अन्य

‘लेडिज प्रोब्लम’हटाउन विद्यालयमा प्याड मेसिन

धरान–१२ स्थित पब्लिक माविमा प्याड वितरण गर्ने मेसिनको उद्घाटनमा कार्यवाहक मेयर र प्राचार्य। तस्बिरःनागरिक

धरान– विद्यालयमा नै प्याड वितरण गर्ने प्रबन्ध गर्दा पनि रजस्वला(महिनावारी) हुँदा छात्राहरु विद्यालय गयल हुने समस्या समाधान नभएपछि धरानको एक विद्यालयले नयाँ तरिका अपनाएको छ।

धरान–१२ स्थित पब्लिक माविले मेसिनको मद्दतले प्याड वितरण गर्ने प्रविधि भित्र्याएको हो। महिनावारी हुँदा समस्या हुने भन्दै विद्यालयले प्याड वितरण गर्न थाले पनि छात्राहरु प्याड माग्न धकाउने गर्थे। त्यसैले छात्राहरुलाई यो समस्याबाट मुक्ति दिलाउन कक्षा ११ मा स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीहरुले आफ्नो प्रयोगात्मक परीक्षाअन्तर्गत यो मेसिन ल्याउन पहल गरेका थिए।

महिनावारी हुँदा कम्तीमा पनि ४ दिन छात्राहरु विद्यालय आउँदैनन्। अब भने पब्लिक स्कुलका छात्राहरु कक्षा गयल हुनु नपर्ने प्राचार्य इन्द्रमोहन झाले बताए। यो मेसिनको मंगलबार एक कार्यक्रमबीच धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घाटन गरेकी थिइन्। मेसिनबाट छात्राहरुलाई धेरै राहत पुग्ने उनले बताइन्। शिक्षकहरुका अनुसार छात्राहरु ‘लेडिज प्रोब्लम’ भन्दै बिदामा बस्थे। महिनावारी हुँदा छात्राहरुले निर्धक्क भन्न लजाएर लेडिज प्रोब्लम भन्ने गर्छन्।

प्राचार्य झाका अनुसार अब विद्यालयमा मेसिनको सहायताले प्याड वितरण हुन्छ। मेसिनमा अत्याधुनिक सेन्सर सिस्टम जडान छ। भारतबाट खरिद गरेर ल्याइएको ‘अटोमेटिक स्यानेटरी न्यापकिन भेन्टिङ मेसिन’मा ५ रुपैयाँको ढक्की छिराएपछि प्याड उपलब्ध हुन्छ। विगतमा जस्तो छात्राहरुले कसैसँग प्याड माग्न लजाउनुपर्ने वा धकाउनुपर्ने बाध्यता पनि हटेको प्राचार्य झाले बताए। ‘सेन्सर सिस्टमको मेसिनमा २ वटा बटम छ, जुनै थिचे पनि हुन्छ,’प्रअ झाले भने,‘बटम दबाएपछि ५ रुपैयाँ ढक्का पैसा (कोइन) छिराउनुपर्छ, प्याड खस्छ। एउटा प्याडको ५ रुपैयाँ पर्छ।’

मेसिनभित्र २ वटा माथि र तल हार बनाएर प्याड राखिएको हुन्छ। माथिल्लो र तल्लो दुवै हारमा २५ को दरले मेसिनभित्र ५० वटा प्याड हुन्छ। विद्यालयमा यसअघि प्याड वितरणको कार्यक्रम पनि गरिएको थियो। तर, त्यो प्रभावकारी हुन सकेन। छात्राहरु प्याड माग्न लजाउने गर्थे भने प्याड वितरणका लागि एक जना कर्मचारी अनिवार्य राख्नुपर्दा विद्यालयलाई व्यवस्थापन गर्न निकै समस्या थियो। ‘अब छात्राहरु प्याड माग्न लजाउनु, धकाउनु पनि पर्दैन, मेसिनमा गएर ५ रुपैयाँको ढक्की हालेर आफैं प्याड लिन सक्छन्,’ प्राचार्य झाले भने, ‘छात्राहरु स्कुल गयल हुने समस्या पनि हट्छ भन्ने अपेक्षा लिएका छौं।’

 

प्रकाशित: २७ वैशाख २०७६ ०५:४७ शुक्रबार

प्याड_वितरण पब्लिक_मावि