अन्य

सिरानचोकका ३१ घरमा होमस्टे

शनिबारबाट सुरु भएको आरुबोटको होमस्टे घर। तस्बिरः नागरिक

गोरखा– सिरानचोक गाउँपालिका–७ को आरुबोटका ३१ घरमा होमस्टे सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार उक्त गाउँ पुगेर होमस्टेको उद्घाटन गरेका हुन्।

‘स्थानीय रहनसन, पाहुनाको स्वागत सत्कार र स्थानीय परिकारमा पर्यटनको ध्यान खिच्न सकियो भने होमस्टेले सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत गर्छ,’ मन्त्री लम्सालले भने। भूकम्पमा घर भत्किएपछि अस्थायी टहरामा लामो समय गुजारेका स्थानीयले भूकम्पप्रतिरोधी घर बनाएसँग होमस्टे सुरु गरेका हुन्। ३५ मध्ये ३१ घरमा होमस्टे छ।

आरुबोटबाट करिब आधा घण्टा पैदल हिँडेर सिरानचोक गाउँपालिकाको पर्यटकीय स्थल श्रीनाथ मण्डली पुगिन्छ। त्यहाँबाट हिम शृंखला, आसपासका समथर फाँट, नदीहरू देख्न सकिन्छ। उच्च भागमा रहेको उक्त ठाउँमा कोटहरू छ। यसअघि पनि त्यहाँ विभिन्न कोट, पहिले सेना बस्ने गरेको, बाइसे चौबीसे राज्य रहँदा उक्त कोट पनि राज्यको रूपमा रहेको मानिन्छ।

विभिन्न आलेखहरूका अनुसार उक्त कोटको ऐतिहासिक महत्व छ। अहिले गाउँपालिकाले वनभोजस्थल, मन्दिर र इतिहास जगेर्ना गर्न भन्दै मण्डलीको संरक्षणमा जुटेको छ। बिजुली बत्ती, पानीको समेत व्यवस्था मण्डलीमा गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए।

उक्त मण्डलीलाई पर्यटकीय गन्तव्यको रूपमा गाउँपालिका अगाडि बढाउने योजना बनाएसँगै छिमेकी गाउँ आरुबोटका स्थानीय त्यहाँ आएका पर्यटकलाई होमस्टेमा राख्न कस्एिका हुन्। उनीहरू यसअघि होमस्टे सञ्चालन कसरी गर्ने रहेछ भन्ने बुझ्न बन्दीपुर, सिरुबारी पुगेर फर्केपछि तालिम पनि लिए। ‘होमस्टे सञ्चालन गर्न सबै उत्साहित भएपछि हामीले सुरु गरेका हौं,’ होमस्टे सञ्चालक समितिका सल्हाकार सुरेन्द्र गुरुङले भने।

भूकम्पमा घर भत्किएपछि अस्थायी टहरामा लामो समय गुजारेका स्थानीयले भूकम्पप्रतिरोधी घर बनाएसँग होमस्टे सुरु गरेका हुन्।


गुरुङ समुदायको बाहुल्य रहेको उक्त गाउँमा स्थानीय सामाजिक काम र अभियानमा एकमत हुन्छ। अधिकांश लाहुरे परिवारका सदस्य छन्। स्थानीयले आफैं करिब ५० लाख पैसा जुटाएर सामुदायिक भवन निर्माण गरेका छन्। ‘भवन होमस्टेको कार्यक्रम गर्न, पाहुनाको स्वागत सत्कार गर्न, गाउँमा हुने सभा सम्मेलनका लागि प्रयोग हुने गरेको छ।

‘होमस्टेमा हामी स्थानीय उत्पादन बेच्ने हो,’ होमस्टे व्यवस्थापन समिति अध्यक्ष धनमाया गुरुङले भनिन्, ‘अर्गानिक परिकार खुवाउँछौं, बाहिरबाट किनेर ल्याएको खुवाएर फाइदा हुँदैन, पाहुना पनि खुसी हुँदैनन्।’ कोदो, फापरको ढिँडो, लोकल कुखुरा, सिस्नुको अचार, भटमास, गुन्द्रुक, टिमुर जस्ता स्थानीय जातको स्वादमा पर्यटकलाई खुसी बनाउने सोच स्थानीयको छ।

बस्ने ठाउँको सरसफाइ, खानेपानीको व्यवस्था पनि स्थानीयले मिलाइसकेका छन्। गाउँसम्म पुग्ने सडक कच्ची भएकाले बर्खाको बेला होमस्टेमा पर्यटकलाई पुग्न समस्या हुने भन्दै स्थानीयले स्तरोन्नति गरिदिन गाउँपालिकालाई अनुरोध गरेका छन्।

गण्डकी प्रदेशका सांसद मनकुमारी गुरुङले होमस्टेबाट महिलाहरूको आम्दानीको स्रोत बढ्ने र घरमै बसेर जीविका चल्ने बताइन्। व्यवस्थित रूपमा चलेका होमस्टेले धेरै पर्यटक आकर्षित गरेको बताउँदै उनले महिलाहरूलाई सक्रिय हुन, पाहुनालाई फेरि फर्केर आउने गरी सत्कार, खानपानमा ध्यान दिन सुझाव दिइन्।

आरुबोटमा युवाहरू अधिकांश सेना, नोकरी, पढाइ विभिन्न कारण विदेशतिर छन्। घरमा रहेका महिला र वृद्धवृद्धालाई होमस्टे सञ्चालन गर्दा समय बिताउने, मन भुलाउने माध्यमसँगै गाउँको प्रचारप्रसार र स्थानीय उत्पादनले बजार पाउने जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल, वडाध्यक्ष सुरज ढकाललगायतले धारणा राखेका थिए।

प्रकाशित: २३ वैशाख २०७६ ०५:४३ सोमबार

होमस्टे स्थानीय_रहनसन पर्यटन