अन्य

सडक कालोपत्रेको माग राख्दै प्रदर्शन

चावहिल–साँखु सडकखण्ड मर्मतको माग गरी आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले बिहीबार धडपकड गरेको छ। धरपकडमा आठ घाइते भएका छन्, जसमा चार–चार स्थानीय र प्रहरी छन्। चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिको अगुवाईमा स्थानीयले सडकमा टायर बालेर  विरोध प्रदर्शन गरेको थियो।

समितिका उपाध्यक्ष केदार कट्वालले धुलो सडकले आजित भएर कालोपत्रे गर भनेर आन्दोलनमा उत्रिदाँ प्रहरीले धडपकड गरेको गुनासो गरे। ‘ठेकेदारको लापरवाहीले पाँच वर्षदेखि सडक पिच भएको छैन,’ उनले भने, ‘जसका कारण सडकको धुलोले स्थानीयले सास्ती खेपेका छन्।’ ठेकेदारले सडक पिच गर्ने सुरसार नगरेपछि आन्दोलनमा उत्रिएका उनले बताए। ‘जबसम्म सडक पिच हुँदैन, तबसम्म आन्दोलन जारी रहनेछ,’ उनले भने। स्थानीय व्यवसायी पवन खड्काले सडक कालोपत्रे नभएसम्म उक्त सडकमा अनिश्चितकालिन बन्द गर्ने बताए। ‘सडक भत्काएको पाँच वर्ष भइसक्दा पनि अझै सडक पिच हुन सकेको छैन,’ उनले भने, ‘धुवाँ–धुलोले व्यवसायी र सर्वसाधारणको स्वास्थ्यमा  असर परेको छ। ठेकेदारले तत्काल सडक पिच गर्ने सहमति गरेर काम नथालेसम्म हामी आन्दोलन गरिरहन्छौँ।’ उनका अनुसार ठेकेदारले काम गरेजस्तो गरेकाले सडक कालोपत्रेमा ढिलाई भएको हो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कट्वालले ठेकेदार र सरोकार निकायको मिलेमतोले सडक पीचको काम नभएको आरोप लगाए। ‘ठेकेदार र सरोकार निकायकै मिलोमतोमा ठेकेदारले काम गरेका छैनन्,’ उनले भने, ‘घुसखोरी भएको छ, जसको परिणाम स्थानीय र व्यवसायीले भोगिरहेका छन्।’ बौद्ध व्यपार संघका सचिव राजकुमार अधिकारीका अनुसार आउने आइतबारबाट सडक पिच गर्नको लागि ठेकेदार, स्थानीय सरकार लगायतसँग सहमति भएपछि आन्दोलन रोकिएको छ। तर, सहमति अनुसार काम नगरे फेरि अर्को आन्दोलन गर्ने उनले चेतावनी दिए।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्द स्थानीयवासीले विरोध प्रदर्शनमा उत्रिएपछि झडपको स्थिति सिर्जना भएको बताए। ‘स्थानीय सडक कालोपत्रे गर्नुपर्‍यो भनेर आन्दोलनमा उत्रिए,’ उनले भने, ‘जवरजस्ती गर्न खोज्ने प्रदर्शनकारीलाई नियन्त्रण गरेर सडक खुलाएका थियौं।’ उनका अनुसार काठमाडौं उपत्यका सडक विस्तार आयोजना, स्थानीय र ठेकेदारबीच सडक कालोपत्रे गर्ने सहमति भएको छ। उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले भने ढलको पाइप हाल्ने काम सम्पन्न नहुँदा सडक पिचमा ढिलाइ भएको बताउँछन्। ‘ढलको पाइप हाल्ने काम भइरहेकोले सडक पिच हुन सकेको छैन,’ उनले भन।

ढलको पाइप हालिसकेपछि मात्रै सडक पीच गरिने उनले बताए। चावहिल–साँखुको १२ किमि सडक विस्तार गरेर चार लेन र दुवै तर्फ फुटपाथ बनाउने काम २०७२ मा अघि सारिएको थियो।

 

प्रकाशित: २७ वैशाख २०७६ ०४:०६ शुक्रबार

चावहिल–साँखु_सडकखण्ड मर्मत आन्दोलन सडक_कालोपत्रे