अन्य

सफाइ कर्मचारी धर्नामा

नगरपालिका परिसरमा धर्नामा बसेका सफाइ कर्मचारी। तस्बिरः कमलेश ठाकुर/नागरिक

धनुषा– जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी धर्नामा बसेका छन्। चार महिनादेखि तलब भुक्तानी नगरेको र दैनिक ज्यालादारीमा नराखी करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै सफाइ कर्मचारी नगरपालिका परिसरभित्र धर्नामा बसेका छन्।

विगतमा भएको सम्झौताअनुसार माग पूरा नभएको, तलब दिन नगरपालिकाले आलटाल गरेको र वास्तविक कर्मचारीभन्दा बढी संख्या देखाएर तलब भुक्तानी गरी आर्थिक भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरू नगरपालिकाविरुद्ध आइतबारदेखि धर्नामा बसेका हुन्।

(हमरो पारिवार आ बाल बच्चा अछि। तलब नहि देतै त कोना गुजारा चलतै) अर्थात् हाम्रो पनि परिवार र बच्चा छन्। तलब नदिए कसरी गुजारा चल्छ’, राजकुमार मेस्तरले भावुक भएर भने। चार महिनादेखि तलब नपाएको गुनासो गर्दै उनले थपे, ‘आम्दानीको स्रोत नै नगरपालिकाको जागिर मात्र छ। तर, यहाँ पनि चार महिनादेखि पैसा नपाउँदा छिमेकी, आफन्तसँग सापटी र ऋणको साहारा लिएर जसोतसो परिवार चलाउँदै आएको छु।’

अक्षर विद्या मन्दिर स्कुलबाट १२ हजारको जागिर छोडेर, करारमा नियुक्ति हुन्छ भन्ने आशाले नगरपालिकामा काम गर्न थालेका राजकुमार मेस्तरलाई समयमा तलब नपाउँदा अहिले पछुतो हुन्छ। राजकुमार एक उदाहरण पात्र मात्र हुन्। उपमहानगरपालिकाको सफाइ कर्मचारीको आम्दानीको स्रोत नै नगरपालिकाको जागिर हो। तर, चार महिनादेखि तलब नपाएपछि उनीहरूलाई पारिवार चलाउन सास्ती हुनुको साथै ऋणको साहारा लिनुपरेको छ। नगरपालिकाले विभिन्न आश्वासन दिए पनि समयमा पैसा नदिएको सफाइ कर्मचारीले गुनासो गरेका छन्।

सफाइ कर्मचारीको ज्यालामा भ्रष्टाचार
उपमहानगर क्षेत्रभित्र सफाइमा ५६ जना सफाइ कर्मचारी कार्यरत भए पनि ७५ जनाको नाममा कार्यालयले पैसा बाँडेर आर्थिक हिनामिना गरेको सफाइ कर्मचारीले आरोप लगाएका छन्। दैनिक ज्यालादारीमा ५६ जना वास्तविक कर्मचारी भए पनि बढी संख्यामा सफाइ कर्मचारी देखाएर नगरपालिकाले तलब वितरण गरेको उनीहरूले गुनासो गरेका छन्। नगरपालिकाले दैनिक ज्यालादारीमा राखेको वास्तविक सफाइ कर्मचारीको हाजिरी तलमाथि गरी कम गरिदिने गरेको र वास्तविक संख्याभन्दा बढीलाई रकम भुक्तानी गरेको उनीहरूले आरोप लगाएका छन्।

जनकपुरधाम उपमहानगरपालिका सफाइ शाखाका अधिकृत ललन कर्णका अनुसार स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरसभाबाट स्वीकृत भएका १ सय २५ सफाइ कर्मचारी रहेका छन्। सफाइ कर्मचारीमा भ्रष्टाचार नभएको भन्दै स्थायी ३७ र १२ जना सेवा करार गरी अन्य ७६ जना दैनिक ज्यालादारीमा कार्यरत रहेको अधिकृत कर्णले जनाए। ‘सफाइ कर्मचारीले लामो समयदेखि तलब नपाएका कारण र व्यक्तिगत रिसइबीका कारण आरोप लगाएका छन्,’  उनले भने, ‘यो शाखाबाट त्यस्तो केही हिनामिना भएको छैन।’

२०७५ माघ ९ गते संघीय सरकारबाट दैनिक ज्यालादारीमा कर्मचारी नराखी करारमा भर्ना गर्न पत्र आएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले त्यहीअनुसार कर्मचारी भर्ना गर्ने निर्णय गरेका थिए। केन्द्रको पत्र आएपछि माघ १० गतेसम्मका दैनिक ज्यालादारीमा रहेको सबै सफाइ कर्मचारीको प्रतिदिन ६ सयका दरले तलब दिएर तत्काल काममा नआउन बताइएको थियो। करारका लागि प्रक्रिया पूरा भएपछि पुनः काममा आउन अधिकृत ढुंगानाले बताएका थिए। तर, मेयर लालकिशोर साहले आफू मनोमानी पुनः सफाइ कर्मचारीलाई दैनिक ज्यालादारीमा नै काम गराउन थालेका थिए। प्रमुख प्रशासकीय अधिकृतको निर्णयअनुसार २० जना सफाइ कर्मचारी नागरिकता अभावजस्ता विभिन्न कारणले काममा नआएको कर्णको भनाइ छ।

उपमहानगरपालिकाले भने सफाइ कर्मचारीको सबै विवरण दिन आलटाल गरेको छ। सफाइ, सूचना, प्रशासन र लेखा शाखा कसैले पनि पूर्ण विवरण उपलब्ध गराएनन्। कर्मचारी बिदा र प्रकृयामा आएर सूचना लिनुस् लगायत बहाना देखाएर नगरपालिकाले विवरण लुकाउन खोजेको हो।

प्रकाशित: ३० वैशाख २०७६ ०७:५० सोमबार

जनकपुरधाम तलब सफाइ_कर्मचारी