अन्य

कविताबाटै क्रान्ति सन्देश

सत्यमोहन जोशी
युगकवि सिद्धिचरण नेपाली साहित्यका ढुकढुकी हुन्। हामी सिद्धिचरणलाई सश्रद्धा ‘युगकवि’ सम्बोधन गछौँ। युगकवि नै भन्नुको आशय र कारण पहिल्याउँदै जाँदा उनीमाथि लगाइएको एउटा प्रमुख आरोपचाहिँ उनले मातृभाषा (नेवार भाषा, नेपालभाषा)मा आजभन्दा ७५ वर्षअघि फत्तेबहादुर सिंहद्वारा सम्पादित तथा प्रकाशित ‘नेपाली विहार’ नामक कवितासंग्रहमा निस्केको उनको ‘वर्षा’ शीर्षकको कविता नै अग्रपंक्तिमा देखापर्छ। तत्कालीन राणाहरूको निरंकुश हुकुमी शासनमा प्रगतिशील विचारधाराका पुस्तक छाप्नु सम्भवै थिएन। त्यसमा नेवार भाषाका पुस्तक छपाइको त कुरै भएन। यसैले फत्तेबहादुरले उक्त ‘नेपाली विहार’ पुस्तक छिमेकी मुलुकको विहार प्रान्तको वेतियामा लगी उतैबाट छपाएर नेपाल भिœयाएका थिए। दुर्भाग्य, उक्त पुस्तक भिœयाएको थाहा भएपछि जफत गरियो।

१९९७ सालको राजनीतिक पर्वमा राजनीतिक सक्रिय कार्यकर्ताहरूकै धरपकडको क्रममा उक्त ‘नेपाली विहार’ पुस्तकका सम्पादक एवम् प्रकाशक फत्तेबहादुर र ‘वर्षा’ शीर्षक  कविता छपाउने सिद्धिचरण पनि पक्राउमा परे। उनीहरूमाथि पनि राजनीतिक मुद्दा नै लगाइयो। अन्ततः सम्पादक र प्रकाशक फत्तेबहादुर र ‘वर्षा’का रचनाकार सिद्धिचरणलाई सर्वस्वहरण गरी १८ वर्षको कैद सजाय सुनाई उनीहरूलाई  पनि अन्य राजबन्दीहरूलाई झैँ सदर जेलखानाको कालकोठरीमा लगेर जाकियो।

काठमाडौं उपत्यकाका आदिवासी नेवारको मातृभाषा नेवार भाषा हो। नेवार भाषाको साहित्यिक नाम र लोकप्रिय नाम नेपाल भाषा नै हो। नेपाल भाषा साहित्यको विकास क्रममा स्वच्छन्दतावादी प्रकृतिप्रेमी प्रगतिशील विचारधाराका कविकै रूपमा अग्रपंक्तिमा सिद्धिचरणको उच्चतम स्थान छ। ‘नेपाली विहार’ पुस्तकमा छापिएको उनको ‘वर्षा’ कविता (२० मात्रामा रचना गरिएको) त्यसैको एउटा ज्वलन्त उदाहरण हो।

१५ वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि अभिरुचि थियो र उनैले सर्वप्रथम नेपाली साहित्यमा ‘हडताल’ शब्द प्रयोग गरेका थिए। विसं  १९९७ मा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने उद्गार लेखेबापत उनले अठार वर्षको कठोर जेल सजाय पाए। सर्वस्व हरणसहित जेलजीवन बिताइरहेका बेला पिताको देहावसान हुँदा उनलाई परम्परागत विधिअनुसार काजक्रियासमेत गर्नबाट वञ्चित गरियो। त्यतिबेला उनले लेखेका अनेकौं काव्यकृति नष्ट गरियो।

उक्त ‘वर्षा’ कविताकै प्रसंगमा ऋतुको सन्दर्भ जोडिन आउँछ। छ ऋतुहरूमा क्रमशः ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त छन्। वसन्तको चहकमहक र हरियालीको रमझमपछि जब ग्रीष्मको राज चल्न थाल्छ, ग्रीष्मको गर्मी र राप, ताप अति बढ्न थालेपछि सहिनसक्ने स्थिति पनि सिर्जना हुन थाल्छ। सम्मानित, प्रतिष्ठित, कुलीन, हुनेखानेहरू त ग्रीष्मको गर्मी र राप–तापबाट सजिलैसँग सुरक्षित हुन् अनेक साधन प्रयोग गर्छन्। तर, समाजमा उत्पीडित, शोषित, पिछडिएकाहरूका लागि भने ग्रीष्मको प्रचण्ड घाम सहिनसक्नु हुने गर्छ। यस किसिमको परिस्थितिमा कविवर सिद्धिचरण असह्य गर्मी र राप–ताप खप्न नसकेका सबैको प्रतिनिधित्व गरी उनीहरूको मनभित्रको उत्पीडन र गुम्सिएका क्रान्तिकारी अभिव्यक्तिहरू आफ्नो कविताको माध्यमबाट श्लेष, बिम्ब, प्रतीक आदि प्रयोग गरेर आफैं वर्षाकै रूप धारण गरी यसरी उनले मातृभाषामा ‘वर्षा’ कविताद्वारा शङ्खघोष गरे

वर्षा जि वये थनिं भव भव्य याय्त
ग्रीष्मैगु गौरव पताः चटक्क चाय्त
जिं हैगु सत्य जगतय् अति भिंगु काल
यानाः विरोध रवियागु र अङ्कमाल !

माथिको कविताको भावार्थ–ग्रीष्मको प्रचण्ड गर्मी र तापबाट पीडित जनका लागि राहत दिन तथा शीतल प्रदान गर्न म (वर्षा) यहाँ आइपुगिसकेँ। अब म प्रचण्ड तापबाट तातिएको थलोलाई शीतलता प्रदान गरी रसिलो र रमाइलो बनाइदिन्छु। ग्रीष्म ऋतुको त्यो (तथाकथित) गौरवमय यशकीर्तिका पताकालाई छिनालेर फालिदिन्छु। मैले एउटा नवीन सर्वहितकारी सत्यलाई अँगालेर ल्याएको छु। अब म त्यो प्रचण्ड तापका प्रणेताको विरोध गर्न तम्सिएको छु, अब मलाई कसैको निगाहाको आवश्यकता छैन।

अन्याय धाकू फसं, धू व निभाः प्रचण्ड
यानाविये समला जिं थन खण्ड खण्ड,
क्कहाँवया जि मनयायु पथं हतासं
 गँ गां, खुसी, तरू, लता सकलें थकाये्त।

अब म ‘वर्षा’ हुँ। यहाँ म ती तातिएर दुःख दिने हावाहुरी, धुलाो र घामलाई टुक्राटुक्रा पारिदिन सक्छु। म तिनीहरू कसैलाई बाँकी राख्दिनँ। म यहाँतक ओर्लिसकेँ, कति सहेर बस्ने, ढिलो भइसकेकोले म हत्तारिएर आएको छु। अब म ती प्रचण्ड तापले सताइएका डाँडाकाँडा, जंगल, खोलानाला, रूखपात लहराहरूलाई शीतलता प्रदान गर्नमा लाग्नेछु।

कविता लामो नै छ। अन्तिम श्लोक छ –
अत्यन्त क्रोध पिकयाः जगतय् जि हाले
ख्यानाःखिनाः अशुभ वस्तुत नष्ट याये,
क्रान्ति विना थन दई मखु स्वच्छ शान्ति
शान्ति विना थन छु मज्वीयु भ्रान्ति !

अब मलाई कसैले पनि सीधा– सोझा भोला भन्ने भावले नहेरे पनि हुन्छ। अब म कत्ति सहन सक्तिनँ– ग्रीष्मको त्यो प्रचण्ड गर्मी र तापलाई। अब म आफ्नो रिस थाम्न सक्तिनँ। अब म पीडित शोषित जनहरूको आन्दोलित गुम्सिएका ती क्रान्तिकारी भावनाहरूको प्रतिनिधित्व गरी मैदानमा ओर्लिसकेको छु। अब यहाँ ग्रीष्मको तापबाट भोगिरहेका दुःखकष्टलाई उन्मूलन गरी सुख–शान्तिलाई प्राप्त नै गर्नु छ भने क्रान्तिकै आवश्यकता छ, क्रान्ति नगर्ने हो भने कुनै कार्य सिद्ध हुने छैन। अनि शान्ति नै प्राप्त नगरीकन टुलुटुलु हेरी बसिरहने हो भने भ्रान्तिको गोलचक्करमा डुबिरहनुपर्ने हुन्छ। अन्ततः वर्षा यिनको श्लेष, बिम्ब, प्रतीक आदि काव्यात्मक अभिव्यक्तिलाई नै मुख्य मुद्दा बनाएर कविवर श्रेष्ठलाई राजनीतिक मुद्दामा फसाएर सर्वस्वहरण गरी सदर जेलखानाको कालकोठरीमा १८ वर्षको जेलजीवन बिताउनुपर्ने सजायको फैसला सुनाए – राणा शासनका न्यायमूर्तिहरूले।

२००७ सालको जनक्रान्तिबाट राणाहरूको एकलौटी हुकुमी शासन धराशायी हुन गयो। अन्ततः सत्यकै विजय भयो। आफ्नो युगको प्रतिनिधित्व गर्ने कविवर सिद्धिचरणलाई जनताले ‘युगकवि’ संक्षेपमा भन्नु पर्दा, आफूले भोग्नुपरेका युगको प्रतिनिधि भई आफ्नो समयका जल्दाबल्दा समस्याहरू समाधान गर्नाखातिर त्रियुग (सत्यम्, शिवम्, सुन्दरम्)ले युक्त काव्यकृतिलाई पूर्णता  दिन सक्ने युगकवि भनेर सश्रद्धा सम्बोधन गरे।

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:३४ शनिबार

युगकवि नेपाली_साहित्य सिद्धिचरण