अन्य

बेनुगोपाल मन्दिर पुननिंर्माणलाई महानगरको ५० लाख रूपैयाँ अनुदान

काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

मेयर शाक्यले महानगरले ऐतिहासिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्ने बताए। ‘काठमाडौं ऐतिहासिक सम्पदाले भरिभराउ सहर हो। त्यसैले महानगरले ऐतिहासिक सम्पदा संरक्षणमा कुनै कसर बाँकी राख्दैन,’ उनले भने, ‘खुला ठाउँमा नयाँ मन्दिर बनाउन दिदैनौं। तर, पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने नीति लिएका छौं।’

मेयर शाक्यले महानगरलाई समृद्धि बनाउने योजना  र सोच भए महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे। ‘महानगरको समृद्धिका लागि तपाईंसँग केही योजना र सोच छन् भने लिएर आउनुस्। हामी जुनसुकै हालतमा पनि सहयोग गर्न तयार छौं,’ मेयर शाक्यले भने।

मेयर शाक्यले आर्थिक वर्ष २०७६÷०७७ का लागि स्थानीय विकास योजना वडामा टिपाउन अनुरोध गरे। काठमाडौं महानगरपालिका वडा नं  २९ का वडा अध्यक्ष कुश ढकालले वडाले सामाजिक सद्भाव बढाउने खालका गतिविधि गर्दै आएको बताए। ‘सामाजिक कार्यमा वडावासीको सक्रिय सहभागिता अनिवार्य देखिन्छ,’ उनले भने, ‘त्यसैले हरेक गतिविधिमा सक्रियपूर्वक सहभागिता जनाउन जरुरी छ।’

२ हजार १ सय ३४ वर्गमिटर क्षेत्रमा निर्माण भइरहेको मन्दिरमा भूकम्प प्रतिरोधी प्रविधिको उपयोग गरिएको छ।  मन्दिर निर्माण सम्पन्न गर्न करिव २३ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। गुरुकुल, गौशाला, पण्डाल, ज्येष्ठ नागरिकको आश्रयस्थल तयार हुनेछ। यस लगानीमा दुई करोड २५ लाख रूपैयाँ भक्तले दिएको दानबाट संकलन भइसकेको छ। यसका लागि प्रदेश सभाका सदस्य दीपेन्द्र श्रेष्ठले ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। त्यस्तै, मन्दिर निर्माण समितिका अध्यक्ष शिवराम राजवंशीले तीन लाख रूपैयाँ, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टंक श्रेष्ठले एक लाख रूपैयाँ प्रदान गर्ने भएका छन्।

शनिबार आयोजना गरिएको चेक हस्तान्तरणका कार्यक्रममा स्थानीय कृष्णगोपाल राजवंशीले २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए। त्यसैगरी, प्रभातमणि (प्रवीण) ओझाले २५ हजार रूपैयाँ उपलब्ध गराएको  समितिका अध्यक्ष राजवंशीले  जानकारी दिए।

‘यसमा दाताको सहयोग थप गरेर समयमा नै निर्माण कार्य पूरा गराइनेछ,’ उनले भने, ‘दाताबाट सहयोग बढ्न थालेपछि काम पूरा गर्न आँट पलाएको छ।’

स्थानीय रामदेवी श्रेष्ठले भगवानका नाममा उपलब्ध गराएको जग्गामा २०३४ सालमा यो मन्दिर निर्माण गराइएको हो। बैष्णव यस मन्दिरमा पूजाआजा र प्रवेशका लागि कसैलाई पनि निषेध गरिएको छैन। मैतीदेवी चोकैमा रहेको मन्दिरको पूरा नाम शंखचक्रधारी श्री बेणीगोपाल मन्दिर हो।

कार्यक्रममा पूर्वमन्त्री हरिप्रसाद न्यौपानेले सत्संगका लागि गरिएको लगानीले सामाजिक सद्भाव कायम हुने धारणा व्यक्त गरे।

ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष एवं कलाकार मदनदास श्रेष्ठले मन्दिर निर्माण गर्दा नेपालीपनमा ख्याल गर्नुपर्ने सुझाव दिए। सामुदायिक प्रहरी सेवाका अध्यक्ष टंक श्रेष्ठले मन्दिर निर्माणको विषयलाई स्थानीय टोलवासीलाई पनि सहभागी गराउनु पर्ने धारणा व्यक्त गरे।

प्रकाशित: ३० वैशाख २०७६ १०:५२ सोमबार

पुनर्निर्माण काठमाडौं_महानगरपालिका बेनुगोपाल_मन्दिर विद्यासुन्दर_शाक्य