अन्य

फेरिँदै इद

‘इद आयो, खुसी ल्यायो !
इद खुसीयालीको पर्व हो,
इद हाम्रो खुसी हो,
गरिव–गुरुवाको सहायताको लागि हो,
इद आयो खुसी ल्यायो !
आपसमा भाइचारा बढायो,
इद आयो खुसी ल्यायो।’
केही वर्षअघिसम्म इदमा गाइने गीत हो यो। तर, अहिले इदमा यो गीत कमै सुनिन्छ। पछिल्लो समय इदमा गीत गाउने चलन हराएको बताउँछन्, अलहिरा एजुकेसनल सोसाइटी नेपालका अध्यक्ष गुलाम रसोल फलाही। ‘सानो छँदा इदको दिन नमाज पढेपछि घरमा इद गीत गाउँथेम्। त्यसपछि दिदीबहिनीहरूले रूपैयाँ दिनुहुन्थ्यो। त्यो रूपैयाँ सबै बाँड्थ्यौं,’ उनले सम्झिए।

पछिल्लो समय गीत गाउने चलन मात्रै होइन, इद मनाउने तरिका समेत फेरिएको उनी बताउँछन्। ‘पहिले इदमा नमाज पढिसकेपछि छिमेकीलाई बोलाएर घरमा पकाइएका परिकार खुवाइन्थ्यो। तर, अहिले परिवारका सदस्य, इष्टमित्र र नजिकका मानिसलाई मात्रै खुवाउने गरिन्छ,’ उनले सुनाए, ‘बदलिँदो सामाजिक परिवेश र व्यस्त जीवनशैलीका कारण इद फेरिएको छ। तर, इदप्रतिको आस्था भने उही छ।’ इदमा मनाउने चलन फेरिएकोमा उनी चिन्ता व्यक्त गर्छन्। उनी इदलाई आपसी भाइचारा र हर्षाेल्लासको पर्व रहेको बताउँछन्। ‘सबैलाई सक्दो सहयोग गरी आपसी सद्भावका साथ मनाउनु यसको विशेषता नै हो,’ उनले भने।

यो पर्वको धार्मिक नियममा भने खासै फेरबदल नआएको गुलाम रसोल फलाही बताउँछन्। ‘इदका केही गतिविधिमा परिवर्तन आएको छ। तर, धार्मिक प्रक्रिया बदलिएको छैन,’ उनले भने। ठाउँ तथा परिवेश अनुसार यो मनाउने चलन फेरिएको उनको भनाइ छ।

इस्लाम धर्मावलम्बीको प्रमुख चाड हो– रमजान। रमजानको समयमा एक महिनासम्म व्रत बस्ने चलन छ। रमजानको अन्तिम दिन ‘इद’ मनाइन्छ। रमजानका बेला ‘रोजा’ बस्ने चलन छ। ‘रोजा’मा भोकै बस्ने चलन छ। यसले खान नपाउनुको अवस्था महसुस भई गरिबलाई सहयोगका लागि अभिप्रेरित गर्ने जानकार बताउँछन्।

‘पहिले इदमा नमाज पढिसकेपछि छिमेकीलाई बोलाएर घरमा पकाइएका परिकार खुवाइन्थ्यो। तर, अहिले परिवारका सदस्य, इष्टमित्र र नजिकका मानिसलाई मात्रै खुवाउने गरिन्छ, सहरीकरण र सामाजिक परिवर्तनले इद मनाउने चलन फेरिएको हो।’

मुलुकमा धर्म निरपेक्षता लागू भएसँगै रमजान मनाउने वातावरण बनेको उनको भनाइ छ। इदको दिन दिइने सार्वजनिक बिदाले पनि यसमा सघाउ पु¥याएको उनको भनाइ छ। ‘त्यसअघि इदमा सार्वजनिक बिदा नहुँदा नानीहरूलाई विद्यालय पठाउनुपर्दा समस्या हुन्थ्यो,’ उनले भनिन्।

कलेजमा इदमा बिदा दिनुपर्छ भनी अभियान चलाएको उनी बताउँछिन्। केही वर्षअघि इदको दिन परीक्षा हुँदा स्कुल/कलेज गएको उनले स्मरण गरिन्। तर, अहिले इदमा बिदा दिने गरिएकाले इद मनाउन सहज भएको उनको भनाइ छ।
सांस्कृतिक रूपमा इद मनाउने चलनमा खासै परिवर्तन नआएको उनको भनाइ छ। उनी भन्छिन्, ‘इदमा पहिलादेखि नै चलिआएको लुगा लगाइन्छ। खानेकुरा तथा रितिथितिमा पनि खास परिवर्तन छैन। तर, अन्य धर्म मान्ने समुदायसँगको सम्बन्ध, सम्मानको भावनामा सकारात्मक परिवर्तन आएको छ, जुन एकदमै राम्रो पक्ष हो।’

इस्लाम धर्मले पहिरनको कुनै स्वरूप नदिएको तर घाँटीबाट खुट्टासम्म पर्दा राख्नु पर्ने बताउँछन्, खुर्सिद अलाम इस्लाही। मुस्लिम धर्मावलम्बीले लगाउने पहिरनले धार्मिकभन्दा पनि स्वास्थ्यको हिसावले फाइदा हुने उनी बताउँछन्। उनी भन्छन्, ‘घाँटीदेखि खुट्टा छोप्दा सभ्य देखिन्छ। यही नै लगाउनु पर्छ भन्ने नभए पनि यो सजिलो र सभ्य पहिरन रोजिएको हो।’ आलिम र अन्य समुदायले लगाउने पहिरनमा फरक रहेको उनी बताउँछन्।

इस्लाम धर्मावलम्बीको ५ पिलरमध्ये रोजा मुख्य रहेको उनको भनाइ छ। उनका अनुसार इमान पहिलो पिलर हो। उनी भन्छन्, ‘इमानमा हामीले अल्लाहलाई मात्र मान्छौं, अल्लाहबाहेक मेरो कोही छैन भनेर मान्नु नै इमान हो।’ यस्तै, नमाज दोस्रो, जकाद तेस्रो, रोजा चौथो र फित्र्रा पाँचै पिलर रहेको उनी बताउँछन्।

रोजा वर्षमा एकपटक अल्लाहको नाममा बसिने व्रत रहेको बताउँछिन्, इस्लामिक संघ नेपालकी सदस्य सेंहेनाज बानु। मानवीय सद्भावना र आपसी सहयोगको भावना जगाउने उनी बताउँछिन्। उनी भन्छिन्, ‘रोजा बस्नु भनेको आत्मा शुद्धीकरण गर्नु हो, जसरी शरीर सफा र शुद्ध गर्न नुहाउँछौ, त्यसरी नै आत्म शुद्ध गर्न वर्षको एकपटक रोजा बस्छौ।’

रोजाले गरिब–धनी, महिला–पुरुष बीचको खाडल पूरा गर्ने उनी बताउँछिन्। रोजाले सबैलाई न्याय गर्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘रोजाले कसैमाथि भेदभाव वा असमान व्यवहार गर्दैन, कसैको लागि कोही बसेर धर्म कमाइन्छ भन्ने हुँदैन, आफनो लागि आफै रोजा बस्नु पर्छ, रोजा आफ्नो लागि बसे पनि सबैको लागि सुख र खुसीको दुवा माग्छौं।’ धर्मप्रतिको श्रद्धाले रोजा बस्ने भएकाले अनिवार्य जस्तो फित्र्रा दिने चलन रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘शारीरिक अवस्था कमजोर भएका, गर्भवती महिला, वृद्ध, महिनावारी भएका महिलालाई र जटिल रोगको औषधि खाने बिरामीलाई रोजा बस्नै पर्छ भन्ने अनिवार्य भने हुँदैन।’

३० दिनको रोजापछि इद मनाउने तयारीमा जुट्ने उनी बताउँछिन्। ‘त्यसपछि इदको लागि मिठो पकवान पकाउने तथा नयाँ पहिरन किन्ने चाजो मिलाउन व्यस्त भइन्छ,’ उनले भनिन्। इदका अवसरमा गरिब तथा पिछडिएका समुदायलाई सहयोग गर्ने उनी बताउँछिन्। ‘अहिले प्रत्येक सदस्यका नाममा १५० रूपैयाँ दिने नियम बनाएका छौं। ताकि कोही पनि भोकै–प्यासै नबसोस्,’ उनी भन्छिन्।

इदमा गरारा र सराराको कुर्ताको ट्रेन चलेको उनी बताउँछिन्। तर, यही पहिरन नै लगाउनुपर्छ भन्ने नरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘मुस्लिम समुदायका लागि यही पहिरन लगाउनु पर्छ भन्ने छैन। तर,  शरीर पूरै ढाकिने र सुरक्षित हुने खालका पहिरन लगाउनुपर्ने हुन्छ।’ शरीरको आकार नछुट्टिने पहिरन लगाउनुपर्ने उनी बताउँछिन्।

इदमा विभिन्न परिकार बनाउन व्यस्त हुने बताउँछिन्, इस्लामिक संघ नेपालकी सदस्य मजिदा बेगम। पाहुनाका लागि विभिन्न पकवान् र उपहारको जोहो गरिसकेको उनले बताइन्। यस्तै, इदमा एक–अर्काको घरमा पाहुना जान भ्याइनभ्याइ हुने उनी बताउँछिन्। ‘इदमा हातमा नयाँ पहिरन, मेहेन्दी लगाएर दिदीबहिनीसँग रमाइलो गर्छाैं,’ उनले सुनाइन्।

उनी घरबाहिर निस्कदा भने नकाब (बुर्का) लगाउँछन्। यसले आफूलाई सुरक्षित महसुस गर्ने उनको भनाइ छ। ‘नकाबले प्रदूषणबाट मात्र होइन, मानिसको ‘मनको प्रदूषण’बाट जोगाउँछ,’ उनले भनिन्।

प्रकाशित: १८ जेष्ठ २०७६ ०२:३६ शनिबार

इद नमाज सामाजिक_परिवर्तन