अन्य

उस्तै कथा, उस्तै व्यथा

सभागार खचाखच भरिएको थियो। एक जना महिलाले सफलताको कथा बताउनु पर्ने थियो। सामान्य पहिरनमा देखिएकी ती महिलामा सन्तुष्टिको तेज मैले देखिरहेकी थिएँ। स्टेजबाट उनले आफ्नो कथा–व्यथा बाँढ्दै थिइन्। उनको त्यो व्यथा हरघरको कथा थियो। भन्दै थिइन्, ‘हामी गाउँघरका महिलालाई घरबाट निस्कन साह्रै गाह्रो छ। अरुको जस्तो सहज त्यो बेला थिएन। ससाना काम गर्दै अघि बढेर अहिले केही स्थिर उद्यम गरिरहेकी छु।’

उनले त्यहाँ परिवारको दायित्व निभाएर पनि आफूलाई सक्षम बनाउँदै काम गर्छु भन्दा परिवारका सदस्यले समेत कसरी अविश्वास व्यक्त गरे भन्ने बताउँदै थिइन्। सबैका सपनालाई मलजल गर्दै, सबैलाई फकाउँदै र फुस्ल्याउँदै उनले कसरी स–साना सपना पूरा गरिन् भन्ने ‘प्रोसेस’का बारेमा बताउँदै थिइन् त्यहाँ उनले।

फुर्सदको समयमा ढाकाको कपडा बनाउने, डोको–नाम्लो बुन्ने, यसलाई आकर्षक बनाउन अझ बढी तालिम लिनेजस्ता कुरामा कसरी परिवारको तगारोलाई झेल्नु प-यो, कसरी ती तगारालाई हटाउँदै हरेक दिन दुई घण्टा घरबाहिर निस्केर आइपुग्दा र कहिलेकाहीँ ढिला हुँदै पूरै परिवारले खाउँलाझैँ गर्थे, कसरी घरका लोग्नेमान्छेले कहिलेकाहीँ समस्या नबुझ्दा, घरका नन्द–आमाजू–सासूले त बुझिदिए हुन्थ्यो भन्ने लाग्थ्यो जस्ता गुनासाका चाङ उनले सुनाइरहेकी थिइन्।

उनले भनेको एउटा भनाइ चाहिँ मलाई ज्यादै छोयो। उनले भनिन्, ‘हामी त हजूर, छहरा/पहरामा उम्रेको झारजस्ता रहेछौँ। छहरा/पहराको यस्तो झारलाई चौबीसै घण्टा पानीले लतारेजस्तै लोग्ने, परिवार, समाज सबैले बरोबर लतार्दा त घरिघरि हामीलाई बेकारमा जन्मिएछौँ भन्ने लाग्थ्यो।’

उनले भनिन्, ‘आज मैले बेस्ट अवार्ड पाएँ तर यहाँसम्म आउन हामी गाउँघरका महिलालाई धेरै लाञ्छना लगाइन्थ्यो, नराम्रो कुरा भनिन्थ्यो। नमीठो वचन लगाइन्थ्यो। गाउँका चेलीबेटी बिगार्ने, महिलावादी भएर हिँड्ने, आफ्नो घर त बिगारिस् अब अरुको पनि बिगार् भनेर अनेक फतुर लगाइन्थ्यो। गाउँमा महिला भएर जिउन निकै नै गाह्रो रहेछ हजूर। यसरी आज हामीले पाएको सम्मान त्यहाँ कसैले बुझ्दैनन्।’

‘हाम्रो जीवन शहरका दिदी–बहिनीको जस्तो हुँदैन रहेछ। हजूरहरुको त परिवार पनि बुझ्ने हुनुहुन्छ होला, अघि बढ्न सहयोग गर्नुहुन्छ होला। अरु केही भएन भने पनि निराश भएर घर फर्केका बेला ढाढस दिने घर–परिवार र श्रीमान् हुनुहुन्छ होला। हाम्रोमा त यस्तो दुःख भयो भनेर सुनायो भने तेरो आफ्नै रहर त हो नि, हामीले तँलाई यो गर भनेका थियौँ र भनेर उल्टै आगो ओकल्छन्।’

यी कुरा सुन्दै गर्दा मेरो छेउमा रहेकी एक जना बहिनी सुँक्कसुँक्क गरिरहेकी थिइन्। मैले उनीतिर फर्केर हेरेँ। म उनलाई राम्रैसँग चिन्छु। उनी पढेलेखेकी, सक्रिय र सभ्रान्त परिवारकी छोरी–बुहारी हुन्। मैले प्रश्न गरेँ, ‘बहिनी, के भयो? यत्रो ठूलो सभामा किन रोएकी? आफूलाई सम्हाल!’

उनले आफ्नो आँशु पुछ्दै भनिन्, ‘दिदी, मैले आफूलाई सम्हाल्नै सकिनँ। रुन्छु भनेर रोएकी होइन। हामी महिलालाई के गाउँ, के शहर ! सबै महिलाको समस्या एउटै रहेछ।’

मैले उनलाई ढाढस दिन हात समाएँ। उनले मलाई समातिन् र तानेर बाहिर खुला हावामा लगिन्। उनले कफी अर्डर गरिन्।

बहिनीले यता भन्न थालिन्, ‘हामीलाई हाम्रा आमाबाबाले सहनुपर्छ, धर्तीजस्तो हुनुपर्छ र आफ्नो घर परिवारको जिम्मेवारी राम्ररी समाहाल्नु पर्छ भनेर सिकाउनु भएको छ। घर–परिवारले जे भने पनि मुख लाग्नु हुँदैन। बरु एक गिलास पानी खाएर सबै निल्नुपर्छ। विवाहपछि दुलाहाको घर नै सबथोक हो। चेलीको लागि माइती आएर कहिल्यै घरको गुनासो गर्नु हुँदैन र ग-यो भने माइतीलाई मरेतुल्य हुन्छ भनेर बच्चैदेखि सिकाइएको हुन्छ। त्यसैले आफ्नो दुःख कहिले भन्दैनौं।’

उनलाई आज पुरस्कृत हुने बहिनीको कुरा सुनेर यिनलाई रुन मन लागेको मैले बुझेँ। त्यसैले उनको कुरा मनोयोगले सुनिरहेँ।

उनले कुरा अगाडि बढाउँदै भनिन्, ‘मेरो पढाइ सिद्धिएपछि राम्रो परिवारमा विवाह भयो। म बच्चैदेखि सपना बोकेकी केटी, दुःख पाएका दिदीबहिनीलाई सहयोग गर्नुपर्छ भन्ने विचार थियो, त्यसैले मैले महिलाको उन्नतिका लागि के गर्न सक्छु, कसरी गर्न सक्छु भनेर महिला सशक्तीकरणका लागि काम गर्न एउटा आइएनजिओमा जागिर सुरु गरेँ। ममा धेरै नै उत्साह र जाँगर थियो। घरपरिवारलाई प्राथमिकता दिँदै अगाडि बढ्दै थिएँ तर मेरा श्रीमान्ले कहिल्यै पनि यसलाई राम्रो नजरले हेर्नु भएन।’

यसपछि उनी मौन भइन्। उनका आँखाबाट आँशु थामिएनन्। न्यापकिनले आँशु थाम्ने प्रयास गर्दै उनले भनिन्, ‘जहिले पनि कामबाट फर्केर आउँदा ऊ संसार बदल्ने म्याडम आउनु भयो, अर्काको घर भँडुवी, उडैया, थाङ्गने आइमाईहरु लिएर हिँड्ने, उनीहरुका नचाहिने गुनासो सुन्ने, नचाहिँदो भाषण गर्दै हिँड्ने भनेर अनेक कुरा सुन्नुपथ्र्यो। राम्रो लुगा लगाएर अनि सफा भएर हिँड्न लाग्दा उत्ताउली भएर कोसँग जान लागिस्? भन्ने वचन सुन्नु पथ्र्यो। कहिलेकाहीँ काम विशेषले एकछिन ढिलो भयो भने खाना बनाएर टक्र्याउँदा पनि पनि कम गाली खानु पर्दैन!’

लामो श्वास तान्दै उनले भनिन्, ‘बाहिरबाट हेर्दा म एकदमै सुखी छु तर दुःख र पीडाको पहाड मैसँग छ। त्यस्तो मनस्थिति भएको श्रीमान्लाई आमाबाबाको अर्ती उपदेशअनुसार न छोड्न सक्छु, सधैभरि लाञ्छना सुन्दा बाँच्न नै सजिलोसँग सकिरहेकी छु। संसारका सबै वचन सुन्न सक्छु तर आफ्नो चरित्रमा कसैले औँल्याएको सुन्नै सक्दिनँ दिदी।’
यत्रो समय बित्यो, अधिकारका यत्रा लडाइँ जितिए तर खासमा महिलाले युद्ध जित्नै बाँकी रहेछ भन्ने भान उनका कुरा सुन्दै गर्दा मनमा खेलिरह्यो।

उल्टै मैले यहाँ सम्झाउनु पर्दै थियो, ‘बहिनी आफूलाई कमजोर नबनाउनू। मानिस भएर जन्मेपछि राम्रो कार्य गर्दै अगाडि बढ्नु पर्छ। अगाडि बढ्दा धेरै अप्ठेराहरु आउँछन्। ती सबैलाई पन्छाउँदै लक्ष्यमा  अघि बढ्नुपर्छ।’

हुन त उनलाई यी कुरा थाहा नभएका होइनन् तर पनि यतिबेला यी सामान्य शब्द पनि उनका लागि ढाढस हुनसक्छ भनेर मैले थपेँ, ‘नराम्रो सोच विचारले अरुलाई हेप्ने, अरुको मन दुखाउने, शारीरिक तथा मानसिक चोट पु-याउने, कुण्ठित मनस्थिति भएकाहरुले मात्र गर्छन्। तिमीले अरुका लागि जे गरिरहेकी छ्यौ, त्यसले कत्रो परिणाम दिइरहेको छ, अहिले नै तिमीले त्यो देखिरहेकै छ्यौ। हामीले गर्ने सानो कामले अर्को एक जनालाई बाँच्न सिकाउनु नै ठूलो उपलब्धि हो।’

यस्तै यस्तै लामो कुरा गर्दै जाँदा उनको मन हलुंगो भयो, क्रमशः अनुहार उज्यालिँदै गयो। ती बहिनीको अनुहारको खुशी देख्दै गर्दा मनमा कुरा उठिरह्यो, आखिर हामी सबै महिला, जो जहाँ भए पनि एउटै कथा एउटै व्यथा सबैतिर किन?

प्रकाशित: २२ वैशाख २०७६ ०८:२९ आइतबार

महिला सफलता नागरिक परिवार