राजधानीको आठ चोकमा जेठको पहिलो सातादेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइने भएको छ। सिंहदरबार, पद्मोदय मोड, कालीमाटी, पुरानो बानेश्वर, तीनकुने, बागबजार, मित्रपार्क, गौशाला चोकमा अत्याधुनिक ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ।
प्रिजिल कन्स्ट्रक्सनका अनुुसार अहिले आठै वटै स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ।
सडक विभागअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले जेठ पहिलो सातादेखि आठ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइने बताए। ‘आठ स्थानमा ट्राफिक लाइट जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आगामी जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याइनेछ।’
प्रमुख बाराहीका अनुसार जडान गर्न लागिएको ट्राफिक लाइट नेपाली प्रविधिमा आधारित भएको बताए। ‘ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘रिमोट सिस्टमबाट सञ्चालन गरिनेछ।’
ट्राफिक लाइट जडान कार्यको सबकन्ट्राक्टर यार्सा टेक्नोलोजीका सञ्चालक रामचन्द्र खड्काले आठै स्थानमा ट्राफिक लाइट जडान सम्पन्न भइसकेको दाबी गरे। ‘आठ चोकमा ट्राफिक लाइट जडान गरिसक्यौं। अहिले परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘सम्भवतः जेठ १ गतेदेखि काठमाडौंको आठ स्थानमा १२ ट्राफिक लाइट सञ्चालनमा ल्याउनेछौं।’
गत चार महिनाअघि राजधानीको आठ ठाउँमा ट्राफिक लाइट जडान गर्ने ठेक्का प्रिजिल कन्स्ट्रक्सनले पाएको थियो। सडक विभाग र कन्स्ट्रक्सनबीच गत पुस १२ गते सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार चार महिनामा जडान गर्नुपर्ने थियो। सोही अनुसार नै जडान कार्य अघि बढेको छ।
यार्सा टेक्नोलोजीका सञ्चालक खड्काले ट्राफिक लाइट जडान गरेसँगै राजधानीको जाममा कमी आउने बताए। ‘अत्याधुनिक प्रविधिमा आधारित ट्राफिक लाइट जडान गरेका छौं,’ उनले भने, ‘यो सञ्चालनमा आएसँगै धेरै हदसम्म जाम कम हुने अपेक्षा गरेका छौं।’
आठ चोकमा ट्राफिक बत्ती जडान गर्नका लागि भ्याटबाहेक ९७ लाख ५० हजार रूपैयाँमा ठेक्का लगाइएको हो।
प्रमुख बाराहीका अनुसार राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपी सवारी हुँदा, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चोकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्नसक्ने व्यवस्था मिलाइएको छ। ट्राफिक बत्ती पाँच वर्षसम्म सञ्चालन गर्न सकिने छ। ‘ट्राफिक बत्ती अटोमेटिक तथा रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न सकिने बनाएका छौं,’ प्रमुख बाराहीले भने, ‘ट्राफिक लाइट बनेसँगै ट्राफिक जामको अन्त्य हुनेछ।’
प्रकाशित: ३० वैशाख २०७६ १०:४१ सोमबार