अन्य

११ औं शताब्दीमा लेखिएको ‘नागरसर्वस्व’ ग्रन्थ नेपालभाषामा

११ औं शताब्दीमा पद्मश्रीले संस्कृत भाषा लेखेको ‘नागरसर्वस्व’ ग्रन्थलाई दर्शनवीर शाक्यले नेपालभाषामा प्रकाशन गरेका छन्। लेखक शाक्यले ७ महिना लगाएर पुस्तक तयार पारेको पुस्तक इलोहँ प्रकाशनले बजारमा ल्याएको हो।

‘११ औं शताब्दीमा पद्यश्रीले लेखेको नागरसर्वस्व ग्रन्थ अझै पनि उत्तिकै व्यावहारिक र ज्ञानमूलक भएकाले नेपाल भाषामा सरलीकृत गरेर प्रकाशनमा ल्याएको हुुँ,’ लेखक शाक्यले भने, ‘उक्त ग्रन्थमा नगरमा हुनुपर्ने सम्पूर्ण विषयलाई मिहिन ढंगले समावेश गरिएको छ। उक्त पुस्तक नयाँ पुस्ताको लागि निकै उपयोगी देखिन्छ।’

पद्यश्रीले ११ औं शताब्दीमा लेखेको ‘नागरसर्वस्व’ ग्रन्थलाई १७ औं शताब्दीमा जगज्योतिले  संस्कृत श्लोकलाई नेपाल भाषामा टिप्पणी लेखेका थिए। पुस्तकको मूल लेखक पद्यश्री हुन्।

लेखक शाक्यका अनुसार उक्त पुस्तकमा कामशास्त्र, सौन्दर्यशास्त्र, घर तथा शरीर सजावटका विविध विषयलाई रोचक ढंगले लेखिएको छ। लेखक शाक्यले नेपालभाषा स्नात्तकोतरको पाठ्यक्रम अभिलेख विज्ञान अन्तर्गत १७ औं शताब्दीको सो ग्रन्थलाई आफ्नो विषय बनाएका थिए र नेपालभाषा केन्द्रीय विभागको अनुमतिमा सो पुस्तक प्रकाशन गरेका हुन्।

उक्त पुस्तकको मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ। भक्तपुरका राजा जगज्योति मल्लले (७२६–७५६ नेपाल संवत)ले नेपाल संवत ७५० मा पाटनका राजा सिद्धिनरसिंह मल्ललाई (नेसं ७३९–७७८) लाई ‘नागरसर्वस्व’ ग्रन्थ उपहार दिएका थिए। जगज्योति मल्लले संस्कृत ग्रन्थ नागरसर्वस्वको नेपालभाषामा टिप्पणी लेखेका थिए। जगज्योति मल्लका पालामा लेखिएका नागरसर्वस्वका मात्रै थुप्रै लिपियान्तर गरिएका ग्रन्थ राष्ट्रिय अभिलेखालयमा अझै पनि सुरक्षित छन्। विभिन्न विद्धानले ‘नागरसर्वस्व’ ग्रन्थ  फरक–फरक कालखण्डमा लेखिएको दाबी गरेका छन्। ‘आठौं शताब्दीदेखि १४औं शताब्दीका बौद्ध पण्डित हुन् भनी सिग्मण्ड लिनहार्डले भनेका छन्,’ लेखक शाक्यले भने, ‘तर, अर्का विद्धान डा. अमल साहिब पाठकले सन् २०१४ मा प्रकाशित उनको पुस्तक नागरसर्वस्वमा भने पद्मश्री ११ औं शताब्दीका हुन् भनेका छन्।’

पद्मश्री बौद्ध विद्वानका साथै बौद्ध भिक्षु वा बज्राचार्य हुनुपर्ने सिग्मण्ड लिनहार्डको भनाइ  छ। लेखका शाक्यका अनुसार उक्त ग्रन्थमा धेरै कुरा बौद्ध धर्मसँगको सम्बन्धलाई इंगित गरिएको छ, जस्तैः प्रथम अध्यायमा नै मंगलाचरणमा बौद्धका देव मञ्जुश्रीलाई कामदेवका रूपमा स्तुति गरिएको छ, पुत्र प्राप्तिका निम्ति ताराको पूजा र मन्त्र पाठ एवं भिक्षुलाई भोजन दान गर्नु पर्ने प्रसंग छन्।

तर, पद्मश्री बौद्ध धर्म अनुयायी देखिए पनि यस ग्रन्थका धेरै कुरा बुद्धधर्मको मूलभूत सिद्धान्तविपरीत रहेको छ। यस ग्रन्थमा स्त्रीको कामवासना पूरा गर्नु नै लोकोपकार भनिएको छ, जबकी बुद्ध धर्ममा कामवासना एक त्याग्य वस्तुको रूपमा राखिएको छ। बुद्ध धर्ममा पञ्चशीलको प्राथनामा व्यभिचार गर्नु हुन्न भन्ने शील रहेको छ। तर, यस ग्रन्थमा अरुलाई वशमा पार्ने मोहनी लगाउने, कस्ता कस्ता स्त्रीलाई वशमा राख्न सकिने कस्तालाई नसकिने कसरी फकाउने इत्यादि कुरा सिकाइएको छ।

यस विषयमा सन् १९२९ मा प्रकाशित नागरसर्वस्वका अनुवादक राजधर झाले उनी बौद्ध भिक्षु भएका कारण लोकउपकारका निम्ति लेखेका हुन् र सबै कुरा तत्कालीन लोकहितमा रहेको कुरा राखेका छन्। नागरसर्वस्व ग्रन्थका बारेमा भन्नु पर्दा यस ग्रन्थमा नगरमा बस्ने व्यक्तिसँग कस्तो सीप हुनुपर्छ भनी वर्णन गरिएको ग्रन्थ हो। स्वयंम् पद्मश्रीद्वारा यस ग्रन्थमा विभिन्न ग्रन्थका मूल सार समुन्द्रमा मोती चुनेझैं ज्ञानका कुरा चुनेर राखेका भनेका छन्। अरु कामशास्त्रभन्दा धेरै फरक र फराकिलो ज्ञानको दायराअन्तर्गत यसमा ग्रहदशा शान्त गर्न रत्न धारणा, स्त्री र पुरुषबीचको गोप्य संवाद, औषधीशास्त्र, गन्धको महŒव लगायत विषय पनि समावेश छन्।

प्रकाशित: ६ जेष्ठ २०७६ ०८:०१ सोमबार

नागरसर्वस्व दर्शनवीर_शाक्य नेपालभाषा