अन्य

जति चौडा सडक, उति नै दुर्घटना

  • गत चैत २७ गते एकान्तकुनाबाट सातदोबाटोतर्फ आउदै गएको बा१३च ४१०५ नम्बरको पिक अप भ्यानको ठक्करले थलीखेलमा तनहुँ स्थायी घर घएका पैदलयात्री डोलराज रेग्मीको ज्यान गएको छ। ट्राफिक प्रहरीले सवारीचालक प्रकाश थापालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको जनाएको छ।
  • गत फागुन २२ गते सानेपास्थित नयाँबाटो सडक खण्डमा नख्खुबाट बल्खु जाँदै गरेको बा९६प ३२७ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रु गम्भीर घाइते भएका थिए। उपचारको क्रममा पैदलयात्रुको स्टार हस्पिटलमा ज्यान गएको छ। ट्राफिक प्रहरीले सवारीचालकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको जनाएको छ।

कोटेश्वर–कंलकी ६ लेनको फराकिलो सडक तयार भएपछि भएका केही प्रतिनिधिमुलक दुर्घटना हुन् यी। जहाँ बाटो काट्ने क्रममा रहेका पैदलयात्रुलाई सवारीसाधनको ठक्करले ज्यान गुमाएका छन्। पछिल्लो समय उपत्यकामा सडक फराकिला बनाएसँगै दुर्घटनामा उच्च वृद्धि भएको छ।

सडक चौडा भएसँगै सडकलाई व्यवस्थित नगर्दा पैदलयात्रु असुरक्षित बनेका छन्। चालकले सवारीसाधन तीव्र रूपमा गुडाउने र पैदलयात्रुले जथाभावी बाटो काट्दा फराकिला सडकमा धेरैको ज्यान जाने गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको गत साउनदेखि माघसम्मको तथ्यांकअनुसार फराकिला सडकमै सबैभन्दा धेरै सवारी दुर्घटना भएको छ।

यो क्रम बढेको महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक महाशाखाले गत साउनदेखि माघ मसान्तसम्म तयार पारेको ब्याल्क स्पट (अत्याधिक दुर्घटना हुने स्थानमा) फराकिला  सडक नै रहेका छन्। महानगरीय ट्राफिक महाशाखाले जडीबुटी, ग्वार्काे, बसुन्धरा, ढुङ्गेअड्डा, सिनामंगलचोक, धुम्बाराही, सामाखुसी, सीतापाइला, धोबीघाट, बाफल, सातदोबाटो, बबरमहल, सतुंगल, मनोहरापुल गोपीकृष्ण ,ठिमी ,सोल्टीमोड, सूर्यविनायक लगायतका खण्डमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुने गरेका छन्।

महाशाखा प्रवक्ता जयराम सापकोटाले ठूला सवारी दुर्घटना चालकको लापरवाही, तीव्र गति, ओभरलोड र यान्त्रिक गडबडीका कारण हुने गरेको बताए। तीव्र गति, मादक पदार्थ सेवन (मापसे), अनावश्यक ओभरटेकको प्रयास, ओराला र घुमाउरा सडक, लेन अनुशासन अवज्ञा र यान्त्रिक गडबडीलगायतले पनि दुर्घटना बढेको छ। ‘फराकिला सडकमा तीव्र गतिकै कारणले धेरै दुर्घटना हुने गर्छ,’ उनले भने, ‘चालक र पैदलयात्रु दुवै सचेत नहुँदा अधिकांश दुर्घटना हुने गरेका छन्।’

यसैगरी तीव्र गति, मादक पदार्थ सेवन (मापसे), अनावश्यक ओभर टेकको प्रयास, ओराला र घुमाउरा सडक, लेन अनुशासनको अवज्ञा र यान्त्रिक गडबडी लगायतले पनि दुर्घटना बढेको उनले बताए।

पैदलयात्रुले जथाभावी बाटो काट्नेलगायत कारण पनि सवारी दुर्घटना हुने गरेको छ।

ट्राफिक इन्जिनियर आशिष गजुरेल उपत्यकामा चल्ने सवारी–चालक र सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दा धेरै दुर्घटना हुने गरेको बताउँछन्। ‘हाम्रोमा न सवारीचालकले सडक अनुशासन पालन गर्छन्, न त पैदलयात्रुले ट्राफिक नियम पालना गर्छन्,’ उनले भने, ‘त्यसले गम्भीर प्रकृतिका दुर्घटना हुने गरेका हुन्, सडक चौडा भएसँगै सवारीसाधन तीव्र गतिमा हुइँक्याउने चलन बढेको छ।’

गजुरेलका अनुसार सहरी सडकमा तीव्र रूपले सवारी चलाउँदा सवारी दुर्घटना हुने दर बढेको हो। ‘सहरी सडकमा प्रतिघन्टा ४० किलोमिटरमा सवारी गुडाउनुपर्छ, हाम्रोमा सडक खाली देख्नेबित्तिकै प्रतिघन्टा ७० किलोमिटरभन्दा बढी गतिमा गुडाउने चलन छ,’ उनले भने, ‘गति कन्ट्रोलदेखि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको छ।’

महाशाखाका अनुसार गत साउनदेखि चैतसम्म उपत्यकामा ६ हजार २ सय ८२ वटा सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा एक सय ९२ जनाले ज्यान गुमाए भने दुई सय ३३ गम्भीर घाइते भए। त्यस्तै, चार हजार दुई सय ९७ सामान्य घाइते भएका थिए।

उनले भने, ‘सहरी सडकमा प्रतिघन्टा ४० किलोमिटरमा सवारी गुडाउनुपर्छ, हाम्रोमा सडक खाली देख्नेबित्तिकै प्रतिघन्टा ७० किलोमिटर भन्दा बढी गतिमा गुडाउने चलन छ।’

सडकको खराब अवस्था र सवारीसाधनको अत्यधिक चापले दुर्घटना निम्त्याउने गरेको प्रवक्ता सापकोटा बताउँछन्। सहरी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित छड्के, चेकजाँच, अनुमतिपत्र वितरणमा कडाइ, सवारीचालक तथा पैदलयात्रुलाई जनचेतना, बढी दुर्घटना हुने स्थानमा चेकिङ, रातको समयमा सडक लेन छुट्ट्याउने बत्ती राख्नेलगायत योजना अघि बढाइएको महाशाखाले जनाएको छ।

कोटेश्वर–कलंकी सडकमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन्। उक्त सवारी दुर्घटनामा ११ सय ७० वटा सवारीसाधन संलग्न थिए।

उपत्यकामा बढी दुर्घटना हुने स्थान (साउनदेखि माघमसान्तसम्म)। स्रोतः महानगरीय ट्राफिक प्रहरी महाशाखा।

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:१९ शुक्रबार

सडक_विस्तार पैदलयात्रु दुर्घटना