अन्य

थेरवाद, महायान र बज्रयान

बसन्त महर्जन
बौद्ध धर्म एउटै हो, आफूलाई थेरवाद, महायान र बज्रयान भनेर परस्पर विभाजन गर्न नहुने धारणा बेलाबेलामा सुन्न पाइन्छ। यो धर्मको इतिहासमा कयौं समूह वा दार्शनिक सम्प्रदाय उदाएनन् मात्र, बिलाए पनि। हाल थेरवाद, महायान र बज्रयान भनी बेग्लाबेग्लै सम्प्रदायका रूपमा चिनाउनेहरू छन्।

तर यी तीन सम्प्रदायमध्ये एकले अर्कोको अस्तित्वमाथि ठाडै प्रश्न उठाउने, गम्भीर टिप्पणीका साथै लान्छना लगाउने मात्र गर्दैनन्, आत्मप्रशंसा पनि गर्ने गरेको पाइन्छ। यसलाई साम्प्रदायिक बुझाइ भन्न सकिन्छ। यसले बुद्ध र बौद्ध धर्मलाई बुझ्न मद्दत गर्दैन, न कसैलाई बुझाउनै केही मद्दत गर्न सक्छ। एउटा अमुक कुरालाई बुझ्न बहुआयामिक दृष्टिकोणको खाँचो पर्छ, र त्यति नै खाँचो हुन्छ जुन कुरा जस्तो छ त्यस्तै हेर्नु पनि।

हालै काठमाडौंस्थित धर्मकीर्ति विहारमा विद्याधरआचार्य महायोगी श्रीधर राणा रिम्पोेछे तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा हृदयरत्न बज्राचार्यलाई सम्मान गरिएको थियो। रिम्पोछे तिब्बती बौद्ध परम्परा (बज्रयान)को बौद्ध धर्मअन्तर्गत शाक्य सम्प्रदायसँग सम्वद्ध हुन् भने बज्राचार्य विशुद्ध प्राज्ञिक व्यक्ति र काठमाडौंको नेवार समाजमा प्रचलित बज्रयानी बौद्ध परम्परासँग सम्बद्ध।

तिब्बती बौद्ध धर्म भने पनि समग्रमा यो बज्रयानी बौद्ध धर्म नै हो। आयोजक संस्था थेरवादी बौद्ध सम्प्रदायसँग सम्बद्ध छ। सो अवसरमा विहारका प्रमुख अनागारिका धम्मावतीले आह्वान गरेको र मिडियाले समेत महत्वका साथ प्रचारमा ल्याएको कुराको औचित्यमाथि प्रश्न गर्नु पर्ने अवस्था छ। सम्बोधनका क्रममा धम्मावतीले थेरवाद, महायान र बज्रयान भनेर अलगअलग भएर बस्न नहुने र एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। 

नेपालमा धर्मोदय सभा नामको राष्ट्रिय बौद्ध संस्था छ। राणा कालमा थेरवादी बौद्ध भिक्षुहरुलाई देशनिकाला गरेपछि प्रतिक्रियास्वरूप भारतमा गठन गरिएको यो संस्था सुरुमा थेरवादसँग मात्रै सम्बन्धित थियो तर पछि सबै बौद्धको साझा बनाउने मनसायले संस्थागत स्वरुप परिवर्तन गरिएको छ। यसले बौद्ध सम्प्रदाय भनेर थेरवाद, महायान र बज्रयानलाई मात्र बुझेको छ र यी तीन सम्प्रदायबाट अध्यक्ष पदमा पालोपालो चयन गर्ने व्यवस्था छ।

त्यत्रो राष्ट्रिय संस्थाले यी तीन बौद्ध सम्प्रदायको दार्शनिक पृष्ठभूमिप्रति सचेत भएको नपाइनु ताज्जुबको कुरा रह्यो। महायानी बौद्ध सम्प्रदायतर्फबाट अध्यक्ष राख्ने बेलामा तिब्बती बौद्ध धर्मसम्बद्ध कुनै लामालाई ल्याउने गरिन्छ अर्थात् धर्मोदय सभाको नजरमा महायान भनेको तिब्बती परम्पराको बौद्ध धर्म हो। वास्तवमा तिब्बती परम्परा आफैमा बज्रयानी बौद्ध धर्म हो।

बज्रयान बेग्लै दार्शनिक सम्प्रदाय नभएर महायानभित्रकै एउटा शाखा वा विकसित रूप हो भन्नेमा हेक्का नराखेको दृष्टान्त यसबाट प्रष्ट हुन्छ। अर्थात्, बौद्ध दर्शनको इतिहासमा महायानी बौद्ध दर्शनका पछिल्ला होनहार आचार्यहरूले विकास गर्ने क्रममा थप पद्दति समावेश गरेर विकासको एउटा अर्को चरण थपेको हो तर दर्शनका हिसाबले त्यो कुनै नौलो नभएर महायानी बौद्ध दर्शन नै हो।

थेरवाद एउटालाई मात्र बौद्ध धर्म बुझ्ने र अरू जम्मैलाई विकृति ठान्नु सद्धर्मपुण्डरिकसूत्रले ‘बुद्धयान’को नाममा महायानलाई मात्र बौद्ध धर्म ठान्नुजस्तै हो। धम्मावतीले थेरवादमा नै महायानका कुरा समावेश गर्ने मनसाय व्यक्त गरेका होइनन्, र यस्तो निर्णय गर्ने ठाउँमा उनी छैनन् पनि।

श्रावकयान र प्रत्येक बुद्ध दुवैलाई हिनयान भनिन्छ र यसअन्तर्गत अनकौं सम्प्रदायको विकास भए पनि हाल थेरवाद एउटा मात्र बाँकी छ। यसबाट स्पष्ट हुन्छ, संसारमा बौद्ध धर्मको विकास र विस्तार जतिसुकै र जुन रूपमा भए पनि हिनयान र महायानभित्रै पर्दछन् र यी दुई यानको तात्विक भिन्नता मूल रूपमा बुद्धद्वारा देसित दर्शनअन्तर्गत रहे पनि साधकले अभ्यासका क्रममा अवलम्बन गरिने गन्तव्य वा इच्छित अपेक्षा मात्रै हो।

कुनै संस्था वा समूहको लक्ष्य एउटै भए पनि नेतृत्वको चाहना वा होडबाजीले गुटउपगुट सिर्जना तथा संस्थाकै विभाजनले लक्ष्य हासिल गर्न प्रतिकूल असर परेको देख्न पाइन्छ। यस्तो अवस्था ध्यानमा राखेर विभाजित नहोऔं वा एक ढिक्का भएर अघि बढौं भनेर आह्वान गर्ने प्रचलन पाइन्छ। तर बौद्ध धर्मदर्शनको विकास र विभिन्न सम्प्रदाय त्यस रूपमा देखा परेका होइनन्। बुद्धद्वारा देशित उपदेशको भाष्यमा भिन्नता आएर यस्तो भएको पनि होइन। बौद्ध धर्मदर्शनका अनेक पक्ष रहेको र व्यक्ति वा समूहले इच्छा, गच्छे र सुविधाअनुसार कुनै एउटामा ‘फोकस्ड’ भएर साधना गर्ने गरेको पाइन्छ। त्यस क्रममा विभिन्न सम्प्रदाय वा उपसम्प्रदाय देखा पर्नुलाई अन्यथा लिनु हुँदैन।

बौद्ध धर्मदर्शनमा कैयौं ग्रन्थहरू छन्, तर कुनै सम्प्रदायले ग्रन्थ विशेषलाई मात्रै अध्ययनको क्षेत्र बनाएको पाइन्छ। अझ सिङ्गो ग्रन्थभित्रको पनि एउटा अमुक सूत्रमा मात्रै सरोकार राखेर साधना गरिरहेका साधक वा सम्प्रदाय अनेकौं छन्। बौद्ध धर्म दर्शनभित्रै रहेर आआफ्ना सुविधा र बुझाइअनुसार साधना गरिरहेकालाई नकारात्मक टिप्पणी गर्नु बौद्ध धर्मदर्शनप्रति नै प्रश्न उठाउनु हो।  

नेपालको थेरवादी बौद्ध समाजमा अनागारिका धम्मावतीको विशिष्ट योगदान र पहिचान रहेकोमा दुई मत छैन। उनका बारेमा थुप्रै लेखरचना तथा पुस्तक प्रकाशन भइसकेका छन्। यस पङ्तिकारले पनि उनीसँग पटकपटक भेट्ने र उनका बारेमा लेख्ने गरेको छ। बज्रयानी नेवार समाजसँग सम्बन्धित भएर पनि उनी सानै उमेरमा भारतमा पुगी थेरवादी परम्परामा दीक्षित भई अध्ययनका लागि म्यान्मार पुगेकी थिइन्। नेपाली भिक्षु अमृतानन्द म्यानमार पुग्दा मातृभाषामा बोल्नै नसक्ने गरी बिर्सिसक्नुले स्पष्ट गर्दछ, उनी म्यान्मारको परिवेशमा कति हदसम्म डुबेका थिए भन्ने।

म्यान्मारमा उनले मूलतः थेरवादी बौद्ध धर्मदर्शनको अध्ययन गरेकी हुन् र नेपाल फर्केर पनि थेरवादी बौद्ध धर्मकै गतिविधिमा काम गर्दै आइरहेकी छन्। उनीसँगको सम्वादबाट पनि स्पष्ट हुन्छ, उनका लागि बौद्ध धर्मभन्नु थेरवाद मात्रै हो।

बौद्ध साहित्यको अनुशीलन गर्दा एउटा ‘स्ट्राटाग्राफी’ देखापर्छ। त्यसअनुसार प्रारंभिक रूप पाली त्रिपिटकलाइ लिन सकिन्छ। यही त्रिपिटकमा निहित धर्मदर्शनलाई नै पृष्ठभूमि बनाएर प्रज्ञापारमिता लगायतका महायानी बौद्ध ग्रन्थहरूको रचना भएको हो। आचार्य नागार्जुनले शून्यवादको व्याख्या प्रज्ञापारमिता ग्रन्थकै आधारमा गरेका हुन्। पछि अन्य आचार्यहरूबाट ‘विज्ञानवाद’ नामको अर्को दार्शनिक सम्प्रदाय देखा प-यो। महायानी बौद्ध दर्शनको आदर्श बोधिसत्व हो र बोधिचर्याका क्रममा अनेकौं जन्मको लामो यात्रा तय गर्न पनि साधक राजी हुन्छन्। यही महायान दर्शनमा तन्त्रनय र मन्त्रनयको विकास गरी साधना गर्ने र यसबाट छोटो समयमै सम्यक सम्बुद्धत्व लाभ हुन्छ भन्नेहरू महायानभित्रकै बज्रयानी हुन्। महायान कठिन र लामो समय लाग्ने हुँदा बुद्धले अर्हत्व प्राप्तिमा जोड दिएको भनाइ पाइन्छ। अर्हत्व प्राप्ति थेरवादी बौद्ध सम्प्रदाय (श्रावकयानअन्र्तगत) को आदर्श हो।

नेपालमा थेरवाद बौद्ध धर्मको प्रवेश भर्खरै अर्थात् केही दशकअघि राणा कालमा भएको हो। तत्कालीन समाजमा बौद्ध धर्म भन्नु बज्रयान मात्रै थियो र बज्रयानीहरूले यसलाई बाह्य तथा प्रतिस्पर्धी धर्मका रूपमा लिन पुगेको पाइन्छ। थेरवादीहरूले पनि बज्रयानीलाई बौद्ध धर्मदर्शनमा आएको विकृति, रुढीवादी, कर्मकाण्डी र हिन्दूकरणको चपेटामा परेको भनी धारणा राख्छन्। यी दुई सम्प्रदायबीचको द्वन्द्वका क्रममा भएका टीकाटिप्पणी तथा घटना चर्चाका बेग्लै विषयवस्तु हुन्। त्यतिबेलाको त्यो द्वन्द्व बौद्धहरूको व्यावहारिक समस्या मात्रै थियो, दर्शनको समस्या थिएन। दर्शनको समस्या त अहिले पनि छैन। व्यावहारिक जीवनकै कुरा गर्ने हो भने पनि थेरवादी बौद्ध धर्मको गतिविधिमा बाक्लो उपस्थिति देखिएका शाक्य र बज्राचार्य थरका बौद्धहरू मूलतः बज्रयानी परम्पराबाट संस्कारित हुन्।

थेरवादमा लागेका अधिकांश बौद्धको संस्कार अझै पनि परम्परागत रूपमा बज्रयानअनुसारै हुने गरेको पाइन्छ। थेरवादी बौद्ध अभियानका कतिपय हस्ती बज्रयानी बौद्ध भिक्षुसंघ नै आबद्ध भइरहेको पाइन्छ। बौद्ध धर्मदर्शनमा विभिन्न सम्प्रदायबीचको प्रतिस्पर्धा कुनै नौलो र नकारात्मक होइन। एकताको कुरा दुई हजार वर्षअघि रचित ‘सद्धर्मपुण्डरिकसूत्र’ नामक ग्रन्थमा पनि पाइन्छ। जेजस्तो यान भए पनि अन्ततः सबैलाई ‘बुद्धयान’ भन्नु पर्छ भनी एउटा नौलो शब्द प्रयोग गरिएको पाइन्छ, त्यस ग्रन्थमा। तर ‘बुद्धयान’ भने पनि त्यसले अन्ततः महायानकै महिमामण्डन गरिएको पाइन्छ। अहिले थेरवाद, महायान र बज्रयान भनी परस्पर विभाजित हुन नहुने धारणा राख्ने अनागारिका धम्मावतीको आशयले बौद्ध दर्शनको त्यो गरिमापूर्ण विकास यात्रा र बौद्ध मनिषीहरूको अथक प्रयासलाई उपेक्षा गर्नुका साथै त्यसलाई विकृतिका रूपमा बुझेको पाइन्छ।

सोझो भाषामा अर्थ लगाउँदा त्यस सम्मान कार्यक्रममा उपस्थित राणा रिम्पोछे लगायत संसारभरका  महायानी बौद्ध दर्शनका अनुयायीलाई आफूले अवलम्वन गर्दै आएको दर्शन (महायान) परित्याग गरी थेरवादमा समाहित हुन आउनु भनेको हो।

थेरवाद एउटालाई मात्र बौद्ध धर्म बुझ्ने र अरू जम्मैलाई विकृति ठान्नु सद्धर्मपुण्डरिकसूत्रले ‘बुद्धयान’को नाममा महायानलाई मात्र बौद्ध धर्म ठान्नुजस्तै हो। धम्मावतीले थेरवादमा नै महायानका कुरा समावेश गर्ने मनसाय व्यक्त गरेका होइनन्, र यस्तो निर्णय गर्ने ठाउँमा उनी छैनन् पनि। व्यक्तिगत रूपमा उनको विहारभित्र थेरवादबाहेक अरु पक्ष देख्न पाइँदैन। यस अर्थमा बुझ्न सकिन्छ, थेरवाद एउटालाई मात्र बौद्ध धर्मभनेर बुझ्ने बुझाइको परिणाम हो त्यो आह्वान, जसले सर्वसाधारणलाई भ्रममा पार्दछ।

थप कुरा, थेरवादमा महायान तथा बज्रयानका कुरा नभए पनि महायान र बज्रयानको पृष्ठभूमि श्रावकयान भएका कारण चरणबद्ध अभ्यासका क्रममा श्रावकयानको अभ्यास सुरुमै  गर्नुपर्ने निर्देशन छ।

प्रकाशित: २८ वैशाख २०७६ ०४:२१ शनिबार

बौद्ध_धर्म विहार बज्रयानी