अन्य

आठ वर्षमा ३ लाख कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ सालदेखि मादक पदार्थ सेवन (मापसे) गर्ने  चालकविरुद्ध कारवाहीको अभियान थाल्यो। २०६८ सालदेखि महाशाखाले हालसम्म ३४ ट्राफिक नियम लागू ग-यो। तर, लागू गरेकामध्ये सबैभन्दा प्रभावकारी भने मापसे जाँच नै देखिन्छ।

मापसे गरेर सवारी चलाउनेविरुद्ध उक्त अभियान जनस्तरबाट पनि वाहीवाही पाएको छ। मापसे विरुद्धको अभियान थालेको ८ वर्ष भइसक्यो। सो अवधिमा हालसम्म काठमाडौं उपत्यकामा मात्रै ३ लाख १३ हजार १ सय ७ जना कारवाहीमा परेका छन्। मापसे गरेर कारवाहीमा पर्ने पुरुष चालकको संख्या ३ लाख ११ हजार ४ सय ५१ छन्। मापसे गरेर कारवाहीमा पर्ने महिला चालकको संख्या एक हजार ६ सय ५६ रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाका जनचेतनाकै कारणले मापसे गर्ने चालकको संख्या दिनानुदिन घटिरहेको बताउँछन्। ‘विगतको तुलनामा मापसे गर्ने चालकको संख्यामा कमी आएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘अहिले चेकिङको डर, मापसे कक्षा लिनुपर्ने मनोवैज्ञानिक त्रासको कारणले पनि मापसे गर्ने चालकको संख्यामा कमी आइरहेको छ।’

प्रवक्ता सापकोटाका अनुसार मापसे गर्ने चालकको सवारीचालक अनुमतिपत्रमा प्वाल पार्ने कारणले पनि मापसे गरेर सवारीचालक चालक हिच्किचाउन थालेका छन्। महाशाखाका अनुसार ट्राफिक प्रहरीले बेलुका ७ बजेदेखि रातको १ बजेसम्म चार सिफ्टमा मापसे जाँच गरिरहेको छ।

गणेशराज राईले महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेसँगै २०६८ मंसिर १७ गतेदेखि मापसे कारवाही अभियान सुरुवात गरेका थिए। ‘काठमाडौं  उपत्यकामा मापसे गरेर दिनहुँजस्तो दुर्घटना हुन्थ्यो। दुर्घटनामा परेर दिनहुँजसो सवारीचालक मर्थे,’ एआइजी गणेशराज राई विगत स्मरण गर्दै भने, ‘त्यो बेला मान्छे नमरेको दिनै हुँदैन्थ्यो। दुर्घटनामा परेर अंगभंग हुनेको संख्या पनि धेरै हुन्थ्यो। त्यसैले मान्छेको ज्यान जोगाउनकै लागि मापसे अभियान सुरुवात गरेको थियौं।’

उनका अनुसार त्यो बेला दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति थियो। त्यसैलाई न्यूनीकरण गर्नको लागि अभियान सञ्चालन गरेका थियौं। ‘सुरुवाती चरणमा मापसे गर्नेलाई कडाइपूर्वक कार्यान्वयन गरेकाले नै प्रभावकारी बनेको हो,’ एआइजी राईले भने, ‘मापसे कारवाही प्रभावकारी भएसँगै दुर्घटनामा परेर ज्यान जाने र अगंभंग हुनेको संख्यामा पनि कमी आएको छ।’

एआइजी राई मापसे कारवाहीलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने बताउँछन्। ‘अहिले मापसे कारवाही हाकिमको मुडअनुसार चल्ने गरेको छ,’ उनले भने, ‘हाकिमको मुड अनुसारभन्दा पनि कडाइपूर्वक कार्यान्वयन गर्दै जानुपर्ने बेला भइसक्यो।’

उनका अनुसार मापसे जाँच मुख्य सहरमा मात्रै नभएर देशभर नै कार्यान्वयन गर्न आवश्यक छ। महाशाखाले मापसे गर्ने चालकलाई एक हजार रुपैयाँ जरिवाना तिराउँदै आएको छ। मापसे गरेर सवारी चलाए एक हजार रूपैयाँ जरिवाना र मापसे विरुद्धको कक्षा लिनुपर्ने प्रावधान छ। महाशाखाले मापसे गर्ने चालकबाट ३१ करोड ३१ लाख ७ हजार रूपैयाँ राजश्व संकलन गरेको जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:४२ शनिबार

ट्राफिक_प्रहरी मापसे महानगरीय_ट्राफिक_प्रहरी