अन्य

जनता जाग्छन्, सुन्दैन सरकार

चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिले गत बुधबार र बिहीबार चावहिल–साँखु सडकखण्ड मर्मतको माग गर्दै आन्दोलनमा उत्रिए। चार वर्षसम्म हिलाम्मे र धुलाम्मे सडकबाट आजित भएर कालोपत्रे गर भन्दै  सडक नै ठप्प पारेर आन्दोलनमा होमिएका थिए।

सडक जीर्ण भएर दुर्घटनाको जोखिम बढेको भन्दै आइतबार ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत पर्ने ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्ड स्थानीयले दिनभर बन्द गरे। उनीहरूले नगरपालिकासमक्ष सडक सुधारको माग राख्दै दिनभर प्रर्दशन गरे। 

दुई दिनको फरकमा उपत्यकाका ठूला दुई सडक कालोपत्रे माग राख्दै स्थानीयले गरेको आन्दोलनका केही प्रतिनिधि घटना हुन् यी। उपत्यकाभित्र सडक सुधारको माग राख्दै स्थानीयले दिनहुँजसो प्रदर्शन र आन्दोलनका कार्यक्रम गर्न थालेका छन्। दैनिक कामकाजमा जानसमेत समस्या हुन थालेपछि स्थानीयले बाटो नै छेकेर सडक आन्दोलन गरे। तर, स्थानीयवासी पटकपटक सडकमा उत्रदा पनि सडकको अवस्था सुध्रने स्थिति छैन। जनताले दैनिक जीवनयापनमा भोग्नुपरेको सडक समस्याबारे सरकारी निकाय मौन छ। थोरै रकम र समय लगाएर बनाउन सकिने सानातिना सडक सुधारको काम समेत भएको छैन।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्ड अलपत्र अवस्थामा त्यसलाई सुधार गर्नुपर्ने माग राख्दै त्यस क्षेत्रका स्थानीयले आइतबार बिहानैदेखि उक्त सडकमा सवारी चलाउन रोक लगाएका थिए। स्थानीय र वडा अध्यक्षले गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा यातायात चलाउन रोक लगाएका हुन्।

उनीहरूले सडकका कारण अचाक्ली समस्या हुन थालेपछि यसरी प्रदर्शनमा उत्रनुपरेको बताए। ‘हामीले सडक बनाउनुप-यो भनेर माग राख्न थालेको एक वर्ष बितेको छ। तर, जिम्मेवार निकायले हाम्रो गुनासो सुनेन, त्यसैले सडकमा आयौं,’ चापागाउँका स्थानीय सरोज घिमिरेले भने, ‘हामीले धेरैपल्ट सडक मर्मत गर्न भन्दै यस्ता विरोधका कार्यक्रम ग-यौं। तर, जनप्रतिनिधिले सुनेनन्।’

उनले दक्षिण ललितपुरको लागि छुट्ने बसको स्टेसन पनि यही भएकाले बसपार्क पनि निकै अस्तव्यस्त भएको जानकारी दिए। उनका अनुसार स्थानीयको चाप र चहलपहल रहने हुने क्षेत्रको सडकमा जिम्मेवार निकायले कुनै चासो दिएको छैन।

माग सम्बोधन नभए सोमबारदेखि अनिश्चितकालीन बन्द गरिने सडक संघर्ष समितिले जनाएको छ। ‘एम्बुलेन्स, तरकारी बोकेका सावरीसाधन, दूध बोकेका ट्यांकर, स्कुलका गाडी र कक्षा ११ का विद्यार्थी बोकेको गाडीलाई चल्न दिएका छौं,’ संघर्ष समितिका संयोजक शेखर खनालले भने, ‘ठेचो–चापागाउँ सडकको अवस्था पहिलेदेखि नै नाजुक हो, खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे सडक सामना गर्दै आएका छौं, अति भएर बन्द गरेका हौं।’

उनका अनुसार स्थानीयको चाप र चहलपहल रहने हुने क्षेत्रको सडकमा जिम्मेवार निकायले कुनै चासो दिएको छैन। ठेकेदार कम्पनीले दुई वर्षअघिदेखि सडक मर्मत थाले पनि सडक विस्तारको काम अघि बढाएको छैन। कतिपय ठाउँमा ग्राभेल बिछ्याएर ठेकेदार बीचमै गायब भएको स्थानीयको आरोप छ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले माथिल्लो निकायले सडक मर्मतमा ध्यान नदिदा त्यसको गाली जनप्रतिनिधिले खानुपरेको बताए। ‘यो सडक हाम्रो मातहतमा छैन, हामी आउनु पहिले नै मर्मतको काम थालिएको थियो, बीचमा ठेकेदार भागे पनि सडक अलपत्र परेको सुनेको थिएँ, म आएपछि स्थानीयको गुनासोलाई सडकका अन्य निकायसमक्ष पु-याएको छु,’ उनले भने।

उनले डिभिजन सडक कार्यालयले सिन्को नभाच्दा त्यसको समस्या नगरपालिकामाथि आइलागेको बताए। ‘ठेकेदार कम्पनी र  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले  कामै नगरेपछि हामीलाई समस्या भएको छ, हामीले त सहजीकरण गरिदिने मात्रै, यसबारे पटक पटक कुरा उठाइसकेको छौं। तर, सडकका कर्मचारीले सुनेनन्,’ मेयर महर्जनले भने।

उनका अनुसार ठेकेदार भगीरथ तिम्लिसिना र देवी पौडेले काम छाडेर भागेपछि यसअघि सडक अलपत्र परेको थियो। अहिले पनि ठेकेदारले काम थालेका छैनन्। काठमाडौं उपत्यका  सडक विस्तार आयोजनाले ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक दुई खण्ड दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ सालमा ठेक्का लगाएको थियो। उक्त सडकखण्डको ठेक्का दिवा/शैलुङ जेभी र कन्टेक प्रालिले दुई खण्ड गरी पाएका थिए।

सम्झौता अनुसार उक्त सडक २०७५ कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्नुपथ्र्याे। तर, मुआब्जा विवाद र ठेकेदारको ढिलासुस्तीलेसडक निर्माण सम्पन्न हुन सकेको छैन। दिवा/शैलुङ जेभीले पहिलो खण्डको ३.२ किलोमिटर सडक कालापत्रे गर्ने जिम्मा पाएको थियो। त्यसैगरी कन्टेक प्रालिले ४ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

काठमाडौं  उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले स्थानीयबासीको अवरोधको कारणले सडक विस्तार अघि बढ्न नसकेको बताए। ‘स्थानीय जनताको अवरोधले सडक विस्तार अघि बढ्नै सकेको छैन,’ उनले भने, ‘अहिले त्यहाँका स्थानीयले ४–५ मिटर चौडा भएकै सडक कालोपत्रे गर भन्दै आन्दोलनमा उत्रिएका छन्। तर, मापदण्ड अनुसार सडक कालोपत्रे गर्न २० मिटर चौडा हुनुपर्छ।’ उनका अनुसार उक्त सडक खण्डमा बाक्लो बस्ती भएकाले सडक विस्तार गर्न नसकिएको हो।

दोस्रो खण्डमा ठेकेदार कम्पनी कन्टेक प्रालिले काम गर्न नसक्ने भन्दै आयोजनालाई ठेक्का तोड्नको लागि पत्र समेत पठाएको छ। चापागाउँ दोबाटोदेखि चापागाउँ बसपार्कसम्म करिब ५ किमी सडक अस्तव्यस्त छ। अन्य ठाउँमा चौडा पार्ने काम भए पनि चापागाउँ क्षेत्रमा भने मुआब्जा विवादका कारण चौडा पार्ने काम रोकिएको छ।

प्रकाशित: ३० वैशाख २०७६ १०:२९ सोमबार

सडक_संघर्ष_समिति चावहिल–साँखु_सडक