अन्य

पोटरी स्क्वायरको पहिचान मेटिँदै

कुनै बेला पोटरी स्क्वायरमा कुमाले समुदायका मानिसले माटोका भाँडा बनारहेका देखिन्थे। जताततै माटोका भाँडा राखिएका हुन्थे। तर, आजभोलि यस्तो दृश्य देखिँदैन।

माटोका भाँडा बनाउने ठाउँ भएकाले नै यसलाई पोटरी स्क्वायर भनिएको हो। स्थानीय सुनिल प्रजापति पहिले यसलाई कुम टो (नेपालीमा कुमालेको टोल) भन्ने चलन रहेको बताउँछन्। उनका अनुसार अहिले यस ठाउँमा कमैले मात्रै माटोका भाँडा बनाउँछन्।

माटो अभाव भएकाले भाडा बनाउने घटिरहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार पहिले कालो तथा लस्सादार माटोको भाँडा बनाइन्थ्यो। अहिले त्यो माटोको अभाव छ।

उनी यो काममा युवालाई जागरुक बनाउने योजना रहेको बताउँछन्। ‘माटो अभावले युवाहरू यो पेशामा लाग्न सकेका छैनन्,’ उनले भने।

पोटरी स्क्वायर भक्तपुर नगरपालिका वडा नं ४ मा पर्छ। वडाअध्यक्ष कुमार चवालले पोटरी स्क्वायरको पहिचान मेटिन लागेकोमा चिन्ता व्यक्त गरे। ‘त्यसकारण यहाँ विदेशी पनि कम समय बिताउँछन्,’ उनले भने।

उनका अनुसार पहिला हातले माटोको भाडा बनाउने चलन थियो। त्यतिबेला यहाँ आउने विदेशी अचम्म मानेर हेर्थे। तर अहिले त्यस्तो छैन।

आजभोलि मेसिन लगाएर भाँडा बनाइने भएकाले विदेशीले पनि रुचि नदेखाउने उनी बताउँछन्। त्यसकारण यो क्षेत्रको जगेर्ना गर्न आवश्यक रहेको उनको भनाइ छ। यसका लागि नगरपालिका मात्र होइन, सरकारले नै ध्यान दिनुपर्ने उनले बताए। नत्र यहाँको अस्तित्व मेटिने उनको भनाइ छ।

कुमालेहरू यो पेशालाई जोगाउन जग्गा प्लटिङ रोक्नुपर्ने बताउँछन्। स्थानीय रामप्रसाद प्रजापति  माटोको भाँडा लोप हुने अवस्थाम पुग्नुमा माटो अभाव मुख्य कारण भए पनि अन्य कारण पनि रहेको बताउँछन्।

भक्तपुर नगरको ब्रोसरमा भक्तपुरमा घुम्नै पर्ने सम्पदाको सूचीमा ९ पोटरी स्क्वायर पनि छ। पोटरी स्क्वायर प्रजापति समुदाय बस्ने टोल हो। यहाँ प्रजापतिको बसोबास भएकाले यसलाई कुमाले टोल पनि भनिन्छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:५६ शुक्रबार

पोटरी_स्क्वायर पहिचान संस्कृति