि सालिकझैं उभिएर फोटो खिच्यौँ।

जापानको बसाइ मात्र १० दिनको, घरदेश फर्कने दिन आइसकेको थियो । नेपालमा पनि रेल र मोनोरेलका कुरा धेरै सुनिएका छन्। जापानको बुलेट ट्रेन नचढी के जानु भन्ने थियो। अरुण भाइ र इशु बैनीले प्रतिघण्टा ३०० किमीको गतिमा गुड्ने रेल पनि चढाए। अनेसास जापान च्याप्टरको स्वर्ण श्रृङ्खला भव्यताकासाथ सम्पन्न भएको सिनओकुबोको नेपाली मुरा हल, नेपाल फर्कनु अघिल्लो साँझ विदाइ समारोहका लागि फेरि भरियो, गुञ्जियो। साथीहरूको आतिथ्य माया र सद्भाव छचल्कियो। विदाइ मन्तव्य दिनु थियो। बोल्ने कुरा अटेसमटेस थिए। गायक तथा सङ्गीतकार रामकृष्ण बम मल्लले हार्मोनियम थिच्दै सहयात्रा गीति एल्वमका केही गीत गाउनुअघि मेरै शब्दमा प्राण भरे– के वर मागी फक्र्यौ भन तिम्ले पुज्ने देउतासित, दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित ! विदाइ समारोह सङ्गीतमय बनाए रामकृष्णले।

श्रमलाई औधी सम्मान गर्ने देश जापानमा नेपाली पनि उस्तै मेहनती। अहिले जापानमा लगभग ९० हजार नेपालीको उपस्थिति छ। त्यहाँ नेपाली विद्यार्थी, रेष्टुराँ सञ्चालक र श्रमिक छन्। अहिले जापानमा लगभग चार हजार रेष्टुराँ नेपालीकै सञ्चालनमा छन्। नेपाली मौलिक खान र नान खान जापानीहरू पल्किसकेका रै’छन्। काम ठूलोसानो हुँदैन भन्ने सोचले अग्रता पाउनु नै जापानको समृद्धिको सोपान हो कि ? समयको सूचक घडी, घडी पनि मान्छेले नै बनाएका हुन्। घडीभन्दा अघि दौड्न खोज्ने डिजिटल जापानी।            

प्रकाशित: २५ जेष्ठ २०७६ ०४:३२ शनिबार

जापान जेब्राक्रस नियात्रा